अन्तरवार्ता / विचार

म अझै हुर्किन बाकी छ आमा !

प्रेम खड्का

खासै गाउतिर नजाने म यो पाली जसो तसो मेसो मिल्यो। गाउँ जाने उत्साहले कलेजबाट आउने बित्तिकै सामान प्याक गर्न थाले। मेरा पैतालाहरु जमिनसंगै मिलनमा भएपनी मेरो खुसिले मानौ बादलहरुलाई जितिसकेको थियो।

” आमा म ४ बजेको बसमा आउदै छु है। “

उसो त म मेरा हरेक कुराहरु आमालाइ भन्ने गर्दछु। साना साना मुड अफ भएका कुरा देखि ठुला सम्म, आखिर आमा हरेक कुरा जान्ने हकदार हुनुहुन्छ।

“ल राम्रो गरिस। यो पाली त अलि मस्तै दिन बस्ने गरि आउनु है।” आमाले भन्नुभयो।

आमालाई सधै छोरा अलि लामो समय सम्म बसिदिए हुन्थ्यो जस्तो लागिरहन्छ। फरक छ नि आमाले हामिलाइ दिने समय र हामीले आमालाइ दिने समयमा। आमाले हामीलाइ समय दिएर बचेको समयमा अरु कामहरु गर्नुहुन्छ भने हामी अरु काम गरेर बचेको समय आमालाई दिन्छौं।

मैले “हुन्छ” भनेर फोन राखेँ।

दुई दिन पछि म घर पुगे, उहीँ आँगनमा जसलाइ मैले यो जमिन हो भनेर चिनेको थिएँ, उहीँ घर जसबाट मैले बास बस्न सानो छुट्टै आकाश चाहिने रहेछ भनेर जानेको थिएँ।

बाल्यकाल मै त्यहाको माटो अनि हावा पानीसँग बिछोड भएको म, धेरै पछि आउदा सायद मसँग रिसाएको हुनपर्छ। आफ्ना बिलौनाहरु सुनाउन मलाई खोज्दै होला। मलाई देख्ने बित्तिकै सुसाउने कमैसेको खोला, अहिले मन मानी नमानी सुसाएको हुनपर्छ।

सायद रिसाएको हुनपर्छ त्यो पाखा जहाँ म गोठालो जान्थे, त्यो खोला जहाँ म पौडी खेल्थे, त्यो जङ्गल जहाँ म दुख पोख्थे, आलिको त्यो माटो जसलाइ मैले सुम्सुमाएको थिए।

सबै कुरा फेरिसकेको रहेछ। पहिले हात खुट्टाले हिड्ने बाटो अहिले मोटर गुड्ने भैसकेछ। बर्खा को बेला खोला तर्न नसकेर पारी नै बस्नुपर्ने, अहिले ठूलो पुल बनिसकेछ।

टुक्की बालेर रातीभर किताब पढेर बिहान नाक भरी कालो हुने ठाउमा अहिले सहर जस्तै झिलिमिली बिजुलि पुगिसकेछ। साच्चिकै नै सबै कुरा फेरिसकेको रहेछ।

तर नफेरिने त उहीँ मेरी आमाको दुखः रहेछ। गाइबस्तु लाई स्यहार्न दुखः, खेतिपाती को दुखः, घरमा भान्सा को दुखः, एक्लै छुटको दुखः , तर कहाँ गुनासो गर्नुहुन्छ र आमा। फोनमा केही गफका साथ सारा दुःख अँगालेर बिर्सिनु हुन्छ।

मैले जिस्किदै भने ” कसलाई हुर्काउन दु:ख गर्नुहुन्छ आमा अब ? हामी सबै भाइबहिनी हुर्किसक्यौँ त। ” मैले कुरा नसक्काउदै आमाले भन्नुभयो , ” तँ हुर्किसकिस् ? उसो भए काठमान्डौबाट आइनपुग्दै झोला फालेर मेरो काखमा किन सुतेको ? “

म केही बोल्नै सकिनँ।

यहि सोचमा परे कि घर के हो, हैन भने घर को हो, के म साच्चिकै अझै हुर्कन बाकि नै छ, किन सारा संसार म प्रति बदलेको छ र घरले अझै मलाई अंगालेकै छ। र म यी सब प्रश्नको पार केवल आमालाई देख्दै थे।

लेखक खड्का नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा MBBS पहिलो बर्षमा अध्ययनरत छन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सरकारले एन जि ओ ले गरेका कामको अनुसरण गर्नुपर्छ : उपप्रमुख रावल
मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय
नग्न योग किन गरिन्छ ? 
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय