मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामका लागि जस्तो सुकै परिस्थितीको सामना गर्न पनि तत्पर छु : सभापतीका उम्मेदार शाह

कांग्रेस अछामका लागि जस्तो सुकै परिस्थितीको सामना गर्न पनि तत्पर छु : सभापतीका उम्मेदार शाह

कांग्रेस अछामलाई सुदृढ, सबल र सक्षम बनाउन जरुरी छ : नेता शाह


२०३६ सालमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघबाट राजनिति यात्रा सुरु गरेका नेता पुष्प बहादुर शाह नेपाली कांग्रेस अछामका पूर्व सभापती तथा महासमिति सदस्य हुन् । नेपाल ल क्याम्पसमा पढ्दै गर्दा जनमत संग्रहमा समेत सक्रिय रहेका नेता शाहले कञ्चन्पुर जिल्लामा पनि नेबिसंघमा आवद्ध रहेर बहुदलका पक्षमा काम गरे ।

कानुनका बिद्यार्थी शाह आफ्नो पढाई सकेर काठमाण्डौँ बाट २०४० सालमा अछाम जिल्ला फर्के पछि राजनिति संगै आंशिक रुपमा कानुन व्यावसायीका रुपमा जिल्ला अदालत अछाममा समेत काम गरे । त्यसबेला शाह जिल्ला बार ईकाईको दुई कार्यकाल अध्यक्ष समेत बने ।

२०४६ सालको जनआन्दोलन देखि निरन्तर रुपमा जिल्लामै बसेर पार्टीमा सक्रिय भएर काम गरेका नेता शाह ०४९ सालमा जिल्ला कार्य समिती सदस्य पदमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्षमा मनोनित गर्यो । उनले २०५३ मा महाधिबेशन प्रतिनिधी र २०५४ मा जिल्ला सचिव भएर काम गरे ।

त्यसयता निरन्तर रुपमा महाधिबेशन प्रतिनिधी र महासमिती सदस्यमा निर्वाचित हुदैँ आएका नेता शाह नेपाली कांग्रेसको १२ औँ महाधिबेशनबाट २०६७ सालमा कांग्रेस अछामको सभापतीमा निर्वाचित भएका नेता शाहसंग उनले पार्टी र अछाम जिल्लाको विकास निर्माण र समाज परिर्वतनका लागि गरेका काम, उनको कार्यकाल, अबको कांग्रेस र १४ औ महाधिबेशनको सेरेफेरोमा गरिएको कुराकानी ।

सुदूरआजमा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

२०३६ साल देखि राजनितिमा सक्रिय हुदैँ करिब ३१ बर्ष पछि २०६७ मा यहाँले कांग्रेस अछामको नेतृत्व सम्हाल्नु भयो, त्यो बेला पार्टी र समाजका लागि के के काम गर्नुभयो ?

मुख्यतया मैले सभापती निर्वाचित भएपछि पार्टीको संगठन निर्माणको पक्षलाई पहिलो प्राथमिक्तामा राखेर काम गरे । २०५६ पछि यो जिल्लामा नेपाली कांग्रेस संगठन कम्जोर हुदैँ २०६४ मा चुनाव हार्यौँ । त्यसपछि हामीले पार्टी संगठन निर्माणका लागि वडा देखि गाँउ गाँउमा गएर काम गर्यौँ ।

तत्कालिन समयमा स्थानिय निकाय नभएको बेला हामीले पार्टीको काम संगै जिल्लका विकास निर्माणका काम देखि लिएर योजनाका काममा समेत सक्रिय रहेर काम गर्यौँ । पार्टी संगठन निर्माण र जिल्लाको विकासका लागि पार्टी सशक्त भएर जानुपर्छ भनेर केन्द्रित भएर मैले सबै तहका नेता कार्यकर्तालाई अग्रसर गराँए ।

यसका साथै अछाम जिल्लामा जरा गाडेर बसेका सामाजिक कुरिती, छाउपडी प्रथा, छुवाछुतका बिरुद्धमा समेत कांग्रेसको नेतृत्वदायी भुमिका रह्यो । हामीले अछामलाई खुल्ला दिशा मुक्त जिल्ला बनाउन समेत सक्रिय भएर काम गर्यौँ । गाँउ गाँउमा गएर पार्टीले यस बिषयमा अहम भुमिका निर्वाह गर्यो । राजनितिक अस्थिरता, माओवादी द्धन्द्धले धकेलिएको स्थितमा का मगर्न अप्ठेरा हुदाँका बाबजुत पनि मैले नेतृत्व गर्दै पार्टीका गतिविधीलाई सक्रिय बनायौँ । माओवादीका कारण गाँउ गाँउमा भयाभव स्थिती भएका बेला त्यसलाई चिर्न पनि हामीले काम गर्यौँ ।

पार्टी संगठन निर्माण भएर बलियो संगठन बनायौँ भन्नु भयो तर यहाँले आफै पनि ७४ मा प्रतिनिधी सभाको चुनाव हार्नु भयो यसलाई कसरी लिनुभएको छ ?

हाम्रो पार्टीको संगठन खास गरेर २ नम्बर क्षेत्रमा बलियो र सशक्त भईसकेको थियो । तर पनि हामीले ६४ देखि ७४ का चुनावमा लगातार हार व्यहोर्नु पर्यो । हारका कारण त बिभिन्न हुन सक्छन्, उम्मेद्धारको कम्जोर पनि हुन सक्ला । तर मेरोमा त्यस्तो कम्जोर थियो जस्तो लाग्दैन् । पार्टी भित्रैबाट असहयोग भएका कारण चुनाव हारियो भन्ने लाग्छ, यो किन भन्दा त जुन स्थानिय तहमा ५ वटा पालिका मध्ये हामिले ४ मा बिजयी हासिल गरेका थियौँ भने ४९ वडा मध्ये ३१ मा हामीले बिजयी प्राप्त गरेका थियौँ । तर प्रतिनिधी सभामा ति स्थानिय तहमा प्राप्त भएका भोट पनि मलाई आएनन् । त्यसैले यो त म व्यक्ती हारेको होईन पार्टी संगठनले नै हार्को क्षति व्यहोर्यो । आगमी दिनमा हामी सबैले यस्ता कम्जोरी बाट पाठ सिकेर अघि बढ्नु पर्छ जस्तो लाग्छ मलाई ।

राजनिति भनेको नै समाजसेवा हो, समाज सेवा लागि नै म यहि पेशामा क्रियाशिल भएर लागेको छु । पार्टीका सबै साथिहरुसंग समन्वय, सहकार्य गरेर पार्टीको संगठनलाई बलियो बनाई सशक्त रुपमा अघी बढ्ने मेरो योजना छ ।“

प्राय नेतासंग कुरा गर्दा अन्तरघातले नै अछाममा कांग्रेसले हार व्यहोरेको भन्छन् अनि यस्तो थाह हुदा हुदैँ पनि किन घात हुन्छ । अनि आगामी दिनमा यस्तो परिस्थितीको अन्त्य के गर्नु पर्ला त ?

यसको मुख्य कारण त आन्तरिक चुनावी प्रतिष्पर्धाले पनि मन मुटाव हुन्छ जस्तो लाग्छ । त्यसैले यसपटक त्यो हुन नदिन हामी सहमतीमै वडा तह र पालिका तहका अधिबेशन सम्पन्न गरेका छौँ । केही ठाँउमा मात्रै चुनाव भयो । यसका लागि हामीले समन्वय र सहजिकरण समिती पनि बनाएका छौँ । यज्ञ ढकालको संयोजकत्वमा म आफै अनि माननिय राम बहादुर बिष्ट र महासमिति सदस्य देवराज देवकोटा सहितको समिति बनायौँ । हामीले अहिले मिलाएर जान सक्यौँ र सबै साथिभाई संग समन्वय सहजिकरण गरेर सबै अटाउने खालको र सबैलाई भुमिकामा राखेर जान सक्यौँ भने आगामी दिनमा त्यस्तो परिस्थितीको सामना गर्नु नपर्ला जस्तो लाग्छ । तर आन्तरिक प्रतिष्पर्धालाई पनि एउटा मन मुटावको हिसावले लिन खोज्दा त्यसको असर आम निर्वाचनमा पर्न थाल्यो । त्यसैले हामीले सक्दो सर्वसम्मत तरिकाले अधिबेशन सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । आगामी निर्वाचनमा पनि खास के हो त हामी बिचमा त्यसको पनि खोजी गरेर व्यक्ती नभई कांग्रेस जित्ने तरिकाले अघि बढ्ने छौँ । हामी आम चुनावमा पनि एक जुट भएनौँ भने सधैँ पराजय हुनु पर्ने स्थितीको सृजना हुनेछ ।

पछिल्लो समय पार्टीमा युवाको सहभागीता बढ्दो क्रममा देखिएको छ, यसलाई कुन रुपमा लिनु भएको छ ?

एकदम राम्रो कुरा । मैले त के भन्दै आएको छु भने वडा र पालिकाको अधिबेशनमा धेरै युवा साथिहरु आएका छन् । उनिहरुलाई म हौसल्ला र सहयोग गर्न तत्पर छु । युवा बिना संगठनका कुरा, नेतृत्वका कुरा हामी परिकल्पना सम्म पनि गर्न सक्दैनौँ । एकातिर कांग्रेस बुढाहरुको पार्टी भन्ने छ त्यसकारण पनि युवा आउन जरुरी छ । युवाहरुलाई हामीले संरक्षण गरेनौँ भने, उनिहरुलाई कुनै स्थान नदिएमा राम्रो हुदैँन । त्यसले हामीले युवालाई हरेक क्षेत्र राजनिति, सामाजिक लगायतका क्षेत्रमा अघि बढाउन ल्याउन जरुरी छ । नेतृत्वमा लैजानका लागि मेरो पूर्ण सहयोग हुनेछ ।

अब युवा बिना संगठन र नेतृत्वका कुरा हामी परिकल्पना सम्म पनि गर्न सक्दैनौँ । त्यसैले युवालाई राजनिति संगै अन्य सामाजिक लगायतका क्षेत्रमा अघि बढाउन जरुरी छ । त्यसका लागि उनिहरुलाई नेतृत्व सम्म पुर्याउन मेरो पूर्ण सहयोग हुनेछ”

१४ औँ महाधिबेशनबाट कांग्रेस अछाममा कस्तो खालको नेतृत्व आउन जरुरी छ, यदि तपाईले पार्टीको नेतृत्व गर्ने जिम्मा आयो भने कसरी अघि बढ्ने योजना छ ?

सबै भन्दा पहिले हामीले कांग्रेसलाई सबल र सक्षम बनाउन जरुरी छ । त्यसका लागि नेतृत्व पनि अनुभवी र सक्रिय हुनुपर्नेछ । अब पनि हामी संगठनात्मक हिसाबले सशक्त रुपमा अघि बढेनौँ भने अरु पार्टी संग प्रतिष्पर्धा गर्न कठिन छ । सुदृढ, सबल र सक्षम कांग्रेस बनाउन जरुरी छ त्यसकारण नेतृत्व पनि त्यहि हिसाबले जान आवश्यक छ । अब मञ्चमा गएर भाषण गरेर कुनै पनि पार्टीको पक्षमा हुनेवाला छैन् त्यसका लागि आर्थिक, सामाजिक र व्यावहारिक रुपमा सबै खाले गतिविधी अंगिकार गर्दै अघि बढ्नुपर्ने छ । पुरानो शैलीमा संगठन गर्ने अवस्था छैन अब हामीले नयाँ ढंगबाट अहिलेको प्रविधीको प्रयोग गर्दै राजनितिलाई सुधार गर्नुपर्नेछ । नेतृत्वमा सबै वर्ग क्षेत्र, युवा, दलित, महिला, अल्पसंख्यक समेटिएको समाबेशी पार्टी बनाएर अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता छ ।

अर्को कुरा राजनिति भनेको समाजसेवा नै हो । समाजसेवाका लागि नै म यहि पेशामा क्रियाशिल भएर लागेको छु । सबै साथिहरुलाई मिलाएर अघि बढ्न र पार्टीको संगठनलाई बलियो बनाई जिल्लमा सशक्त रुपमा अघी बढ्ने मेरो खाका छ । त्यसका लागि सबै साथीहरुले सहमती गरेर नेतृत्वको जिम्मेवारी दिए म जस्तो परिस्थिती आउँछ त्यसको सामना गर्न तत्पर छु । धन्यवाद ।