मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परामर्श र व्यवहारिक सहयोग नै मनोबैज्ञानिक उपचार हो

परामर्श र व्यवहारिक सहयोग नै मनोबैज्ञानिक उपचार हो

सुदूर आज

कृष्ण प्रसाद जैशी

अछाम : बिश्व नै कोरोना भाईरसको दोस्रो लहरले आक्रान्त छ । कोरोना भाईरसका कारण बिश्वले गत एक बर्ष देखि ठूलो संकटको सामना गरिरहेको छ । कतिपय देशहरुमा फेरि लकडाउन शुरु भएको छ । नेपाल अनि यसबाट अछुतो छैन। देश धेरै जिल्लाहरुमा निषेधाज्ञा भईसकेको अबस्था छ ।

कोरोना संक्रमणले अछामलाई पनि गाँजिसकेको छ । ब्यक्ति र समुदायमा देखिएको मनोबैज्ञानिक समस्यालाई कम गर्न घटना घटे लगत्तै शुरुमा दिईने भावनात्मक तथा व्यवहारिक सहयोग नै प्राथमिक मनोबैज्ञानिक सहयोग हो । विषम परिस्थितिमा मान्छेको मनमा आउने अशान्ति, डर – चिन्ता, तनाब, नैरास्यता जस्ता भाबनात्मक समस्यालाई कम गर्न र दैनिक जिवनमा आउने व्यवहार जन्य गडबढीलाई ब्यबस्थापन गर्न प्राथमिक मनोबैज्ञानिक सहयोग आवश्यक हुन्छ ।

बेलैमा मनोबैज्ञानिक सहयोग पाएको खण्डमा धेरै जसो समस्या केही समयको अन्तराल पछि आफै कम भएर जान्छ । यसका साथै प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोबैज्ञानिक सहयोग प्रदान गर्ने हो भने पछि देखापर्न सक्ने मानसिक रोग एवं मनोसामाजिक समस्यालाई समेत न्युनिकरण गर्न सकिन्छ । अहिले फेरि कोरोनाको संक्रमण बढदै गएकाले ब्यक्तिमा बिभिन्न किसिमका मनोबैज्ञानिक समस्याका लक्षणहरु देखिन सक्छन् ।

कस्ता कस्ता लक्षण देखिन्छन् त ?

मनमा कुरा खेल्नु, झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको– पेट दुख्नु,रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर चिन्ता पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् ।

बिपत्ती वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन । यि लक्षणहरु लामो समयसम्म रहेमा र दैनिक किर्याकलाप गर्न गार्हो भयो भने मनोसामाजिक समस्या तथा मानसिक रोगको जोखिम हुन्छ । तर पनि बालबालिका, सुत्केरी तथा गर्भवती महिला, जेष्ठ नागरिक, अशक्त, अपांग, दिर्घरोगी, कोरोनाका संक्रमित ब्यक्तिहरु, कोरोनाको आशंका गरिएका ब्यक्ति, कोरोनाको उपचारको क्रममा रहेका ब्यक्ति र तिनको परिवार, आफन्त गुमाएको परिवारका सदस्यहरु, अस्पतालबाट सन्चो भएर फर्किएका ब्यक्तिहरु, अस्थिर र दुबिधामा परेका ब्यक्तिहरु, होम आईसोलेशन र क्वारेन्टाइनमा भएका ब्यक्तिहरुलाई प्राथमिक मनोबैज्ञानिक सहयोग आवश्यक पर्दछ ।

स्बाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरु पनि आ–आफ्नो कार्य क्षेत्रमा दिनरात खटि रहेका हुन्छन । जोखिमको बेला अग्रपङतिमा खटिने ब्यक्तिहरुलाई पनि मनोबैज्ञानिक असर वा मानसिक आघात पर्न सक्ने जोखिम अरु भन्दा धेरै हुन्छ । उनीहरुका लागि पनि प्राथमिक मनोबैज्ञानिक सहयोग तथा स्व हेरचाहको अति जरुरत पर्दछ ।

यस्ता समस्या कसरी कम गर्न सकिन्छ ?

