मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने

निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने


अछाम : सबै सेवा निशुल्क रुपमा प्रदान गरिरहेको बयालपाटा अस्पताललाई आर्थिक अभाव हुने देखिएको छ । आगामी आर्थिक बर्ष २०७९/८० मा अस्पताल संचालनका लागि पुजिँगत र चालु तर्फ गरी २२ करोड रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

तर आगामी आर्थिक बर्ष बाट सुदुर पश्चिम प्रदेश सरकार मातहतमा ल्याएर संचालन गरिने गरी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा साढे ४ करोड मात्रै बजेट बिनियोजित भएको छ । गत आर्थिक बर्ष ८ करोड बजेट बिनियोजित गरेको प्रदेश सरकारले उक्त रकम घटाएर साढे ४ करोडमा सिमित गरेको छ भने त्यो पनि पुजीँगत तर्फ मात्रै बजेट बिनियोजित भएको हो । जसका कारण अस्पताल संचालनका लागि आर्थिक अभाव हुने देखिएको छ ।

यसअघि संघिय सरकार मातहतमा रहेको अस्पताललाई संघ सरकारले समेत बजेटमा अस्पताललाई नसमेट्दा र सुदूरपश्चिम प्रदेश सरकारले पनि कम बजेट बिनियोजित गर्दा अस्पताललाई आर्थिक अभाव हुने देखिएको छ । अस्पताल संचालनमा व्यावस्थापन गरिरहेको न्याय हेल्थ नेपाललले बिदेशी तथा स्वदेशी दातृ निकायको सहयोगमा १० करोड बजेट व्यावस्थापन गर्ने जनाएको छ ।

तर अस्पताल संचालनका लागि लाग्ने कुल बजेट २२ करोड पुग्न करिब ७ ६ करोड बजेट अपुग हुने देखिएकोे छ । बिदेशी दातृ निकायको भर पर्नु भन्दा तिनै तहका सरकारले बजेट बिनियोजित गरी अस्पताललाई दिर्घकालिन रुपमा संचालन गर्न अपनत्व लिनुपर्ने भएपनि तिनै तहका सरकार उदासिन देखिएका छन् । तर आफ्नै नगरमा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाले भने १ करोड रकम बिनियोजित गरेको छ ।

बयालपाटा अस्पताल संचालनका लागि देखिएको आर्थिक समस्या लगायतका बिषयमा संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका निति तथा योजना महाशाखा प्रमुखसंग कुरा गर्न खोज्दा उहाँको फोन उठेन् ।

बयालपाटा अस्पतालको व्यावस्थापन पक्ष भन्छ अस्पताल संचालनका लागि प्रदेश सरकारले सोचे जस्तो सहयोग गरेन् तर यता सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी उपसचिव गणेश बहादुर सिंहले भने बयालपाटा अस्पताललाई दातृ निकायले सहयोग नगरेको खण्डमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

अहिलेको बजेट अस्पताल प्रदेश भित्र रहेका कारण र यस क्षेत्रका जनतालाई निशुल्क सेवा दिएकाले ४ करोड बढी बजेट बिनियोजित गरेको बताए । बयालपाटा अस्पतालले बिगत १ दशक भन्दा बढी देखि निशुल्क रुपमा यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । बिशेष सहितको सेवा अस्पतालले निशुल्क रुपमा संचालन गरिरहेको छ ।

कसरी सुरु भयो बयालपाटा अस्पताल

२०३४ साल माघ महिनामा बयालपाटामा खानेपानीको उद्घाटन गर्न र साँफेबगर गोली काण्डको शान्तवना दिन ततकालिन राजा श्री ५ महाराजाधिराज विरेन्द्र विरविक्रम शाह बयालपाटा पुगे । उक्त समयमा राजाले बयालपाटामा एउटा अस्पताल बनाईने बचन दिए । यसैक्रम २०३९ सालमा तत्कालिन बयालपाटा गाउँपञ्चायत अन्तर्गतको रिडीकोट स्थित बड्यालगडामा अस्पताल बन्ने निश्चित भएपनि वि.सं २०४२/४३ सालमा मात्रै भौतिक पूर्वाधार निर्माण भए तरपनि करिब तीन दशक सम्म अस्पताल संचालन हुन सकेन् ।

यसैक्रममा २०५८ सालको घटनाबाट प्रभाववित अछाम जिल्लाका आमनागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बोकी वि.सं २०६४ सालमा अमेरीकामा अध्ययनरत नेपाली र अमेरिकन चिकित्सकहरुको सहकार्य तथा अन्तराष्टिय दातृ निकायको सहयोगमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग साझेदारी गरी अछामको साँफेबगरबाट प्राथमिक बहिरंग, आकस्मिक उपचार, औषधी तथा ल्याब सेवा सहित समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवाको प्रारम्भ गर्‍यो ।

क्लिनिकमा दिएको सेवा प्रभावकारी हुदैँ जाँदा त्यहाँ बिरामीको भिड बढ्न थाल्यो । त्यसै कुरालाई मध्यनजर गर्दै न्याय हेल्थ नेपाल र अछाम स्थित सम्पूर्ण सरोकारवालाहरुको छलफलले आर्थिक बर्ष २०६५/०६६ को जिल्ला परिषदबाट तीन दशक सम्म संरचना बनेर पनि संचालनमा आउन नसकेको अस्पतालको संरचना प्रयोग गर्ने गरी अन्तराष्टिय दातृ निकायको सहयोगमा न्याय हेल्थ नेपालले व्यावस्थापन गर्ने गरी बयालपाटा अस्पताल संचालनमा आयो ।