मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई कसले दियो धम्की ? सुरक्षा निकाय भन्छ- हावादारी हल्ला

ओलीलाई कसले दियो धम्की ? सुरक्षा निकाय भन्छ- हावादारी हल्ला

सुदूर आज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार पोखरामा आयोजित एक कार्यक्रममा आफूमाथि भौतिक आक्रमणको योजनाको खुलासा गरे ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले विकासका कामहरू देखेर देशी-विदेशी तत्त्वबाट प्रहार खेपिरहेको बताए । कार्यक्रममा ओलीले भने, “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिनँ भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।”

मुलुकको कार्यकारी प्रमुखको यो भनाइ सार्वजनिक भएपछि सुरक्षा संयन्त्र भने अचम्ममा परेका छन् । उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति हावादारी भएको अनौपचारिक प्रतिक्रिया दिएका छन् ।

सुरक्षा अधिकारीहरु भन्छन्, “उहाँले किन बोल्नुभयो हामी अचम्मित छौं । प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्तो अभिव्यक्तिबाट के प्रमाणित गर्न खोज्नुभएको हो ? राजनीतिक फन्डका लागि मनलाग्दी बोल्ने कुरा सुहाएन ।”

सुरक्षा परिषद्‌का अध्यक्षसमेत प्रधानमन्त्रीले आफूलाई कोबाट आक्रमणको सम्भावना रहेको खुलाएनन् । प्रधानमन्त्रीले आफूमाथि खतरा रहेको बताइरहँदा उनीसँगै गृहमन्त्री रामबहादुर थापा पनि थिए । सुरक्षा निकायका अधिकारीहरुका अनुसार नेपालको इतिहासमा हालसम्म कुनै पनि कार्यकारी प्रमुखमाथि आक्रमण भएको छैन ।

सुरक्षा अधिकारीहरुले भने, “उहाँले सुरक्षाकर्मीको मनोबल गिराउन खोजेकोजस्तो देखियो । नेपालको अहिलेको अवस्था द्वन्द्वकालीन पनि होइन । कुनै हतियारबद्ध विद्रोही समूह पनि छैन । सुरक्षाकर्मीको घेरामा बस्ने अनि ज्यानमाथि खतरा छ भन्ने कुरा कहींबाट पनि मेल खाँदैन ।”

नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी प्रधानमन्त्रीले कहींबाट केही सूचना पाएर त्यस्तो बोलेको हुनसक्ने अनुमान गर्छन् । उनले भने, “प्रधानमन्त्रीज्यूले कहींबाट सूचना पाएरै बोल्नुभएको होला । तर देशकै कार्यकारीमाथि आक्रमण भएको नेपालको इतिहासको मलाई सम्झना छैन ।”