अन्तरवार्ता / विचार

‘म डिभोर्सी हुँ, स्वीकार्ने आँट छ?’

  • अभिषेक सापकोटा : देशको बिग्रँदो परिस्थिति। स्वार्थमा लिप्त राजनीति। दिनप्रतिदिन बढेको बेरोजगारी समस्या। ओछ्यानबाट पूर्ण चन्द्रमा देखिने घर। आमाको फाटेको चोली। बाबाको उध्रेको टोपी। भाइबहिनीहरूको मलिन अनुहार। असल समाज र स्वाभिमानी राष्ट्रको परिकल्पना ।

जवानीवयका रंगीन सपनालाई तिलाञ्जली दिएर हरियो पासपोर्टमा जवानी धितो राख्दै प्रवासिएको वर्षौ बितेछ। निरन्तर स्रोह/सत्र घन्टा काम। थाकेको शरीर दुखेको मन लिएर कोठामा फर्कंदा आफू कुन एङ्गलबाट जिउँदो छु भन्ने सोच्न बाध्य हुन्छु। 

हाय ! कस्तो नर्कमय जिन्दगी ! न प्रेम, न आशीर्वाद। यही चिसो सिरानीसँग परिचित छु, वर्षौदेखि। कहिलेकाहीँ मध्यरातमा झस्किन्छु। उठेर टाढा देखिने बादलका थुम्काहरू नियाल्छु। कतातिर पर्छ होला मेरो घर ? सोच्दासोच्दै रात बित्छ। उज्यालो भएपछि चराचुरूङ्गीको चिरविर आवाज सुन्छु। लाग्छ, यिनीहरू मलाई स्पर्श गरेर मेरो घरसम्म पुगूँन् र मेरी आमालाई मेरा सुखद समाचार सुनाइदिऊन्।

म हरेक रात चिसो सिरानीसँग निदाउँछु।  भित्री मनमा घरपरिवारलाई न्यानो राख्ने सपना अझै जीवित छन्। एक साँझ कोरियामा बेस्सरी झरी पर्यो। झ्यालबाट हेर्दा टाढाटाढासम्म सेतै फुलेका साँकुराका फूलहरू देखिन्थे। 

म तिनै फूलहरू नियाल्दै आफ्नो नियति सम्झन्थें। फूलका पत्रपत्रबाट तप्प खसेको पानीमा सबै मोहित हुन्थे। हरेक दिन परायाभूमिमा आफ्नो निधारबाट तप्प खसेको पसिनामा मेरो देश र राष्ट्रियता चस्स दुख्थ्यो। 

बाहिर परेको पानीको असर मनसम्म पुग्थ्यो। हामी सानो छँदा जब पानी पर्न सुरू हुन्थ्यो। बाबाले कान्लातिरको घुसान बटुलेर बाल्नुहुन्थ्यो। हामी साना बच्चाहरू खुसी भएर हेरिरहन्थ्यौं। 

अहिले एउटा यस्तो समय छ। बाबाको आँखामा आँखा जुधाएर नबोलेको वर्षौ बित्यो। हामी सानो छँदा बाबाआमालाई छोराछोरी हुर्काउने चिन्ता थियो। हामी ठूला भयौं कहिले देख्न पाइन्छ भन्ने चिन्ता छ। मन सिमलको भुवासरी उड्न थाल्यो। घरमा छउन्जेल दिनको एक पटक गाउँ नडुली रातभर निद्रा लाग्दैनथ्यो वल्ला गाउँदेखि पल्ला गाउँसम्म सबै आफन्त लाग्थे। अहिले कोठादेखि कम्पनी, कम्पनीबाट कोठा नै सिङगो संसार मान्दै बस्नुपरेको छ। 

सिरकबाट टाउको निकालेर फेसबुकमा एउटा स्टाटस पोष्ट गरें। प्रेमको फराकिलो संसारमा बस्ने मान्छेको मन किन यति साँघुरो हुन्छ ?

पोष्ट गरेको एकैछिनमा साथीहरूले आफ्नो बुझाइ र क्षमताअनुसारको कमेन्ट गर्न थाले। सामाजिक संजालले भौतिक दूरी टाढा भएका मान्छेहरूलाई आत्मीय बनाइदिएको छ। 

पछिल्लो पुस्ताले सामाजिक संजाललाई सदुपयोग भन्दा दुरूपयोग बढी गरेको देखिन्छ। सकारात्मक, सिर्जनशील, प्रेरणात्मक, वैचारिकभन्दा पनि नकारात्मक र सतही बहसमै केन्द्रित युवापुस्ता देखेर मलाई भने नमज्जा लाग्छ। 

म फेसबुक चलाउँदै थिएँ। अन्तिममा आफ्नै पोष्टमा आएको एउटा कमेन्टमा गएर टक्क आँखा अडिए। सम्झनाका बाछिटामा रुझेर प्रेमको फराकिलो बाटोमा हिँड्न निकै कठिन हुँदो रहेछ। 

म कुनै केटीको कमेन्टमा आकर्षित भएँ। त्यसकारण उसको प्रोफाइल नहेरी बस्न सकिनँ। नाम तारा रहेछ। उसको फ्रोफाइल हेर्दै गर्दा यस्तो लाग्यो। भगवानले उसलाई फुर्सदमै बनाएका होलान्। आजसम्म यति राम्री युवतीसँग भेट नभएकोमा मनमनै पछुतो लाग्यो। 

कलर गरेको लामो सिल्की कपाल। टाउकोमाथि राखिएको कालो चश्मा। पहेंलो टिसर्ट। अनारका दानाजस्ता दन्ते लहर। बाक्लो कालो आँखीभौं। आइलाइनरले सजाएका मृग नयन। हातमा क्याननको क्यामेरा। अरे वाह ! उतिबेलाको क्लिओपार्टा जस्तै सुन्दरी।

उसको प्रोफाइल निकै आकर्षक थियो। अझ भनम् बिहानीमा घामको पहिलो चुम्बन पाएर मसक्क मस्किएको धौलागिरी हिमालजस्ती। 

उसका फोटा हेरिसकेपछि टाइमलाइन नहेरी बस्न सकिनँ। सायद संसारका कुनै पनि युवक नहोलान् यति राम्री युवतीको फोटो देखेपछि टाइमलाइन नहेरी बस्न सक्ने म पनि अपवाद हुन सकिनँ।

टाइमलाइन हेर्दै जाँदा थाहा भयो उसले राष्ट्रियस्तरका पत्रिकाहरूमा आफ्ना तर्क र विचारहरू समायोजन गरेर लेख लेख्दी रहिछे। कतिवटा त लिङ्क खोलेर पढेँ। कति मिठो लेखाइ। कतै दर्शन, कतै तर्क। अरे वाह ! मेरो मनले रोजेजस्ती केटी  व्युटी विथ ब्रेन। माई लर्ड! आइएम सक्ड!  

उसलाई र उसको व्यक्तित्वलाई मनैमनले मन पराएँ। सुन्दरता र बौद्धिकतामा दुवै अब्बल। मैले फेसबुकको स्टाटसबाट मन पढ्न त सक्दिनँ। तर उसका हरेक कुरा मलाई प्रिय लागे। ऊ वर्ल्डटपर भएर मेरो मनमा बसी।

उसको टाइमलाइन नियाली रहेँ। त्रिभुवन विश्वविद्यालय अगाडि फुलेका शिरिषको फूलसँग खिचेका फोटोदेखि घन्टाघर रानी पोखरीसम्मको फोटो राख्न भ्याएकी रहिछे। 

मलाई उसका हरेक क्रियाकलाप दाम्मी लागे। फोटोमा देखेको उसको मुस्कान देख्दा थाहै नपाई म पनि आफैंभित्र मुस्कुराएछु। उसको एउटा स्टाटसले निकै मन छोयो। 

‘प्रेमहीन सम्बन्ध बलात्कार हो। प्रेममा कहिल्यै बलात्कार हुँदैन, बलात्कारमा कहिल्यै प्रेम खोज्नु भनेको कहिल्यै नदेखेको मान्छेलाई सम्झन खोज्नुजस्तै हो।’ 

आहा ! ऊ पनि मिठी । उसका स्टाटस पनि मीठा। मैले कमेन्ट गर्न खोजेँ । तर शब्द भेटिनँ । म त उसकै टाइमलाइन हेर्दै काल्पनिक संसारमा पो हराएछु। नमस्कार लेखेर मेसेज पठाउँदै उसैले वास्तविक धरातलमा ल्याई। आई एम सक्ड! 

ऊ सामान्य केटीभन्दा फरक केटी हो भन्ने प्रोफाइल हेरेर थाहा पाइसकेको थिएँ। ताराको व्यवहार पनि उस्तै रहेछ। सुन्दर, बौद्धिक र संस्कारी केटी हो भन्ने उसकै मेसेजबाट झल्किन्थ्यो। 

पहिलो भेटमा नै केही औपचारिक, केही अनौपचारिक र केही रमाइला कुरा भए। उसले मलाई तपाईंको लेख रचना मनपथ्र्यो अनि फलो गरेको भनेर सुनाई। म दङ्ग परेँ। 

त्यसदिन पछि निरन्तर रूपमा अलिअलि च्याट गफ सुरू भए। ऊ यति मीठोसँग बोल्थी म दिनभरिको थकान बिर्सन्थें। उसँगको हरेक पल मलाई प्रिय लाग्थ्यो। च्याटमा गफ चल्दा बेला-बेलामा मलाई सिरियस बनाउँथी र अन्त्यमा जिस्केको स्टिकर पठाउँथी। 

लगभग दुई तीन महिनाको अन्तरालमा निकै कुरा भए। नियमित कुरा हुन थालेपछि लाग्यो म उप्रति आकर्षित पो छु कि ? खै बौद्धिकता हो कि सुन्दरता? अथवा के कुराले म आकर्षित भएँ । म आफैंले मेसो पाउन सकिनँ। 

एक साँझ जिस्कँदै सोधेँ, मैले मेसेज गर्दा रिसाउने कोही छ कि नाइँ? रैछ भने ? म केही लेख्न खोज्दै थिएँ। ऊ एकैछिनमा अफलाइन भई। 

फेरि एकैछिनमा स्माइलको इमोजी पठाई। म आफैंभित्र मुस्कुराएँ। मेरो पुरूष मन उसलाई देख्ने बित्तिकै विचलित हुन्थ्यो। 

उसो त उसलाई नदेख्दा पनि म विचलत नै हुन्थें। यो प्रेम हो कि आकर्षण वा नियमित संवादको प्रतिफल ? मन छिनछिनमा उडेर उसैसँग पुग्थ्यो। 

ऊ धेरैजसो मसँग कन्फटेवल हुन्थी। मैले पनि हरेक कुरामा इन्जोए गर्थें। यति राम्री मान्छेलाई विवाहको प्रस्ताव त कति धेरै आउँछ होला है ? एकदिन मैले कुरैकुरैमा सोधें। 

उसले सिरियस स्टिकर पठाई। सधैं हाँसीखुसी बोल्ने केटी विवाहको कुरा गर्दा किन यति सिरिसय देखिई ? प्रश्न सोधेकोमा आफैंसँग नमज्जा पनि लाग्यो। 

ऊ बोल्दाबोल्दै केही नभनी अफलाइन भई। भोलिपल्ट मैले उसलाई भिडिओ कल गर्न आग्रह गरेँ। सुरूमा त मान्न तयार भइन। धेरै कर गरेपछि उसैले कल गरी। 

भिडिओ कलमा पनि ऊ सिरियस नै देखिई। मसँग खास कुरा गर्न खोजिनँ। अचानक आएको परिवर्तनले मेरो पनि मथिङगल हल्लियो। 

खास कुरा भएन। मेरो इमेल आइडी मागेर अफलाइन भई। उसले मेरो इमेल आइडी मागेपछि मलाई खाली मेल चेक गरिरहन मन लाग्न थाल्यो। 

आइडी मागेको २४ घन्टापछि इनबक्समा रातो सिंग्नल देखापर्योज। मैले लामो सास फेरेँ। आगोले पोलेको घाउमा वरफ लगाएजस्तै भयो। 

आफ्ना नियमित काम र दैनिकसमेत बिर्सिएर हतारहतार उसको मेल पढ्न थालेँ।

‘डियर लेखक।

जुन प्रश्न कसैले नसोधे हुन्थ्यो लाग्छ। त्यही प्रश्न धेरैले सोध्छन्। यस मामिलामा तपाईं पनि अछुतो रहन सक्नुभएन। म जान्दिनँ पवित्र मित्रतामा कसैको व्यक्तिगत  जिन्दगीले कतिको महत्व राख्छ ?

प्रेम र विवाहमा मेरा आफ्नै तर्क, धारणा र भोगाइ छन्। बाहिरबाट हेर्दा देखिने रंगीन सम्बन्धको भित्री फिक्कापन म सजिलैसँग अनुमान लगाउन सक्छु। 

म एउटी विवाहित केटी हुँ। यस्तो सुन्दा तपाईंलाई अचम्म लाग्ला तर वास्तविकता स्वीकार्नुको अर्को विकल्प छैन। 

म तपाईंको लेखलाई आफूलाई जतिकै प्रेम गर्छु। प्रेम गर्नु, मन पराउनु र विवाह गर्नु अलग कुरा हुन्। प्रेम गर्ने मान्छेले सहारा दिन्छ, संरक्षण गर्छ र सधैं आफू हुनुको आभाष दिलाउँछ। भनिन्छ नि, फूललाई प्रेम गर्नेहरू पानी हालेर जान्छन् मन पराउनेहरूले चुडेर लैजान्छन्, चुडिएको फूल ओइलाएपछि बेवारिसे भएर भुइँमा फ्याँकिदिन्छन्। तपाईंलाई प्रेम गर्छु र गर्दिनँ पनि। लेखकको रूपमा प्रेम गर्छु व्यक्तित्वको सम्मान गर्छु।

अँ, साँच्चि म विवाहको पो कुरा गर्दै थिएँ। अठार वर्षको हुँदा मेरो विवाह भयो। अहिले म चौविस वर्षकी भएँ।

डियर लेखक ! 

तपाईंलाई थाहा नै छ। नेपाली समाजको वास्तविकता। सभा सम्मेलन र सामाजिक संजालमा नारी स्वतन्त्रता र मुक्तिको सवाल जति उठाए पनि वास्तविकतामा नारीहरू अहिले पनि परनिर्भर छन्।

पहाडका गाउँ-गाउँ र तराईका भित्री बस्तीहरूमा नारी  स्वतन्त्रता र अधिकारको अवस्था नहेरी सहर र राजधानीका तारे होटलहरूमा सेमिनार गरेर नारीको अवस्थाको माथि उठेको छ भनेर मूल्याङ्कन गर्ने कथित डलरवादी महिला अधिकारकर्मी देखेर मलाई घृणा लाग्छ।

वास्तविकतामा अहिले पनि समाज र परिवारभन्दा माथि उठेर आफ्नो चाहना, इच्छा र सपनाअनुसार स्वतन्त्र तरिकाले आत्मनिर्णय गर्ने सक्ने नारीको अवस्था नगन्य मात्र छ। 

आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक परिबन्धले बाँधिएको नारी स्वतन्त्रता र अधिकार पछिल्लो युवापुस्ता या भनौं, मैले पनि भत्काउन नसकेकोमा कताकता मलाई अहिले ग्लानी हुन्छ। 

सत्र अठार वर्षको भएपछि माइतीमा राख्नुहुँदैन भन्ने गलत मानसिकताको जरो अझैसम्म गाडिएको छ। छोरीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने भन्दा पनि धनी र सम्पन्न केटासँग विवाह गरेर छोरीलाई सुख हुन्छ भन्ने धारणा आज पनि कतिपय ठाउँमा जीवित छन्।

छोरीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्दा पनि ज्वाइँको आर्थिक हैसियत कस्तो छ भनेर आफूभन्दा सम्पन्न खोज्दै आफैंलाई निरीह र परनिर्भर बनाउने समाजमा मेरो परिवार पनि अपवाद हुन सक्नु भएन। 

आफैंलाई रित्याएर परिवार, आफन्त र समाजको इज्जत जोगाउँदा जोगाउँदै कति नारीको जिन्दगी ध्वस्त भएको छ। कति नारकीय जीवन जिउन बाध्य भएका छन् हो म पनि त्यही समाजको एउटा यथार्थ पात्र हुँ। 

हाम्रो पहाड घर स्याङजाको पुतली बजार। मैले कक्षा १२ परीक्षा दिएपछि घरमा विवाहको कुरा चल्यो। त्यसो त विवाहको कुरा म एघार पढ्दादेखि नै चल्न सुरू गरेको थियो । तर मेरो लक्ष्य र उद्देश्य निकै फराकिला थिए। मैले विवाहको कुरालाई खास महत्व दिइनँ। मलाई विवाहबारे रुचि, इच्छा, आवश्यकता केही पनि थिएन। 

धेरै केटाहरूको कुरा आएपछि पारिवारिक दबाब ममाथि बज्रियो।

पुतलीबजारमा घर। भर्खर युएई बसेर आएको केटा। असल, इमान्दार र धनी छ भन्ने आफन्ती र परिवारबाट नियमित दबाब पर्न थाल्यो। म विलखबन्दमा परेँ। जिन्दगी मेरो थियो रहर र निर्णय अरूकै चल्ने सम्भावना देखेँ। 

म फेरि एकपटक कठपुतली ठहरिएर त्यही सामाजिक चेतनाको परिबन्धमा पछारिन पुगेँ। त्यतिबेला ममा विद्रोह गर्ने क्षमता थिएन। असमझदारीमै समझदार भएँ। समझदारीमै असमझदार भएँ। केबाट के भएँ आफैंले पत्तो पाइनँ। अन्तत सबैको जीत भयो  मेरो सपना, भविष्य र जवानी भौतिक सम्पत्तिसँग साटियो। 

हुन त नेपालमा चेलीबेटी बेचबिखनलाई गैर कानूनी मानिन्छ। तर धन सम्पत्ति र भविष्यको लोभ देखाएर मेरो इच्छा, चाहना र सपना नै नबुझी परिवारले नै वैधानिक रूपमा बेचेको एउटा निरीह केटी हुनुको आभाष गरेँ। मेरो जिन्दगीमा मेरोबाहेक सबैको निर्णय चल्यो।’ 

उसको इमेल पढ्दै गर्दा चिटचिट पसिना आयो। मुटुमा कम्पन भएजस्तै लाग्यो। अगाडिको बाँकी इमेल पढेँ।

‘मलाई आजसम्म जुन कुरा सदैव जोगाउनु नारीको इज्जत त्यसैमा लुकेको छ भनेर सिकाइएको थियो। बिहे भएको पहिलो रातमै आफ्नै श्रीमान भनाउँदोबाट मैले त्यो कुरा जोगाउन सकिनँ। या भनौं, हरेक रात बलात्कृत हुन थालेँ। मैले यो कुरा कसैलाई पनि भन्न सकिनँ। तर मलाई भेट्नेहरू बिहेपछि तिम्रो इज्जत बढेको छ सुनेको सुन्दा मलाई अचम्म लाग्यो के मेरो इज्जत परनिर्भर हुँदा बढ्ने हो र ?

प्रेम, सम्मान, अर्काको चाहना र इच्छाविपरीत राखिने सम्बन्धहरू आखिर बलात्कार नभएर के हुन् त  ? 

भनिन्छ, नारी सहनशीलताको खानी हो। धरती हो, पृथ्वी हो, आधा आकाश हो ।

सायद त्यही गुणले होला मैले विद्रोह गर्ने भन्दा पनि त्यही घरमा सबैसँग मिलेर सुन्दर घर बनाउने सपना देख्न थालेँ। 

आमा बाबाको इज्जत र आफन्तको मन राखिदिनकै लागि आफ्नो, बानी, चाहनालाई तिलाञ्जली दिएर सबैलाई खुसी पार्न थालेँ।  आफू रित्तिएर पनि सबैलाई प्रेम र सम्मान गर्न थालेँ। या भनौँ समाजको संस्कारी बुहारी बन्ने प्रयास गरिरहेँ । 

तर सम्बन्ध एक जनाले मात्रै राम्रो गरेरमात्रै नटिक्ने रहेछ। मान्छेहरू पनि एउटा निश्चित बिन्दुसम्ममात्र आफूहरू रित्तिन र झुक्न सक्ने रहेछन्। त्यो घरमा मेरो हैसियत एउटा रोबर्टको भन्दा बढी केही देखिनँ। आर्थिक सम्पन्नको घेराभित्र मेरो स्वतन्त्रता हरायो। धेरै पढेर फराकिलो संसार निर्माण गर्ने सपना संकुचित दायराभित्र सीमित रह्यो। 

घरको हरेक निर्णय र सल्लाहहरूमा मेरो अस्तित्व र विचार शून्य थियो। मानौं, म मान्छे नै हैन। मलाई त्यतिबेला महसुस भयो, मान्छेहरू बरू अभावमा बाँच्न सक्दा रहेछन् तर आफ्नो अस्तित्व नहुने ठाउँमा बाँच्न निकै कठिन हुने रहेछ। 

सायद मेरो सहनशीलता प्रेम र  समर्पणलाई सबैले कमजोरीको रूपमा लिए। ठूलो घरमा बस्ने मान्छेहरूको सोचाइ कति संकुचित हुँदो रहेछ। झुपडीमा बस्ने मेरो बाबुआमाले त्यो ठूलो घरको संकुचित सोचाइ बुझ्न सक्नुभएन। तर पनि म मन बुझाएर आफूलाई स्थापित गर्न खोज्दै थिएँ। 

पाले पाप मारे पुण्य भन्दै बाबाआमाले मेरो हात थमाएका मेरो श्रीमानका व्यवहार पनि विस्तार परिवर्तन हुँदै गयो। उहाँले मलाई अमानवीय व्यवहार गर्न थाल्नुभयो। अति भएपछि कति पटक म माइती गएर बस्ने र कहिले माइतीबाट मान्छे बोलाएर सम्झाउने पनि गरेँ केही लागेन। लाखौँ कोसिस गर्दा पनि मैले उहाँलाई असल मान्छे बनाउन सकिनँ। 

एक दिन त उहाँले रक्सी खाएर नराम्रोसँग कुटपिट नै गर्नुभयो। म ज्यान बचाउनकै लागि पनि माइतीमा गएँ। केही हप्ताको माइती बसाइपछि मलाई बाबाममीले र दाजुभाइले मलाई नै सम्झाउनुभयो। छोरी मान्छे पृथ्वी हो, सहनुपर्छ तिम्रा पनि गल्ती थिए होलान्, घर बिगार्नु हुँदैन, तिमी आफ्नो घर जाऊ जसरी पनि सहेर घरबार सम्हाल्नू। 

माइतीघर मेरो लागि निकै साँघुरो भइसकेछ। म चुपचाप आफ्नै घर फर्केँ। सहनसक्ने जति सहेँ। तर पनि उहाँको हर्कत फेरिएन। म आफ्नै मान्छेबाट असुरक्षित भएँ। घर सम्हाल्न निकै कोसिस गरेँ। तर पनि अन्तिममा डिभोर्सको निर्णय गर्न मलाई बाध्य पारियो। अदालत पुगेर हाम्रो सम्बन्ध टुङ्गियो। 

केही गह्रुंगो  र केही हलुका मन लिएर माइती गएँ । मलाई लागेको थियो म स्वतन्त्र उड्ने चरीजस्तै भएँ। अब खुला आफ्नै संसारमा रमाउन सक्छु। आफ्नै दुनियाँमा हराउन सक्छु। आफ्नो जिन्दगीको निर्णय म आफैं गर्न सक्छु। तीन वर्ष अगाडिको कथा यहाँ आएर उल्टियो। मेरो विवाह भएको दिन सबैको मन उज्यालो थियो म अँध्यारो थिएँ। आज मेरो मन उज्यालो हुँदा सबैको अनुहारको बत्ती निभेको थियो। ती अँध्यारोभित्रको अँध्यारो विचार पनि विस्तारै बुझ्दै जान थालेँ। 

बाबा ममीलाई छोरीले घर गरेर खान सकिनँ भन्ने चिन्ता। सायद दाजुभाइको अनुहार विवाह गरेकी छोरीले अंश लैजाली भन्ने चिन्ताले मन अँध्यारो थियो। त्यसो त आफन्त पनि मेरो उज्यालो मनबाट खुसी थिएनन्। पहिलो घरबार बिग्रियो विचरीको ! अब दोस्रो के राम्रो होला र ? भन्दै छिमेकका मान्छेले मलाई विचरीको दर्जामा उभ्याउन थाले।

म नदीको गहिराइबाट उम्केर महासागरको गहिराइमा डुब्न पुगेँ। मैले आदर्श र उच्च ठानेको समाजको नाङ्गो रूप देख्ने अवसर पाएँ।माइतीघरमा फेरि विवाहको कुरा चल्न थाल्यो। 

एक पटक विवाह भएकी छोरी कहाँ माइतीमा बसेर हुन्छ ? जस्तो भए पनि दोस्रो विवाह गर्नुपर्छ भनेर भन्ने समाज र आफन्ती नै थिए। बाहिर आदर्श देखिने समाजको कालो रूप मैले धेरै पटक देखिसकेको थिएँ।

मलाई मेलापात, पानी पधेँरी र विभिन्न सामूहिक गफगाफमा एउटा घर गरेर खान नसक्ने निरीह केटीको रूपमा  हाँसोको पात्र बनाइयो।प्रायजसो आफ्ना र छिमेकतिरका मान्छेले विवाहको कुरा ल्याउँथे। कोही श्रीमती बितेका, कोही बच्चा नभएका, कोही अपाङ्ग मान्छेको प्रस्ताव आउँथ्यो। 

मेरो उमेर समूहका केटाको प्रस्ताव कसैले पनि ल्याएन। मेरो इच्छा र चाहनाविपरीत जबरजस्ती विवाह गराइदिएर यहाँसम्म आइपुग्नुमा मेरो के नै गल्ती थियो र ? मेरो हितौषी साथीहरू अझै कलेज पढ्दै थिए म कसरी दोस्रो दर्जाको बन्न पुगेँ। 

मलाई माग्न आउने लोग्ने मान्छेहरू लगभग ४० वर्ष कटेका मात्रै हुन्थे। मैले कसैको पनि कुरा स्वीकार गरिनँ। दाजुभाउजू, छिमेकी सबैका अनुहारमा ग्रहण लागे। न समाउने डाली थियो न टेक्ने हाँगो म बेसहाराको अवस्थामा पुगेँ। 

सबै परिवार आफन्तको व्यवहारको प्रभाव साना भाइबहिनीहरूमा पनि परिसकेछ। फूपु आउनुभयो भनेर खुसीले दगुर्ने भाइबहिनीहरू मलाई अर्कै दृष्टिले हेर्न थालेँ। यस्तो व्यवहारले मन चिराचिरा भयो। 

त्यसपछि ममा अचानक विद्रोही भावना आयो। अन्तत अन्याय, अत्याचार र असमानताले सीमा नाघेपछि विद्रोह आफैं जन्मँदो रहेछ।

के समाज, आफन्त र परिवारको काम विवाह गरिदिने मात्र हो र? हाम्रो आफ्नै सपना र निजी जिन्दगी छैन ? खाली अरूकै खुसीमा रमाइदिनुपर्ने ? के हामी कठपुतली मात्रै हौं र ? कुरूप समाजको आर्दशमा अल्झिएर कति चेली कलकलाउँदो जवानीसहित मृत्युको मुखमा पुगेका छन्।

मसँग क्षमता, आत्मविश्वास,  सपना र ऊर्जा छ। फेरि किन अपमान सहेर बस्नु ? आखिर मेरो लागि विवाह एउटा दुर्घटना थियो सकियो। बितेका कुरा सम्झेर आगामी दिन कहाँ सुन्दर हुन्छ र ? मलाई  एउटा भंगालोबाट निस्केर फेरि अर्को भंगालोमा फस्न ठीक लागेन। मैले दोस्रो दर्जाको नागरिक भएर यो कुरूप समाजमा बस्नु उचित ठानिनँ। त्यसकारण माइतीघर छोडेर पोखरा झरेँ। 

पोखराको बसाइ पनि त्यति सुखद थिएन। 

बेलाबेलामा पुराना घाउले चस्का दिन्थे। तर आफूलाई कहिल्यै पनि विचलित हुन दिइनँ। प्राइभेट स्कुलमा पढाउँदै मैले पनि आफ्नो पढाइलाई अगाडि बढाएँ। अहिले म एमए गर्दैछु। राष्ट्रिय दैनिकहरूमा नियमित जस्तो लेख रचना प्रकाशन हुन्छन्।  

अहिले म सोच्छु, आफ्नो जिन्दगीको निर्णय आफैं गर्न सक्नुपर्ने रहेछ। अरूले गरिदिएका निर्णय र अरूले देखाएका सपना क्षणिक हुने रहेछन्। म आफ्नो जिन्दगीसँग अत्यन्तै खुसी छु। मलाई मेरो विगतसँग कुनै गुनासो छैन। यो समाज र राष्ट्रका लागि केही गर्ने लक्ष्य लिएको छु। 

डियर लेखक, 

तपाईंले मेरा सबै मुस्कुराएका फोटा देख्नुभयो हैन ? मुस्कुराएर बाँच्ने बानी परिसक्यो। म खास मेरो व्यक्तिगत कुरा कसैलाई पनि सुनाउँदिनँ तर किन किन तपाईंलाई चाहिँ नभनी बस्न सकिनँ। म आफ्ना विगत लुकाएर कसैसँग पनि सम्बन्ध बनाउन चाहन्नँ। कताकता हामी नजिकिएको आभाष भएर मेरो विगत छर्लङ्ग पारेको मेरो कुरालाई तपाईंले जसरी पनि लिन सक्नुहुनेछ मेरो कुनै गुनासो छैन। 

समाजबाट अपहेलित भएकी। श्रीमानसँग डिभोर्स भएकी। सबैको हेला कि पात्र। तर मीठा सपना र आत्मविश्वाससहित केही गर्ने जाँगर भएकी एउटी नारीलाई स्वीकार्ने आँट तपाईंजस्तो कुमार केटामा छ? छ भने यो दिलको ढोका तपाईंको लागि सदा खुला रहनेछ।’ – सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’
कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?
क्यान्सरबाट जोगिन के गर्ने?
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर