मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको रातो सूचीमै छ नेपाल

अमेरिकाको रातो सूचीमै छ नेपाल

सुदूर आज

काठमाडौं– पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेको सन्देश दिँदै संयुक्त राज्य अमेरिकामा संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा आयोजना भयो। हाइब्रिड (भौतिक र भर्चुअल) प्रकृतिको महासभामा करिब १०० देशका प्रतिनिधिहरुले भौतिक उपस्थिति जनाएका थिए भने अन्य मुलुकका प्रतिनिधिहरुले भर्चुअल सम्बोधन गरेका थिए। कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै राष्ट्रसंघको ७५ औं महासभा भने पूर्ण रुपमा भर्चुअल गरिएको थियो।

कोरोना महामारीको संक्रमणको अवस्था हेरेर अमेरिकाले यात्रा गर्न हुने र नहुने भनेर चार समूहमा विश्‍वका मुलुकहरुलाई वर्गीकरण गरेको छ। जसमा निलो (सामान्य सावधानी अपनाएर यात्रा गर्न सकिने), हल्का पहेँलो (यात्रा गर्दा अधिक सावधानी अपनाउनुपर्ने), गाढा पहेँलो (यात्रा गर्नुअघि नै पुनर्विचार गर्नपर्ने) र रातो (यात्रा गर्न नहुने) गरी चार समूहमा विभाजन गरेको छ। 

संक्रमणको अवस्था हेरेर अमेरिकाले ‘ट्राभल एड्‌भाइजरी’ अपडेट गर्ने गरेको छ। तर, नेपाललाई जुन १६, २०२१ मा रातो सूचीमा राखेको अमेरिकाले अहिलेसम्म अपडेट गरेको छैन। कोरोना महामारीको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भएको भारतलाई भने रातो सूचीबाट हटाएर अत्यधिक सावधानी अपनाएर यात्रा गर्न सकिने सूचीमा राखेको छ। 

नेपाल सरकारले कोरोना संक्रमण घटेको भन्दै कोरोनाको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) प्राप्त गर्न सकिने भन्दै खुला गरिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको जनाएको थियो। 

तीन दिनअघि मात्रै नेपालले विश्‍व पर्यटन दिवसको अवसरमा विभिन्‍न मुलुकका राजदूत तथा कूटनीतिज्ञहरुलाई पोखरा लगेर नेपाल सुरक्षित रहेको र विदेशीहरुका लागि खुला भएको सन्देश दिएको थियो। अब कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेकइन हुनु भन्दा ७२ घन्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटल बुक गरेका विदेशीले सजिलै नेपाल भम्रण गर्न पाउने बताएको थियो। 

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कोरोना निको हुने दर ९६.३१ प्रतिशत छ भने सक्रिय संक्रमित २.२९ प्रतिशत र मृत्यु हुने दर १.४० प्रतिशत छ।

विश्‍वकै सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित मुलुक अमेरिकामा निको हुने दर ७६.०९ प्रतिशत छ। सक्रिय संक्रमित २२.२८ प्रतिशत र मृत्यु हुने दर १.६१ प्रतिशत रहेको छ।