ग्यालरी

जिन्दगीमा एक पटक घुम्नैपर्ने ठाउँ (तस्बिरहरू)

सर्विन्द रेग्मी

हुन त  दसैं आउनुभन्दा अगाडि योजना बनिसकेको थियो। तर जाने/ नजाने कुनै टुंगो लागेको थिएन, किनकि सबै जनाको बिदा मिल्नेमा शंका थियो।

केही दिन अगाडि मात्र मोडेल ट्रेक जानु भएको साथीहरूको भने जाने लगभग पक्का पक्की नै देखिन्थ्यो। दसैंपछिको मौसम अनि पानीले भने सबैलाई द्विविधामा पारेकोले योजना सफल हुनेमा आशंका पनि नभएको होइन।

गत कात्तिक १७ गतेको कुरा हो।

बिहान मोबाइलमा वाइफाइ कनेक्ट गर्न साथ प्रशान्तले इन्स्टामा गरेको मेसेज आयो , नाताले भाइ बोलीचालीमा भने सर भन्ने बानी हाम्रो, उनले थोरोङ्ला ट्रेक जाने पक्का पक्की भएको जानकारी गरायो।

मेरो पनि थोरोङ्ला जाने सपना उल्कै थियो तर जागिरको डोरीले चरप्प कसेकोले  यसै हस् भन्न नसकेपछि म खबर गर्छु भनें।

अफिसबाट बिदा मिलेपछि साथीहरूलाई जानकारी दिए।

तिहारको बेला कार्य क्षेत्र म्याग्दी भएकोले  बेनी बजार लगभग दिपमय हुँदै थियो।

घर जाने खुसी, अनि ट्रेकको पनि तयारी गर्नुपर्ने भयो। हुन त मेरो लागि मर्दी र गोसाइँकुण्ड पछिको यो तेस्रो ट्रेक थियो।

जाने साथीहरूको लिस्ट बनाइयो।(स्पन्दन ,प्रशान्त,प्रतीक,सुमन अनि म) कात्तिक २१ गते बिहान ४ बजे जाने तरखर गरियो।

पोखरा बट बेशीसहरका लागि ट्याक्सी बुक गरिसकेका थियौं। मेडिसिन, केही इनर्जी फुड ,म्युजिक, क्यामेरा,ट्रेकिङ म्याप र बाटोमा पर्न सक्ने हर साना ठूला  समस्याको लागि आ-आफ्नो भागमा एक एक जिम्मवारी बाँडेका थियौं।

मेरो भागमा भने थोरै उटपट्याङ पनि परेकोले गर्दा समग्र यात्रा रमाइलो,सफल अनि योजना मुताविक हुनेमा कुनै शंका थिएन।

पहिलो दिन

यात्राको अघिल्लो दिन निद्रा कम लाग्नु, मनमा कुरा खेल्नु,चाँडो उज्यालो भए पनि हुने नी !जस्तो लाग्नु  एक किसिमको हाम्रो विशेषता नै हो।  साढे ३ को अलार्मसँगै ४ बजे हामी यात्राको लागि तयार भयौं।

विरौटाबाट प्रतीक र सुमन अनि चाउथेबाट प्रशान्त ,स्पन्दन र म ट्याक्सी चढी लमजुङ बेशीसहर पुग्यौं। सुमन र प्रतीक मेरा लागि नयाँ साथी थिए भने प्रशान्त यो टिमका एक्ला साझा साथी भए।

सबैको एउटै सोच र कुरा मिल्ने भएकोले यात्राको सुरू हाँसो मजाक सँगै अघि बढियो। तिहारको भोलिपल्ट भएकोले होला गाडी अलि कम चलेका थिए। 

हामी केहीबेर गाडी कुर्नपर्ने भयो २ घण्टाको बेसीसहर बसाइपश्चात् १० बजे मनाङसम्म जानको लागि जीप पायौं, सबै सामान जीपको पछाडि राखी मर्स्याङ्दीको तिर हुँदै यात्रा अगाडि बढ्यो। गुरूजी खत्री दाइको त्यो मिजासिलोपन अनि ठाउँ चिनाउने तरिका ,गाडीमा गीत सङ्गीतको आनन्द, हाँसोको फोहोरासँगै यात्रा रमाइलो हुँदै थियो। भोकले पेटमा हलचल मच्याइसकेकोले च्यामचेमा  झरना हेर्दै हामीले खाना खायौं। हाम्रो यात्रा आजको लागि मनाङ गाउँसम्मको भए पनि हामी खत्री दाइको सुझाव र दोस्रो दिनको  सहजताको लागि खाङ्सार जाने निर्णयका साथ अगाडि बढ्यौं।

जति माथि जान्थ्यौं त्यति नै भयानक बाढीको चपेटामा परेको मनाङ देख्थ्यौं, गत असार महिनामा आएको बाढीको त्यो दुखद घटना जसले ताल गाउँ ,चामे,धारापानीमा सयौं घर बगाएको र बाटो बिजुली समेत प्रभावित भएको  दृश्य अनि  ताल गाउँको त्यो भयावह स्थिति देख्दा र हालसम्म पनि गाउँको पुनःस्थापना नभएको हेरिरहँदा भने मन अमिलो भएर आउँथ्यो।

बाढीको प्रभावले खोलाका पुलहरू प्राय काठबाट निर्माण भएका रहेछन् , मनाङ चामेमा पनि क्षति उस्तै देखिन्थ्यो तर पर्यटनको हब बनेको मनाङ क्षेत्रमा सरकारको तर्फबाट छिट्टै पूर्वाधार मात्र निर्माण हुने हो भने पनि पर्यटन व्यवसाय र पर्यटकलाई सहज हुने देखिन्थ्यो।

यी सबै दुःखका बाबजुद पनि मनाङको सौन्दर्य प्रकृति अनि त्यहाँको आतिथ्यता भने मन बहलाउने थियो। 

क्यामेराले नभ्याउने ती आधा अधूरा तस्बिरसँगै हामी पहिलो दिनको घामलाई खाङ्सारमा लगेर बिसायौं। 

खाङ्सार समुन्द्री सतहबाट करिब३७५६ मिटर उचाइमा रहेको छ र यो नै मोटर पुग्ने अन्तिम बिन्दु पनि हो।

करिब १२/१३ घण्टा गाडीको यात्राले सबै जना थकित देखिन्थ्यौं। केहीबेरमा हामी  फ्रेस भई डाइनिङ हलमा जम्मा भएर पहिलो दिनको समीक्षा गर्यौं। होटलका साहुजीसँगको भलाकुसारीले तिलिचो जाँदा हुनसक्ने समस्या अनि तिलिचो गएर फर्किनेलाई  थोरोङ्ला जान समस्या नपर्ने कुराकोअनुभव सुन्यौं।

दोस्रो दिन

थोरै थकान अनि नयाँ जोससँगै चिसो मौसमले निद्रा खुलाइसकेको थियो। खासमा आज हामीलाई धेरै हिँड्नु थिएन, त्यसैले हामी ६:३० बजे उठ्यौं र फ्रेस भएर चिया पानी लियौं।

होटल साहुजी दाइको बेस क्याम्पमा पनि होटल रहेकोले हामीलाई डिस्काउन्ट कार्ड पनि दिनुभयो।

हामी  ७:१५ मा श्रीखर्कको लागि हिँड्यौ,  खाङसारबाट करिब १:३० घण्टामा पुगिने श्रीखर्क हाम्रो दोस्रो यात्रा अथवा थोरोङ्ला पासको लागि पनि महत्वपूर्ण ठाउँ थियो। तिलिचो जाने र थोरोङ्ला जाने बाटोको बीच पोइन्ट भएकोले केही सामान हामी श्रीखर्कमा राखेर हिँड्ने योजना बनाएका थियौं। 

होटलमा सामान राखी बेस क्याम्पतर्फ लाग्यौं। श्रीखर्कदेखि ४ घण्टाको दूरीमा रहेको बेस क्याम्पमा टेलिफोन नलाग्ने हुँदा सबैले परिवार साथी संगीसँग कुरा गर्दै  झोलामा बोकेको खाने कुरा खाँदै यात्रालाई निरन्तरता दियौं।

जति अगाडि बढ्यो उति राम्रो हिमाल तल बगेको मर्स्याङ्दी अनि ठूला पहाड देखिन्थे। यो बीचमा साथीहरूसँगको सामिप्यता, चीन जान, पुरानो  ट्रेकका सम्झना बाँड्दै, गीत संगीत सुन्दै हाम्रो यात्रा अघि बढिरहेको थियो।

उपल्लो श्रीखर्क पुग्दा बेस क्याम्प जाने २ वटा बाटो रहेछ तल्लो अलि लामो पर्ने सजिलो र माथिल्लो अलि गाह्रो रहेको कुरा होटलको दाइले भनेपछि हामी टक्क रोकियौं।

एकछिन सोच्न नपाउँदै स्पन्दनले भने रिस्क है तो इश्क है भन्दै माथिल्लो बाटो लागे हामी पनि पछि लाग्यौं।

अलि पर पुग्दा  झोलुङ्गे पुल थियो तर बाटो पहिरोले लगेकोले हामी भिरमा चार खुट्टा टेक्दै त्यो ठाउँ पार गरी अगाडि बढ्यौं।

उपल्लो श्री खर्कदेखि बेस क्याम्पसम्म कुनै होटल नभएकोले बीचमा हामी पानि र खाने कुराका साथ थकाइ भुलाउँदै हिड्यौं।बाटो अलि भिर अनि माथिबाट पहिरो झरी राख्ने भएकोले यात्रा अलि जोखिम नै थियो। 

कुनै ठाउँमा त पहिरो झरिराख्ने हुँदा बाटो नै नभएको र आफैं बनाउनुपर्ने पनि रहेछ।

हामी ४ बजे बेस क्याम्प पुग्यौं। समुन्द्री सतहदेखि करिब ४१५० मिटरमा रहेको यस ठाउँमा ५/६ ओटा होटल रहेछन्। खाङ्सारमा बसेको दाइको होटलमा बस्ने भएकोले हामी सोही होटल पुगी दाइले पठाएको खबर पनि दियौं।

केही बेरको विश्रामसँगै गार्लिक सुप अनि खाजा खायौं। सोही बीचमा होटलको दाइले २ जना इन्डियन यात्री  तिलिचोमा समस्या परेकोले सहयोगको लागि मान्छे पठाएको कुरा जानकारी दिनुभयो। पछि उहाँहरू होटलमा आइसकेपछि थाहा भयो हिउँमा चिप्लिएर लडेर हात भाँचिएको रहेछ।

हिउँको बाटो र जुत्ता हिउँमा हिँड्ने खालको नभएकोले दुर्घटना भएको स्वयं यात्रीले भन्नुभयो।

हामी भने झोलाहरू रूममा राखी तेस्रो दिनको सहजता र हाइ अल्टिच्युटको सिकार नहोस् भन्ने हेतुले हाइकिङको लागि उकालो लाग्यौं।  

बेलुकीपख भएकोले चिसो बढ्दो थियो, हावा पनि चलिरहेकोले करिब १०० मिटर जति माथि पुगेर फर्कियौं।

तेस्रो दिन

हाइट बढेकोले होला निन्द्रा राम्रो परेन। चार बजे सबै जना उठ्यौं तयार भएर निस्किँदा ५ बजिसकेको थियो।

होटलमा बसेकामध्ये सबै जना निस्किसकेकाले हामी तातो पानी खाएर एउटा हातमा लाइट र अर्कोमा लौरी (ट्रेकिङ स्टिक) अनि मुखमा लसुनको पोटी च्याप्दै  तिलिचोको लागि निस्क्यौं।

