अन्तरवार्ता / विचार

१४ वर्षदेखि खप्तडको ‘नैनी’ सिँगार्न लागिपरेका अर्जुन

७६ वर्षीय अर्जुन बहादुर राना। तस्बिरः गोकर्णप्रसाद उपाध्याय

आफ्नो घर बेचेर आएको १ करोड बढी रकम रानाले पहाड सिगार्न खर्चिँदैछन्

‘देश खानू जुझेर, पहाड खानू पूजेर।’

यो उखान प्रचलित छ अछाममा। देश अर्थात् तराई, मधेश वा परदेशका विभिन्न ठाउँ वा सहर। जहाँ कडा परिश्रम बिना, थरीथरी समस्यासँग नजुझेर जीवन गतिमय हुँदैन।

रोजगारी वा अन्य कारणले विदेशिएका वा थातथलो छोडी सहर छिरेकाहरूका संघर्षका कथा पनि भन्छन् ‘समस्यासँग लडिबुडी गर्नैपर्छ।’

उसोभए पहाडमा?

पहाडको विकटतामा प्रत्येक डाँडालाई, ढुंगा-ढुंगालाई नपूजेर जिन्दगी चल्दैन। अनेकन् जातजातिले विभिन्न पहाडलाई कसैले गौरीशंकरको रूपमा पूज्ने, कसैले अन्नपूर्ण भनी भाक्ने, कोही कूलदेवता ठान्ने, देवीदेवताको प्रतिरूप मान्ने, देउराली पूज्ने गर्नुले पनि यो पुष्टि गरेकै छ।

तर एकै ठाउँमा जुझ्ने र पूज्ने दुवै काम गर्न सके के होला?

त्यसको उपलब्धि झन् अलौकिक हुन्छ।

यस्तै पहाड पूज्दै, पहाडसँगै जुझिरहेका एक व्यक्ति छन्- अर्जुन बहादुर राना।

अछामको खप्तड, नैनीमा ७६ वर्षीय यी ‘अछामी बड्डा’ नामजस्तै अर्जुन दृष्टिका साथ पहाडसँग जुझ्दैछन्। जुझाइ पहाडसँग पौठेजोरी खेल्न होइन, त्यही पहाडलाई पूज्न, पूज्नयोग्य बनाउन हो। त्यहाँ पुग्ने एउटा बाहिरियाले सर्वप्रथम पहाडलाई पूजे पनि फर्किँदा सायद उनको जुझाइलाई पूज्छ। 

साँफेबगरबाट २६ किलोमिटर टाढा २,०८० मिटर उचाइमा खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएको अजंग पर्वतको फेदीमा अवस्थित नैनीलाई धार्मिक क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने सोच अर्जुनले २०३८ सालमै बनाइसकेका थिए। तर कार्यरूप दिन २०६३ सालसम्म कुरे।  

यो सिंगो पहाडमा विगत १४ वर्षदेखि उनको खटाइ अनवरत छ। यही ठाउँमा पसिना पोखेका छन्। आसपासका ठूलाठूला चट्टानलाई कतै सिँगारिरहेका छन्, कतै कुँदिरहेका छन्। एक्लै दिनरात जुझिरहेछन्।

बुढेशकालमा उनको सुताइभन्दा जुझाइ धेरै छ। दिनमा ३ घन्टा मात्र सुत्छन्। न त्यहाँ कुनै समिति छ, न ठूलो दलबल। न कोही दाता, न करोडौं ‘ब्यालेन्स’ भएको बैंक खाता। छ त केवल, मिहेनतसँग नाता।

साँफेबगर नगरपालिका, वडा नं. १२ मा रहेको नैनी धार्मिक पर्यटकीय क्षेत्र बनाउन उनले पुर्ख्यौली सम्पत्ति खर्चिए। वर्षौंअघि चार वटा घोडा पाले। बथानका बथान बाख्रापालन गरे।

