मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

सुदूर आज

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाे जनाएको हो ।

विभागको अनुमानअनुसार आउँदाे जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले गएकाे वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनमा वर्षाको रेकर्ड तोडिएको बताउनुभयो । उहाँका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनमा पहिलाको रेकर्डलाई ब्रेक गरेर मनसुन अवधिमा धेरै पानी परेकाे हाे । त्याे मनसुन वर्षाले ७९ जनाको ज्यान गएकाे उहाँले जानकारी दिनुभयाे । 

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाेले बेलैमा सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनियता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनियता कम हुँदै जाने गरेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले विभागमा अनुसन्धानका लागि ‘स्किल ह्युमेन रिसर्च’ हरूको आवश्यक रहेको बताउनुभयो ।