अन्तरवार्ता / विचार

मदिराको भूराजनीति – पवन मधुश्री

(अनुभवदेखि इतिहाससम्म)

  • पवन मधुश्री

विषय प्रवेश अनुभूतिबाटै – सुदूरपश्चिमको पहाडी जिल्ला अछाम निकै रमणीय र  सुन्दर छ । यहाँको जलवायु मनोरम छ, जैविक विविधता छ । अछाम घुम्न आउने आन्तरिक पर्यटकहरू अछाम जतिको भूवनौट मिलेको नेपालका पहाडी जिल्लामा अरू सायदै होलान भनेर यसको प्रशंसा गर्छन् । प्राकृतिक तथा आर्थिक दृष्टिकोणले अछाम सम्पन्न छ । वैद्यनाथ, जिमराडी,  वरदादेवी, कुइकेल्ने देवी, षोडशादेवी, पञ्चदेवल आदि यहाँका प्रमुख धार्मिक तथा शक्तिपीठ हुन । रामारोशन, खप्तड, बुढीगंगा र कर्णाली नदी बेसिन ठाउँहरू यहाँका प्राकृतिक रमणीय क्षेत्र हुन् । यति सुन्दर अछाम जिल्लामा लामो समयदेखि मदिरा प्रमुख सामाजिक समस्याको रूपमा रहँदै आइरहेको छ । अहिले सिंगो अछाम जिल्ला मदिरा नियन्त्रण तथा व्यवस्थापनमा जुटेको देखिन्छ । पछिल्लो पटक पञ्चदेवल विनायक नगरपालिका पनि मदिरा नियन्त्रण तथा व्यवस्थापनमा खटिरहेको छ । यो लेख पञ्चदेवल विनायक नगरपालिकाले गरिरहेको मदिरा नियन्त्रण र व्यवस्थापनका सिलसिलामा उठेका जनगुनासो तथा असन्तुष्टिहरूलाई सम्बोधन गर्न केन्द्रित हुनेछ ।

टाढाको कुरा नगरौं, आफ्नै गाउँबेसी र समुदायबाट अझ आफ्नै जीवनमा स्वयं आफैंले भोगेको घटनाबाट सुरू गर्छु । १५ वर्षको उमेर थियो, एसएसली परीक्षाको रिजल्टको प्रतीक्षामा थिएँ । जेठ महिनाको दोस्रो साता हिउँ पग्लेर कर्णाली नदीमा दिन प्रतिदिन पानीको बहाव बढिरहेको थियो । स्मरण रहोस्, पानीको बहाव बढ्ने र घट्ने समयमा नदीको पानी असन्तुलित भई तीब्र वेगले माथि उठेर तल झर्ने भइरहन्छ जसलाई हामी स्थानीय भाषामा छडो वा भेल भन्छौं । जेठको उखरमाउलो गर्मी, कर्णाली नदीको उर्लिँदो भेलमा हामी पौडिएर वा डुंगा खियाएर रमाउथ्यौं । नदीको किनारमा अड्काइरहेको डुङ्गा धकेलेर म खियाउन लागिरहेको समयमा मदिराले लठ्ठ परेका ४ जना युवाहरू डुङगामाथि चढे । उहाँहरू मदिरा खान नदी पारि दैलेख जिल्लाको सीमानाको एउटा गाउँतिर जान लागेका रहेछन् । मदिराले लठ्ठिएका युवाहरू डुंगामा बस्दा सन्तुलनमा थिएनन्, हल्लिरहेका थिए । म डुंगा खियाउँदै उहाँहरुलाई नहल्लिन अनुरोध गरिरहेको थिएँ । कर्णालीको बीचमा उर्लिँदो भेलमा डुंगा पुगेपछि ‘म खियाउँछु’ भन्दै एक जना युवा उठेर मतिर आए । त्यसै त कर्णालीको भेलमा पिङझै मच्चिए झै भइरहेको डुंगा ती युवाले झन असन्तुलित बनाइदिएपछि एक्कासि ग्याम्म घोप्टिन पुग्यो । पानीको बहाब निकै बढेको कर्णालीको बीच भेलमा ४ जना युवा डुंगाबाट घोप्टिएपछि जीवनको सबैभन्दा ठूलो संकट र विपत्तिमा फँसे, म । सायद भगवानले मलाई अलौकिक शक्ति दिनुभयो होला डुब्न लागिरहेका तीन जनाको हात समाएर डुंगासम्म पुरयाउन म सफल भएँ । तर अर्को एक जना निकै पर डुब्न लागिरहेको देखेँ । पल पल हातको औंला र कालो कपाल मात्रै देखिरहेको थियो । डुगांको टुप्पोमा बाँधिएको डोरीको अर्को छेउ समातेर पौडिँदै दुबिरहेको मान्छेको कपाल समाएर उक्त डोरीले हात बाँध्न सफल त भएँ तर गोहीले समाएजस्तै गरी मलाई अठ्याइदियो । अब आफैं जीवन मरणको दोसाँधमा थिएँ, म । जहाँ समस्या तहाँ उपाय भनेझैं एक मुक्का हिर्काएपछि उसले मलाई छोड्यो, म पौडिएर घोप्टो परेको डुंगासम्म पुगेँ । बिस्तारै डोरीले तानेर उसको हातले डुंगा समात्ने गरी सन्तुलन मिलाइदिएँ । अब चारै जनाको हातले डुंगा समातेको, टाउको बाहेक पुरै शरिर डुबेको अवस्थामा थियो । नदीको दुवै किनारमा मान्छे आत्तिएर दौडिरहेका थिए तर उद्धारका लागि नदीमा हाम फाल्न एक जनाले पनि हिक्मत गर्न सकेनन् । करिब एक किलोमिटर तल पानीको वेग कम भएको सजिलो ठाउँमा पुगेपछि अर्को डुंगा ल्याएर ४।५ जनाबाट उहाँहरूको युवाबाट उद्धार भयो । भाग्यवश कसैको पनि ज्यान गएन । पानीमा खसालेको ढुंगा जतिकै अवस्थामा चार चारजना मान्छे कर्णालीको बीचको उर्लिँदो भेलमा उछिटिँदा समेत बचाउन सकिएको त्यो घटना सम्झिँदा म अचम्मित हुने गर्छु।

२०५५ तिर होला मेरो गाउँले तथा बाजे नातापर्ने ज्योगी खनाल मदिराको नशामा होहल्ला गर्दै कर्णाली पारि दैलेखतिरको किनारमा देखा परे । उहाँले अछामतिरको किनारमा बसिरहेका हामीलाई  नै डुंगा ल्याएर नदी तारिदिन भनिरहनु भएको थियो ।  हावाहुरी चलिरहेको समयमा कर्णालीमा डुंगा चलाउन गारो हुने हुँदा केही समय विलम्ब हुने भयो । तर उहाँको डुंगा पर्खिने क्षमतालाई मदिराले हरण गरिसकेको रहेछ । ‘यस्तो पाजी कर्णाली त म त्यतिकै तर्छु’ भन्दै नदीमा हाम फाल्नु भयो । नदीमा हाम फाल्ने बित्तिकै कर्णालीमा ढुंगा बिलाए जसरी उहाँ बिलाउनु भयो । एक हप्तापछि ४ किलोमिटर तल भेटिएको उहाँको लाश म स्वयंलगायतले बोकेर दाहसंस्कार गरियो । २०६४ सालतिर हो लाग्छ, मेरो आफ्नै सहोदर  फुपूको छोरा बजिरसिंह माझी तास खेलिरहँदा तासको खालमै एक्कासि ढल्नुभयो । नेपालगञ्ज उपचार गराउन लिँदालिँदै उहाँको मृत्यु भयो । कारण अत्याधिक मदिरा सेवनले कलेजोको सिरोसिस भएको देखियो । म सँगै शैशवकाल बिताएका प्राथमिक विद्यालयका सहपाठी टीका भूल अत्याधिक मदिरा सेवन गरी सुतेको भोलि बिहान प्राण पखेरू उडेको अवस्थामा भेटिनु भयो । मेरै तीन पुस्ताभित्रका काका जवालसिंह माझी ४० वर्षको उमेरमै संसारबाट बिदा हुनुभयो । तत्कालीन कारण एचआइभी देखिए पनि अन्तरनिहित कारणमा नियमित मदिरा सेवन गरी एचआइभि संक्रमणजन्य कर्ममा लाग्नु देखियो । उहाँ आफैँ मात्र यो धर्ति छोडेर जानु भएन ६ महिनाको अन्तरालमा सानो भाइलाई टुहुरो बनाएर काकीलाई समेत लिएर जानुभयो । सोही गाउँका अर्का होनाहार काका विजय भुल पनि सोही कारण युवावस्थामै स्वर्गबासी हुनुभयो । बिहान मेरै अगाडि खुट्टा लर्बराउँदै र फत्फताउँदै हिँडिरहनुभएका  फुपाजु नाता पर्ने जोरासिंह माझीलाई आफ्नतले लगेर घरमा सुताउनु भयो । दिउँसो १२ बजेको हुँदो हो, त्यहाँ त रुवाबासी चलिरहेको सुनियो । के भएछ भनेर म पनि उहाँ सुत्नुभएको घरमा पुगेर हेर्दा उहाँ जीवन मरणको संघर्षमा देखेँ । एकै छिनपछि उहाँ यो संसारबाट बिदाबारी हुनुभयो ।

२०५५ तिर जस्तो लाग्छ, मेरो सहोदर माहिलो दाजु जनक माझी, छिमेकी दाइ काँसीराम जैशी र अर्का छिमेकी भाइ भूमिनन्द जैशी मदिरा सेवनका लागि कर्णाली नदी पारिको गाउँ डुङ्गा चढेर जानुभयो । मध्यराति फर्किनलाग्दा डुङ्गा दुर्घटना भएछ । करिब १ किलोमिटर तल बहिरहेको नदीको बीचमा रहेको ढुंगामा डुङगासहित दाइ जनक माझी र काँसीराम जैशीलाई संयोगवश जीवितै उद्धार गर्न सकियो । विडम्बना ! भाइ भूमिनन्द जैशी अहिलेसम्म वेपत्ता छन् । केही वर्षपछि बेलुकी मदिरा सेवन गरेको अवस्थामा देखिएका तिनै  काँसीराम दाइ बिहान वेपत्ता हुनुभएको खबर सुनियो । उहाँले लगाउनु भएको चल्पल कर्णाली नदीको किनारमा भेटियो तर दशक बितिसक्दा समेत उहाँको अत्तोपत्तो छैन । दाइ जनक माझी मदिराकै कारण जिउँदो लाशको जीवन बिताइरहनु भएको छ । उहाँको स्वास्थ्य, पारिवारिक अवस्था रामराम भन्नबाहेक केही गर्न नसकिने अवस्थामा देखिन्छ ।

२०४९ मा विनायक गाविसका निर्वाचित अध्यक्ष दिनेश देवकोटाले युवावस्थामै ज्यान गुमाउनु भयो, जसको अन्तरनिहित कारण मदिरा नै देखियो । प. वि. न. पा. वडा नं. ५ निवासी मेरो मित्रघरका काका पदमबहादुर रावल मदिराकै कारण राति १० बजेतिर आलीदेखि घर आउने क्रममा पतानी भन्ने ठाउँको भीरमा लड्नु भयो । बिहानतिर गाउँलेहरूको उद्धारले उहाँको ज्यान त बज्यो तर सोही दिनदेखि बैशाखीको भरमा उहाँ अपाङ्ग जीवन बिताइरेहको दशकौं बितिसक्यो । मेरो काका नाता पर्ने कमल बजार नगरपालिकाका साविक चाल्सा गाविसका अध्यक्ष हर्कबहादुर थापा (मेरो आमाको सहोदर कान्छी बहिनीको श्रीमान) दिसा पिसाबका लागि समेत अर्काको सहरा लिएर हाल कोमाको जिन्दगी बिताइरहनु भएको छ । मदिरा सेवन गरी घरको छतबाट दुवै खुट्टा भँचिएका काकाकै यही लतको कारण २५ वर्षअघि उहाँकी धर्मपत्नी अर्थात मेरो सानी आमाले अल्पायुमै ज्यान गुमाइसक्नु भएको छ । २०७६ माघ २० गते राति पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदमबहादुर धामीको रहस्यमय हत्या भयो । हाल कर्तव्य ज्यान मुद्दाको रूपमा यो विषय अदालतमा विचराधीन छ । यो घटनाको सम्बन्ध पनि अन्ततः मदिरासँग देखियो । गत साउन १६ गते मंगलसैन नगरपालिका वडा नं. १४ कालागाउँस्थित खानडाँडामा स्थानीय युवाहरूबीच कुटाकुट भयो । कमलबजार नगरपालिका वडा नं. ६ हात्तीबाँझका युवा भूपेन्द्र शाहीलगायत ९ जना संलग्न यस घटनामा कालागाउँका २४ वर्षिय सन्तोष भण्डारीको ज्यान गयो । यस घटनाको पनि अन्तरनिहित कारणमा मदिरा रहेको बताइन्छ । एक महिना यता मात्रै अछाम जिल्लामा मदिराकै कारण दर्जनौं घटना घटिसकेका छन् ।

  • चिकित्साशास्त्रमा मदिरा

आधुनिक चिकित्काशास्त्रका अनुसार मानवलाई लाग्ने रोगहरूमध्ये करिब २०० प्रकारका रोगहरू मदिरा सेवनको कारणले लाग्ने गर्छ । विज्ञान भन्छ, “रक्सी मानिसको दिमागलाई डिप्रेस बनाउने तथा लत लगाउने एक प्रकारको लागू औषध हो ।” रक्सी सेवनले व्यक्तिको केन्द्रिय स्नायु प्रणालीको गति कम भई मस्तिष्कका विभिन्न कोषहरु बीचको पारस्परिक सम्बन्ध निर्माणमा यो तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशीलतामा क्षयीकरण भइ मानिस अव्यवस्थित, अव्यावहारिक र अस्वाभाविक बन्ने गर्दछ । रक्सी कार्बन, हाइडोजन र अक्सिजन मिश्रित यौगिक हो । हामीले खाएको खाना आमाशयले पचाउन समय लगाउँछ तर रक्सी निकै छिटो सोस्ने गर्दछ । रक्सी सेवन गर्ने बित्तिकै करिब २० प्रतिशत अल्कोहल तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ । तत्पश्चात शरिरको सबै कोषकोषिकाहरु प्रवाह हुन्छ । जसलाई हामी ‘रक्सी लाग्नु’ भनेर बुझ्छौं ।

हालै सिविनले गरेको सर्वेक्षणअनुसार नेपालमा हुने कूल आपराधिक तथा हिंसाका घटनाहरूमा मदिराको कारण हुने हिंसाको हिस्सा ७४.८२ प्रतिशत रहेको छ ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार मदिराको कारण संसारमा प्रत्येक १० सेकेन्डमा १ जना र वार्षिक ३३ लाखको मृत्यु हुने गरेको छ । यो विश्वको वार्षिक  मृत्युको  ५ दशमलब ९  प्रतिशत हो । विश्वमा लाग्ने रोगमध्ये ५ दशमलब १ प्रतिशत रोग मदिराको कारण लाग्ने गर्छ । २० देखि ३९ वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको मृत्यु अत्यधिक मदिरा  सेवनको कारण हुने  तथ्यांक विश्व स्वास्थ्य संगठनले निकालेको छ । बेलायतको इम्पोरियल कलेज र अमेरिकाको इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुसनद्वारा सन् २०१६ मा प्रकाशित प्रतिवेदनले मदिरापान गर्नु कुनै पनि अर्थमा फाइदाजनक नभएको निष्कर्ष निकालेको छ । सन् १९९० देखि २००६ सम्म विश्वका १९५ देशमा मदिरापान र यसले पारेको असरको आधारमा उक्त अध्ययनले यसअघिको ‘निश्चित मात्रामा मदिरापान गर्दा असर नहुने’ भन्ने मान्यता तोडेको छ । सन् २०१६ मा मात्र रक्सी सेवनका कारण संसारमा २८ लाख मानिस मरेको देखिएको छ । उक्त संख्या नियाल्दा विश्वमा मृत्युको कारकका रूपमा रक्सीको स्थान सातौँ देखियो। 

मदिराले नियमित मदिरा सेवन गर्नेलाई मुख तथा घाटीको क्यान्सर हुने जोखिम तीन गुणा बढी हुन्छ । मदिरा पिउने महिलालाई स्तन क्यान्सर हुने जोखिम करिब बीस प्रतिशतले बढ्छ । नियमित मदिरा सेवनले मस्तिष्कमा असर पुर्याउँछ । यसले मस्तिष्कको कोष नाश, स्मरण शक्तिमा ह्रास गरी मानिसलाई नैराश्य र झगडालु स्वाभावको बनाउँछ । मदिराले आँखाको दृष्टिमा समस्या ल्याउने, बोल्दा जिब्रो लट्पटिने, हातखुट्टा झमझम्याउने र शरिरका अंगहरूबीच समन्वयको सन्तुलन बिग्रिने हुन्छ । त्यस्तै रक्सीको सबैभन्दा छिटो असर कलेजोमा पुग्छ । अधिक मदिरा सेवनले कलेजो सुन्निएर सिरोसिस हुने, मुटुको मांसपेशी कमजोर र हृदयघात समेत हुने गर्छ । मदिराले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास, नपुंशकता, अल्सर, प्यांक्रियाजमा समस्या ल्याउने हुन्छ । गर्भवती महिलाले रक्सी सेवन गर्दा लुला लङ्‌गडा र सुस्त मनस्थितिका बच्चाहरू जन्मन सक्छन्‌ ।

नेपालमा मदिरा सेवनबाट वर्षेनी विभिन्न प्रकारका आपराधिक घटना घटिरहेका सुनिन्छन् । सवारी दुर्घटनाको प्रमुख कारण मदिरा देखिएको छ ।  प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश नम्बर १ मा २०७५ असार १ गतेदेखि ०७६ जेठ ३१ गतेसम्म जम्मा १ हजार १ सय ८२ ओटा दुर्घटना भए । ती दुर्घटनामा ३ सय ३४ जनाको तत्काल मुत्यु भयो भने ८ सय ६३ जना गम्भीर घाइते र १ हजार २ सय ७१ जना सामान्य घाइते भए । यी दुर्घटनाहरूमध्ये अधिकांशको प्रमुख कारण सवारी चालकहरुले मदिरा सेवन गर्नु रहेको छ । घरेलु मदिरा सेवनको कारण २०७६ चैत्रदेखि २०७७ बैशाख  २३ गते २ महिनाको अवधिसम्म धनुषा र महोत्तरीमा ३६ जनाले ज्यान गुमाएका छन् । यो घटना सेलाउन नपाउँदै ०७७ वैशाख १० गतेदेखि वैशाख २३ गतेसम्ममा विषाक्त मदिरा सेवनकै कारण महोत्तरीको भङ्गहा नगरपालिका र बर्दिबास नगरपालिकामा १३ जनाको मृत्यु भयो ।

  • मदिराको पौराणिक कथा

शुक्राचार्य असुरका (राक्षस) गुरू हुन् । शुक्रचार्यलाई मात्र मरेका मान्छेलाई बचाउन सक्ने संजीवनी मन्त्र थाहा हुन्छ । असुर र देवताहरुको युद्धमा शुक्राचार्यको यही मन्त्रको कारण देवसेनाहरु हारिरहेका हुन्छन् । देवसेनाहरूलाई जिताउन देवताका गुरु बृहस्पतिले आफ्ना पुत्र काचालाई शुक्राचार्यसँग  संजीवनी मन्त्रको सम्बन्धमा बुझ्न पठाउँछन् । बृहस्पतिले आफ्ना पुत्र काचालाई शुक्राचार्यकी सुन्दरी छोरी देवयानीलाई मायाजालमा पार्न निर्देशन दिएका हुन्छन् । बृहस्पतिको निर्देशनअनुसार काचाले देवयानीसँग नजिक भएर माया जाल रच्दछ तर यो कुरा थाह पाएर असुरहरुले काचाको हत्या गरिदिन्छन् । देवयानीले काचाको हत्याको पीडा सहन नसकेर उसलाई पुनर्जिवित गर्न आफ्नो बुवा शुक्राचार्यसँग अनुनय गर्छिन् । छोरीको अनुनयको कारण शुक्राचार्यले आफ्नो संजीवनी मन्त्र प्रयोग गरेर काचालाई पुनर्जिवित गराउँछन् तर असुरहरूले पुनः काचाको हत्या गरिदिन्छन् । जति पटक असुरहरूले काचाको हत्या गर्छन्, शुक्राचार्यले उति नै पटक काचालाई बचाउँछन् । यसरी मार्ने र बचाउने श्रृखौंला चलिरहन्छ । अन्त्यमा, असुर सेनाले काचालाई मारेर मृत शरिर पिसेर मदिरामा हाली शुक्राचार्यलाई झुक्कयाएर सेवन गराउँदछन् । मदिरा सेवनपछि शुक्राचार्यको पेटमा अत्याधिक पीडा हुन्छ । असुरहरूको सबै कुराको चाल पाएर शुक्रचार्यले मन्त्रको सहायताबाट आफ्नै पेट चिरेर काचालाई पेट  बाहिर निकाल्दछन् तर आफू मर्छन् । यसरी निस्केका काचाले त्यही मन्त्र प्रयोग गरेर पेट चिरेर मरेका शुक्राचार्यलाई पनि बचाँउदछन् । यसरी मदिराको नशाले समस्या आउने र संवेदनामा खलल पुग्ने भएकोले शुक्रचार्यले महाभारतमा भनेको श्लोक यसप्रकार छः यो ब्राह्यणो अद्य प्रभृतिह कश्चिव्मोहात्सुरां पास्यति मन्दबुद्धिः । अपेतधर्मो ब्रह्यह्य चैव स स्यादस्मिँल्लोके गर्हित स्यात्परे च ।। अर्थात् कुनै पनि ब्राहमणले मुर्खतापूर्वक मदिरा सेवन गरेमा धर्म भ्रष्ट भएको मानिनेछ । यसलाई ब्रहमहत्याको पापका साथै यस लोक र अर्को लोकमा पनि मुक्ति मिल्ने छैन ।

