मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गमका दुःख: गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्ट्रेचर समेत छैन

दुर्गमका दुःख: गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्ट्रेचर समेत छैन


स्टेचर सम्म पाउदैनन् दुर्गमका जनता ।

अछाम- अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटी दर्बाकी सविता बुढालाई गत शुक्रबार दिउँसो ३ बजेतिर सुत्केरी व्यथा लाग्यो । दोस्रो सन्तान जन्माउन लागेकी २४ वर्षीया सवितालाई उनका आफन्तले गाउँ नजिक पर्छ भनेर दर्बामा रहेको बर्थिङ सेन्टरमा लगे ।

गर्भवती सवितालाई लैजान आफन्ताले स्ट्रेचरसमेत नपाएपछि कपडाको झोलुंगोमै भए पनि त्यहाँ पुर्याए । नवनिर्मित बर्थिङ सेन्टर ५ महिनाअघि मात्र उद्घाटन गरिएको थियो । गाउँपालिकाले अनमी, अहेब र सहयोगी गरेर ३ जना कर्मचारीसमेत भर्ना गरेको छ । तर, उनीहरूले यहाँ सुत्केरी गराउन नसकिने भन्दै अर्को नजिकैको बगुडा स्वास्थ्य चौकीमा लैजान भने । 

त्यहाँबाट थप १ घन्टा झोलुंगोमै बोकेर सविताका आफन्तले बगुडामा लगे । ग्रामीण क्षेत्रका दुर्गम ठाउँमा भर्खरै बाटा निर्माण भए पनि बर्खाका कारण अवरुद्ध हुँदा गाडी चन्ने अवस्था छैन । सविताका ससुरा कुशल बुढाले भने, ‘एम्बुलेन्स र गाडी पाइएन । व्यथा लागेकी सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान स्ट्रेचरसमेत पाएनौँ ।’ 

तर, गाउँपालिका भने बर्थिङ सेन्टरमा आवश्यक पर्ने सबै स्वास्थ्य सामग्री र कर्मचारी नियुक्त गरिएको दाबी गर्छ । त्यहाँ गर्भवतीले सेवा पाउनुपर्ने हो तर त्यहाँका स्वास्थ्यकर्मीेले यहाँ केही उपकरण छैन, अन्यन्त्र लैजानू भन्ने गरेको उनले सुनाए । 

सविताका आफन्तले दुःख गरेर गर्भवतीलाई बोकेरै शुक्रबार बेलुकातिर बगुढा पुर्याए । बगुढामा सविताले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकको श्रीमान् जगत बुढाले जानकारी दिए ।  यो एक प्रतिनिधि उदाहरण मात्रै हो । अछामलगायत दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबीको समस्या भनिनसक्नु छ । 

नेपालको संविधानले हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरेको छ । त्यस्ता सेवा निःशुल्क हुने भनिएको छ । तर, दुर्गमका पीडा ज्यूँका त्यूँ छन् । जनताले प्रत्यक्ष अनुभूति हुने गरी आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।  सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्ला र अछामका सबै पालिका सडक सञ्जालसँग जोडिएका छन् । अछामका प्राय सबै पालिकामा एम्बुलेन्स समेत छन् ।

तर, भनेका बेला आकस्मिक अवस्थामा नागरिकले सेवा पाउन सकेका छैनन् । सुत्केरी व्यथा लागेका जटिल प्रकारका महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टरमार्फत सेवा दिने गरेका छन् । विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकालाई हेलिकोप्टरमार्फत गरिँदै आएको छ । 

अछामका सविताहरूले हेलिकोप्टर र एम्बुलेन्स परकै कुरा, सामान्य स्ट्रेचरसम्म पनि पाउन सक्दैनन् । मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीमा रहेको बर्थिङ सेन्टरमा स्वास्थ्य सामग्री नहुँदा सवितालाई झोलुंगोमा बोकेरै अर्को स्वास्थ्य संस्था लगेर जानुपर्ने अवस्था आयो । 

मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरा भने बर्थिङ सेन्टरमा आवश्यक सम्पूर्ण सामग्री भएको दाबी गर्छन् । ‘त्यहाँ बिरामी बोक्ने स्ट्रेचर थियो । केही दिनअघि भाँचिएकाले खबर पाएपछि पालिकाले नयाँ स्ट्रेचर पठाइसकेका छौँ’, उनले भने । 

स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाका अनुसार देश संघिय संरचनमा गईसकेपछि स्वास्थ्य संस्थाको जिम्मा पनि सम्बन्ति पालिकाको भएको बताउछन् ।

उनका अनुसार स्वास्थ्य कार्यालयले समन्वयको भुमिका निर्वाह गर्ने र के कस्तो काम भईरहेको छ त्यसको अनुगमन र सुझाब सल्लाह दिने भनाई राख्छन् । स्वास्थ्य कार्यालय संग जिल्लाका लागि स्टेचर खरिद गर्ने शिर्षकमा कुनै पनि बजेट नभएको प्रमुख ढुंगानाले जानकारी दिए ।