बिदेश

एउटी ‘दुर्लभ’ बघिनीप्रति शब्दश्रद्धा

पुलीसँग खेल्दै कलरवाली। तस्बिर : वरुण थक्कर

गत शनिबार भारतकै लोकप्रिय बघिनी कलरवालीको १६ वर्षको उमेरमा मृत्यु भयो। भारतको मध्य प्रदेशस्थित ‘पेन्च टाइगर रिजर्भ’मा बस्दै आएकी उसले उक्त आरक्षको भाग्य बदल्न ठूलो भूमिका खेलेकी थिई।

सन् २००८ मा उसको शरीरमा पहिलोपटक रेडियो कलर जडान गरिएपछि उसले नयाँ नाम पाएकी थिई- कलरवाली। ८ बेतसम्म सन्तान उत्पादन गरेकी उसले आफ्नो जीवनकालमा २९ डमरुलाई जन्म दिई। विज्ञहरूका अनुसार यसरी एकै बघिनीले २९ डमरु उत्पादन गर्नु एकदमे ‘दुर्लभ र उत्पादनशील’ मानिन्छ।

बीबीसीले दुई वर्ष लगाएर ४ वटा डमरुबारे तयार पारेको वन्यजन्तुसम्बन्धी डकुमेन्ट्री ‘स्पाई इन द जंगल’मा कभर भएपछि भारतमा सबैभन्दा बढी चिनिएकी बघिनी बनी कलरवाली। 

‘डकुमेन्ट्री सार्वजनिक भएपछि पार्क (कलरवाली बसेको आरक्षण क्षेत्र) पुग्नेको संख्या ह्वात्तै बढ्यो। उनीहरुमध्ये धेरैले कलरवाली र उसकी आमाका विषयमा जान्न चाहन्थे,’ सन् २००४ देखि पेन्चसँग जोडिएका प्रकृति संरक्षक प्रावीर पाटिलले भने। 

बुढ्यौलीले निम्त्याएका समस्याका कारण कलरवालीको शनिबार मृत्यु भएको हो। 

प्रकृति संरक्षणवादी, वन अधिकारी र वन्यजन्तु फोटोग्राफरहरू उतिबेला आरक्षणमा बढ्दै गरेकी कलरवालीका विषयमा कर्णप्रिय कुराकानी गर्छन्। यो जंगल त्यही जंगल मानिन्छ जसबाट प्रेरित भएर रुडयार्ड किप्लिङले ‘द जंगल बुक’ लेखेका थिए। 

कलरवाली सन् २००५ मा जन्मिएकी थिई। उसकी आमाको नाम टी-१५ दिइएको थियो। ‘बडीमाता’ पनि भनिने कलरवालीकी आमाले पनि प्रसिद्धि कमाएकी थिई। कलरवालीको बाबुलाई चाहिँ टी-१ नाम दिइएको थियो। 

सन् २००८ मा रेडियो कलर जडान गरिँदै। आरक्षणमा पहिलोपटक रेडियो कलर जडान गरिएकी बघिनीलाई कलरवाली नाम दिइएको थियो। तस्बिर : अनिरुद्ध मजुम्दर

टी-१५ र टी-१ बाट जन्मिएकी बघिनीलाई कलरवाली भन्ने नाम भने पछि दिइएको हो। बाघको अध्ययनका लागि पेन्च आरक्षणका बाघमा पहिलोपटक रेडियोकलर जडान भएसँगै उसले कलरवाली नाम पाएकी हो। उक्त रेडियो कलरका आधारमा उसमाथि अध्ययन गर्न सहज भएको थियो। वन्यजन्तुको क्षेत्रमा काम गर्नेहरूले उसलाई ‘माताराम’ अर्थात् ‘सम्मानित आमा’को उपनाम पनि दिएका छन्। 

‘कलरवाली जन्मिनुभन्दा पहिले पेन्चमा बाघका दृश्य अवलोकन गर्नु दुर्लभ थियो। तर जन्मेको केही समयमा नै ऊ सबैभन्दा बढी देखिएकी बघिनी बनी,’ पाटिलले भने। 

संरक्षणविद् विवेक मेनन कलरवालीलाई ‘पेन्चको मुहार’ भन्न रुचाउँछन्। कलरवालीको असाधारण प्रकृतिका कारण ऊ, उसका बच्चा र बाघसम्बन्धी डकुमेन्ट बनाउन धेरै मानिस र फोटोग्राफरले पाएका कारण मेननले यस्तो उपनाम दिएका हुन्। 

‘अवलोकनकर्तालाई कलरवालीले सायदै निराश बनाउँथी,’ आरक्षण छेउमै हुर्किएका प्राकृतिक संरक्षणविद् मोहम्मद राफिक शेखले भने। 

‘कुनै पर्यटकका सवारीसाधनका छेउमा कुनै डर बिना नै आउने कलरवाली एकदमै फ्रेन्ड्ली थिई,’ आरक्षणमा सयौँ पर्यटकलाई पथप्रदर्शन गरेका शेखले भने। नेपाल समयपर्यटकका सवारी साधन छेउमै कलरवाली। तस्बिर : वरुण थक्कर

विश्वकै ७० प्रतिशतभन्दा बढी बाघ भारतमा रहेको विश्वास गरिन्छ। भारतमा बाघको संख्या घट्दै गएको छ। तर सरकारको पछिल्लो अध्ययनले भारतमा बाघको संख्या केही बढेर २ हजार ९७६ पुगेको अनुमान गरेको छ। भारतका ५१ बाघ आरक्षणस्थलमा बाघका हर्कत अवलोकन र कैद गर्न प्रत्येक वर्ष हजारौँ पर्यटक पुग्ने गरेका छन्। 

कलरवाली धेरै कुरामा विशेष छे। ‘आफ्नै आमाको मुख्य क्षेत्रमा’ प्रभुत्व कायम गरेपछि उक्त क्षेत्रबाट सायदै कलरवाली बाहिर निस्किई। मृत्युपर्यन्त सोही क्षेत्रमा ‘अड्डा’ जमाइरही। 

‘ऊ अरु बघिनीभन्दा निकै ठूलो शरीरवाली थिई। त्यसैले ऊसँग लड्न अरु बाघ पनि डराउँथे। उसको ठूलो शरीरका कारण बाघ केन्द्रका कर्मचारी पनि ऊ बघिनी नभएर बाघ नै होला भन्ने सोच्दथे,’ पाटिलले भने। 

आफ्नो जीवनकालमा २९ डमरु उत्पादन गर्ने बघिनीको रेकर्ड उसले भारतमा बनाएकी छ। सम्भवतः यो विश्वकै रेकर्ड पनि हुन सक्छ। उसले जन्माएका २९ मध्ये २५ डमरु बाँचे। 

सन् २००८ मा कलवारीले पहिलोपटक जन्माएका ३ वटा डमरु न्युमोनियाका कारण मरे। तर त्यसपछि छोटो अवधिमा नै बेतका बेत सन्तान जन्माएर उसले विज्ञहरूलाई चकित पारेकी थिई। सन् २०१० मा उसले ५ वटा डमरु जन्माइदिई। संरक्षणको क्षेत्रमा काम गर्नेहरुका अनुसार एउटी बघिनीले एकै बेतमा ५ वटा डमरु जन्माउनु निकै दुर्लभ हो।

साधारणतया बघिनीहरूले दुई वर्षभन्दा बढी अवधिसम्म आफ्ना डमरुलाई साथमै राख्छन्। तर करलवालीले भने पर्याप्त सिकार पाइने स्थानमा पुर्‍याएर दुई वर्षअघि नै उनीहरुलाई स्वतन्त्र छोडिदिन्थी। 

‘ऊ शक्तिशाली आमा थिई। कहिलेकाहीँ उसले आफ्ना डमरुलाई खुवाउन दिनमै दुई वटा सिकार पनि गर्थी,’ कलरवालीलाई थुप्रै पटक उपचार गरेका पार्कका पशु चिकित्सक डा अखिलेश मिश्राले भने। बाघ संरक्षणको क्षेत्रमा काम गर्न पाएकोमा मिश्रा आफूलाई पृथ्वीकै भाग्यमानी व्यक्ति भएको ठान्छन्।

मेननजस्ता संरक्षणवादीहरू पेन्चले बाघ संरक्षणको केन्द्रको छवि बनाउन सक्नुको श्रेय कलरवालीलाई दिन्छन्। कलरवालीसँगै पेन्चको स्वास्थ्य ‘शिखर’मा पुगेको बताउने उनी भन्छन्, ‘पेन्च कलरवाली र उसले उत्पादन गरेका डमरुको विरासतको एउटा हिस्सा हो। उसले उत्पादन गरेका सन्तानले पनि यो क्षेत्रमा बाघको संख्या बढाइरहेका छन्।’

कलरवालीबारे बीबीसीसँग कुराकानी गरेका सबैले कलरवालीसँग जोडिएका राम्रा र रमाइला पक्ष उजागर गरे। (कलरवाली सानी छँदा) भोकाएको चितुवाको बाटो छल्न कलरवाली र उसका तीन भाइबहिनीले रुखमा चढेको कुरा पनि पाटिल सम्झन्छन्। 

पेन्च नदी किनारमा ढुंगाको आड लागेर पाँच वटा डमरुका साथमा कलरवालीले आराम गरिरहेको दृश्य वन्यजन्तु फोटोग्राफर वरुण थक्करले देखेका थिए। ११ वर्षपछि पनि उनको दिमागमा त्यो दृश्य अझै ताजै छ। नेपाल समयडमरुका साथ आराम गर्दै कलरवाली। तस्बिर : वरुण थक्कर

बुद्धिमानी कलरवाली समस्यामा परेको वा घाइते भएको बेला प्रायजसो बाहिर खुला ठाउँमा पल्टन्थी। आफूलाई सुरक्षा/संरक्षण दिने मानिसको दृष्टिमा परियोस् र सहयोग मिलोस् भनेर उसले त्यस्तो गरेकी हुन सक्छे। मृत्यु हुनुभन्दा पहिले पनि उसले त्यस्तै गरेकी थिई। कमजोर भएका बेला कम मात्र हिँडडुल गर्ने कलरवालीको हेरचाह गरेकाहरू बताउँछन्।

कलरवालीको अन्तिम संस्कार शनिबारै गरिएको छ। कर्मचारी, प्रकृति संरक्षणवादी र स्थानीयवासीले फूल चढाएर आरक्षणको खुला मैदानमा कलरवालीको अन्तिम संस्कार गरियो। 

आरक्षणका कर्मचारीले बनाएको कलरवालीको ‘भिडियो अबिच्युरी’मा गुफामा आराम गरिरहेको, घाँसमा पल्टिएको फुटेजका साथ सुरु हुन्छ। यसपछि कलरवाली स्क्रिनमा देखिन्छे। कलरवालीलाई माया गर्नेहरुले उसलाई भिडियोकै माध्यमबाट सम्झिरहनेछन्। 

‘कलरवाली अरु बघिनी जस्तो थिइन,’ डा मिश्र भन्छन्। ‍अरु बाघ कलरवालीको शोकमा डुबिरहेका थिएनन्, बरु उसको विरासतको उत्सव मनाउन चाहन्थे। ‘उसले पूर्ण र सुखी जीवन बाँची,’ शेख भन्छन्, ‘उसको मृत्युले हामीलाई दु:खी तुल्याएको छ। तर ऊ हाम्रो दिलमा रहिरहनेछ।’नेपाल समयकलरवालीको अन्तिम संस्कार। तस्बिर : पेन्च आरक्षण

(बीबीसीका लागि शरण्य ऋषिकेशले तयार पारेको सामग्रीको भावानुवाद नेपालसमय बाट )

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी  
अछाममा ३० वडाको नतिजा सार्वजनिक
महासमिती सदस्य बिष्ट र उपसभापती बजगाँईकै वडामा पनि कांग्रेस पराजित
अछाममा सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित