अन्तरवार्ता / विचार

सन्तान हुर्काउन जागिर त्यागें तर…

अहिले म तीन सन्तानकी आमा हुँ। 

पहिलो छोरी, त्यसपछिका जुम्ल्याहा छोराको हेरचाह र उनीहरूको हुर्काइमा मेरा १५ वर्ष बिते।

म आमा बन्नुभन्दा पहिले एउटा निजी संस्थामा जागिरे थिएँ। महिनामा २५ हजार तलब थाप्थेँ।

श्रीमानको पनि एउटा गैरसरकारी संस्थामा जागिर थियो। सहरमा दुई जना रमाइएरै बसेका थियौँ। हामीलाई काठमाडौंमा बस्न, खान, यसो परेको बेलामा गाउँमा रकम पठाउनको लागि पनि दुवै जनाको जागिरले भरथेग गरेको थियो। बिहे गरेको दोस्रो वर्षदेखि नै घरमा बच्चा नजन्माएको बारेमा चासो, चिन्ता हुन थालेको थियो।

दसैंमा घर गएको बेलामा सासूआमाले कुरा घुमाएर यसो नातिनातिनी पाइदिए हुन्थ्यो भन्ने आशय राख्नुहुन्थ्यो।

उता मेरो माइतीमा पनि आमाबुबाले छोरीले बच्चा नजन्माएसम्म उसको घरमा गएर खाना खानु हुँदैन भन्ने मान्यताको पोयो फुकाइरहनुहुन्थ्यो।

मेरो मास्टर्सको एउटा विषयको जाँच दिन बाँकी थियो। त्यो पनि जाँच दिएर सकाएँ। समाजशास्त्र विषयमा मास्टर्स पास गरेँ।
घर परिवार र विस्तारै आफूलाई पनि अब बच्चा जन्माउनुपर्छ भन्ने लाग्यो।

बिहेको तेस्रो वर्षमा म आमा बनें। कार्यालयको नियम अनुसार दुई महिना सुत्केरी बिदामा बसेँ।

मेरो ससुरा बिरामी हुनुहुन्थ्यो। उहाँको स्वास्थ्यका कारण चाहेर पनि मेरी सासुआमा नातिनी स्याहार्न आउन पाउनु भएन। मेरा नन्द आमाजु कोही थिएनन्, एक जना देवरको बिहे भएको थिएन। माइतमा पनि बुहारी सुत्केरी भएका कारण आमा आउन पाउनु भएन।

सुत्केरी बिदा सकिएपछि अफिस के गर्ने के गर्ने निकै दोधारमा परेँ।

अनेक विकल्प सोचें। श्रीमानले पनि निकै सोच्नुभयो। साना बच्चाको लागि खोलिएका चाइल्ड केयर सेन्टर पनि चहार्‍यौं। सानो बच्चा हेर्नको लागि मान्छे खोज्ने अभियान पनि चलायौं तर बिरानो सहरमा हाम्रो लागि सबै कुरा अनुकूल हुन सकेन।

श्रीमान पनि अमिलो मुख बनाउनु भयो। न घरबाट आउन सक्ने अवस्था छ न त माइतीबाट। मन निकै बिलखबन्धनमा पर्‍यो।

‘तिम्रो यसैपालि प्रोमशन पनि हुने कुरा छ, तलब पनि राम्रो छ, तिमी अफिस जाऊ न त म छोरी हेर्छु, छोरी हुर्केपछि म काम खोजौंला। तिम्रो धेरै मेहनत छ यो जागिरमा, कति दु:ख गरेर यत्तिको स्थापित भएकी छौ’ श्रीमानको यस्तो भनाइले एकैछिन त मन नै बहलायो।

‘वाह! मेरो श्रीमान कति सकारात्मक सोच्ने ? कति महिलाको इज्जत गर्ने ? यस्तो सपोर्ट सबैका श्रीमानले कहाँ गर्छन् र ?’ मुखले नभने पनि मनमनै उहाँलाई धेरै धन्यवाद दिएँ।

श्रीमान अफिस जानुभयो, म सानी छोरीसँग घरमै थिएँ। श्रीमान अफिस गएपछि मनमा धेरै कुरा खेले। उहाँले भनेका कुरा त सही हुन्। उहाँले महिलाप्रति दर्शाएको सदासयता पनि धेरै हदसम्म सकारात्मक छ तर हाम्रो समाज ?

हामी त जति आदर्शका कुरा गरे पनि यही समाजमा बस्नुपर्छ। यही समाजको अंग भएर रहनुपर्छ। जतिसुकै आदर्श र उपदेशका कुरा गरे पनि समाज त पुरूषवादी चिन्तनबाट ग्रसित छ। यही समाजका कतिपय कुरितीहरूलाई पनि हो मा हो मिलाएर आत्मसाथ गर्नुपर्ने बाध्यतामा छौं।

मनले धेरै कुरा सोचे। दिमागमा धेरै कुरा खेलाएँ। यदि श्रीमानलाई बच्चा हेर्न लगाएर म अफिस गएँ भने भोलि समाजले के भन्ला?आफन्तले के भन्लान् ?

घर परिवारले बुहारीलाई जागिर खान पठाएर घरमा बच्चा हेरेर बसेको छ भन्दै उहाँको कति बिल्ला गर्लान् ?

उहाँका साथीसंगीले हाँसोको पात्र बनाउँछन् होला।

कसैको उदाहरण दिन पर्‍यो भने  पनि मेरै नाम जोडेर मान्छेले उडाउन बेर लगाउँदैनन्। अहिले छोरी सानी छ, उसलाई राम्रोसँग हुर्काउँछु, बढाउँछु ऊ स्कुल जाने भएपछि म पनि जागिर खोज्छु।

पाँच वर्ष काम गरेको अनुभव छ, मास्टर्स पासको सर्टिफिकेट छ। श्रीमानलाई घरमा राखेर मैले जागिर खान हुँदैन।

हाम्रो समाज यतिविधि स्मार्ट भइसकेको पनि छैन ताकी मेरो यो कदममा सबैले हो मा हो भनेर तारिफ गर्न सकून्।

ओहो तिमीले ठिक गर्‍यौं कसैले भन्ने छैनन्। हामी दुई जनामा समस्या छैन तर हामी यही समाजमा रहनुपर्छ मेरो अन्तरमनले यो कुरा स्वीकार गर्नै सकेन।

साँझ श्रीमान अफिसबाट आउनुभयो। उहाँलाई सबै कुरा भनें। सरकारी जागिर भए पो के हो के हो भन्ने हुन्थ्यो, आखिर प्राइभेट जागिर न हो फेरि पनि कोसिस गरेँ भने पाइहाल्छु नि।

लोग्ने मान्छेले यति सानो बच्चालाई कसरी दिनभरि हेर्न सक्छन् र ? म जागिर छोड्छु , तपाईंले छोड्नु हुँदैन। धेरैतिर तपाईंको सम्बन्ध छ, कहीँ न कहीँ भोलिका दिनमा त्यो सम्बन्ध मेरो करियरको लागि पनि त काम लाग्न सक्छ।

आमा र बुवाको हेराइमा धेरै फरक पर्छ, भर्खर दुई महिनाको बच्चालाई बाबुसँग छोडेर कसरी म अफिसमा जान सक्छु ?

यो मेरो निर्णय हो, भोलि म अफिस गएर बोससँग कुरा गर्छु र राजीनामा दिएर आउँछु।

एकैछिन त श्रीमान मेरो कुरामा अवाक बन्नुभयो।

‘हुन त हो तर तिम्रो धेरै मेहनत छ यो जागिरमा। तिम्रो धेरै मन दुख्छ।’

उहाँलाई सम्झाउने प्रयास गरेँ।

धेरै सम्झाएपछि श्रीमान मेरो कुरामा सहमत हुनुभयो। भोलिपल्ट अफिस गएँ। थप बिदाको लागि अनुनय विनय गर्ने अवस्था थिएन, प्राइभेट कम्पनीमा आजको भोलि अर्को स्टाफ राखिसकेका हुन्छन्। आफ्नो बाध्यता सुनाएर राजीनामा दिएर घर फर्किएँ।
मनमा जस्तो पीडा भए पनि बाहिर केही देखाइनँ।

मन अमिलो बनाउँदै घरमा आएँ। छोरी आफूले हेरेँ र श्रीमानलाई अफिस पठाएँ। अब छोरी स्कुल जाने नहुन्जेल म फूल टाइम गृहिणी।

दिनहरू बित्दै गए। छोरी तीन वर्ष पुगेपछि म फेरि आमा बन्न लागेँ। दुई सन्तान चाहिन्छन्, धेरै वर्षको अन्तर भयो भने हुर्काइमा समस्या हुन्छ भन्ने लाग्यो। भविष्यमा जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने सकारात्मक सोच्दै करियर दाउमा राखेरै भए पनि घर गृहस्थीमा रमाउन थालें। पहिले जस्तो सजिलो थिएन दोस्रो पटकको आमा बन्ने क्षण। गर्भ रहेको तेस्रो महिनामा अस्पतालमा चेक गर्दा थाहा भयो कि यसपटक जुम्ल्याहा बच्चा छन् भन्ने कुरा। एकैछिन त हामी दुवै जना छाँगाबाट खसेजस्तै भयौं। अब के गर्ने ? सोच्न पनि सकेनौं।

केही साथीले क्युरोट गर्न सुझाए।

निकै तनावका बीच बाँकी छ महिना बिते। स्वास्थ्यमा उतारचढाव भइरह्यो। जे होस् डाक्टरले तोकेकै समयमा म आमा बनें। यस पटक जुम्ल्याहा छोरा जन्मिए। 

एक छोरी दुई छोराकी आमा भएँ। 

एउटा बच्चा हुर्काएजस्तो सहज नहुने रहेछ जुम्ल्याहा बच्चा हुर्काउन। 

एक वर्षसम्म पूरै निद्रा एकदिन पनि सुत्न पाइनँ होला। जुम्ल्याहा बच्चाको अचम्मको सम्बन्ध हुँदोरहेछ। एउटाले जे गर्छ अर्कोले त्यही गर्नुपर्ने। अब तीन बच्चा हुर्काउने र घरधन्दामै मेरो ऊर्जाशील उमेर बित्यो। 

छोराछोरी बिस्तारै हुर्कंदै गए, आफूलाई जाँगर मर्न थाल्यो। 

हिजोजस्तो आँट, जोश जाँगर पलाउँथ्यो त्यो बिस्तारै ओइलाउन थाल्यो। छोरी स्कुल जान थालिन्, छोरीलाई स्कुलको लागि तयारी गरिदिनु, श्रीमानलाई अफिसको लागि, फेरि साना छोराको हेरचाह, उनीहरूले भताभुंग पारेको घर सफा सुग्घर गर्दैमा लखतरान पर्न थालेँ।

अब केही गरौं भन्दा हिम्मत ओझेलमा पर्न थाल्यो। 

फूल टाइम गृहिणीमा मेरो दैनिकी बित्न थाल्यो। छोराहरू हुर्कन थाले, उनीहरू पनि स्कुल जान थाले। 

अब तीन बच्चा र उनीहरूका पिताजीको लागि समय मिलाउँदा कतिपटक त आफैंले आफ्नो लागि समय छुट्टाउन पनि बिर्सने भएछु।

घरमा बस्ने भएपछि कोही पाहुना आए पनि उनीहरूको मेजमान गर्नपछि पर्नुभएन। 

कोही बिरामी भएको थाहा पाएपछि भेट्न जानैपर्छ, कोही विदेश जाने छन् वा विदेशबाट आउने छन् भने लोकलाजका कारण पनि एयरपोर्टसम्म जानै पर्‍यो। कोही सुत्केरी भए वा अस्पतालमा छन् भने भेट्न जानै पर्‍यो।

आफूलाई कसैले गरेन भनेर मन मार्न नसकिने रहेछ। बिहानभरि लखतरान परेको ज्यान दिउँसो एकैछिन थकाइ मार्न नपाउँदै छोराछोरी स्कुलबाट आउँछन्। 

उनीहरूका गन्थन, उनीहरूका फोहोर लुगा, दिनैपिच्छेका फरक-फरक ड्रेसको व्यवस्थापन, टिफिन, होमवर्क अनि श्रीमानको हेरचाह सबैतिरबाट माकुरो जालोमा बेरिए जसरी म पनि बेरिन बाध्य भएँ। 

अब मेरो मास्टर्सको सर्टिफिकेटले पनि मलाई गिज्याउन थालेको होलाजस्तो लाग्न थाल्यो।

एकछिन छोरीले प्रश्न गरिन्, ‘मामु हजुरको पेशा के हो ? बाबा त अफिस जानुहुन्छ बाबाको पेशा म्यानेजर भनेर लेखें, म्यामले मामुको पेशा पनि लेख्न भन्नु भाको छ।’

म केही बोलिनँ।

सानी बच्चीलाई मेरो के पेशा भनौं ? म केही बोलिनँ। 

पाँच कक्षामा पढ्ने छोरीले फेरि सोधिन्- मामु पेशा भनेको काम हो, हजुरको त कति धेरै काम छ यो कपीमा अट्दैन म कति वटा काम लेखौं ? उसले औंला भाँचेर मम्मीका बीस वटा काम पुराएकी रहिछ।

उसलाई फकाएर मामुको पेशा गृहिणी लेख भनेर सुझाएँ।

स्कुलबाट आएपछि छोरी निराश देखेँ। 

उसलाई कारण सोधेँ,‘मेरो मामुको मात्रै जब छैन सबै साथीका मामुको जब छ। मामुको पेशा गृहिणी भन्दा मेरा साथीहरू हाँसे।

‘तिम्रो मम्मी घरमा बस्ने मात्रै हो ?’

‘अफिस जानुहुन्न ?’

‘हाउस वाइफ हो ?’

यस्तै भनेर उडाए।

छोरीलाई  रुन्चे अनुहारमा देखें। यिनै छोराछोरीको लागि, उनीहरूको खुसीको लागि आफ्नो करियर दाउमा राखें, खाइपाई आएको आकर्षण जागिर छोडें, मास्टर्सको सर्टिफिकेट सिरानीमुनि राखेर सन्तानको खुसीको लागि हतारिए तर आज …। 

मेरी छोरीले आमाको पेशा लेख्दा लाज मान्नुपर्ने अवस्था आयो। भोलि छोराहरूले पनि यही प्रश्न सोध्लान्, ‘तपाईंको पेशा के हो?’ 

जवाफ उही हुन्छ मेरो। छोराका साथीहरूले पनि छोरीलाई जस्तै बिल्ला हान्लान्। अनि रुन्चे अनुहारमा घरमा आउलान्। अनि मेरो जवाफ के होला ?

सरकारले नै विभेद गरेको छ, जनगणनामा पेशाको वर्गीकरण गरिएको छ तर त्यहाँ अप्सनमा गृहिणी भन्ने शब्द छैन। 

कुनै पेशाभन्दा कम छैन गृहिणी पेशा। तीन सन्तानको खुसीको लागि तिसौं पटक म रोएकी छु। उनीहरूको खुसीलाई नक्कली हाँसोमा आफू खुसी भएको देखाएकी छु। 

घर गृहस्थीमा बिहानदेखि रातिसम्म घोत्लिने मजस्ता गृहिणीका सन्तानले छाती फुलाएर मेरी आमाको पेशा गृहिणी हो भनेर कहिले लेख्ने ? 

हिजो सन्तानको खुसीको लागि सारा अभिलाशा त्यागेकी म आमा आज सन्तानले तपाईंको पेशा के हो भन्दा अवाक हुनु परेको छ। 

यस्तो पीडा कति आमाहरूको होला ?  करियर त्यागेर गृहस्थीमा तल्लीन एक आमाको भोगाइ आम आमाहरूको साझा भोगाइ होइन र ? – सेतोपाटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असुराे छ आलिमा , काेराेना जान्छ नालिमा
काेराेना थपि दै छ त्यसैले गुर्जाेलाई यसरी प्रयोग गराै र गुर्जोको फाईदाहरु
सिद्धेश्वर प्रभामा खेलिएको युद्धकालीन कला–भुवा नाच (फोटो फिचर)
ह्याप्पी बर्थ डे आन्टी