बिदेश

प्लेटोले यसकारण भनेका थिए- लोकतन्त्रबाटै तानाशाही जन्मिन्छ

तपाईं समुद्रको बीचमा नाउमा हुनुहुन्छ भने के गर्नुहुन्छ ? १. नाउ चलाउने तरिका तय गर्नका लागि चुनाव गराउनुहुन्छ ? २. त्यहीँ भएकामध्येबाट कोही नाउ चलाउन सिपालु मान्छेको खोजी गर्नुहुन्छ ? 

दोस्रो विकल्प छान्नुहुन्छ भने सम्भवतः तपाईंलाई लाग्न सक्छ– यो खालको परिस्थतिमा विशेषज्ञताले ठूलो महत्त्व राख्छ। मानौं, नाउ एक राज्य हो र नाउ चलाउने व्यक्ति शासक। यी दुईका बारेमा तपाईंले के सोच्नुहुन्छ ?

राज्यको नेतृत्व गर्न निर्वाचनका माध्यमबाट नेता छान्नुको साटो कुनै अनुभवी व्यक्तिको खोजी गर्नु राम्रो विकल्प हो र ? यो कुरा एथेन्सका दार्शनिक प्लेटोले २४०० वर्षअघि आफ्नो किताब ‘द रिपब्लिक’को छैटौं अध्यायमा उल्लेख गरेका छन्। यसलाई न्याय, मानव स्वभाव, शिक्षा र पुण्यजस्ता विषयमा सबैभन्दा पहिलो र प्रभावकारी किताब मानिन्छ।

किताबमा सरकार र राजनीतिबारे पनि चर्चा गरिएको छ। सुकरात र प्लेटो तथा उनका साथीबीच राज्य सत्ताका विषयमा भएकाे कुराकानी नै पुस्तकाे मूल विषय हाे।

गुरु र शिष्यबीचको कुराकानीमा माथिको उदाहरणमध्ये पहिलो किन राम्रो छ भनेर बताइएको छ। किताबमा प्रजातन्त्रबारे प्लेटाेकाे विचार प्रस्ट देखिन्छ। किताबमा ग्रिक भाषामा लेखिएको छ, ‘जनताको सरकार फैसला लिने मामलामा योग्य छैन।’

यहाँसम्म कि प्लेटाेले कुनै नेताका लागि मतदान गर्नु निकै जोखिमपूर्ण कामका रुपमा व्याख्या गरेका छन्। उनका अनुसार मतदाता अप्रासंगिक कुरा (उम्मेदवारको रुपरंग) आदिबाट प्रभावित हुन सक्छन्। उम्मेदवारको शासन गर्ने र सरकार चलाउने योग्यताबारे मतदातालाई हेक्का हुँदैन।

बीबीसीको हिस्ट्री अफ आइडियाज सिरिजमा दार्शनिक नाइजल बारबर्टन भन्छन्, ‘प्लेटो सत्ताको नेतृत्व विशेषज्ञले गर्नुपर्छ भन्ने चाहन्थे, जो विशेष रुपले प्रशिक्षित दार्शनिक हुन आवश्यक छ। उनीहरुलाई आफ्नो इमानदारी, वास्तविकताको गहिरो जानकारी (आम मानिसभन्दा धेरै) का आधारमा चुनिनुपर्छ।’

सत्ताको स्वरुप

यस प्रकारको सरकारको स्वरुप एरिस्टोक्रेसी (अभिजात्य वर्गको शासन) हुनेछ। ग्रिक भाषामा यसको अर्थ उत्कृष्ट मानिसको सरकार हो। यो स्वरुपमा केही मानिसले आफ्नो पूरै जीवन नेता बन्नका लागि तयारी गर्छन्। जसले समाजका लागि बुद्धिमत्तापूर्ण फैसला लिन सकोस्।

बीबीसी आइडियाज कार्यक्रममा सहभागी दार्शनिक लिंड्स पोर्टर भन्छिन्, ‘प्लेटाेको विचार खास थियो। उनी यी एरिस्टोक्रेटले निःस्वार्थ भाव र बुद्धिमत्तापूर्ण ढंगले शासन गर्छन् भन्ने मान्थे। तर प्लेटोले पढेलेखेका र बुद्धिमान मानिएका बच्चा आरामदायक जीवन र भ्रष्ट हुने आशंका गरेका थिए।’ 

पोर्टरले भनेकी छन्, ‘त्यसपछि उनीहरुले आफ्नो सम्पत्तिबारे सोच्नेछन्। जसले एरिस्टोक्रेसी एक ओलिगार्की (सीमित मानिसमा निहित शासन) मा परिवर्तन हुनेछ। ग्रिकमा यसको अर्थ केही मानिसको शासन हुन्छ।’

यस्ता धनी र क्षुद्र शासक बजेटको सन्तुलनलाई लिएर चिन्तित रहनेछन्। यसले बचतमा जोड दिन्छ र असमानता बढ्नेछ। प्लेटो लेख्छन्, ‘उनीहरु धन बढाउन मात्र केन्द्रित हुनेछन् र मूल्यका बारेमा कम सोच्नेछन्।’

जसरी असमानता बढ्छ, अशिक्षित गरिबको संख्या धनीको तुलनामा धेरै हुन्छ। र, अन्तिममा ओलिगार्कीको सत्ता ढल्नेछ र राज्य एक डेमोक्रेसीमा बदलिनेछ। हाम्रा लागि (जो लोकतन्त्रको तारिफ सुन्न अभ्यस्त छौं) डेमोक्रेसी, एरिस्टोक्रेसी र ओलिगार्कीपछिको तेस्रो दर्जाको शासन व्यवस्थाबारे सुन्दा आश्चर्य लाग्न सक्छ।

यतिमात्रै होइन, ‘रिपब्लिक’मा सुकरात भन्छन्, ‘लोकतन्त्र अराजकताको एक सुखद रुप हो। यो पनि आफ्नो विरोधाभासका कारण अन्य शासन व्यवस्थाझैं खत्तम हुँदै जानेछ। जसरी ओलिगार्की, एरिस्टोक्रेसीबाट निस्किएको थियो, त्यसरी नै डेमोक्रेसीबाट निरंकुशता निस्कनेछ।’

जब मानिस सम्पत्ति हासिल गर्ने दौडमा लाग्छ भने समाजमा समानताको माग उठ्न थाल्नेछ। समानताको भोक पैदा हुनेछ। यसरी तृप्त नहुने स्वतन्त्रको प्यासले एक निरंकुशताको माग पैदा गर्छ।

अधिक स्वतन्त्रता

यो एक यस्तो विचार हो, जसलाई स्वीकार गर्न निकै मुस्किल छ। जब मानिसलाई स्वतन्त्रता मिल्छ, तब उनीहरुले यो भन्दा धेरै स्वतन्त्रता चाहन्छन्। कुनै पनि मूल्यमा स्वतन्त्रता पाउने लक्ष्य हो भने स्वतन्त्रताको अधिकताले गुट र मतभिन्नतालाई जन्माउँछ। यस्तोमा जो नेता बन्न चाहन्छ, उसले ती गुटलाई सन्तुष्ट गर्नुपर्नेछ।

उनीहरुको भावनामा ध्यान राख्नुपर्छ। यो स्थिति तानाशाह फस्टाउनका लागि अनुकूल हो। किनकि यो स्थितिमा नेताले लोकतन्त्रमा नियन्त्रण गर्नका लागि जनतालाई भ्रमित गर्छ।

यसो भन्दैमा असीम स्वतन्त्रताले एक प्रकारको उन्मादी भीड जन्माउने भन्ने होइन। यस्तो हुँदा मानिसमा शासकप्रतिको भरोसा कम हुन्छ। मानिस हैरान हुन्छन् र त्यस्तो व्यक्तिलाई समर्थन दिन्छन्, जसले मानिसको डरलाई पाल्ने–पोस्ने काम गर्छ।

दार्शनिक लिन्डसे पोर्टर भन्छिन्, ‘आज कुनै यस्ता संस्था छन्, जुन प्लेटोको समयमा थिएनन्। यसमा प्रतिनिधिमूलक लोकतन्त्र, सर्वोच्च अदालत, मानवअधिकार कानुन आदि पर्छन्। यी भीडको शासनलाई नियन्त्रण गर्ने उपकरण हुन्। 

यद्यपि हालैका वर्षमा डोनाल्ड ट्रम्पजस्ता नेताको उदयले ‘द रिपब्लिक’को चेतावनीलाई एकपटक फेरि सान्दर्भिक बनाइदिएको छ। विश्लेषक, राजनीतिक टिप्पणीकार एन्ड्रयू सालिवनले बीबीसीको न्यूज नाइटको कार्यक्रममा यस्तै विचार राखेका थिए।

प्लेटोलाई केन्द्रमा राख्दै सालिवन भन्छन्, ‘यी खालका नेता (जो  उच्च वर्गबाट आउँछन्। तर वर्तमान समयसँग तालमेल बनाएर राख्छन्) ले आज्ञाकारी भीड जम्मा गर्छन् र भीडबाट धनी मानिसलाई भ्रष्टाचारी भनाउन थाल्छन्।’ 

सालिवन अगाडि भन्छन्, ‘यस्ता व्यक्तिले आफैंलाई हरेक समस्याको हल भएको बताउन थाल्नेछ। जब जनताले उसलाई समाधानका रुपमा हेर्न थाल्नेछन् र उत्साही हुनेछन्। उसले लोकतन्त्र खत्तम गरिदिनेछ।’

यद्यपि एरिस्टोक्रेट्सद्वारा शासन गरिने यो विचारले यस्तो मानिसको नेतृत्व होस्, जो भ्रष्ट नहोस् र बुद्धिमत्तापूर्ण निर्णय लेओस् भन्नेमा जाेड दिनेछ। जसले आफैंलाई लगातार सोधोस्– सबैभन्दा उचित र विवेकपूर्ण कदम के होला ?

प्लेटोको मुख्य कुरा यही हो– उचित, विवेकपूर्ण र बुद्धिमत्तापूर्ण फैसला गर। मूल्यको होइन, भावनाको राज गर। 

–बीबीसी हिन्दीबाट 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी