मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरौँ योग रहौँ निरोग : जिल्ला समन्वय समिति प्रमुख कुँवर

गरौँ योग रहौँ निरोग : जिल्ला समन्वय समिति प्रमुख कुँवर


अछाममा योग विज्ञान शिविर, सत्संग तथा आयुर्वेद परामर्श कार्यक्रम सम्पन्न,

अछाम : जिल्ला सदरमुकाम मंगलसेनमा योग विज्ञान शिविर, सत्संग तथा आयुर्वेद परामर्श कार्यक्रम सम्पनन भएको छ । शुक्रबार बिहान अछाम बहुमुखी क्याम्पसको प्राङ्गणमा बृहत योग विज्ञान शिविर सहित सत्संग तथा आयुर्वेदिक परामर्श कार्यक्रम भएको हो ।

पतञ्जली योग समिति अछाम, अछाम बहुमुखी क्याम्पस, षोडशादेवि माध्यामिक विद्यालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा करिब ४ घण्टा योग शिविर, सत्संग तथा आयुर्वेदिक परामर्श कार्यक्रम मार्फत स्थानीयले लाभ लिएका छन् ।

अछाम बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा हरिद्धारबाट आउनु भएका पतञ्जली योग समितिका नेपाल प्रभारी साध्वि देवादितिको प्रमुख आथिति रहेकी थिन।

साध्वि देवादितिले पछिल्लो समय मान्छेको आनीबानी, खानपान, व्यबहार आदिका कारण शरीर रोगको भण्डार हुँदै गएको भन्दै यसका लागि योग सर्बोत्म उपाय भएको बताईन् । योग नियमित र नियमसंगत रुपमा गर्नुपर्ने भन्दै यसबाट शरीरको स्वस्थता, मनको पवित्रता तथा असल भावनाको विकास भई समाज र राष्ट्रकै लागि योगदान पुग्ने उनको भनाइ थियो।

यो केही घण्टाको शिविर सानो चेतना भर्ने कार्य मात्र भएको भन्दै जिल्लाका सरोकारवालाले योजना बनाई एक हप्ता योग विज्ञान शिविर सञ्चालन गरेमा विविध कुराको जानकारी भई योग सम्बन्धि सिकाई विस्तार हुनेमा उनले जोड दिईन्।

कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँवरले सबैले योगको माध्यमबाट स्वस्थ जीवन जीउनुपर्ने बताए । अछाम जिल्लामा यति ठुलो कार्यक्रम र साध्विको आगमन हुनु जिल्लाका लागि खुसीको कुरा भएको भन्दै आगामी दिनमा यसलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा अछाम बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् मंगलसेन नगरप्रमुख पदम बोहराले जिल्लामा वृहत योग विज्ञान शिविरले योगप्रतिको आकर्षणलाई थप विस्तार गरेको भन्दै योगले व्यक्तिलाई स्वस्थ, निरोगी तथा असल भावनाको विकास गराउने भएकाले सबैले योग गर्नुपर्ने उल्लेख गरे । आफ्नो कार्यकालमा अछाम बहुमुखी क्याम्पसको भवनमा योग तथा ध्यान कक्ष नै स्थापना गरेको भन्दै योगबाट सबैले फाईदा लिन सक्नुपर्नेमा जोड दिए ।

जिल्लामा पतञ्जली योग समिति रहेको भन्दै यसले आगामी दिनमा योगको थप विस्तार गराउन लाग्नुपर्ने र योगका लागि आफ्नो तर्फबाट सधैँ सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश प्रभारी काँशीनाथ भट्ट, योग समितिका केन्द्रीय सदस्य तथा प्रदेश सभा प्रभारी कमला सापकोटा लगायतले योगको महत्वबारे जानकारी गराएका थिए ।

अछाम जिल्लामा चैत्र १२ गते बैद्यनाथ धाम तथा जनकल्याण मावि साँफेबगरमा योग शिविर सञ्चालन भएको भन्दै शुक्रबार मंगलसेनमा भव्य रुपमा योग शिविर सम्पन्न भएको पतञ्जली योग समिति अछामका अध्यक्ष जय बहादुर बोगटीले आगामी दिनमा जिल्लामा योगको विस्तारका लागि प्रयास गर्ने बताए ।

यसका लागि स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्नेमा उनको जोड छ । शिविरमा करिब २ सय जतिको सहभागिता रहेको थियो । सहभागिले योगले शरीरलाई स्फूर्ति प्रदान गर्ने भन्दै शिविर फलदायी भएको बताए ।

शिविर तथा सत्संगमा मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्ट, सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाही, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत खकेन्द्र सोडारी, पतञ्जली योग समिति अछामका संस्थापक चन्द्रमणी भाट, मदन कुँवर, लगायतको सहभागिता रहेको थियो ।

पतञ्जली योग समितिका मनकला न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बिशेश्वर प्रसाद ढुंगानाले गरेका थिए ।