मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कहाँ र कहिले होला अब आईपीएल ?

कहाँ र कहिले होला अब आईपीएल ?

सुदूर आज

काठमाडौं– केही दिनअघि दुई खेलमा लगातार कोभिड–१९ को प्रभाव परेका कारण इन्डियन प्रिमियर लिग(आईपीएल)मा खेल हुन सकेन। खेल नहुनुको कारण कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादका खेलाडीलाई कोभिडको संक्रमण देखिनु थियो।

यता चेन्नई सुपर किंग्सका अफिसियललाई पनि कोभिडको संक्रमण देखिएपछि उसले अघिल्लो खेलमा दिल्लीविरुद्ध मैदान उत्रन नसक्ने खवर आईपीएलको आयोजकलाई पठायो।

लिग चरणको आधा खेल सफलतापूर्वक सञ्चालन गरेको इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले त्यसपछि तत्काल प्रतियोगिता नै स्थगित गर्यो।

लिग स्थगित भएपछि बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले रोकिएको  आईपीएल टी–२० विश्वकपलाई ध्यानमा राख्दै आउँदो विन्डोमा गर्ने तयारी गरिरहेको बताए। आईपीएललाई पुनः सञ्चालन गर्नेबारे उनले दिएको यो पहिलो संकेत हो।

त्यस्तै, विन्डोको समयमा उनले इन्डियामा नै प्रतियोगिता सञ्चालन गर्नेबारे छलफल गर्न बीसीसीआई लागिपरेको संकेत गरेका थिए।

उनको भनाइलाई केलाएर हेर्ने हो भने अब प्रतियोगिता नोभेम्बरमा गर्ने बुझ्न सकिन्छ। तर स्थगित भएको आईपीएल फेरि सुरु गर्नका लागि इन्डियामा महामारीको अवस्था कस्तो हुन्छ भन्ने पनि विचार गर्नुपर्ने छ।

त्यसले आईपीएलको अनिश्चितताबारे अहिल्यै बीसीसीआई निर्णय गर्ने र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले मान्यता दिनेबारे अन्योल कायमै छ। इन्डियामा बढ्दो महामारीका कारण आईसीसीले पुनः एकपटक यूएईमा प्रतियोगिता गर्नका लागि दबाब दिन भने सक्नेछ।

आईपीएलमा अब ३१ खेल बाँकी छन्। डबल हेडरसहित जोडेर यति खेल सकिन तीन हप्ताको समय आवश्यक पर्छ। त्यसैले यो संख्यामा खेलका लागि धेरै मैदानहरु भने आवश्यक पर्दैन। यसरी हेर्ने हो भने आईपीएलका लागि दुई विकल्प छन्। बीसीसीआईले अब अक्टोबरमा दोस्रो हप्तापछि सुरु हुने विश्वकपको अघि वा विश्वकपपछि प्रतियोगिता खेलाउन सक्नेछ।

विश्वकप अघि खेलाउँदा त्यहाँ केही फाइदा र समस्याहरु छन्। यो समयमा इन्डिया, यूएई र इंग्ल्यान्ड कुनै पनि ठाउँमा प्रतियोगिता गराउन सकिनेछ। महामारीको अवस्था हेर्ने हो भने यूएई सबैभन्दा ठिक देखिन्छ। त्यहाँ आईपीएलको पछिल्लो सिजन पनि सम्पन्न भइसकेको छ।

यदि विश्वकप पनि यूएईमा नै गर्ने हो भने त्यसले खेलाडीलाई बबलमा देखिने चुनौति पनि कम हुन्छ। जहाँ लामो यात्रा गर्नु पर्ने हुँदैन। टी २० विश्वकप पहिले अष्ट्रेलियामा आयोजना हुने भनिए पनि पछि इन्डियाले आयोजनाको जिम्मा पाएको थियो।

अब यूएईमा गर्नेबारे बहस भइरहेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भइरहेका छन्। त्यस्तै, इंग्ल्यान्ड पनि अर्को विकल्प किन हुनेछ भने सेम्टेम्बरमा इन्डियन टिम त्यहाँ पुगिसकेको हुनेछ। जहाँ इन्डियाले घरेलु टिमसँग पाँच खेलको टेस्ट सिरिज खेल्दैछ। साथै त्यहाँ आईपीएलको बाँकी खेलहरु गरिए विदेशी खेलाडीका लागि पनि सहज हुनेछ।

इंग्ल्यान्डमा द हन्द्रेडलगायतका अन्य प्रतियोगिता पनि हुनेवाला छन्। तर यसका साथै चुनौति पनि उत्तिकै रहनेछ। सबैभन्दा ठूलो चुनौति भने प्रतियोगितालाई छोट्याउनमा हुनेछ।

प्रतियोगिता इन्डिया इंग्ल्यान्डको खेल र टी २० विश्वकप सुरु हुने समयबीच सक्नुपर्ने छ। जहाँ पाँचौं टेस्ट सेम्टेम्बर १४ मा सकिन्छ। टी २० विश्वकप भने अक्टोबर १६ मा सुरु गर्ने विश्वास गरिएको छ।

आईसीसीले यो मिति सर्नसक्ने बताइरहँदा आईपीएललाई खेल तालिका बनाउन दुविधा हुनेछ। त्यसमाथि क्वारेन्टिन समय र वार्मअपम खेल समावेश गर्दा त्यति छोटो समयमा प्रतियोगिता हुने सम्भावना न्यून भने छ।

साथै लामो इंग्ल्यान्ड भ्रमणपछि इन्डियाका खेलाडी पनि कम्तिमा एक हप्ताको ब्रेक चहान्छन्। त्यससपछि विश्वकप सुरु हुन मात्र दुई हप्ता बाँकि हुनेछ। जसले इन्डियाका खेलाडीलाई कामको प्रेसर पर्नेछ।

टी–२० पछिको विन्डो भनेको नोभेम्बरको अन्तिममा हो। यो समयमा यूएई वा इन्डियामा खेल गर्ने विकल्प आईसीसीलाई हुनेछ। यदि यो समयमा आईपीएल गर्ने हो भने अबुधावी रंगशाला भने उपलब्ध हुनेछैन।

त्यो समयमा अबुधाबी टी १० लिगको पाँचौ संस्करण आयोजना त्यहाँ हुँदैछ। यो समयमा गर्ने अरु चुनौति पनि हुनेछन्। अष्ट्रेलिया र इंग्ल्यान्डका धेरै खेलाडी नोभेम्बरमा सुरु हुने एसेजमा व्यस्त हुनेछन्।

क्यालेन्डरअनुसार इन्डियालगायत टिमले विश्वकप पछि बाइलेटरल क्रिकेटको योजना बनाएको छ। त्यस्तै, इन्डिया आफैंले पनि न्युजिल्यान्डलाई दुई खेलको टेस्ट र तीन टी २० सिरिजका होस्ट गर्दैछ। त्यही समयमा बंगलादेश र पाकिस्तान पनि खेल्दैछन्।

साथै अफगानिस्तान र जिम्बाबेको पनि खेल तय गरिएको छ। दक्षिण अफ्रिका र वेस्ट इन्डिज भने फ्रि हुनेछन्। तर, बीसीसीआईले विदेशी खेलाडीलाई खेल तालिका व्यवस्थापन गर्दै तयार गर्न सके उसलाई नोभेम्बर विन्डोमा खेल गराउन आपत पर्ने छैन। – नेपाल समय