मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय विदेश सचिवले भने ‘पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी छु’

भारतीय विदेश सचिवले भने ‘पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी छु’


गोरखा – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले गोरखामा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गरेका छन् । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी मावि, तारा मावि र रत्नलक्ष्मी माविको उद्घाटन गरिएको हो ।

विदेश सचिव शृङ्गलासहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गरे । गोरखा नगरपालिका लक्ष्मी बजारको महालक्ष्मी माध्यमिक विद्यालयमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै विदेश सचिव शृङ्गलाले नेपालभर दुई सय ७७ वटा विद्यालय र क्याम्पस भवन पुनर्निर्माण गर्न लागेको बताए । त्यसका लागि ६ सय करोड नेपाली रुपैयाँ भारत सरकारले सहयोग गरेको उनले जानकारी दिए ।

भारतले पछिल्लो समय गुजरात भूकम्पमा ठूलो क्षति बेहोरेको बताउँदै उनले त्यहाँको सिकाइ नेपालका लागि उपयोगी हुन सक्ने बताए । ‘भूकम्पले तहसनहस भएको गुजरात पुनर्निर्माणपछि अहिले भारतको एउटा प्रमुख आर्थिक केन्द्र बनेको छ’, विदेश सचिव शृङ्गलाले भने, ‘भूकम्प प्रभावित नेपालले पनि छिट्टै त्यस्तै अवस्था हासिल गरोस् ।’

शृङ्गलाले नेपाली र अङ्ग्रेजी भाषामा सम्बोधन गरेका थिए । नेपाली भाषामा सम्बोधनका क्रममा उनले आधुनिक नेपालको स्थापना गर्नुभएका राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लागेको बताए । गोरखाका मानिसहरू आफ्नो बहादुरीका लागि दुनियाँभरमा चिनिने गरेको पनि विदेश सचिव शृङ्गलाको भनाइ छ ।

विदेशसचिवका साथमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि रहेका थिए । दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाण्डाै आएका शृङ्गला आज (शुक्रबार) दिउँसाे ३ बजे स्वदेश फर्किएका छन् ।