हाइट र चिसोले गर्दा हिँडाइ सुस्त थियो बाइस घुम्तीसम्म बाटो उकालो थिएन। त्यसपछि नागबेली उकालो अनि हिउँ। बीचमा बस्ने ठाउँ नहुँदा पानीको प्यास लागे पनि आफूसँग भएको पानीले नै पुर्‍याउनु पर्ने बाध्यता पनि।

बाटोको लागि बोकेको इनर्जी फुड खाँदै अगाडि बढ्यौं। केही साथीहरू घोडामा बाइस घुम्ती काट्ने भए हामी भने बिस्तारै अगाडि बढ्यौं। करिब १० बजे हामी तिलिचो ताल पुग्यौं।

हिउँको बीचमा रहेको त्यो नीलो तालको मनोरम सौन्दर्यता, हिउँले ढाकिएका ती सेता हिमाल अनि त्यहाँ रमाएका सबै आगन्तुक देख्दा बाइस घुम्ती अनि ती उकालो बाटोका थकाइ सबै त्यही पग्लिएर सकिए।

एक छिनलाई  सबै कुरा बिर्सिएर ताल जस्तै स्वच्छ, सफा मन भएर त्यो सौन्दर्य नियाल्न पुग्यौं। आनन्दित भयौं। सोचलाई सफा अनि थकानलाई बिर्सिंदै मनलाई आनन्दित पार्यौं तर हावाको झोकाले भने झस्काइ रहन्थ्यो।

क्यामेराको क्षमताभन्दा बाहिर भए पनि केही तस्बिर सम्झनाको लागि मन मस्तिष्कमा खिची त्यहाँबाट बिस्तारै बाटो मोडी बेस क्याम्पतर्फ लाग्यौं। 

करिब १ बजे हामी बेस क्याम्प आएर खाना खाइवरी यात्राको दोस्रो भाग थोरोङ्लाको लागि हामी श्रीखर्क जाने भयौं।

तिहारको भोलिपल्ट हिँडेकोले हामी जाँदा भन्दा फर्किंदा तिलिचो जानेहरूको लर्को नै लागेको थियो। बाटोमा भेटिने सबै आन्तरिक यात्री देख्दा मन फुरुङ्ग भएर आउँथ्यो।

हिमाल घुम्ने विदेशी मात्र हुन्छन् भन्ने कुरा गलत सावित देखिन्थ्यो। तर सबै यात्रीहरू यात्राप्रति सचेत भने थिएनन्। सामान्य कपडा र चप्पलको भरमा यात्रा गर्दा पक्कै  स्वास्थ्यमा प्रतिकूल असर पर्छ नै।

करिब तीन घण्टाको हिँडाइपछि साँझमा हामी श्रीखर्क झोला छाडेको सरिता दिदीको होटलमा आयौं।

अल्टिच्युट सिकनेसले गर्दा एक जना साथी बिरामी नै पर्नुभयो। साथीको चिन्ता अनि भोलिको यात्रालाई मनमा खेलाउँदै भुसुक्क निदायौं।

चौथो दिन

अबको यात्रा अलि कठिन थियो कारण हाइट तर हामीले पहिला नै आश्वासन भने तिलिचोबाट फर्किनेले सजिलै थोरोङला पास गर्छ भन्ने पाएका थियौं। तर पनि मनमा भने खुसी, कौतुहलता, डर सबै मडारिएको थियो। किनकि जिन्दगीका सबै पास भन्दा फरक पास थोरोङ्ला पास थियो।

 सधैं उठाउने साथी आज  चिसो र थकाइले होला ऊ आएन। आज म नै सबैलाई उठाउन लागें। सबै जना फ्रेस नै देखेपछि बिहान सुनौलो लागेर आयो।

