मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा मनाईने १० दिवसीय केदारनाथ मेला आज सम्पन्न

अछाममा मनाईने १० दिवसीय केदारनाथ मेला आज सम्पन्न


टेकराज भण्डारी, अछाम

लगातार १० दिनसम्म देवताको धेवल आराधाना सहित लाग्ने अछामको एकमात्रै केदारनाथ मेला बिहिबार आज सम्पन्न भएको छ । मेला शान्तिपूर्ण रुपमा उल्लेख्य श्रदालू भक्तजनको सहभागीतामा नियमित पुजाआजको काम सहित सम्पन्न भएको हो ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला आज केदार र छडाल देवताले मन्दिरमा दूध र घ्यु खाएसंगै सकिएको हो । हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पुजा आराधाना र धामीले खला नाच्ने गर्दछन् ।

विगतका बर्षमा कात्तिक शुक्ल त्रयोदशीको दिन ठुलो संख्यामा व्यक्तिको उपस्थिति सहित रात्री मेला लाग्ने गरेकोमा पछिल्ला २ बर्ष कोरोना भाइरस कोभिड १९ को संक्रमणको कारण नित्य पुजा सहित मेला समापन गरिने गरिएको थियो । यो बर्ष फेरी मेलामा रौनकता छाएको साविकको सेरा गाविसका पूर्व अध्यक्ष दिपक अधिकारीले बताउनु भयो । केदारनाथको मन्दिरमा यो ५७ किलोग्रामको घण्ट समेत चढाईएको छ । स्थानीय खतिवडा बन्धुहरुले करिब ८० हजारको लागतमा घण्ट खरिद गरी मन्दिरमा चढाएका शंकर खतिवडाले बताउनु भयो ।

१० दिनसम्म देवताको पुजा, खला नाच्ने र रात्री मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको बिशेषता हो । अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।

रात्री मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय काँसीराम खतिवडाले बताए । धामीको नाच रात्री मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् ।

रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् । परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यहीबेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खडकराज उपाध्यायले बताए ।

१० दिनसम्म लाग्ने मेला र मेलालाई दोस्रो दशैँको रुपमा यस क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । अहिंसात्मक रुपमा मेला मनाईने गरिन्छ भने देउवताका धामी दलित समुदाय र पुजारी गैरदलित समुदायका रहेका छन् । यसबाट केदारनाथ मेला अहिंसा र सद्भावको पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाको भनाई छ ।

यो बर्ष मेला नित्य पुजा र आराधाना सहित शान्तिपूर्ण रुपमा सम्पन्न भएको वडा नम्बर ७ का वडा सदस्य खम्मबहादुर भण्डारीले बताए ।