मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायकमा १८ सय बेरोजगार, १०० दिनको रोजगारी दिँइदै

पञ्चदेवल विनायकमा १८ सय बेरोजगार, १०० दिनको रोजगारी दिँइदै


अछाम – पञ्चदेवल विनायक नगरपालिकामा १८ सय व्यक्ति बेरोजगार सूचीमा सूचीकृत भएका छन् । रोजगार सेवा केन्द्रको व्यवस्थापन सूचना प्रणालीमा यस बर्ष उक्त संख्यामा बेरोजगार सूचीकृत भएको जनाइएको छ ।

मंगलबार बसेको नगर कार्यपालिका बैठकमा बेरोजगार सूची अनुमोदन भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीका लागि गत साउन ८ गतेदेखि भदौ ७ गतेसम्म आवेदन अाव्हान गरिएको थियो ।

बेरोजगार व्यक्तिले आफ्नो वडा कार्यालयमार्फत बुझाएको आवेदन फाराम रोजगार सेवा केन्द्रमा रहेको सूचना प्रणालीमा प्रविष्ट गरिएको र सोही आधारमा हुने प्राथमिकीकरण अनुसार यस बर्ष पनि रोजगारी दिइने सेवा केन्द्र स्रोतले जनाएको छ ।

आ.व. २०७७/०७८ का लागि ५१ लाख ७० हजार बजेट प्राप्त भइसकेको र थप बजेट आउने प्रक्रियामा रहेकोले अब तिहारलगत्तै काम सुरु गरिने रोजगार संयोजक भरतराज अधिकारीले बताए । उनका अनुसार यसबर्ष रोजगारीमा संलग्न हुने हरेक व्यक्तिले पुरै १०० दिन काम पाउनेछन् ।

कार्यक्रमको बजेटबाट कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक पूर्वाधार निर्माण तथा मर्मतका आयोजनाहरु सञ्चालन गर्ने तयारी नगरपालिकाले थालेको छ । श्रमिकले बैंक खातामा ज्याला भुक्तानी पाउने र सानो बजेटमा पनि प्रभावकारी योजना हुने हुँदा पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।

यस नगरपालिकामा गत आर्थिक बर्षमा ५ वटा सामुदायिक आयोजना सञ्चालन भएको र त्यसमा २ सय २३ जनाले रोजगारी पाएका थिए । यसबर्ष नगरका सबै वडामा निर्माण र मर्मत योजनाको सञ्चालन मार्फत् ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।