आजको लागि हाम्रो टार्गेट थोरोङला हाई क्याम्प थियो तर हाइटमा सुत्न अलि गाह्रो होला भन्ने पनि ख्याल आयो र सबैले फेदी (बेस क्याम्प) सम्म जाने र तिलिचोमा जस्तै हाइकिङ गर्ने निर्णय गर्यौं।

बिहानको नास्ता श्रीखर्कमै गरी ८ बजे हामी याक खर्कको लागि हिँड्यौं।

बाटो सजिलो भएकोले हिँडाइ सबैको एकनास थियो। बाटोमा याक चौरी च्याङ्ग्राका लागि खर्कहरू प्रशस्त देखिन्थ्यो। श्रीखर्कमा हामीलाई २ घण्टामा पुगिन्छ भन्नुभएको भए पनि २ घण्टा अघि नै २  घण्टा हुँदा बल्ल याक खर्क पुग्यौं।  

हामी २ घण्टामा कार्चेमात्र पुगेका रहेछौं। याक खर्कमा लन्च गर्यौं। केहीबेरको विश्रामपछि हामी बेस क्याम्पतर्फ लाग्यौं। बाटो मनोरम सौन्दर्यता चारैतिर देखिने हिमाल याक, मृगहरू चरेको हेर्दै, साँझ करिब ६ बजे हामी थोरोङलाबेस क्याम्प पुग्यौं, त्यहाँ होटल थाेरोङ बेस क्याम्प लजमा दाइहरूले बडो सरकारका साथ हामीलाई सेवा दिनुभयो।

बेलुकाको खाना, गार्लिक सुप खाएर बिहान चाँडै नै हाइ क्याम्प पुग्ने योजना बुनी सुत्ने तरखरमा लाग्यौं।

पाँचौं दिन

आज पाँचौं दिन। आजको यात्रा अलि फरक छ सपनाको उडान भर्ने दिन।

३:३० को अलार्म बज्दै गर्दा हामी पनि ब्युँझिसकेका थियौं। आज अलि चाँडो यात्रा तय गर्नु थियो थाेरोङलामा हावा चल्ने हुँदा सकेसम्म चाँडो पास हुनुपर्ने हुँदा चार बजेसम्म सबै नास्ता खाएर हिँड्नको लागि तयार भयौं।

हामीसँग अरू दुई जना साथीहरु पनि सँगै जाने हुनुभयो। हाइ क्याम्पसम्म २ घण्टाको नाक ठोक्किने उकालो भएकोले हामी लाइट बाली हिँड्न थाल्यौं।

अँध्यारो भएकोले पनि होला त्यो उकालो सजिलै काटियोजस्तो लाग्यो। करिब ६ बजे हाइ क्याम्प पुग्दा त्यहाँ बस्नुभएका अरू विदेशी यात्री पनि हिँड्न लाग्नुभयो। हामी केहीबेर थकाइ मारी पुन: यात्रा लाई निरन्तरता दियौं।

जमेको बरफ, साँघुरो बाटो र हाइट पनि बढ्दै गएकोले होसियार साथ उकालो हिँड्न थाल्यौं।

केही पाइला चाल्नासाथ थकान महसुस भइरहेको थियो। जसले गर्दा पैंताला भारी भएका थिए।  

करिब ४ घण्टाको त्यो लामो हिँडाइपछि भने अकस्मात पर्दा खुल्यो। चारैतिर देखिएका हिमालले स्वागत गरेजस्तो भान भयो। 

सबै को त्यो टिठलाग्दो अनुहारमा चमक आयो। पाइला लामा बने सबै जना हर्षित हुँदै एक किसिमले खुसी साटासाट नै भयो। सपना पूरा भयो हामी सपनाको  पास पुगिसकेका थियौं।

विश्वकै अग्लो माउन्टेन पास भनेर चिनिने थोरोङ्ला अब हाम्रो लिस्टमा परिसक्यो।

सबै दुःख, थकान भुलेर स्वर्गको राज्यमा रमाउन पुग्यौं।

सबै जना फोटो खिच्न अनि टि शपमा चिया पिउन लाग्यौं। मन भने खुसीले गदगद थियो। सबै जना सकुशल, त्यो उचाइमा पुग्नु एक रमाइलो र अविस्मरणीय क्षण थियो।