तीन सय ओखर र ३०-४० किवीका बोट उमारेर फल्ने अवस्थामा छन्। तोरी उमारे, क्विन्टलका क्विन्टल आलु फलाए। तर जमिनमा जतिसुकै फलाए पनि, जेसुकै उमारे पनि मनमा शान्ति उम्रिएन।

११ वर्षकै उमेरदेखि चार दशक खप्तड बाबाको वरिपरि बाबाकै सेवामा गुजारेका र जवानीमा पनि बाबासँग बेलाबेला भेटिरहने उनलाई बाबाकै एक वाणीले बदलेको रहेछ- ‘सम्पत्ति कमाएपछि खाएर जानू, खुवाएर जानू, छाडेर (राखेर) जानू।’

खाने र खुवाउने काम त गरेझैं लाग्थ्यो उनलाई जीवनमा। तर, तीन बाजीका निर्विरोध प्रधान उनले आफ्नो पदचाप र पहिचान छोड्न केही गर्न सकेको देखेनन्।

त्यसैले राजनीति त्यागेर यो ठाउँलाई धार्मिक क्षेत्रको रूपमा विकास गर्ने योजना पलाएछ।

अर्जुन भन्छन्, ‘यो विचार पनि बाबाले नै सपनामा आएर दिएका हुन्। अब त पृथ्वी रहुञ्जेल यो धार्मिक क्षेत्र रहिरहने छ। मलाई पनि जगले सम्झी रहनेछ।’

पैसा, सुविधा र क्षणिक सुखका पछाडि दौडिने पदाधिकारी, राष्ट्र सेवक भएर पनि १०-५ जागिर मात्रै गर्ने, साँच्चिकै सेवा नगर्ने कर्मचारीका लागि उनको जीवनशैली र जुझाइ जोरको थप्पड हो।

२०६९ सालमा क्षेत्रीय प्रशासन कार्यालय, दिपायलका का.मु. क्षेत्रीय प्रशासक दुर्गानिधि शर्माले यो ठाउँको भ्रमण गर्दा भनेको कुरा उनी झल्झली सम्झिन्छन्-  ‘तिम्रो छोरा अमेरिका जानै पर्दैन, गर्न सके यही ठाउँ विश्वकै चर्चित हुन्छ।’

केही समयपछि उनै शर्माले तीन लाख रुपैयाँ दिलाई दिएपछि यो ठाउँको निर्माण सुरू गरे अर्जुनले। अहिलेसम्म सरकारबाट ३२ लाख रुपैयाँ प्राप्त भएको छ। व्यक्तिगत लगानीको हिसाबै छैन।

‘पैसाको कुरै नगरौं। मन यसमै रमाइसक्यो, अरुमा मनै लाग्दैन। मनको अगाडि धनको चल्दो रहेनछ। पोहोरमात्रै घर बेचेको एक करोड १० लाख रुपैयाँ यसमै खर्चिँदैछु। अब जग्गा, जमिन, घरद्वार नरहे नरहोस्,’ उनी सम्पत्तिको कुनै मोह नराखी भन्छन्।

‘कोही नभएको मूल्या (टुहुरो) हुँ। खान, लाउन, बस्न थिएन। मिठो मसिनो त टाढाको कुरो, कोदाको रोटीसम्म नपाएको मान्छे। लिएर जानू केही छैन। आफ्नै आठ रोपनी जग्गामा मन्दिर बनाउने भनेर सुरू गरेको थिएँ, अहिले पहाडै आँटिसके। तीन सय रोपनी ढाकिसकेँ। मदन बाबा र गोरखनाथ बाबा पनि यहाँ आएर बस्न खोजेका छन्। उहाँहरूलाई पनि आश्रमका लागि केही ठाउँ दिने तयारी छ।’ 

यो ठाउँ सिँगार्न, सजाउन एउटा प्राकृतिक र एउटा कृत्रिम गरी दुइटा पोखरी बनाएका छन् उनले। आसपासका युवालाई भलिबल खेलाउन खेल मैदान बन्दै छ। १०८ वटा कलश र त्यति नै संख्यामा शिवलिंग, घण्टी र दियोहरू स्थापना गरिएका छन्।

शिवजी, दूर्गा, लक्ष्मी, गणेश, राधाकृष्ण, रामसीता, हनुमान, बुद्धजस्ता देवीदेवता र केही त जंगली जनावरका मूर्ति छन्। साथमा खप्तड बाबा पनि।

यहाँ राखिएका मूर्तिहरू सुरूमा राजस्थानबाट झिकाए। पछि सिमेन्टबाट यतै बनाउन लगाए। अहिले ठूलाठूला पत्थरमा ‘अर्गानिक’ मूर्ति कुँद्न लागिपरेका छन्।

उनले काठमाडौंबाट कालीगढ झिकाएर ८० मिटर गोलाइ भएको, ४२ फिट अग्लो बडेमाको ढुंगामा शिव, पार्वती, गणेश, साँढे र शिवलिंग गरी ५ वटा मूर्ति तीन वर्षमा कुँदिसक्ने गरी एक करोडमा ठेक्का दिइसके। १२ फिट कुँदिसक्दा १६ लाख खर्च भइसक्यो। कुँदाइ जारी छ।

शिवजीले बोकेर हिँडेका बेला सतीदेवीको नयन (आँखा) यस क्षेत्रमा खसेकाले नयनबाट नयनी हुँदै बोलीचाली भाषामा यस ठाउँको नाम नैनी रहन गएको किम्बदन्ती छ।

कहिले हरियाली, कहिले हिमपात हुने नैनी क्षेत्रको अवस्थिति अलौकिक छ। उन्यू, ऐंसेलू, गोदावरी, सयपत्री, जडिबुटी र उच्च पहाडी वनस्पतिले सुगन्धित नैनीको पूर्वतर्फ बाजुराको बडिमालिका चुचुरो देखिन्छ। पश्चिममा अछामकै प्रसिद्ध कालिका मन्दिर। उत्तरमा सहस्त्रलिंग, खप्तड। उत्तरकै कडा चट्टानी भित्तोमा चैत वैशाखमा पहाडै राताम्मे पार्ने लालीगुराँसको वन। कतैकतै उत्तीस र कटुस पनि। दक्षिणमा अछामकै सुन्दर भू-धरातल। 

नैनी वरिपरिको चट्टानी भूगोलमा ठाउँठाउँमा जमिन भित्रभित्रै अदृश्य पानी कलकल बगिरहेछ। त्यहाँ पुग्न घण्टौं हिँड्नु पर्दैन, सडक झण्डै झण्डै पुगिसक्यो। बिजुली बलिसक्यो। अरू सुविधा पनि बिस्तारै पुग्ने छन्। थुप्रै कटेज र केबलकार स्थापना गर्ने धोको छ।

अर्जुन भन्छन्, ‘स्रोत कहाँबाट आउँछ थाहा छैन, तर मनैदेखि काम गरिरहेको छु। बाबाको कृपाले सबै सपना पुरा हुनेछन्।’

बाब्ला, खप्तड क्षेत्रमा २०३२ सालमा पहिलोपटक निर्विरोध चुनिएर एक दशकभन्दा बढी प्रधानको जिम्मेवारी सम्हालेका अथक ‘अछामी बड्डा’ अर्जुन बहादुर राना नैनीको बारेमा दंग पर्दै भन्छन्, ‘नैनीको सुन्दरतामा नेपाल सुन्दरी शृंखला खतिवडा त लोभिइन्, सर्वसाधारण नरमाउने त कुरै भएन।’

(सेतोपाटी बाट साभार यो लेख अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय ले लेखेका हुन्।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उद्योगीहरुको महासंग्राम आजबाट, संक्रमितले पनि मतदान गर्न पाउने
रहेनन् फुटबल लिजेन्ड म्यारोडोना
२४ घण्टामा २८ कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या १,३८९ पुग्यो
नर्सिङ लाइसेन्स परीक्षा शनिबार हुँदै, १३३८ जना सहभागी हुँदै