अन्तरवार्ता / विचार

…अनि कहिल्यै फाइट खेलिन आमा

एकेन्द्र खड्का 

संसार कोरोनाले बन्धक छ अहिले । २०७७ स्कुल अनलाइन पढाएर नै सकियो । २०७७ फाल्गुन ११ गतेको बिहान साढे ८ बजेतिर अनलाइन कक्षा सुरु भयो । कक्षा सुरु गरेको ४/५ मिनेट मात्र के थियो माथि छतमा चढ्ने खुड्किलामा एक्कासी गड्याङगुडुङ मुढा पल्टिएझैँ आवाज आयो । मन ढक्क फुल्यो । आमा बिहान प्रायः छतमा गएर बस्नुहुन्थ्यो । कतै आमा … ।

विद्यार्थीहरूलाई ‘वान मिनेट इमेर्जेन्सी’ भनेर झ्यालको पर्दा सारेर हेर्दासम्म बहिनी त्यहाँ पुगिसकेकी रहिछ । नभन्दै आमा लड्नुभएछ । बहिनीले एकछिनअघि मात्रै नास्ता खुवाएर छतमा घाम ताप्न भनेर छतमा छोडेकी थिई । बहिनीसँगै आमा पनि फर्किनुभएछ । बहिनी खुड्किला झर्नु र आमा फर्केर लड्नु सँगै भएछ ।  हत्तपत्त बाहिर निस्किएँ आमाको बीच निधारमा ठूलो घाउ भएछ । के गरौँ के गरौँ भयो । घरमा बेटाडिन भइरहन्थ्यो, त्यही दिन चाहिँ सकिएको रहेछ । भगवती (मेरी श्रीमती) बेटाडिनलगायत अरु औषधि लिन मेडिकलतिर दौडिइन् । बहिनीले आमालाई सम्हाली । म ल्यापटप अघि आएर क्लासमा बसेँ । विद्यार्थीहरूलाई घटना शेयर गरिनँ । गर्नै पर्ने दैनिक क्रियाकलाप गरेर क्लास अलि चाँडो छोडेँ ।

आमाको घाउ सफा गरेर औषधि लगाएर यत्तिकै छोडिछ बहिनीले । आमा घाउमा हात लगाएको लगायै गर्ने अनि घाउबाट रगत बगिरहने । औषधिमात्र ल्याइछिन् भगवतीले अरु ब्यान्डेज केही ल्याइनछिन् । मेडिकल गएर थप कपास, घाउमा राख्ने कपडा र नेटपट्टी ल्याएँ । फेरि घाउ सफा गरेर औषधि लगाएर कपडाको टुक्रा राखी नेटपट्टीले बाँधिदिएँ । २ वर्षको अवधिमा यसरी लड्नुभएको यो पाचौँ पल्ट हो । यो घटनापछि पनि २ चोटी लडिसक्नुभएको छ आमा । सामान्य लडाइले नि अस्वभाविक चोट लाग्थ्यो । विशेष गरेर टाउकोमा सुरुमा लड्दा काठकै किचन र्‍याकको धारमा ठोकिएर आँखाभन्दा माथि चोट लागेछ । म स्कुल गएको थिएँ । प्रकाश दाजु (हामी दुवै जनाको घर कैलाली नै हो भने हामी पहिलासँगै बस्थ्यौँ कीर्तिपुरमा । अहिले पनि कोठा नजिकै छ ।) को बाइकमा बहिनी र प्रकाश दाजुले कीर्तिपुर अस्पताल पुर्‍याउनुभएछ । ६ टाँका लागेछ । म स्कुलबाट फर्केपछि बेलुका मात्रै थाहा भयो ।

जीवनको सबैभन्दा दर्दानक कथा हो हाम्रो । आमा विगत ५ वर्षदेखि अल्जाइमर रोगबाट ग्रसित हुनुहुन्छ । सास फेर्न र आफ्नै सुरमा हिँड्नबाहेक लगभग सबै कुरा बिर्सिसक्नुभएको छ । खानेकुरा मुखमा राख्न मिल्ने अनि हातले समाउन मिल्ने जे पनि खान खोज्नुहन्छ भने राति कतिखेर सुत्ने ठेगान हुँदैन । अचेल कहिलेकाहीँ शरीरमा एक किसिमको झड्का दिँदा कहिले लड्ने र कहिले बेहोस् हुने प्रकारको लक्षण पनि देखिएको छ । पछिल्लो लक्षणहरूबारे परामर्श लिन र औषधि लिन यो निषेधाज्ञा हुनुभन्दा अघिल्लो दिन डाक्टरलाई भेट्न टिचिङ हस्पिटल गएको थिएँ । डाक्टरले दिमागको नशा झन् सुक्दै गएको हुँदा छारे रोग पनि भयो भनेर औषधी थपेर दिनुभयो । आमाको मस्तिष्कको नशा सुकेको भएर नै अल्जाइमर भएको कुरा थाहा थियो । डाक्टरको भनाइअनुसार टाउकोमा गहिरो चोट परेपछि यो रोग लाग्ने हो रे । आमाको टाउकोमा चोट लागेको कुरा मलाई त के आमालाई पनि थाहा छैन । मलाई बरु आमाले मेरो टाउकोमा माटोको डल्लाले हानेर डल्ला फोडेको चाहिँ पूरा याद छ ।