केही बेरको बसाइले मन त आनन्दित थियो नै चिसो पनि उत्तिकै भएकोले अब भने सबै ओरालो बाटो लाग्नुपर्ने थियो। करिब ५ घण्टा अर्थात् ५४१६ को उचाइदेखि ३८०० मिटर झर्नुपर्ने थियो।

हामीलाई त्यो कुनै ठूलो कुरा थिएन किनकि हामी थोरोङ्ला पास भइसकेका थियौं।

हामी ओरालोतर्फ लाग्यौं जति तल आउथ्यौं उत्तिनै सहज महसुस हुन्थ्यो।

बाटोमा केही टिनको घर भेटिए पनि ती सञ्चालनमा नभएकोले हामीले आफूसँग ल्याएको खानी कुरा खायौं।

करिब १ घण्टाको ओरालोपश्चात् नेटवर्कले काम गर्ने रहेछ सबै जनाले घरपरिवारलाई कल गर्दै बिस्तारै अघि बढ्यौं।

थोरोङ फेदी हुँदै मुक्तिनाथ पुग्दा सबै हर्षित मुद्रामा देखिन्थे। आज  यही बस्ने निधो गरी खाना खायौं  र भोलि पोखरासम्म फर्किनेको लागि जीप पनि बन्दोबस्त गर्यौं। मुस्ताङ बजार हेर्यौं, घुम्यौं रमाइलो गर्यौं। योसँगै हाम्रो ५ औं दिन पनि बितिसकेको थियो।

छैठौं दिन

आज ट्रेकको अन्तिम दिन। थकान लगभग सकिसकेको थियो। हामी बिहान उठी नुहाई धुवाई गरी मन्दिरको लागि तयार भयौं, नेपालको प्रख्यात मन्दिर मुक्तिनाथ दर्शन गर्न। मन तरंगित थियो, दर्शनार्थीको भीड लागेको थियो।

मन्दिर पुगेर १०८ धाराबाट स्नान र पूजा गरी होटल आयौं।

चिया नास्तालगत्तै पोखराको गाडी चढ्यौं, मार्फामा केही फलफूल जुस स्याउको सुकुटी कोसेली स्वरूप किनमेलपछि भने हामी तातो पानीमा खाना खाने गरी अघि  लाग्यौं।

मुस्ताङको सडक सहज भए पनि म्याग्दी सडक खण्ड निर्माणको क्रममा रहेछ।

म्याग्दी तातो पानीमा खाना खाई पोखरा लाग्यौं। करिब साँझ  ७ बजे पोखरा पुगी सबैसँग बिदा भई आफ्नो घर अनि कार्य क्षेत्रतिर लाग्यौं।

भोलिपल्ट शनिबार भएकोले एक दिन आरामको लागि समय पनि बचेको थियो अनि आइतबारबाट सबैको आ-आफ्नो काममा त लाग्नु नै थियो।

अन्तत : यात्रा खुला विश्वविद्यालय हो। विषय सूचीको अग्र स्थानमा रहेको यो पदयात्रा समग्रमा अविस्मरणीय रह्यो। यात्रामा सुख दुःख सामान्य नै हो। त्यसैले पहिला देश अनि विदेश घुम्ने हाम्रो चाहनाले फेरि अर्को नयाँ गन्तव्यको योजना बुन्दै हरेक यात्रीलाई यही भन्छौं कि, एक पटक घुम्नैपर्ने ठाउँ रहेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी  
अछाममा ३० वडाको नतिजा सार्वजनिक
महासमिती सदस्य बिष्ट र उपसभापती बजगाँईकै वडामा पनि कांग्रेस पराजित
अछाममा सभापती र उपसभापती कै वडामा कांग्रेस पराजित