मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्रीद्वयले देउवालाई भने– एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्

कांग्रेस महामन्त्रीद्वयले देउवालाई भने– एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्

सुदूर आज

तोकिएको समयावधिमा विभाग गठन र नीति अधिवेशनको मिति तोक्न आग्रह, पेट्रोलियम पदार्थको विकल्प खोज्नुहोस्  

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाको स्टेट पार्टनशिप प्रोगाम (एसपीपी) सधाको लागि बन्द गर्न आग्रह गरेका छन् ।

सोमबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटेर उनीहरूले एसपीपीको ढोका सँधैका लागि बन्द गर्न आग्रह गरेका हुन् । भेटमा महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आवश्यक धारणा बनाउन प्रतिपक्ष दलसहितको सर्वदलीय बैठक अविलम्व डाक्न माग गरेका छन् ।

“विहान ११ बजेबाट करिव एक घण्टा पार्टी सञ्चालन र समसामयीक विषयमा गहन छलफल भयो,” स्रोतले बाह्रखरीसँग भन्यो, “एसपीपीलाई प्रकृया पुर्याएर सधैँका लागि च्याप्टर क्लोज गर्न माग महामन्त्रीद्वयबाट भएको छ । साथै उहाँहरुले प्रतिपक्ष दलहरुसहितको सर्वदलीय बैठक बसेर साँझा धारणा बनाउन पनि माग गर्नुभएको छ ।”

छलफलका क्रममा महामन्त्रीद्वयले प्रधानमन्त्री देउवालाई सेयर बजार र लगानीकर्ताहरू मारमा परेको भन्दै आवश्यक परामर्श गरेर निचोड निकाल्नेगरी  पहलकदमी गर्न आग्रह गरेका छन् । यस्तै निर्वाचन आयोगसँग छलफल गरेर विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा भाग लिन पाउने विषयमा छलफल गर्न पनि उनीहरुले माग गरेका छन् । 

जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर अघि बढ्ने बताएका थिए । साथै, महामन्त्रीद्वय थापा र शर्माले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको भन्दै यसको विकल्प खोज्न आग्रह गरेको र जनतालाई महंगीको मारबाट राहत दिन ध्यानाकर्षण गराएका थिए । 

यस्तै रेलमार्ग निर्माण गर्नलाई जग्गा अधिग्रहणमा परेका जनताले मुआव्जा नपाएको गुनासो दिनप्रतिदिन बढेको भन्दै पीडितलाई मुआव्जा वितरण गर्न पनि उनीहरुले माग गरेका थिए ।

छफलमा महामन्त्रीद्वयले पार्टीको केही आन्तरिक विषय पनि उठाएका थिए । पार्टीको १४ औँ महाधिवेशन मात्र नेतृत्व चयनका लागि भएको भन्दै महामन्त्रीद्वयले महाधिवेशन अघि भनिएको नीति अधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । 

स्थानीय तह निर्वाचन पश्चात् पनि केन्द्रीय समितिको बैठक नबसेको भन्दै बैठक अविलम्व डाक्न उनीहरुले माग गरेका थिए । छलफलमा महामन्त्रीद्वयले असार १० गते नयाँ कार्यसमिति आएको ६ महिना पुग्ने र छ महिनाभित्र गठन गर्नुपर्ने पार्टीको सम्पूर्ण विभाग गठन गरिसक्नुपर्ने भन्दै विशेष ध्यानाकर्षण गराएको स्रोतले जानकारी दियो ।

“नेविसंघ, तरुण दलको कार्यसमितिलाई पूर्णता दिनुपर्ने र अघिल्लो कार्यसम्पादन समितिको बैठक बमोजिम गठन हुन नसकेका भातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति तत्काल गठन गर्नुपर्ने विषयमा महामन्त्रीहरूले जोड दिएका छन्,” स्रोतले भन्यो ।

जवाफमा सभापति देउवाले आफूलाई सम्पूर्ण विषयमा जानकारी भएको भन्दै आवश्यक परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए । मंगलबार पुनः छलफल गर्ने र सोही बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने बताइएको छ ।