मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका बेलायती प्रधानमन्त्रीको फेरिएको जीवन

२४ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका बेलायती प्रधानमन्त्रीको फेरिएको जीवन

सुदूर आज

काठमाडौं– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमन्ड्ससँग सुटुक्क बिहे गरेका छन्। खबरअनुसार उनीहरुले शनिबार वेस्टमिन्स्टरको चर्चमा सुटुक्क बिहे गरेका हुन्। 

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटका प्रवक्ताका अनुसार उनीहरु फेरि परिवार र साथीहरुसँग यो खुसी साट्ने तयारीमा छन्। बोरिसको बिहेको खबर सार्वजनिक भएपछि यतिखेर उनीहरुलाई सोसल मिडियामा बधाईको ओइरो लागेको छ। 

बेलायतका पेन्सन मन्त्री टरीस कोफीले ट्विट गर्दै लेखेका छन्, ‘आज तपाईंहरुलाई बिहेको बधाई छ, बोरिस जोनसोन र क्यारी साइमन्ड्स।’ त्यस्तै उत्तरी आयरल्यान्डका मन्त्री ऐरलेन फास्टरले पनि ‘धेरै धेरै बधाई’ भनेर लेखेका छन्। 

बेलायती पत्रिका ‘द मेल’ मा आइतबार प्रकाशित खबरअनुसार हतारमा भएको बिहेमा करिब ३० जना अतिथिमात्रै बोलाइएका थिए। कोभिड–१९ को महामारीका कारण बेलायतमा यतिखेर बिहे समारोहमा ३० जनाभन्दा बढी अतिथि सहभागी गराउन अनुमुति पनि छैन। 

क्याथोलिक रितिरिवाजअनुसार भएको बिहेमा चर्चका केही सदस्य पनि सामेल थिए। बिहेचाहिँ फादर ड्यानियल हंफ्रीजले गराएका थिए। 

बेलायतको ट्याब्लोइड पत्रिका ‘द सन’को रिपोर्ट अनुसार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका वरिष्ठ अधिकारीहरुलाई पनि यो बिहेबारे जानकारी थिएन। पत्रिकाका अनुसार शनिबार स्थानीय समयअनुसार १ः३० बजेबाट आम जनतालाई उक्त चर्च खाली गर्न भनिएको थियो। खबरअनुसार त्यसको आधा घण्टापछि क्यारी साइमन्ड्स सेतो पहिरनमा सजिएर प्रधानमन्त्री बोरिस जोनसनसँग लिमो चढेर चर्च आइपुगेकी थिइन्। 

त्यसपछि रातको १० बजेतिर गायक तथा कलाकारहरु सोही चर्चबाट निक्लिएको वरिपरिका सर्वसाधारण र मिडियाले देखेका थिए। बोरिस र क्यारीको सम्बन्धबारे पहिलोपल्ट सन् २०१९ मा मिडियामा सार्वजनिक भएको थियो। जबकी उनीहरुले आफ्नो इन्गेजमेन्टको खबर सन् २०२० मा मात्रै स्वीकार गरे। त्यतिबेला बोरिसले क्यारी गर्भवती भएकोसमेत जानकारी दिएका थिए। 
 
अप्रिलमा उनीहरुको छोराको जन्म भएको थियो। जसको नाम विल्फ्रेड राखिएको छ। प्रधानमन्त्री बोरिस उमेरले ५६ वर्ष पुगेका छन् भने उनकी श्रीमती क्यारी ३३ वर्षकी छिन्।

जोनसोन र उनकी पछिल्लो श्रीमती मरीना ह्लिरले सन् २०१८ मा आफूहरुको २५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याएको घोषणा गरेका थिए। 

धेरैलाई यतिखेर जिज्ञासा हुनसक्छ, क्यारी साइमन्डस को हुन् र प्रधानमन्त्रीको निजी जीवन उनका पूर्ववर्तीहरुको भन्दा कसरी भिन्न छ? आउनुस् केही जान्ने प्रयत्न गराैं 

को हुन् क्यारी ? 

उनी कमेडी फ्लीब्यागकी प्रशंसक हुन्। बेलायती संगीतकर्मी म्याट बेल्लामीलाई संसदको छतमा उनले भेटेकी थिइन् र एकपटक साजिद जाविदलाई उनको जन्मदिनमा एभोकाडोको रुपमा कार्टुन बनाएर शुभकामना दिएकी थिइन्। तर, त्योबाहेक हामी अरु के जान्दछाैं त? 

