मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसलाई ७, अरू दललाई एक राज्यसहित ६/६ मन्त्री

कांग्रेसलाई ७, अरू दललाई एक राज्यसहित ६/६ मन्त्री


काठमाडौं। सत्तारुढ गठबन्धन आबद्ध दलहरूबीच मन्त्रीको सङ्ख्या भागबण्डा भएको छ । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै गठबन्धनका बीच मन्त्रीको सङ्ख्या कसले कति लिने सहमति जुटेको हो ।

बालुवाटार निकट उच्च स्रोतका अनुसार कांग्रेसले ७ मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जसपाले एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय लिने सहमति भएको हो । यो सहमति पहिले नै बनेको स्रोत बताउँछ ।

‘मन्त्री सङ्ख्याको भागबण्डा पहिले नै भएको हो, अध्यादेश खारेज भएसँगै अब सरकार विस्तारको बाटो खुल्यो’, उच्च स्रोतले हाम्राकुरासँग भन्यो ।

गठबन्धन आबद्ध दलबीच बुधवार मन्त्रीपरिषद् विस्तार गर्ने सहमति भएको छ । मङ्गलवार जसपाको जनकपुरमा केन्द्रीय समिति बैठक रहेकाले बुधवार मात्रै सरकार विस्तार हुनेछ ।

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रीपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ ।

मन्त्रालयको भागबण्डामा सहमति जुटेसँगै गठबन्धन आबद्ध दलबाट प्रधानमन्त्रीलाई मन्त्रीको लिस्ट बुझाउने क्रम समेत सुरु भएको छ । नेकपा एसका तर्फबाट मन्त्री बन्नेहरूको लिस्ट सोमबार नै अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।

हाल कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री गरी पाँच जना सरकारमा छन् । यस्तै माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री छन् ।

२९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल कांग्रेस र माओवादीबाट सोही दिन दुई–दुई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई १० साउनमा ल्याएका थिए । त्यसपछि केही दिनअघि मात्रै देउवाले आफ्नै दलबाट परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई सरकारमा सहभागी गराएका थिए ।