मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘इमेल’ थोरै पठाउँदा वातावरण जोगिन्छ ! कसरी ?

‘इमेल’ थोरै पठाउँदा वातावरण जोगिन्छ ! कसरी ?


बीबीसी । यदि तपाईँको आवश्यकता भन्दा बढी नै इमेल प्रयोग गर्ने बानी छ भने त्यो वातावरणका लागि हानिकारक हुन सक्ने पर्यावरणविद्हरुले बताएका छन् । पृथ्वीलाई जोगाउने सम्बन्धी विभिन्न नयाँ उपायको खोज गरिरहेका वैज्ञानिकहरुले त्यसो भनेका हुन् । 

कतिपय मानिसहरुमा विशेषगरी काम भइसकेपछि इमेलबाट नै ‘थ्यांक क्यु’ भनेर एक लाइनको म्यासेज पठाउने बानी हुन्छ जुन वातावरणका लागि उचित नभएको उनीहरु बताउँछन् । ‘द फाइनान्सीयल टाइम्स’ ले गरेको रिपोर्ट अनुसार अब छिट्टै विश्वभर सबै मानिसहरुलाई दिनमा एउटा भए पनि थोरै इमेल पठाउन अनुरोध गर्ने समय आउन सक्नेछ ।

किनकि त्यति गर्नुले पनि धेरै ठूलो स्तरमा कार्बन उत्सर्जन हुनबाट जोगाउन सक्ने कोप २६ जलवायु सम्मेलनका अधिकारी बताउँछन् । एउटा इमेलले कसरी त्यति ठूलो फरक पार्न सक्छ होला भन्ने धेरैलाई थाहा नहुनुले पनि यो विषय गम्भीर बन्दै गएको छ । 

इमेलले कसरी उत्पन्न गर्छ कार्बन ?

प्रायः मानिसहरुले इन्टरनेटलाई हाम्रो कम्प्युटिङ हार्डवेयरभन्दा बाहिर हुने ‘क्लाउड’ मान्ने गर्दछन् । तर वास्तविकतामा जब हामीले कुनै इमेल या अनलाइन सामग्रीहरु अर्को प्रयोगकर्तालाई पठाउछौँ, त्यो सबै ऊर्जा खर्च हुने इलेक्ट्रोनिक्स भएको ठाउँमा पुगेको हुन्छ । हाम्रो वाइफाइ राउटरले सिग्नल पठाउँदा त्यो तारमार्फत स्थानीय पोलसम्म पुग्छ, त्यसपछि टेलिकम कम्पनीसम्म जान्छ र त्यहाँबाट फेरि ठूलो डाटा सेन्टरकहाँ पुगेको हुन्छ जसलाई ठुल्ठुला प्राविधिक कम्पनीले सञ्चालन गर्छन् । र यी प्रत्येक ठाउँहरु बिजुलीबाटै चलिरहेका हुन्छन् ।

फाइनान्सीयल टाइम्सको रिपोर्टमा उल्लेख गरिएअनुसार यदि बेलायतमा मात्र प्रत्येक नागरिकहरुले हरेक दिन पठाउने ‘मेल’ मा केबल एउटा घटाउन सक्ने हो भने पनि त्यसले एक वर्षमा १६,४३३ टन कार्बन उत्सर्जन हुनबाट जोगाउनेछ । त्यति मात्रामा कार्बन भनेको, युरोपभर दशौँ हजार विमान चल्दा निस्कने धुँवा बराबर हुन्छ । यस विषयका प्रतिष्ठित प्रोफेसर माइक बर्नस लिको रिसर्चबाट यस्तो पत्ता लागेको थियो । 

के हाम्रो इमेल ठूलो वातावरणीय समस्या हो ?

त्यस्तै अर्को उदाहरण दिँदा, १ वर्षमा विश्वभरमा पठाइने ६२० खर्ब ‘स्पाम म्यासेज’ सबै डिलिट गर्ने हो भने यसले २ करोड टन कार्बन–डाइअक्साइड ग्यासलाई हाम्रो वातावरणमा उत्सर्जन हुनबाट जोगाउनेछ । यसकारण पनि आवश्यक इमेल मात्र पठाउने अनि अनावश्यक र स्पाम म्यासेजहरु सधैँ डिलिट गर्ने बानी गर्दा राम्रो हुनेछ ।

हाम्रो एउटा सानो प्रयासले पनि वातावरण जोगाउनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने वातावरण विद्हरु बताउँछन् । तर यसमा इमेलले कति कार्बन उत्पन्न गर्छ भन्ने तथ्याङ्क निकाल्न सानोदेखि ठूलो स्रोतसम्मलाई गणना गरिएको छ । जस्तै सर्भरहरुले प्रयोग गर्ने ऊर्जादेखि, हाम्रो वाइफाइ, हाम्रो ल्यापटप, डाटा सेन्टरका भवन बनाउँदा उत्पादन भएको कार्बनलगायत सबैलाई आधार मानिएको छ ।