त्यो के भने क्यारी साइमन्ड्स स्वतन्त्र अखबारको संस्थापकमध्ये एक म्याथ्यू साइमन्ड्स र अखबारकी वकिल जोसेफिन मैकफीकी छोरी हुन्। वारविक विश्वविद्यालयमा कला इतिहास र थिएटर पढ्न जानुअघि उनको बाल्यकाल बेलायतको दक्षिण–पश्चिमी क्षेत्रमा बितेको थियो। 

राजनीतिमा उनको पहिलो जागिर रिचमन्ड पार्क र नर्थ किग्ंसटनका सांसद ज्याक गोल्डस्मिथका लागि थियो। त्यसपछि सन् २०१० मा उनी एक प्रेस अधिकारीका रुपमा कन्जरभेटिभ पार्टीमा सामेल भइन्। अनि त्यसको दुई वर्षपछि मिस्टर जोनसनलाई दोश्रो पटक मेयर बनाउन चुनावी अभियानमा सहभागी भइन्। 

त्यसपछि उनले संस्कृति सचिव जोन विटिङडेलको कार्यालयमा काम गरिन्। त्यसपश्चात साजिद जाविद समुदाय र स्थानीय सरकार विभागमा कार्यरत हुँदा उनले जाविदको प्रेस सल्लाहकार भएर काम गरिन्। पछि उनी पार्टीको सञ्चार विभाग प्रमुख पनि भइन् तर सन् २०१८ मा त्यो छोडिदिइन्। कारण थियो, ‘ओसियाना’मा जनसम्पर्क अधिकारी भएर काम गर्ने उनको चाहना थियो। ओसियाना त्यो प्रोजेक्ट थियो जसले समुन्द्री जीवनको रक्षा गर्थ्यो। 

संरक्षणप्रति साइमन्ड्सको खास शोख छ। उनका ट्विटर अकाउन्टमा पनि पशु क्रुरता र प्लाष्टिकको फोहोरसम्बन्धी समाचार धेरै नै सेयर हुन्छन्। ‘यो एक पशु संरक्षण च्यारिटीसँगै एक इन्टर्नशिप पनि थियो जसले मलाई जनावरको हकप्रति आकर्षित गरेको थियो,’ उनले एकपटक भनेकी थिइन्। 

प्रधानमन्त्री भएपश्चात बोरिस जोनसनले आफ्नो पहिलो भाषणमै पशु संरक्षणप्रति प्रतिबद्धता जनाएका थिए र त्यतिबेला बेलायती पत्रपत्रिकाले त्यसको श्रेय उनै साइमन्ड्सलाई दिएका थिए। 

साइमन्ड्स र प्रधामन्त्री जोनसनबीचको रोमान्टिक सम्बन्ध पहिलोपल्ट सन् २०१९ मा मिडियामार्फत सार्वजनिक भएको थियो। सन् २०१८ मै जोनसन र उनकी दोश्रो श्रीमती मरिना ह्लिरले २५ वर्षदेखिको सम्बन्धलाई टुंग्याउँदै डिभोर्सको घोषणा गरिसकेका थिए। उनीहरुका चार सन्तान छन्। 

सन् २०१९ को १२ जुनमा जोनसनको ‘लिडरसिप अभियान’को शुभारम्भताका साइमन्ड्स पनि आम जनमानसको बीचमा देखिएकी थिइन्। सोही महिना जोनसनको नेतृत्वले जित्नुअघि छिमेकीहरुको गुनासो सुनेपछि दक्षिण लन्डनमा दम्पत्तिको घरमै प्रहरीलाई बोलाइएको थियो। जब जोनसन सन् २०१९ जुलाईमा प्रधानमन्त्री बने, उनी १० नम्बरमा इन्ट्री गर्दाताका साइमन्ड्सले छेउकुनाबाट उनलाई हेरेकी थिइन्। यो उनका पूर्ववर्तीहरुको विपरित थियो, जो प्रसिद्ध डाउनिङ स्ट्रिटको सिँढीमा आफ्नो श्रीमान्सहित सहभागी भएका थिए। तर, डिसेम्बरको चुनावपछि यो जोडी त्यो सिँढीमा सँगै हिँड्यो। डाउनिङ स्ट्रीटको फ्ल्याट नम्बर ११ मा सँगै बस्यो। त्यतिबेला उनीहरुले पशु संरक्षण च्यारिटीबाट एउटा ‘पप्पी’ पनि लिएर पालेका थिए, जसको नाम ‘डिलिन’ राखेका छन्। 

कसरी फेरियो प्रधानमन्त्रीको निजी जीवन?

जतिबेला जोनसनले पदभार सम्हाले, त्यतिबेला डाउनिङ स्ट्रीट (प्रधानमन्त्रीको कार्यालय) मा एउटा प्रधानमन्त्री प्रेमिकासँगै बस्नुलाई अभूतपूर्व मानिएको थियो। सन् १७२१ यता जोनसन एकमात्रै तेश्रो डिभोर्सी प्रधानमन्त्री हुन्। दोश्रो श्रीमती मरिना ह्लिरभन्दा अगाडि उनले एलेग्रा मोस्टिन–ओवेनसँग बिहे गरेका थिए। 

सन् २००४ मा उनलाई पत्रकार पेट्रोनेला व्याटसँगको कथित सम्बन्धबारे आफ्नो पार्टीका नेतालाई गुमराहमा राखेको आरोपमा कन्सरभेटिव फ्रन्ट बेन्चबाट बर्खास्त गरिएको थियो। र, सन् २०१३ मा एक अदालतको सुनुवाइको दौरान के खुल्यो भने सन् २००९ मा लन्डनको मेयर हुँदाताका एक अवैध सम्बन्धमार्फत उनले छोरीलाई जन्म दिएका रहेछन्।  

‘यद्यपि १९५० को दशकमा डिभोर्सलाई निन्दनीय मानिन्थ्यो तर जब डिभोर्सी एन्थोनी एडनले देशको नेतृत्व लिए, त्यसपछि समाजको मान्यतासँगै प्रधानमन्त्रीको जोडीप्रतिको विचार पनि परिवर्तन भएको छ,’ राजनीतिक विश्लेषक डा. निकोलस एलन भन्छन्। 

‘यो कुनै अनौठो व्यवस्था होइन, ओएनएसका अनुसार एकसाथ बस्ने अविवाहित जोडीहरु अब बेलायतमा सबैभन्दा तीव्र गतिमा बढिरहेका परिवार सरह छन्,’ डा. एलनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘अनि जोनसन र साइमन्ड्सवीच करिब २४ वर्षको उमेर अन्तर छ तर यो पनि अस्वाभाविक होइन। किनभने यसअघि एडन र उनकी श्रीमती क्ल्यारिसाबीच पनि २३ वर्षकै उमेर अन्तर थियो।’

त्यस्तै बिहेअघि कुनै सेवारत प्रधानमन्त्रीको बच्चा भएको पनि यो पहिलोपल्ट होइन। यसअघि सन् २००० मा टोनी र चेरी ब्लेयरले ‘लियो’ र सन् २०१० मा डेबिड र  सामन्था क्यामरनले ‘फ्लोरेन्स’ यसैगरी जन्म दिएका थिए। 

प्रधानमन्त्रीका पार्टनरहरुको भूमिका? 

बेलायतको रोवल होलोवेका लेक्चरर रहेका डा. एलन भन्छन्, ‘प्रधानमन्त्रीको पत्नी या साथी बन्ने त्यति नै तरिकाहरु छन्, जति प्रधानमन्त्री बन्नलाई छन्। यसमा आ–आफ्नो हिसाबले व्याख्या विश्लेषण गर्न पनि छुट छ।’

रातमा गफ गर्नेदेििख आधिकारिक कार्यक्रममा सहभागी हुने साथीसम्मको भूमिका प्रधानमन्त्रीका पार्टनरहरुले निर्वाह गरिरहेको उनको विश्लेषण छ। ‘कतिपयले नीतिगत तहदेखि राजनीतिक भूमिकासम्म निभाएका छन् भने कतिपयले यसको व्यक्तिगत लाभ पनि लिएका छन्,’ उनी थप्छन्, ‘तर, प्रधानमन्त्रीको पार्टनरको भूमिका अब परिर्वतन भइसकेको छ, हुनुपर्छ। दिर्घकालिन सांस्कृतिक बदलावसँगै अब पत्नीहरु पतीकै नामबाट मात्रै परिभाषित हुनुहुन्न।’

(बीबीसीको सहयोगमा अनिल यादवले तयार पारेको सामग्री)