  • वैदिक सभ्यतामा मदिरा – मदिरालाई पहिलो पटक लिपीबद्ध गर्ने ग्रन्थ ऋग्वेद हो । ईशापूर्व १७०० वर्ष पुरानो ऋग्वेदमा सोम र प्रहामनाका नाममा मदिराजन्य तरल पदार्थलाई विषको रूपमा व्याख्या गरिएको छ । आर्युवेदले असभस र अरिस्थासका नाममा विभिन्न वनस्पतिको रस मिसाएर बनाइएको नशा लाग्ने ओखतिको रूपमा मदिराको व्याख्या गरेको पाइन्छ । तर यसको प्रयोग विशेषज्ञको सुझावमा न्यून मात्रामा गर्नुपर्ने उल्लेख गरिएको छ । शुक्राचार्यले ब्राहमणले मदिरा सेवन गर्दा धर्म भ्रष्ट भई यो र अर्को लोकमा समेत मुक्ति नमिल्ने भने पनि क्षत्रीयहरुले समेत मदिरा सेवन गरेको पाइँदैन ।  स्मरण रहोस् वैदिक सभ्यताका आदर्श पुरूष राम पनि क्षत्रीय नै हुन्, उनले मदिरा सेवन गरेको कहीँ कतै उल्लेख छैन ।  भागवत गीतामा ब्राहमणलाई जन्मभन्दा पनि कर्म, दान, त्याग र अध्ययनले महत्वपूर्ण स्थान दिइएको छ । आयुर्वेदमा वनस्पति र अन्नबाट मात्रै मदिराजन्य झोल बन्ने उल्लेख छ । वनस्पतिबाट बन्ने मदिरा भगवान र क्षेत्रीयहरूले न्युन मात्रामा औषधिको रूपमा प्रयोग गर्ने र अन्नबाट भारी मात्रामा बनाइने  मदिरालाई असुरहरुको (राक्षस) आहारका रुपमा लिने गरिन्छ । अन्यलाई अन्नबाट बनेको मदिरा सेवन कडा बर्जित गरिएको छ । अतः वैदिक  सभ्यतामा  वनस्पतिबाट बनेको मदिरालाई ओखति तथा अमृतको रूपमा र अन्नबाट बनेको मदिरालाई असुरहरूको आहारको रूपमा लिने गरेको पाइन्छ ।
  • हाम्रो समाजमा मदिराको सामाजिक तथा सांस्कृतिक असर – मदिराको सामाजिक तथा सांस्कृतिक असर हेर्ने हो भने अझ भयावह स्थिति देखिन्छ । समुदायको कुनै एकजना व्यक्तिले उत्पादन गर्दा उसको हातमा दुई चारवटा नोट त जम्मा होला तर यसबाट दर्जनौं महिला, बालबालिका र युवाहरूको जीवन हिंसा, तनाव र सामाजिक दुर्घटनासँग नजिकिएर गुज्रिरहेको छ । स्वयं मदिरा उत्पादकको घरबाट समेत शान्ति बिथोलिएको यथार्थ हो नि ! मदिरा उत्पादन, बिक्री वितरण गरेर समाजमा शान्ति स्थापना, समृद्धि हासिल, सभ्य र शिष्ट समाजको निर्माण, सामाजिक सांस्कृतिक मूल्य र मान्यता संरक्षणको कल्पना गर्न सकिन्छ र ? मदिरा नस्वास्थ्यका लागि खतरनाक विष सावित भएको छ । यसको सबैभन्दा बढी असर महिला र लबालिकाकाथि परेको छ । पुरुषहरू बिहानैदेखि मदिराको नशामा डुब्ने तर महिलाहरू बिहान भालेको पहिलो डाँकोसँगै काममा जोतिएर बेलुकी अबेरसम्म श्रीमानको ज्युँनारका लागि भोकै कुरेर बस्नुपर्ने अवस्था समाजको विशेषता बनेको छ । मदिरा दुर्व्यसनीले कुनै सिर्जनशील कार्य गर्न सक्दैन। समाजका लागि उसँग न कुनै योजना हुन्छ नत कुनै सोंच । मलाई बाल्यकालको स्मरण छ,  हाम्रो समाजमा विवाह, ब्रतबन्ध, पास्नी छैटी र मृत्यु संस्कारको आफ्नौं मौलिक परम्परा विशेषता थियो ।  यी संस्कार र पर्वहरूमा दमाह र नरसिंह बज्थे, झ्याउरे तालमा मादल घन्किन्थे, भरुवा बन्दूक पड्काइन्थ्यो,  हुड्क्यौली र मारुनी नाचिन्थ्यो, धमारी र सरू खेलिन्थ्यो ।  दमाहको तालले सामाजिक घटनाको प्रकृति बुझ्याउन सक्थ्यो । अर्को कुनै बाजाले समाजको फरक गाथालाई सार्वजनिकीकरण गर्थ्यो । करिब ३० वर्षको अवधिमा हाम्रा यी सामाजिक सांस्कृति परम्परा र सम्पदा करिब समाप्त हुन लागेका छन् । मैले आफ्नै आँखाले मदिराको जर्किन बोकेर आफन्तको मलामी गएको देखेको छु । यस्ता कैयौं दृश्य मैले क्यामेरामा कैद गरिराखेको समेत छु ।  किरिया पुत्रीको कुरुवा बस्न जाँड धोकेर जानेहरू जताततै देखेको छु । आफ्नै बुवाको किरिया बसेको छोराले १३ दिनमा कुखुरा काटेर खाएको देखेको छु । मदिराले लठ्ठ भएर बुवाको श्राद्ध गर्ने छोरा आफ्नै आँखाले देखेको छु । बेलुकी घरमा सुतेको छोराले बिहान ४ बजे बुहारी भित्र्याएको मात्रै होइन एउटै राति छोराले बुहारी भित्र्याएको र छोरी पोइला गएको घटना साक्षात्कार गरेको छु । के हाम्रो विवाह परम्पराको कुनै मूल्य छैन ? के समाज, घर परिवार र व्यक्तिको कुनै इज्जत, आमद र प्रतिष्ठा छैन ?  के हाम्रो मृत्यु संस्कारमा कुनै संवेदना छैन ? हाम्रा परम्परा, धर्म, संस्कृति, मूल्य र मान्यताहरू करिब समाप्त हुन लागिसके । यसको मूख्य कारण मदिरासिवाय अरु केही होइन  । यिनै समस्या र सामाजिक दुर्घटनाको कारण मदिरा नियन्त्रण तथा व्यवस्थापनका लागि पञ्चदेवल विनायक नगरपालिकाले विशेष कदम चाल्न बाध्य भएको हो । म यस नगरपालिकामा आएको  करिब १ वर्ष मात्रै भयो । १ वर्षदेखि नै मैले कार्यालयको प्रमुख प्रशासकको जिम्मेवारी सम्हालिरहेको छु । म यस नगरपालिकाको नागरिकसमेत भएको कारण यहाँको वस्तुस्थितिसँग मेरो नजिकको सामिप्यता छ । त्यसैले आफू जन्मिएको ठाउँमा मदिराको कारण धर्मराएका कला, संस्कृति, मूल्य मान्यताको संरक्षण गर्नु र आफ्ना दाजुभाइको स्वास्थ्य संवेदनशीलताप्रति मलाई चिन्ता हुनु स्वाभाविक हुन्छ । जागिर खान त सामाजिक अभियान नचलाएर १०-५ को अफिस ड्युटी मात्रै गरेर पनि सकिन्छ । तर म दिन रात नभनि नगरका सबै वडाहरूमा आफै पुग्ने गरिरहेको छु । मेरो यो उर्जा जननी जन्मभूमिप्रतिको कर्तव्यबोध र जिम्मेवारिताको द्योतक हो, मेरो निष्कर्ष यही हो ।
  • समस्या र चुनौति – मदिरा मात्रै होइन नगरक्षेत्रभित्र सञ्चालित सम्पूर्ण व्यवसायहरूको समेत नगरपालिकाले अनुगमन गरिरहेको छ ।  यो पंक्तिकार बजार अनुगमन, मदिरा नियन्त्रण तथा व्यवस्थापनको अभियन्ता नै हो भन्दा अत्युक्ति हुँदैन । किनकि पंक्तिकार यस नगरपालिकामा आउनु पूर्व नगरक्षेत्रका बजारहरूको नगरपालिकाबाट अनुगमन भएको पाइँदैन । हामीले अभियान थाल्नुअघि नगरपालिकालाई कानुनबमोजिम प्राप्त हुने व्यवसायिक कर लगभग शून्य थियो । ९०% पसलहरूमा साइनबोर्ड राख्ने चलन थिएन । म्याद गुज्रिएका उपभोग्य वस्तुहरू धमाधम बिक्रीविरण र उपभोग भइरहेको पाइएको थियो । लगभग ९९.९% व्यवसायीहरूले मूल्यसूची नराख्ने गरेको भेटियो । अधिकांश व्यवसायीहरूमा व्यवसाय सम्बन्धित निकायमा दर्ता गर्नुपर्छ भन्ने आधारभूत कुराको ज्ञान नभएको देखियो । बिहानको चिया खाने समयमा मदिरा खाएर दिन रात लठ्ठिने मान्छेहरू सबै ग्रामीण तथा बजारी क्षेत्रमा भेटिन्थे । महिला र बालबालिका हरूमाथि थोपरिने हिंसाको प्रमुख कारण मदिरा थियो र अझै पनि छँदैछ । हामीले यो अभियान सञ्चालन गर्दा निकै चुनौतिको सामना गरिरहनु परेको छ । नगरपालिकाको मुकाम रहेको सबैभन्दा ठूलो विनायक बजार अनुगमन गरेको भोलिपल्ट व्यवसायीहरूको ठूलो संख्याले नगरपालिकामा भेला भएर हामीविरूद्ध आक्रोश पोख्यो । बजार अनुगमनमा हामीले साइनबोर्ड र मूल्यसूची राख्ने, व्यवसाय दर्ता गर्ने कार्यलाई अनिवार्य बनायौं । म्याद गुज्रेका सामानहरू बरामद गरेका थियौं । विषादी र तरकारी सँगसँगै एकै ठाउँमा राखेर बिक्री गर्न प्रतिबन्ध लगायौं । कानुन विपरीत गर्ने व्यवसायीहरूमाथि कारवाही पनि गरयौं । अचम्म ! यिनै विषयको विरोधमा व्यवसायीहरू हामीविरूद्ध उत्रिए । यो त म्याद गुज्रिए पनि सामान बेच्न पाउनुपर्छ, कानुन मान्दैनौ भनेको भएन र ? मदिराको सन्दर्भमा हामीले व्यहोरेका चुनौति कम छैनन् । यस्तो चुनौति थप्नेमा सबैभन्दा अग्रपंक्तिमा आफूलाई पढेलेखेको, वुद्धिजिवी, राजनीतिज्ञ मान्ने युवा देखिए । मदिराको संरक्षणमा उठेका आवाजहरूमा मदिराबाटै गरिबी कायापलट देख्ने सपना छ, रोजगार र आयआर्जनको अति सजिलो र उत्तम विकल्पमा मदिराको संकल्प छ, घरेलु मदिरालाई घरेलु उद्योगमा स्तरोन्नति गराउनुपर्ने रोषसहितको सुझाव छ । रोष यस अर्थमा छ कि विदेशी र नेपालमै उत्पादन हुने ब्राण्डेड मदिराले गाउँको चुल्होमा पाक्ने मदिरा ओझेलमा नपरोस् ! यस्ता युवाहरूको मति देखेर मलाई अचम्म त लागेन तर साढे दुई सय वर्ष पहिले हजारौं वर्षसम्म पुग्ने गरी बनेको ब्रिटिश साम्राज्यवादी मिशन सम्झेर म तीन छक्क चै अवश्य परेँ । हाम्रा स्कुल, कलेज र विश्वविद्यालयले कस्तो शिक्षा दिँदा रहेछन् ?
  • मदिराको भूराजनीति– वैदिक अर्थव्यवस्थाले पुँजीवाद र साम्यवादी दुवै अर्थव्यवस्थालाई अस्वीकार गर्छ । यी दुवै अर्थव्यवस्थामा आध्यात्मिकता हुँदैन । आध्यामिकविना मानवता र नैतिकता हुन सक्दैन । वैदिक दर्शनलाई तोडमोड गरी पश्चिमाहरुले पुँजीवाद र साम्यवादी अर्थव्यवस्थाको खेतीबाट विश्व कब्जा गरे । वैदिक सभ्यताको आँगनी भारतीय प्रायद्वीपमा नैतिक मूल्य र मान्यताविनाको राजनीति स्थापना गर्न पश्चिमाहरूले बुनेको रणनैतिक जालमा अनेकौं गाँठाहरु कसिएका छन् । परिणामस्वरूप आज हाम्रा विश्वविद्यालयमा राजनीति पढ्ने विद्यार्थीहरू जर्मनका कार्ल मार्क्स बाजेले लेखेको दर्शन पढेर मार्क्सवाद भन्दै उफ्रिन्छन् । अर्को थरी लिंकन र कार्लिलको परिभाषा भनेर झर्रा पुँजीवादी प्रजातन्त्रको नाममा बुर्कुशी मार्छ । अचम्म छ ! संसारलाई मानवता र विज्ञान सिकाउने वैदिक दर्शनमा सम्झिनलायक     कुनै विद्वान छैनन् र ? शिक्षामा धर्म, संस्कृति र संस्कार हुँदैन र ? दृतीय विश्वयुद्धले बेलायतको अर्थव्यवस्था धरासायी भएपछि संसारका ७० भन्दा बढी देशहरूमा ब्रिटिश साम्राज्य भौतिकरूपमा उपस्थित हुन नसक्ने अवस्थामा पुग्यो । भौतिक उपस्थितिसहितको उपनिवेश सम्भव नभएपछि राजनीतिक, सामाजिक तथा सांस्कृतिक उपनिवेशको तानाबानासहित ब्रिटिश साम्राज्यवाद नयाँ रूपमा देखा पर्यो ।  यसै सिलसिलामा १५ अगस्त, १९४७ मा भारतबाट इष्ट इण्डिया कम्पनि भौतिक उपस्थिति नहुने गरी मात्रै भारत स्वतन्त्र भयो । तर कानुनीरूपमा भारत आज पनि अंग्रेज अधिनस्थ छ ।  सन् १९३५ मा ब्रिटिश पार्लियामेन्टद्वारा विधिवत पारित भएको Government of Indian act लाई नै भारतको संविधान बनाइयो । १८ जुलाई  १९४७ मा पारित Indian Independence Act को प्रावधान अनुसार  नै १५ अगष्ट, १९४७ मा भारत र पाकिस्तानलाई दुई Dominion State को रूपमा स्वतन्त्रता दिइयो । यसको खाका Lord Mountbatten ले कोरेका हुनाले Indian Independence Act लाई Mountbatten Plan पनि भनिन्छ । सधैँभरि भौतिक उपस्थितिसहितको उपनिवेश कायम गर्न सकिदैँन भन्ने कुरा अंग्रेजहरुले राम्ररी आँकलन गरेका थिए । हजारौं वर्षको लगानीले निर्मित सामाजिक र सांस्कृतिक धरोहरहरूको परिवर्तन राजनीतिक परिवर्तन जसरी रातारात सम्भव हुँदैन । त्यसरी नै कुनै पनि समाजलाई हजारौं वर्षसम्म तहसनहस बनाउनु छ भने त्यहाँको सामाजिक सांस्कृतिक मूल्य मान्यता धरासायी बनाउन आवश्यक हुन्छ । यस प्रकारको रणनीति बोकेको ब्रिटिश सामाज्यवादको निशाना उच्च नैतिक चरित्र र मानवतावादी वैदिक शिक्षा प्रणालीमा पर्नु स्वाभाविक थियो । किनकि वैदिक सभ्यतालाई तहसनह नबनाई ब्रिटिश साम्राज्यवादी वर्चश्व दुनियाँमा सम्भव होइन ।अतः १८ औं शताब्दीतिर नै ब्रिटिश साम्राज्यवादले वैदिक शिक्षा प्रणालीको अध्ययन गरी त्यसलाई तहसनहस बनाउने रणनीतिसहितको प्रतिवेदन पेश गर्न आफ्ना विद्वान लर्ड म्याकौलेलाई खटायो । परिणामस्वरूप २ फेब्रुअरी, १८३५ मा लर्ड म्याकौले १७८० पाना लामो प्रतिवेदन ब्रिटिश पार्लियामेन्टको रोष्टममा प्रस्तुत गरे । म्याकौलेको कथन थियो-‘मैले प्रस्तुत गरेको शिक्षा प्रणाली लागू गर्ने हो भने हजारौं वर्षसम्म वैदिक समाजलाई हाम्रो गुलाम बनाउन सकिने कुरालाई म ज्ञारेन्टी गर्दछु ।’ तिनै लर्ड म्याकौलेलाई न्याय प्रणालीको खाका कोर्नसमेत दिइयो । ब्रिटिश लाइब्रेरीमा संरक्षित लर्ड म्याकौलेले आफ्ना बुवालाई लेखेको पत्रमा भनिएको छ-‘मैले यस्तो न्याय व्यवस्थाको खाका कोरेको छु जुन लागू भएपछि भारतीय जनता कहिल्यै पनि वास्तविक न्याय पाउन सक्ने छैनन् ।’ ब्रिटिश साम्राज्यवादले वैदिक सभ्यताका मूल्य मान्यता समाप्त गर्न मदिरा रणनीति अपनायो । ब्रिटिश उपनिवेशमा रहनुभन्दा अघि भारतलगायत भारतीय प्रायद्वीपमा मदिराको प्रचलन थिएन । भारतीय प्रायद्वीपबाट  सन्  १९४७ मा अंग्रेजहरू विदा त भए तर यहाँको शिक्षा नीति, न्याय व्यवस्था र संस्कृतिमाथि आफ्नो नियन्त्रण दिर्घकालिक बनाई छोडे । वैदिक सभ्यतामा मदिरा सेवन गर्नु पाप हो । विज्ञान प्रविधिको समेत मुख्य स्रोत मानिएको वैदिक दर्शनका मूल्य मान्यताहरू निमिट्यान्न नपारेसम्म आफ्नो साम्राज्यवादी योजना दिर्घकालिक हुन नसक्ने हुँदा अंग्रेजहरूले पूर्वीय भाषा, संस्कृति, शिक्षा र न्याय प्रणालीलाई आफ्नो निशाना बनाएका दृटान्तहरू मौजुद छन् । यहाँको न्याय र शिक्षा व्यवस्थाबाट उनीहरूले मानवता र नैतिकता छुट्याइदिए । उदाहरणका लागि आज पनि भारतको न्याय व्यवस्था अंग्रेजले बनाइदिएका ३ हजार ४ सय वटा कानुनबाट सञ्चालित छ, जसबाट न्याय प्राप्त हुनु असम्भवप्राय हुन्छ । नेपालले अंगीकार गरेको न्याय तथा शिक्षा व्यवस्था अंग्रेजहरूले भारतीय प्रायद्वीपबाट रोपेको विरुवाकै छायाँ हो । एवं रितले हाम्रा दार्शनिक मान्यता, धर्म संस्कृति, नैतिक मूल्यलाई धरासायी बनाउन  सुविचारित योजनाबाट प्रयोग भएको मदिराको हतियारको नालीबेली यस्तो छः भारतको कलकत्ता सहरमा सन् १७६० को दशकमा अंग्रेजहरूले पहिलो पटक रक्सीको भट्टी खोले । यस भट्टीको पहिलो सञ्चालक रवर्ट क्लाइव थिए । रवर्टलाई ब्रिटिश पार्लियामेन्ट (House Of Common) बाट कलकत्तामा मदिराको भट्टी सञ्चालन गर्न इजाजत दिइएको थियो । १८ सेप्टेम्बर १७६१ मा कलकत्तामा मदिराको उत्पादन र यहाँको जनजीवनमा यसले पारेको प्रभावको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्न रवर्ट क्लाइवलाई बोलाइयो । ब्रिटिश पार्लियामेन्टको रोष्टममा उभिएर रवर्ट क्लाइवले प्रस्तुत गरेको प्रस्तुतिमा उनले सगौरव भनेका छन् कि ‘मलाई अब भारतको कुनै अर्को स्थानमा रक्सीको भट्टी खोल्ने अनुमति चाहियो । रक्सीले कलकत्ताबासीहरूलाई लठ्ठयाएर तहसनहस बनाइरहेको छ । सुरुमा कलकत्ताबासीहरू रक्सी खान मान्दैनथे । मैले एउटा साइनबोर्ड लगाएर लेखीदिएः ‘यहाँ मदिरा निशुक्क पाइन्छ, आउनुहोस मदिरा पिउनुहोस् मजा लिनुहोस् ।’ त्यसपछि बिस्तारै कलकत्ताबासीहरू मदिरा पिउन थाले । एक जनाले पिउने बित्तिकै भोलि उसले अर्को साथी लिएर आउथ्यो । एवं रीतले उनीहरू मदिरा नपिएर बस्न नसक्ने अवस्थामा पुगेपछि मात्रै मैले मदिरा वापत उनीहरूबाट पैसा लिन थाले । आज सारा कलकत्ताबासीहरू घरबाट पैसा, खाद्यान्न, गरगहना, सुन चाँदी चोरेर हाम्रो भट्टीमा मदिरा खान आउँछन् ।‘ रवर्टको प्रस्तुतिबाट खुसी हुँदै ब्रिटिश पार्लियामेन्टले सधन्यवाद भारतको अन्य सहरमा समेत मदिरा सञ्चालन गर्ने इजाजतपत्र दियो । बिस्तारै अंग्रेजहरूको नियन्त्रण रहेको भारतको अधिकांश स्थानहरू च्याउझैं मदिराका भट्टीहरू खुल्न थाले । मदिराको रमझमसँगै अंग्रेजहरू भारतीय आमा, दिदी बहिनीको इज्जत लुटेर आफ्नो यौंन प्यास मेटाउथे । वैदिक सभ्यतामा परस्त्री तथा परपुरूष गमन बर्जित छ । अंग्रेजले इज्जत लुटेपछि ठूलो संख्यामा त्यहाँका चेलीबेटीहरू घर न घाटको अवस्थामा पुगे । कैयौं महिलाहरू घरपरिवारबाट बहिस्कृत हुन पुगे । अतः परिवारबाट बहिस्कृत महिलाहरूलाई व्यवस्थापन गर्न अंग्रेजहरूले कलकत्तामा पहिलो पटक कोठी स्थापना गरे । कालान्तरमा यिनै कोठीहरू वेश्यालयको रूपमा चिनिन थाले । वेश्यालयको स्थापनाले अंग्रेजहरूहरूलाई यौंन प्यास मेटाउन अझ सजिलो भयो । यसरी अंग्रेजहरूले मदिराको भट्टीसहित सारा भारतमा कोठीहरू सञ्चालन गरे । आज नेपालमा छ्यासछ्यास्ति मदिरा पाइन्छ । मदिरा हाम्रो संस्कार संस्कृतिको उपज होइन । अंग्रेजहरूले भारतमा छोडेको विसंगतिकै छायाँ हो, नेपालको मदिरा कुसंस्कृति । एकछिन आफैँलाई कल्पना गर्नुहोस, यदि तपाईको उमेर ३० वर्षको छ भने तपाईको बाजेको पालामा मदिरा दुर्व्यसन थियो ? अवश्य पनि थिएन । यदि तपाईको उमेर ५० वर्षको छ भने आफैँलाई प्रश्न गर्नुहोस्, तपाईको बुवाले मदिरा सेवन गर्नुहुन्थ्यो ? यी दुईवटै प्रश्नले मदिरा हाम्रो परम्परागत संस्कृति नभएर आयातीत कुसंस्कृति हो भन्ने कुरामा तपाई अवश्य विश्वस्त हुनुभयो होला ।
  • उपसंहार -हाम्रो समाजमा मदिरा उत्पादन र बिक्रीवितरण जायज हो वा नाजायज ? यो आलेखको निष्कर्ष यसैमा केन्द्रित छ । मेरो फेसबुक मेसेन्जरमा पढेलेखेका धेरैजसो युवाहरू गालीसहित धेरै सवालहरू उपलब्ध गराउनु भएको छ । जसलाई बुँदागत उल्लेख गरेर सवालको जवाफसमेत दिने प्रयासमा यो आलेख टुङ्याउने अनुमति चाहन्छु । जस्तोः

