मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा

आईसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा


‘कात्तिक १२ देखि पब्लिक भोटिङ सुरु हुँदै’

काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसिटी अवार्डअन्तर्गत २०२० संस्करणको छनोट प्रक्रिया जारी रहेको छ । यसै क्रममा कात्तिक ६ गते भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले विभिन्‍न चार विधाका उत्कृष्ट ५ को घोषणा गरेको हो । यस वर्ष विभिन्‍न ११ विधामा आईसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । अन्य विधाहरूमा विभिन्‍न चरणको छनोट प्रक्रिया जारी छ ।

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनोट प्रक्रियाबाट स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड, इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनोट गरिएको छ । यी चार विधामा यस वर्ष दुई सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । आईसिटी अवार्ड २०२० मा उत्साहजनक नोमिनेशन र छनोटमा प्रतिस्पर्धा पनि उच्च रहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले बताए ।

स्टार्टअप आईसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप कम्पनीहरूमा बिजहब आईटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जिवी हेल्थ प्रालि र नेपमेड्स प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आईसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सीपीएसडीएस, फ्युजक्लासरूम, जेनियस आईपी टिभी, जिवी र न्यानो नानी रहेका छन् ।

यसैगरी इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इनोभेसनहरुमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिभर रहेका छन् । राइजिङ् स्टुडेन्ट आईसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

विभिन्न चार विधाहरूमा अवार्डमा प्राप्त नोमिनशेनहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । त्यसपश्चात् १४ जना जुरी समितले उत्कृष्ट १२ को छनौट गरेको थियो । उत्कृष्ट १२ ले जुरी समक्ष भर्चुअल माध्यमबाट प्रिजेन्टेशन तथा स्पिड डेटिङमा भाग लिएका थिए । यस वर्ष भर्चुअल माध्यमबाट स्पिड डेटिङ सञ्चालन गरिएको थियो, जुन नेपालमै सम्भवतः नौलो प्रयोग हो । यस वर्ष सबै विधाहरूमा राम्रा प्रतिस्पर्धीहरू रहेको र छनोट प्रक्रिया समेत वैज्ञानिक र प्रविधिमैत्री रहेको जुरी संयोजक सुशील पोखरेलले बताए । उत्कृष्ट ५ मा नपरेका प्रतिस्पर्धीहरू पनि उत्तिकै सफल र दाबेदार रहेको उनले बताए ।

विभिन्न चार विधाहरूको उत्कृष्ट ५ मा पर्न सफलहरूले अब पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । कार्तिक १२ गते बुधवारदेखि पब्लिक भोटिङ सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष एसएमएस, ईमेलसँगै पेमेन्ट पार्टनर ईसेवा मार्फत पनि भोट गर्न सकिनेछ ।