मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले कहिले पाउँछन् दोस्रो डोज ?

कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले कहिले पाउँछन् दोस्रो डोज ?


काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको कोभिसिल्ड खोप खरिदका लागि सरकारसँग दोस्रोपटक अनुमति मागेको छ ।

गएको सोमबार महानगरले पहिलो डोज लगाएकालाई छिट्टै दोस्रो डोज लगाउनुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । कोभिसिल्डको पहिलो डोज लगाएकालाई धेरै समय अन्योल र जोखिममा राख्न नसकिने भन्दै महानगरले कोभिसिल्ड खोप खरिदका लागि अनुमति मागेको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले भने, ‘‘स्वास्थ्य मन्त्रालयलाई खोप उपलब्ध गराउन पत्राचार गरेका छौँ । उपलब्ध गराउन नसक्ने भए महानगरपालिकाले आफ्नै खर्चमा खोप खरिद गर्न अनुमति दिन माग गरेका छौँ ।” उनका अनुसार ललितपुर महानगरपालिकाभित्र ११ हजार ५०० जनाले कोभिसिल्डको दोस्रो डोज लगाउन पाएका छैनन् ।

कोभिसिल्डको दोस्रो डोज लगाउन नपाएका नागरिक कोरोनाविरुद्ध लड्न परिपक्व नभइसकेको उनले बताए । ‘‘महानगरवासीलाई अन्योलमा पार्न चाहदैनौँ । महानगरको खर्चमा नगरवासीलाई सुरक्षित राख्न चाहन्छौँ,” उनले भने । यही जेठ १६ गते महानगरपालिकाले खोप खरिदको लागि पहिलोपटक पत्राचार गरेको थियो ।

जेठ २५ देखि ललितपुर महानगरमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा र्‍यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्याललगायत टोली वडा–वडामा पुगेर खोप लगाउन आग्रह गरिरहेको छ ।

सरकारले कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकाहरुलाई एक्ट्राजेनिका खोप दिने तयारी गरेको छ । कोभिसिल्ड प्राप्तिका लागि भारतको सिरम इन्स्टिच्युटसँग सम्झौता गरेर अग्रिम भुक्तानी गरिए पनि सिरमले खोप दिन नसक्ने पत्र पठाएपछि विकल्पका रुपमा एउटै प्रकृतिको एक्स्ट्राजेनिका खोप दिइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको महाशाखाले सूचना प्रकाशित गर्दै उक्त खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि भए पनि अर्को मात्रा दिइने जनाएको छ । महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा दोस्रो खोपका लागि धैर्यताका साथ पर्खन आग्रह गरिएको छ ।

सरकारले कोभिडविरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलोपटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने पेसाकर्मी, दीर्घरोगीलगायतलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिएको थियो । त्यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारीचालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई क्रमशः खोप दिइएको थियो । यसरी दिइने खोप दुई प्रकारका छन् । एउटा भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरोसेल हो ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गएको वैशाख २२ गते र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौं जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप अभियानमा करिब एक लाख व्यक्तिले खोप लगाएका थिए ।

स्वास्थ्य मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जेठ २५ बाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेलको पहिलो मात्रा लगाउने काम भइरहेको छ । काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले पाँच दिनमा एक लाखभन्दा बढी व्यक्तिलाई खोप कार्यक्रममा सहभागी बनाउने महानगरको लक्ष्य रहेको बताए ।