सवालहरू

  • मदिरा हाम्रो परम्परागत घरेलु उद्योग हो ।
  • विदेशी मदिरालाई प्रहोत्साहन गरेर घरेलु मदिरा नियन्त्रण गर्नु जायज होइन । विदेशी नियन्त्रण गरेर मात्रै घरेलु मदिरा नियन्त्रण गरिनुपर्छ ।
  • मदिरा विपन्न नागरिकको आयआर्जनको स्रोत हो । मदिरा नियन्त्रण गर्नुभन्दा अगाडि उनीहरूलाई आयआर्जनको विकल्प र रोजगारी दिनुपर्छ ।
  • तपाईँ आफ्नै घरमा पहिले मदिरा उत्पादन हुन्थ्यो । अहिले अरूको घरमा मदिरा उत्पादन हुँदा आपत्ति किन ?

जवाफहरू

बुँदा नं. १ – मदिरा हाम्रो परम्परागत घेरलु उद्योग होइन । मदिरालाई परम्परागत घरेलु उद्योग मान्नु आफ्नो सभ्यताका मूल्य मान्यता र विगत केही थाह नहुनु हो । मदिरा आयातीत कुसंस्कार मात्रै होइन अंग्रेजहरूले हाम्रा मूल्य मान्यता समाप्त गर्न चालबाजी तथा चलाखीपूर्ण औपनिवेशिक कालमा भारतबाट यसको सुरुवात गराएका हुन् । यसको विस्तृत विवरणसहितको चर्चा माथि भइसकेको छ । हाम्रो वैदिक सभ्यतामा मदिरा बर्जित छ । वनस्पतिबाट उत्पादन हुने मदिरा क्षेत्रीयहरूले औषधिको रूपमा प्रयोग गर्थे तर अन्नबाट उत्पादन हुने मदिरा असुर (राक्षस) को आहारा हो ।

बुँदा नं. २ – हामीले विदेशी मदिरा प्रहोत्साहन गरेका छैनौं । यस नगरपालिकामा विदेशी मदिरा बिक्री वितरण शुन्य प्रतिशत छ । नेपालमै उत्पादित केही ब्राण्डेड मदिरा भने यहाँका पसलहरूमा पाइन्छन् । पाइने मदिरामा रोस्लान भोड्का, एटएटफर्टीएट, ब्यु डाइमण्ड, खुकुरी रम, भर्जिन, वल्ड दरबार आदि प्रमुख हुन् । तर यी मदिरा स्थानीय सरकारको कानुनबमोजिम नभएर संघीय सरकारको कानुनबमोजिम बिक्री वितरण भइरहेका छन् । मदिरा ऐन २०३१ ले यस विषयमा स्पष्ट व्यवस्था गरेको छ । नेपाल सरकारको कानुबमोजिम तोकिएको राजश्व तिरेर राजश्व कार्यालयको स्टिकर लागेको मदिरालाई स्थानीय सरकारका हामी कर्मचारीले सीधै निषेध गर्न सक्दैनौं । तर अनुमति नलिइकन ब्राण्डेड मदिरा बिक्री गर्ने र तोकिएको समय र स्थानबाहेक कानुन विपरीत बिक्रीवितरण गर्ने व्यवसायीबाट मदिरा बरामद गरी हामीले कारबाही गरिरहेका छौं । पञ्चदेवल विनायक नगरपालिकाको जनजीवनमा ब्राण्डेड मदिराभन्दा घरेलु मदिराले नकारात्मक प्रभाव बढी पारेको यथार्थता हो ।  घरेलु मदिराको गुणस्तर मापन गरिएको हुँदैन । विषाक्त वस्तुहरू मिसावत गरी घरेलु मदिरा उत्पादन गरिन्छ भन्ने सुनिन्छ । यसले सर्वसाधारणको ज्यान जोखिममा पारेको देखिन्छ । हाम्रो चिन्ता नागरिक स्वास्थ्यको हो । ब्राण्डेड मदिराको ग्राहकमा व्यापारी र कर्मचारी पर्छन् । उनीहरू तुलनात्मकरूपमा समय अन्तराल र मात्राको पावन्दी मिलाएर सेवन गर्ने गरेको पाइन्छ । तर घरेलु मदिराको उपभोक्ता गाउँका सर्वसाधारण हुन् जसको मदिरा सेवन गर्ने समय र मात्राको ठेगान हुँदैन । यसो भन्दा हामीले ब्राण्डेड मदिरालाई प्रहोत्साहन गरेको कदापि होइन । हामी त सर्वसाधारणलाई कुनै पनि मदिरा सेवन नगर्नुहोस् भनिरहेका छौं । संघीय कानुनबाट मान्यता प्राप्त मदिरालाई केवल कर्मचारीको निर्णयबाट मात्रै प्रतिबन्ध लगाउन सकिँदैन । मदिरा सेवन कुनै पनि दृष्टिकोणबाट जायज होइन । अतः सर्वसाधारणले मदिरा सेवन गर्न नै नगर्ने हो भने ब्राण्डेड मदिरालाई प्रहोत्साहन कहाँबाट पुग्छ ? स्थानीय सरकारले आफ्ना नागरिकको स्वास्थ्यका लागि सभा तथा कार्यकारी समितिबाट कानुन तथा निर्णय गरेर जुनसुकै मदिरा नियन्त्रण गर्नसक्छ । तर यस्तो कानुन तथा निर्णय संघीय कानुसँग बाँझिनु हुँदैन । हामी कर्मचारीहरू प्रचलित कानुनमा व्यवस्था भएको, स्थानीय सरकारको सभा र कार्यकारी समितिबाट पारित भएका निर्णयहरू मात्रै कार्यान्वयन गर्ने हो । अतः हामी सोही अनुसार कार्यसम्पादन गरिरहेका छौं । कानुन विपरीत कार्य गर्न हामीलाई छूट छैन, गरेमा कानुनबमोजिम सजायको भागिदार हामी स्वयं हुनेछौं । 

बुँदा नं. ३ – घरेलु मदिरा विपन्न नागरिकको आयआर्जनको स्रोत हुन सक्दैन । यो त गैरकानुनी हो । गैरकानुनी कार्य गर्नु अपराध हो । गैरकानुनी कार्य नियन्त्रण गर्नु र दोषीलाई कारबाही गर्नु स्थानीय सरकारको काम हो । गल्ती कामका लागि कानुनको आफूखुसी व्याख्या गर्ने चलन हामीकहाँ बढ्दो छ । दुई हप्ताअघि मात्र सर्वोच्च अदालतले एक वर्षमा ६ पटकसम्म ५ लिटर मदिरा र १० लिटर जाँड बनाउन दिनू भनेर फैसला गर्यो । यसैलाई हवला दिएर धेरैजसो युवा मित्रहरूले मेरो मेसेन्जरमा यो सम्बन्धी लिंक पठाउनु भएको छ । मदिरा ऐन २०३१ को दफा ७ मानिजी उपयोगको निमित्त तोकिएको परिमाणमा रक्सी वा जाँड बनाउन इजाजत पत्र लिन नपर्ने व्यवस्था गरेको छ । मदिरा नियमावली  २०३३ को नियम ७ को (घ) कुनै व्यक्तिले निजी उपयोगका लागि एक पटकमा ५ लिटर रक्सी र १० लिटर जाँड बनाउने दिने व्यवस्थासहित सोही नियमको स्पष्टीकरणमा वर्षको ६ पटकभन्दा बढी बनाउन नपाइने व्यवस्था गरिदिएको छ । सोही नियममा यसरी रक्सी र जाँड बनाउने व्यक्तिले त्यसको सूचना अन्तशुल्क अधिकृतलाई दिनुपर्ने स्पष्ट गरेको छ । अतः मदिरा ऐनले बिक्रीवितरणका लागि मदिरा उत्पादन गर्ने छूट कसैलाई दिएको छैन । चाड पर्व र परम्परागत संस्कारमा प्रयोग गर्न घरायसी प्रयोजनका लागि अन्तशुल्क अधिकृतलाई सूचना दिएर मात्रै एक वर्षमा जम्मा ३० लिटर रक्सी र ६० लिटर जाँड बनाउन कानुनले छूट दिएको व्यवस्थालाई अपव्याख्या गर्नु उपयुक्त होइन । घरेलु मदिरा नियन्त्रण गर्नुभन्दा पहिले आयआर्जनको विकल्प र रोजगारी दिनुपर्ने तर्क हास्यास्पद छ । नेपालको कानुनले घरेलु मदिरालाई गैरकानुनी मानिसकेपछि गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने हो संरक्षण होइन । कानुनको विश्वव्यापी सर्वोमान्य सिद्धान्त छः कानुनको अज्ञानता क्षम्य हुन सक्दैन । अर्थात् कानुन मलाई थाह छैन, म जान्दैन भनेर कानुन विपरीत गरिएको कार्यलाई क्षमा दिन सकिँदैन । अर्को कुरा घरेलु मदिरा विपन्न वर्गको आयआर्जनको स्रोत हुनै सक्दैन । यो त समाजमा अपराध र हिंसा बढाउने गैरकानुनी कुकर्म हो । स्मरण गरौं, तपाईँ विपन्न वर्ग भनेर आफूखुसी जसलाई गरिबको स्टिकर लगाउँदै हुनुहुन्छ उसको दुई पुस्ताअघिको विगत हेर्ने फुर्सद निकाल्नुहोस् । के उसको हजुरबुवाले मदिरा बिक्री गरेरै जीविको धान्नु भएको हो ? तपाईले विपन्न मानेको मान्छेले त मदिरा बेचेर कमाएको पैसाबाट मासिक १०% ब्याजमा साँच्चिकै गरिबको ढाड सेकेर सिंगो समुदायको शान्ति बिथोलिरहेको छ । नगरपालिकाले आफ्ना नागिरकलाई रोजगार र आयआर्जनका लागि काम गर्नुपर्छ यसमा दुईमत हुन सक्दैन । हिजो हामी आफ्नै बारिको मुला, काउली, रायो र खाद्यान्नले आत्मनिर्भर थियौं । यदाकदा नपुग्दा वस्तु विनिमय र नगद खरिदले जीवन राम्रैसँग चल्थ्यो । आज समुदायको हरेक घरमा रुपैडिया र नेपालगञ्जको तरकारी र खाद्यान्न पाक्छ । खेतबारी बाँझो राख्ने प्रवृत्ति बढ्दो छ । नगरपालिकामा कुनै बजार त्यस्तो छैन जहाँ स्थानीय कृषि उत्पादनले माग सम्बोधन गरेको होस् । स्वतःस्फूर्तरूपले मदिरा उत्पादन गर्नसक्ने व्यक्तिले तरकारी खेती गर्न नसक्ने ? सरकारले अह्रयाएपछि  मात्रै तरकारी  उत्पादन गर्ने तर मदिरा आफ्नै इच्छाले उत्पादन गर्न मिल्नुपर्ने तर्क कति जायज हो ?

गरिबीको हवला दिएर बाहिरबाट घरेलु मदिराको पक्षमा बोल्न जति यसले पारेको प्रभाव बुझ्न सजिलो छैन । सहरमा बसेर  सामाजिक सञ्जालमा टिप्पणी भएभन्दा समुदायको वस्तुस्थिति धेरै फरक छ । मदिरा उत्पादन हुने अधिकांश घरहरूका महिला र बालबालिकाहरूमाथि परेको नराम्रो असर हामीले नजिकबाट बुझेका छौं । उनीहरूले मदिरा उत्पादन गर्ने र सेवनका दुर्व्यसनीहरू विरुद्ध सूचना दिएर आफ्नै श्रीमान तथा वुबालाई कारबाही गर्न हामीलाई अनुरोध गरिरहेका छन् । मदिराबाट प्रभावित समुदायका बासिन्दाहरूको भेला गराई सचेतनाका कार्यक्रमहरू गरिरहँदा एक ठाउँमा करिब ५ वर्षको सानो बाबु काखमा खेलाइरेहकी एकजना महिलालाई मेरो आग्रह थियो-हाम्रो कुरा नराम्रो लागेको हो भने तपाई आफ्नै काखमा खेलीरहेको सानो बाबुलाई प्रश्न गर्नुहोस् कि, बाबु !  मदिरा उत्पादन गरौं वा नगरौं ? मदिरा उत्पादन गर्नु राम्रो हो वा नराम्रो ? मेरा यी शब्द सुनेर ती महिला गहँभरि आँसु झारेर रुन थालिन् । एक छिनपछि उहाँले भन्नुभयो, ‘सर, रक्सीले त हाम्रो दर सन्तानको भविष्य चौपट्ट पारिसक्यो ।’ हाम्रो अभियानपछि समुदायका धेरै महिला र युवाहरू मदिराविरुद्धको अभियानमा सक्रिय छन् । जसमध्ये कालिका युवा क्लव आलीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ । काठमाडौंजस्ता सहरमा बसेका शिक्षित युवाहरूले फेसबुकमा गाली गरिरहँदा मदिराबाट आजित महिला र बुढापाकाहरू ताली बजाएर हामीलाई धन्यवाद दिइरहेका छन् । पञ्चदेवल विनायक नगरपालिकाले पर्याप्तरूपमा जनतासम्म आयआर्जनका कार्यक्रम र रोजगारी दिन सकिरहेको छैन । नगरपालिकाले थुप्रै कार्य पर्न बाँकी छन् । ठोष योजना तथा कार्यक्रम दिन नगरपालिका सकिरहेको छैन । नगरपालिकाले दिर्घकालिक सोंच, नीति र योजना बनाउन जरुरी देखिन्छ । तर नगरपालिकाको कमजोरीको विकल्प मदिरा उत्पादन र बिक्री वितरणमा छूट कदापि हुन सक्दैन । नगरपालिकाको कमजोरीको विकल्प आलोचना र गाली मात्रै पनि होइन । सबै नागरिकको सकारात्मक सोंच, जवाफदेहिता, कर्तव्यनिष्ठता र लगलशीलताले मात्रै हामी यथास्थितिबाट उन्नत अवस्थामा पुग्नसक्छौं । आफैं नैतिक र चरित्रवान बनेर मात्रै हामी परिवर्तनका वाहक बन्न सक्छौं । कृषि, पशुपालन र घरेलु उद्यमशीलताको तपाईँहरू पनि खाका लिएर आउनुहोस् । नेतृत्वलाई दबाब सिर्जना गर्नुहोस । कृषकले गरेका उत्पादनको बजार सुचिश्चित गरौं । प्रशासकको हैसियतले म नगरबासीलाई यति मात्रै सक्छु, तपाईहरू प्रशस्त उत्पादन गर्नुहोस् । तपाईँहरूले गरेका उत्पादन खेर जाने छैनन्, बजार नपाइएमा त्यसको जिम्मा नगरपालिकाले लिन्छ । स्थानीय श्रम भारत पलायन भइरहेको छ, हामी निर्माणका लागि बुलडोजर लागाइरहेका छौं । हामी काम गर्न तत्पर छौं हामी आफू विस्थापित भएर डोजर प्रयोग गर्न दिँदैनौं  भनेर दबाब हालौं । काम गर्दैनौं, मदिरा उत्पादन र बिक्रीवितरण गर्न पाउनुपर्छ नभनौं ।

बुँदा नं. ४ – मलाई आफ्नो विगत खोल्न किंचित लाज लाग्दैन । हो, विगतमा मेरो घरमा मदिरा उत्पादन हुन्थ्यो । मदिराले बिथोलेको शान्ति र निम्त्याएका दुर्घटना म स्वयंले नजिकबाट देखेको भोगेको छु । नाबालक छँदा अहिलेजस्तो चेतना र सार्वजनिक जिम्मेवारी थिएन । मेरो अभिभावक शिक्षित थिएनन्, यही समुदायका यही सोंचका बासिन्दा हुन् । यो समुदायको चेतना जस्तो थियो मेरो अभिभावकको चेतना त्यस्तै थियो । स्वयं मैले पनि मदिरा सेवन गर्थे । जब म बालिग भएँ, मैले मदिरा सेवन गर्न मात्रै छोडेन कि स्वयं आफैले प्रहरी बोलाएर आफ्नै घरको मदिरा पक्राउ गराएको अनुभव छ, मसँग । सम्झाइबुझाई गर्दा नलागेपछि अन्तिममा अपनाएको मदिराविरुद्धको विद्रोह मैले आफ्नै घरबाट गरेको थिएँ । मदिरा विरोधी स्वाभावका कारण मैले व्यहोर्नुपरेका दुःख र संघर्षको नालीबेली छ । मैले अछाम छोडेर अन्यत्र बसाइँ सरेकै २० वर्ष भइसक्यो । दुई दशक यता मात्रैका अनुभव धेरै छन् । मेरो घरभित्र मदिरा मात्रै होइन चुरोट खान बर्जित छ । मेरो घरमा आएका पाहुनाले मदिरा वा चुरोट खाएको देखेमा मेरो छोराछोरीले उसलाई आजीवन घृणा गर्ने सम्भावना रहन्छ ।  सुरुमा मैले मेरो सबैभन्दा नजिकमा आफन्तहरूलाई सम्झाइबुझाई गरेको छु । सम्झाइ बुझाई र अनुरोध नमानेपछि मदिरा बरामद गर्न लगाएको छु । मदिरा बरामद गर्दासमेत नमानेपछि मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि निर्माणको मस्यौदाकार नै बनेर स्थानीय सरकारको कानुन बमोजिम कारबाहीको अभियानमा छु । मदिरा हाम्रो दर्शन, संस्कृति, संस्कार, मूल्य मान्यता समाप्त पार्न अंग्रेजहरूले रचेको जाल हो । गरिबी र विपन्नता छ भन्दैमा हाम्रो इज्जत आमद बिक्री गर्न सक्दैनौं । मदिरा कूटनीतिबाटै अंग्रेजहरूले आविस्कार गरेको वेश्यालयको इतिहास स्मरण गरौं ।

अन्तमा मदिरा सेवनकर्ताको मनोदशा बुझाउने यो लघुकथा पढौं-

तीन जना केटाहरू मदिरामा झ्वाप भएर ट्याक्सी चढेछन् । उनीहरूको मनोदशा बुझिरेहको ट्याक्सी चालकले एकछिन केही नबोली बस्छ र एकछिन पछि बोल्छ ।ट्याक्सी चालक-लौ उत्रिनुस्, तपाईहरूको घर आइपुग्यो ।
पहिलो जड्याँह- (भाडा दिँदै) थ्यान्क यु माइ डियर
दोस्रो जडयाँह-(टिप्स दिँदै) ल भाइ गाडी राम्रो हाक्दो रहेछौं ।
तेस्रो जड्याँह-(चालकलाई झापट दिँदै) साले गधा….
यसले चाल पाएछ सोचेर चालक डराउँछ
चालक- मलाई माफ गर्नुहोस हजुर
तेस्रो जड्याँह-साला कति छिटो गाडी हाकेको ? एक्सिडेन्ट भयो भने…….

लेखक मधुश्री अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कार्यालय प्रमुखका रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२४ घण्टामा २३ कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या १,४१२ पुग्यो
नेपाल प्रहरीमा अब डीएसपीसम्मको खटनपटन प्रदेशबाटै
सेयर बजारमा दुई नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च
जन्मदिनको अवसरमा बैधनाथ बेदविश्रामका बटुकलाई शैक्षिक सामाग्री वितरण