कक्षा ७ पढ्दा हो । हामी स्कुल र गाउँघरतिर टिम बनाएर वा सिङ्गल-सिङ्गल फाइट खेल्थ्यौँ । विशेष गरेर स्कुलमा सिङ्गल फाइट कान्ति (मेरो स्कुले जीवनको र अहिलेको पनि मिल्ने साथी) सँग पर्थ्यो । कान्तिको र मेरो गाउँ फरक भएर पनि त्यसको र मेरो टिम फाइट खासै परेन टिम फाइटमा आफ्ना छुट्टिने कुरा भएन । यस खेलको आफ्नै नियम थियो । खेलको सुरुआतमै नियम भनेर खेल्नुपर्ने हुन्थ्यो । हातले हान्न नपाइने खुट्टाले मात्रै, एक जनालाई ३ जनाभन्दा बढीले सँगै आक्रमण गर्न नपाइने हार स्वीकारेपछि हान्न नपाइने । गाउँघरतिर फाइट पर्दा जैले हर्क मामाको टिमले जित्ने गर्दथ्यो । हर्क मामाको खुट्टा नै त्यस्तो साह्रो हो कि आफूले हान्दा नि आफ्नै खुट्टा दुख्ने । कराँते, तेक्वान्दो र उशुजस्ता कुनै खेल नखेले पनि हर्क मामाको स्पिड, स्किलका अघि धेरैको केही चल्दैनथ्यो । सानोतिनो टिमलाई त हर्क मामा एक्लैले भ्याइदिने । जो कोही पनि उनको टिममा पर्न खोज्ने विपरीत टिमबाट खेल्न मन नगर्ने ।

सरकारी स्कुल भएर होला जुत्ता लाएर जाने नियम थिएन । म चार कक्षामा हुँदा स्कुल जाँदा नि काम लाग्छ भनेर दिदीको बिहेमा मेरा लागि कालो छालाको जुत्ता किन्दिनुभएको थियो । पुसमाघको जाडोमा पनि हामी चप्पलमै स्कुल जान्थ्यौँ । तर कहिलेकाहीँ भने जुत्ता लाएर जान्थ्यौँ फाइट खेल्नका लागि । कान्तिको र मेरो फाइट कि दुवैले चप्पल लाएको दिन हुन्थ्यो कि दुवैले जुत्ता लाएको दिन । कुनै दिन एकले मात्र जुत्ता लाएर गएको छ भने फाइट खेलौँ भनेर जुत्ता नलाएकोलाई निहुँ खोजिरहने । स्कुले जीवन सम्झँदा बहुत् नेस्टाल्जिक भइन्छ आजकाल र बेलाबेला कुरा गरिन्छ साथीहरूसँग ।

कार्तिकको महिना भर्खरै तिहार सक्किएको । प्रायः धेरै ठूलो खेतबारी हुनेहरूको धान चुट्न बाँकी थिए । हामीले धान चुटिसकेर पनि खेत जोतेर खेतलाई गहुँ बुनका (छर्नका) लागि तयार गर्दै थियौँ । तराईको चर्को गर्मी भएर होला गाउँमा दिनभरि खेतमा काम गर्ने चलन थिएन । बिहान बेलुकामात्रै खेतबारीको काम हुन्थ्यो, अरु बेला आराम या घरकै काम । तिहारलगत्तै भएर होला स्कुल अझै खुलेको थिएन । त्यो दिन बिहान गोरुले जोत्न नभ्याएको छेउकुनाको धार खन्ने र डल्ला फोड्ने काम थियो । बिहानको काम सकेपछि खाना खाएर अरुले आराम गरे पनि हामीहरू घरनजिकै बाटोमा शीतल पर्ने रुखमुनि फाइट खेल्न जान्थ्यौँ । हाम्रो घर गाउँको बीचमा भएर कहिले गाउँको पश्चिमतिरका साथीहरूसँग खेल्न जाने कहिले पूर्वतिरका । त्यो दिन पूर्वतिरका साथीहरूसँग खेल्ने विचार भयो । खाना खाएर रोडमा पुगेँ । त्यो दिन साथीहरू कम थिए । मेरो उमेरको खडकमात्रै थियो । अरु केही सानो कक्षामा पढ्ने भाइहरू थिए । खडक र गणेशसँग फाइट खेलिरहन्थे तर त्यी साना साना भाइहरूलाई कहिलेकाहीँ टिम नमिल्दामात्र टिममा राखिन्थ्यो । त्यतिमध्ये मै थिएँ कक्षा ७ मा पढ्ने, खड्का ६ मा अरु चारपाँच कक्षामा । खडकसहित अरु ३ जना एक टिममा म एक्लै फाइट खेल्ने सहमति भयो । अरु नि ससाना खेल्ने भन्दै थिए ।

हामीले हुन्न तिमीहरू साना छौ चोट लाग्छ भनेर टिममा राखेनौँ । चप्पल खोलेर सबैले सुरक्षाको लागि हातमा हाल्यौँ । सबै जना फाइटका लागि तयार भएर आआफ्नो ठाउँ लियौँ । सामान्यतया फाइट खेलमा चप्पल हातमा लाएर अरुले हानेको छेक्ने अनि आफ्नो खुट्टाले हान्ने हुन्थ्यो । म एक्लै भएर बीचमा परेँ । टिममध्येको ठूलो भएर होला अगाडि फेस टु फेस खडक उभियो । अरु दुई जना एक बायाँतिर र एक पछाडि गएर तयारीका साथ उभिए । दायाँ साइडमा बाटोको नाली, अरु साना साना भाइहरू त्यहीँ वरपर थिए । सुरुको चार्ज कस्ले गर्ने भनेर तयारी हुँदै थियो । तीनतिरबाट एकैचोटि हान्न खोजे पनि मलाई ब्लक गर्न खडकको सट थियो । त्यसो हुँदा खडकको सट ब्लक गरेँ अरुलाई हान्न दिएँ । खडकबाहेक अरु खेलाडी साना भएर मिलाएर हान्नु पर्ने चुनौती थियो मलाई । फेरि अप्ठ्यारो ठाउँमा लागेर ठहरै पर्ला भन्ने कुरा मनमा खेलिरहेको थियो । नजर दुईतिर दिएर एकतिर फोकस थिएँ म । पछाडिबाट टिम भन्दा बाहिरको दन्नुले फाइट हान्यो । उसले सुरुदेखि नै खेल्ने भनेर जिद्दी गर्दै थियो । ऊ सानो हुँदा नखेल चोट लाग्छ भनेर टिममा राखेका थिएनौँ । हेरेर बस भनी सबै साना भाइहरूलाई छेउकै मुढोमा बस भनेका थियौँ । फेरि दन्नुलाई सम्झाएर तिमी नखेल बसेर हेर भन्यौँ । मेरो ध्यान टिमका तीनै जनामा थियो, कतै हान्ने कतै छेक्ने ।

फेरि दन्नुले पछाडि आएर अर्को किक हान्यो । त्यति नै बेला एक किक खडकको नि खाए । अब भने चारैतिरबाट चार जना भए दन्नुले फेरि हान्न लागेको मैले पछाडिबाट नै छोएको मात्र के थिएँ ऊ नालीमा पर्यो र रुन थाल्यो । फाइट बन्द, सबै जना नालीको डिलमा बसेर हेर्न थाले । नखेल भन्दाभन्दै खेलेको भनेर थर्काउँदै नालीबाट झिकियो उसलाई । नालीमा खस्दा पहिले हात पछाडि टेकेको हुँदा दायाँ हातको कुहिनो मर्किएछ । हात दुख्यो भन्दै ऊ रुन थाल्यो । अब भने हात भाँचिएको पो कि हो कि भनेर डर लाग्यो । वरपरका सबै जना जम्मा भएर उसलाई घर लिएर गए, म डरले घर टाप कसेँ ।

घरमा त्यतिबेला बहिनी आमा र ममात्रै । दाइ र बुवा मुम्बई, भाउजू तिहारमा माइत जानुभएको । घरमा आएर फाइट खेल्दा घटेको घटना कसैलाई भनिनँ । गल्ती मेरो होस् नहोस् कुनै पनि यस्तो घटनामा जोडियो भने आमाको गाली या कुटाइ खाइन्थ्यो नै । यो हाम्रो घरको आफ्नै नियम हो, गल्ती हामीले नगरे पनि अरुलाई केही नभन्ने आमाबाट हप्कीदप्की खानैपर्ने । आमा भन्नुहुन्थ्यो ‘आफ्नो गाँठो बल्यो हर्नु चोर्याइ बाची नलाउनु’ । हामीलाई जसरी हुन्छ सतर्क हुनुपर्ने । कुनै पनि नराम्रो घटना जोडिनुभएन । जोडियो कि सजाय पक्का । अरुलाई केही भन्ने होइन, भन्नु जति हामीलाई । तँ गइस् किन ? अरुसँग लागिस् किन ? यो घटनामा गल्ती दन्नुले गरेको भए नि सोझै मेरै कारण नालीमा परेको थियो । एक घन्टाजति घरमै पढ्ने बहाना गरेर किताब समाएर बसेँ । त्यस्तै एक घन्टापछि खेतमा जानुपर्ने भयो । बेलुकाको काम खेतको डल्ला फोड्ने थियो । बहिनी सानो किला ठोक्ने हतौडाले डल्ला फोड्ने रहर गर्थी । मैले र आमाले त डल्लेठोले फोड्नुपर्ने ।

आमाले म पानी ल्याएर आउँछु तिमीहरू डल्लेठो लिएर जाँदै गर भन्नुभएपछि बहिनी र म घर नजिकैको खेतमा डल्लेठो लिएर हिड्यौँ । यस्तै ४ बजेको थियो होला । हामी एक सुरमा डल्ला फोड्दै थियौँ । दन्नुका बा दन्नुलाई ल्याएर अघिका फाइट खेलका केटाहरू र थप  पाँच छ जनासहित खेतमै आइ त पुगे । दन्नुको हात घाटीमा झुन्ड्यार बाँधेको थियो, मानौँ हात भाँचिएको छ । उसको बुवाको अनुहारमा हेर्नै नसकिने आक्रोश सबै अरु केटाहरू नि मानौँ मैले नै गल्ती गरेको हो र अपराधी सामातियो जसरी खेतमा आए । 

के हो यस्तो ? आमा एकछिन यत्रो मान्छेहरू खेतमै यसरी आइरहेको देखेर डराउनुभयो । आउनेबित्तिकै दन्नुका बाले ‘तम्रा यति ठूला चेलाले मेरा नाबालक चेलासित फाइट खेल्बर हात भाँच्दियो ।’ यति सुन्नुभएकोे मात्रै के हुनुहुन्थ्यो आमाको रिस मतिर खनियो । ‘क्या भन्दा छन् यी, यिनका छोराको हात तुइले भाच्याको हो ?’ 

‘नखेल् भन्दा भन्दै खेल्न आयो । २ चोटि मुलाई हानी हेल्यो तेस्रो चुटी मैले छुयाको मात्रै छ्या नालीमा पड्यो ।’ के भनेको थिएँ । हातको डल्लेठो फालेर एक ठूलो डल्लो समाएर मेरो टाउकोमा बजाउनुभो । डल्लो फुट्यो । दन्नुका बाको रिस मरेझैँ भो । अरु आएकाहरू केही जिल्ल परे केही डल्लो फुटेको देखेर हाँसे । अरु एक दुई डल्ला पिठ्युँमा लागे । म त्यहाँबाट रुँदै भागे पश्चिम गाउँतिर ।

बेलुका हर्क मामाको घरमै खान खाएँ । मामाकै घरमा बसेँ । बाजेबज्यै मुम्बई बस्नुहुन्थ्यो । मामाघरमा मामाहरूमात्रै बेला बेला । म त्यहाँ सुत्न गइरहन्थेँ । बेलुकातिर मलाई मामाघरमै होला भनेर खोज्न बहिनी आएकी थिई । मैले आज म यतै बस्छु, घर आउन्न भन्दे आमालाई भनेर त्यतै बसेँ । त्यो दिनपछि दन्नुलाई अस्पताल लान्छु भनेर आमालाई पैसा मागेछन् र पैसा पाएपछि अस्पताल लगे अरे । हात त भाँचिएको थिएन रे । दन्नुको मर्किएको मात्रै हो तर दन्नुका बाले आमासँग बेलाबेला हात निको भएन भनेर पैसा माग्न आउँथे । जैले जैले त्यी पैसा माग्न आउथे उहिले उहिले म गाली आमाको गाली पाउँथेँ ।

त्यही घटनापछि होला सम्भवतः मेरो कसैसँग भौतिक रुपमा झगडा परेन । त्यही घटनापछि मेरो फाइटिङ खेल सदाका लागि टुङ्गियो । अहिले आएर सोच्छु, अहिलेसम्म हटेका छैनन् मेरो मस्तिष्कबाट ती दिनहरू, त्यी साथीहरू र त्यी पलहरू । अनि कसरी हटे आमाको मस्तिष्कबाट त्यो समाज, हाम्रो परिवार र म ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपाल भित्रियो मनसुन, सतर्क रहन विभागको आग्रह
स्थापनाको ४६ बर्ष पछि जिल्ला अस्पतालले पायो पहिलो पटक एमडीजिपी
पेट्रोलियम पदार्थको मूल्य बढाइयो
अस्पताल भर्ना हुनु पहिले सुगर जाँच्‍नु आवश्यक