मनका वह पोख्दा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग पाउँदा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले समस्या कम हुँदै जान्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक समस्या :

१. एन्जाईटी – विभिन्न किसिमका डर, चिन्ता जन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास
३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्याई रहने मानसिक रोग ।
७. जाँड रक्सि , लागू पदार्थको लत लाग्ने ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास, तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाब जन्य समस्या ।
१०. सामाजिक संजालको लत बस्ने ।

प्राथमिक मनोबैज्ञानिक सहयोग कसरी गर्ने ?

आफु र अरुलाई हानीनोक्सानी नपुग्ने गरि आफुले सकेको सहयोग एकले अर्कालाई गर्न सक्छौ । प्राथमिक मनोबैज्ञानिक सहयोगको हकमा भने यसको सामान्य ज्ञान वा तालिम लिएको जो सुकै ब्यक्तिले यस्तो सहयोग गर्न सक्छन । यो सेवा गर्न मनोविद, मनोचिकित्सक, मनोपरामर्शदाता नै चाहिन्छ भन्ने होइन ।

१. कोरोनाको संक्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो, सत्य तथ्य सुचना तथा जानकारी गराउने ।
२. शारिरिक तथा भावनात्मक सुरक्षाको पुर्ण प्रत्याभुति गराउने ।
३. आबस्यकता बस्तुहरु पहिचान गरि सोही अनुरुप परिपुर्ति गर्न सहयोग, पहल, सहजिकरण वा समन्वय गर्ने ।
४. अर्काको भावनाको कदर सहित भाबनात्मक रुपमा सधै नजिक रहने ।
५. मानिसहरु बिच सम्मानजनक र भेदभाव रहित सम्बन्धको स्थापना गर्न मद्दत पुर्याउने ।
६. संक्रमणको आशंका गरिएका, आईसोलेसनमा बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरुलाई माया, ममता, सदभाव देखाउने ।
७. परिवारबाट टाढा भएकाहरुलाई सामाजिक दुरि कायम गर्दै पुनः मिलन गराउन मद्दत गर्ने ।
८. ब्यक्तिको दैनिक जीवनलाई सहज र सृजनात्मक बनाउन सहयोग पुर्याउने ।
९. विषम परिस्थितिमा ब्यक्तिले देखाउन सक्ने नकारात्मक ब्यबहारको ख्याल गर्दै उनीहरुलाई सकारात्मक व्यवहार गर्न हौसला प्रदान गर्ने । १०. पुरानो रोग बल्झिएमा, खाईरहेको औषधिले काम गर्न छोडेमा चिकित्सकसँग सम्पर्क गराउने ।
११. प्रभावित ब्यक्तिको कुरा ध्यान दिएर सुन्ने र मनको कुरा भन्न प्रेरित गर्ने ।
१२. ब्यक्तिको रुचि अनुसारको काममा सक्रिय सहित दैेनिक कार्य सुचारू राख्न सहयोग गर्ने ।
१३. आरमदायी अभ्यास, योग –ध्या, ब्यायाम जस्ता कृयाकलापको माध्यमबाट भावनात्मक रुपमा स्थिर र शान्त राख्न सहयोग गर्ने ।
१४. मनोबैज्ञानिक समस्या जटिल हुँदै गएमा मनोचिकित्सक, मनोविद वा मनोपरामर्श दातासँग सम्पर्क गराउने ।

मनोबैज्ञानिक वा मानसिक रोगको जोखिम हुनबाट जोगाउने कस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ त प्रत्येक व्यक्तिको समस्यासँग जुुझ्ने मानसिक क्षमता फरक फरक हुन्छ । घटनाले पार्ने असर पनि फरक फरक हुन्छ । कोही व्यक्ति चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न पनि सक्छ । धेरै मानिसहरु ढिलो चाडो पुर्व अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्या बढदै जान सक्छ।

बिपतिको बेला धेरैजसोमा देखिने स्बभाबिक मनोबैज्ञानिक लक्षणहरु कम नभई बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइमात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, ब्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।

(लेखक जैशी (मनोबिमर्शकर्ता) स्वास्थ्य चौकी जनालीबण्डालीमा कार्यरत छन, फोन मार्फत निशुल्क मनोपरामर्श सेवाको लागि ९८६८५८६६०७ मा सम्पर्क गर्न सकिन्छ )