मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने

दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने


काठमाडौं-  सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ। यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।

तर स्वास्थ्यसहित विभिन्न सार्वजनिक सेवा प्रवाह गर्ने निकायले लगातार दुई दिन सार्वजनिक बिदा भएमा तेस्रो दिनदेखि सेवा प्रदान गर्नुपर्ने छ।  दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा अस्पताल तथा स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने छ।

‘सरकारले निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने  छ।’ मंगलबार राजपत्रमा गृहमन्त्रालयले प्रकाशित गरेको सुचनामा भनिएको छ। 

तर सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा भने दिइने  छ।

वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि कार्यालय समय भने बढाइएको छ।  जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कार्यालय समय हुने छ। 
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको थियो।

स्वास्थ्यसँग सम्बन्धित संघ,संगठनहरुले भने सातामा दुई दिन बिदा दिँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको अत्यधिक कार्यबोझ घट्न गइ सेवामा प्रभावकारिता आउने भन्दै सातामा दुई दिन बिदा दिने निर्णयको स्वागत गरेका थिए। 

No description available.
No description available.