मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारलाई कांग्रेशको माग

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारलाई कांग्रेशको माग


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ।

सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिँदै गएको भन्दै कांग्रेसले यस्तो माग गरेको हो।

कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका बाबजुद सरकार कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिँदै छ।’ 

कांग्रेसले नेपालको संक्रमण दर अन्य देशको तुलनामा अत्यन्त उच्च देखिए पनि सरकार देशमा कोभिड-१९ संक्रमण रोक्न सफल भएको दाबी गरेर विरोधाभास र गैरजिम्मेवारीपूर्ण रुपमा प्रस्तुत भएको आरोप कांग्रेसले लगाएको छ।

आमनागरिकले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नुपर्ने र बेरोजगारीका कारण चाडबाडका बेलामा पनि भोकभोकै बस्नुपर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिएको आरोप पनि कांग्रेसले लगाएको छ। 

कांग्रेसले सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैरसरकारी संघसंस्थालाई अर्बौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड-१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आमनागरिककाका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’ 

कोभिड-१९ रोकथाममा सरकारले देखाएको उदासीनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आमनागरिकका तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको ठहर कांग्रेसले गरेको छ।