मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमा बन्दै गरेका दुई अभिनेत्रीको खुशी

आमा बन्दै गरेका दुई अभिनेत्रीको खुशी

सुदूर आज

काठमाडौं- कसैले भनेका थिए, ‘मलाई जीवनमा धेरै कुरामा गर्व छ, तर आमा हुनु जत्तिको गर्व अरु केहीमा भएन।’ 

अभिनेत्रीद्वय ऋचा शर्मा र प्रियंका कार्कीले फिल्म करिअर सुरु गरेदेखि यहाँसम्म आइपुग्दा धेरै थोक कमाए। नाम कमाए, पैसा कमाए। ‘हिट’ फिल्म कमाए, प्रशंसक कमाए। तर, सायद यतिखेर जत्तिको खुशी कहिल्यै कमाएनन्। 

गर्भावस्थामा उनीहरूले सामाजिक सञ्जालमार्फत् साटिरहेको खुशी, सार्वजनिक गरिरहेका ‘बेबी बम्प’ तस्बिर हेर्दा लाग्छ- उनीहरू आमा बन्न सबैभन्दा बढी आतुर छन्। 

ऋचा र प्रियंकाबीचको प्रिग्नेन्सी टकका क्रममा।

आफ्नो ‘बेबी बम्प’ तस्बिरलाई लिएर सोसियल मिडियामा भइरहेका ट्रोलप्रति प्रिंयकालाई कुनै पर्वाह छैन, उनी बेपर्वाह ‘प्रेग्नेन्सी पिरियड’लाई ‘इन्जोय’ गरिरहेकी छन्। 

अघिल्लै वर्ष ऋचाले आफूलाई जन्म दिने आमा गुमाइन्। त्यही वर्ष उनी गर्भवती भइन्। कमेडी च्याम्पियनकी निर्णायक रहेकी उनले हालै मात्र कार्यक्रममै निकै घतलाग्दो र अर्थपूर्ण वाक्य बोलिन्, ‘मैले अघिल्लो वर्ष आमा गुमाएँ। यो वर्ष आमा बन्ने भएँ। म खुशी छु।’ आमा गुमाएको घाउ आमा बन्नुले नै कतै निको पार्ला भन्ने उनको आशय थियो।

युट्युबमा प्रियंका–ऋचाको ‘प्रिग्नेन्सी टक’ हेर्दा लाग्छ, आफ्नो फिल्म रिलिज हुनुअघि पनि उनीहरू त्यति उत्साहित हुन्थेनन्, जति आज ‘बेबी’ रिलिज हुनुअघि छन्। 

तितौराको किस्सा
अभिनेत्री प्रियंका कार्कीले युट्युबमा चलाउने कुकिङ सिरिज हो- ‘चप चप डायरिज’। यो सिरिजको दोस्रो सिजनमा अतिथि बनेर पुगेकी छिन्, अभिनेत्री ऋचा शर्मा। 

प्रियंका र ऋचा, दुवै एकै समयमा गर्भवती भएका हुन्। प्रियंकाले बताएअनुसार उनी ऋचाभन्दा मात्रै एक हप्ताअगाडि गर्भवती भएकी हुन्। 

शोको सेकेन्ड सिजनको पहिलो एपिसोडमा दुवैले गर्भावस्थाका सुःख–दुःख, खुशी–उत्साह साटेका छन्। सुरुमै प्रियंका जब ऋचालाई सोध्छिन्, ‘हाउ आर यू?’, त्यसपछि आउने जवाफले देखाउँछ उनीहरुको आमा मोह, ‘आइ एम फाइन, मम्मी’। 

त्यसपछि दुवै एकअर्काको ‘बेबी बम्प’लाई प्रेमपूर्वक छुन्छन्, र खुशी हुँदै हाँस्छन्। प्रियंका भन्छिन्, ‘हामी एकै महिना आमा बन्दैछौँ। म एकदमै उत्साहित छु।’

प्रियंका–ऋचा दुवैको गर्भावस्थाको पहिलो त्रैमासिक समय गुज्रिसकेको छ। यो समयको अनुभूति साट्दै ऋचा भन्छिन्, ‘सुरुमा त निकै तर्साएको थियो। गाह्रो हुन्छ होला भन्ने लागेको थियो। तर, त्यस्तो केही भएन।’

ऋचा र प्रियंकाबीचको प्रिग्नेन्सी टकका क्रममा।

प्रियंका–ऋचा समकालीन अभिनेत्री हुन्, जो एकै समयमा गर्भवती भए। दुवै एकै प्रोजेक्टमा काम गरिरहेका थिए। तर, रोचक के थियो भने दुवैलाई एकापसमा गर्भवती भएको थाहा थिएन, तर मनमनै आशंका भने थियो। 

‘एक दिन उसले तितौरी मगाएको देख्दाखेरी मैले चाँहि कताकता अनुमान गरेकी थिएँ। त्यो पनि एक प्याकेट होइन, १५–२० प्याकेट,’ प्रियंकाले सम्झिइन्, ‘त्यतिबेला मलाई पनि खान मन लागेको थियो। मलाई लाग्यो, मैले जस्तै उसले पनि गर्भवती भएको कुरा लुकाएको होला।’ 

ऋचालाई पनि त्यतिबेला दुई–तीनवटा कारणले प्रियंका गभर्वती भएको अनुमान रहेछ। एकदिन गफगाफका क्रममा प्रियंकाले ऋचालाई भनिछन्, ‘हामी तीन-चारजना एक्ट्रेस मिलेर एउटा खतरा सिनेमा गर्नुपर्छ।’ त्यसपछि ऋचाले प्रतिप्रश्न गरिछन्– कहिले गर्ने? जवाफमा प्रियंकाले भनिछन्, ‘२०२२ मा।’ 

ऋचाले आफू गर्भवती भएको सार्वजनिक गर्दै सामाजिक सञ्जालमा अपलोड गरेको तस्बिर।

प्रियंकाको त्यो जवाफले ऋचालाई अनुमान लगाउने आधार बनेछ। ‘प्रियंकाको त्यो जवाफले पनि मलाई शंका भएको थियो,’ ऋचाले प्रियंकाकै शोमा भनेकी छिन्। 

एकपल्ट प्रियंकाकै शोमा जाने क्रममा प्रियंकाले खुब तितौरा खाइछिन्। त्यतिबेला उनका श्रीमान् अभिनेता आयुष्मानले सुटुक्क इशारा गर्दै भनेछन्, ‘माया, त्यसरी खानु हुँदैन तिम्ले।’ ऋचाले सुटुक्क सुनिछिन्। ‘आयुषले हाम्ले नदेखोस् टाइपले भनेको थियो। त्यसले पनि मलाई शंका भयो,’ ऋचा भन्छिन्। 

फिल्म क्षेत्रमा फुर्तिली अभिनेत्रीका रुपमा चिनिन्छन्, प्रियंका। प्रियंका स्वयंलाई लाग्छ, म सेटमा काम गरेर कहिल्यै थाक्दिनँ। तर, गर्भावस्थाको सुरुवाती समयमा जतिबेला ऋचा–प्रियंका दुवै एकसाथ काम गरिरहेका थिए, प्रियंका सात–आठ घन्टासम्म लगातार सुतिछिन्। जब त्यो कुरा, ऋचाको कानसम्म पुग्यो, त्यसले पनि गभर्वती आशंकामा बल पुर्‍यायो। ‘मलाई काम गर्दा कहिल्यै पनि थाक्दिनँ जस्तो लाग्थ्यो। तर, त्यतिबेला १० मिनेट एउटा टेक दिँदा ५ घन्टा काम गरेजस्तो महसुस हुन्थ्यो,’ प्रियंका स्वयम् सम्झिन्छिन्। 

करिअरको प्रश्न
नेपाली फिल्म क्षेत्रमा धेरै अभिनेत्री आमा बनेपछि अभिनयको दुनियाँबाट टाढिएका छन्। त्यसैले एक फ्यानले ऋचा–प्रियंकालाई शोमै सोधेका छन्, ‘आमा बनेपछि करिअर अन्त्य होला भन्ने डर छैन?’

जवाफमा ऋचाले भन्छिन्, ‘मलाई डर छैन। म जे कुराका लागि पनि मेन्टल्ली तयार हुन्छु। तर, अहिले म करिअरका लागि सोचिरहेको छैन। मुभी बनाउनेबारे सोचिरहेको छैन। अहिले सन्तान जन्माउनु मेरो जीवनकै सबैभन्दा ठूलो प्रोजेक्ट हो। ब्लकबस्टर प्रोजेक्ट!।’

May be an image of 1 person and standing
प्रियंकाले आफू गर्भवती भएको सार्वजनिक गर्दै सामाजिक सञ्जालमा अपलोड गरेको तस्बिर।

तर, त्यसपछि करिअर सकिएला भन्ने प्रश्नलाई गलत सावित गर्न पनि आफू तत्पर रहेको बताउँछिन् उनी। ऋचाकै कुरामा सहमति जनाउँदै प्रियंका भन्छिन्,‘ अहिले हाम्रो एक मात्रै प्राथमिकता भनेको बच्चालाई कसरी जन्म दिने भन्नेमै छ। किनभने जीवनमा कहिल्यै पनि पाउन नसकिने समयमा छौँ, अहिले हामी। उपयुक्त समय आएपछि फेरि हामी फिल्ममा फर्किन्छौँ नै। तर, हामी प्रेग्नेन्सी फेजलाई इन्जोय गरिरहेका छौँ।’

दुवै अभिनेत्री एकअर्काका बच्चालाई एकसाथ हुर्काउन आतुर छन्। प्रियंकाको कार्यक्रममै ऋचाले त ठट्टा गरेकी छिन्, ‘के थाहा, भविष्यको सम्धी–सम्धिनी पो हौँ कि हामी!’

जवाफमा प्रियंकाको पनि त्यही अनुमान छ– ‘त्यही त, के थाहा?’ – नेपालसमय