मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाना पकाउन कस्तो तेल सबैभन्दा स्वस्थकर ?

खाना पकाउन कस्तो तेल सबैभन्दा स्वस्थकर ?

सुदूर आज

सबै किसिमका तेलमा फ्याट र क्यालोरी भएपनि हाम्रो स्वास्थ्यमा तिनको असर भने फरक फरक हुने गर्दछ । प्रत्येकको भान्छामा खाना पकाउने तेल भिन्दाभिन्दै हुन्छन् तर कुन तेल सबैभन्दा स्वस्थकर छ भन्ने सम्बन्धी जानकारी अझै पनि विवादित मानिएको छ । नरिवलको तेलदेखि ओलिभ ओएल, तोरीको तेल र पछिल्लो समय त एभोगाडोको तेल पनि लोकप्रिय बन्दै गएको छ । 

खाना पकाउने तेल बिउ, दाना, फल, बिरुवा लगायतबाट निस्कासन गरिन्छ । तिनमा विशेषगरी ‘स्याचुरेटेड’, ‘मोनोस्याचुरेटेड’ या ‘पोलिअनस्याचुरेटेड फ्याटी एसिड’ को मात्रा उच्च हुन्छ । 

पछिल्ला केही वर्ष ९० प्रतिशत ‘स्याचुरेटेड फ्याट’ हुने नरिवलको तेललाई, ‘सुपर–फुड’ का रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको पाइएको छ । यसमा हुने फ्याट शरीरमा जम्नुको सट्टा सबै ऊर्जामा परिणत हुने धेरै सम्भाव्यताका कारण नै नरिवलको तेललाई ‘सुपर–फुड’ को नाम दिइएको हो । तर अर्कोतर्फ यही तेललाई हाभर्ड युनिभर्सिटीको एपिडेमोलोजिस्टले भने ‘शुद्ध विष’ पनि भनेको छ । 

अधिक मात्रामा स्याचुरेटेड फ्याट जस्तै महिलाका लागि २० ग्रामभन्दा बढी र पुरुषका लागि ३० ग्राम बढी सेवन गर्नुले शरीरमा हानिकारक कोलेस्ट्रोल उत्पादन गराइ मुटु सम्बन्धी रोगको जोखिम बढाउँछ । 

यसमा हामीले सबै किसिमका ‘फ्याट मोलिक्युल’ , फ्याटी एसिडको चेनले बनेको हुन्छ भन्ने बुझ्न सक्छौँ जसलाई या ‘सिङ्गल बन्ड (स्याचुरेटेड,’ अथवा ‘डबल बन्ड (अनस्याचुरेटेड)’ ले सँगै बाँधेको हुन्छ । त्यसैगरी फ्याटी एसिड पनि तीन किसिमका हुन्छन् छोटो, मध्यम र लामो चेन भएका । छोटो र मध्यम चेन भएका फ्याटी एसिडलाई हाम्रो शरीरले सिधै सोसेर ऊर्जाका लागि प्रयोग गर्ने गर्दछ र लामो चेनयुक्त फ्याटी एसिड भने कलेजोसम्म पुग्छ र रगतमा कोलेस्ट्रोलको स्तर बढाइदिन्छ । 

मेसेस्युट्स युनिभर्सिटी का न्युट्रिसन प्रोफेसर एसिल लिचटेइन्सटनका अनुसार, चार वर्ष अगाडि नरिवलको तेलमा विशेष गुण हुन्छ भन्ने दाबी गरिएका कारण नै यसको लोकप्रियता एक्कासी बढेको हो । तर अन्य तेलसँग गरिएको तुलनात्मक अध्ययनले नरिवलको तेलमा अधिक उच्च स्याचुरेटेड फ्याट हुने गरेको देखाएको छ र यसअघि यो तेलबारे गरिएका दाबी पुष्टि गर्ने कुनै वैज्ञानिक परीक्षण नभएको पनि पत्ता लागेको हो । 

हालसम्मको सबैभन्दा नियन्त्रित परीक्षणमा नरिवलको तेलले हानिकारक कोलेस्ट्रोल, ‘लो डेन्सीटी लिपोप्रोटिन (एलडीएल)’ को स्तर बढाउने गरेको पत्ता लगाएको छ जुन मुटु सम्बन्धी रोग र स्ट्रोक गराउनसँग सम्बन्धित छ । तर फेरि यसैले फाइदाकारक कोलेस्ट्रोल, ‘हाइ डेन्टिसटी लिपोप्रोटिन (एचडीएल)’ को उत्पादन पनि वृद्धि गराउँछ जसले रगतबाट हानिकारक एलडीएललाई टाढा राख्ने गर्छ । 

यसरी उच्च मात्रामा स्याचुरेटेड फ्याट भएको खानेकुराले कसरी एचडीएल बढाउँछ भन्ने प्रश्न पनि आउँछ जसको कारण हो यसमा तुलनात्मक रुपमा ‘लरिक एसिड’ नामक तत्व धेरै हुने गर्दछ जसले हानिकारक एलडीएलभन्दा फाइदाजनक एचडीएलको स्तर उच्च राख्नमा मद्दत गर्दछ । 

तर लरिक एसिड पनि दाबी गरिएजति स्वस्थ नहुने जर्ज मेसन युनिभर्सिटीकी न्युट्रिसन प्रोफेसर टेलर वालेन्स बताउँछिन् । यसको सट्टा विज्ञहरुले सबैलाई स्याचुरेटेड फ्याट कम भएको र अन्य प्रकारको फ्याट बढी भएको तेललाई खानामा समावेश गर्दा स्वस्थकर हुने सुझाव दिँदै आएको उनले बताइन् । जस्तै ‘पोलि–अनस्याचुरेटेड फ्याट’ सहित ओमेगा–३, ओमेगा–६ र ‘मोनोस्याचुरेटेड फ्याट’ मा कोलेस्ट्रोलको मात्रा कम हुन्छ र यसले शरीरलाई आवश्यक भिटमिनको मात्रा पनि पुर्याउँछ । यिनीहरु विभिन्न किसिमका ‘भेजिटेबल ओएल’ बिरुवामा आधारित जस्तै सोयाबिनको तेल, ओलिभ ओएल, सूर्यमूखी तेल लगायतमा पाइन्छन् । 

अधिकांश अध्ययनहरुले उच्च मात्रामा ‘मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याट’ भएको तेल नै मुटु सम्बन्धी रोगको जोखिम कम गराउनसँग सम्बन्धित रहेको देखाएको छ । त्यसैले पनि विज्ञहरुले ‘अन–स्याचुरेटेड फ्याट’ लाई बिरुवाममा आधारित तेल र बिउबाट निस्कासन गरिएको तेलले प्रतिस्थापन गर्न सुझाव दिन्छन् । 

जस्तै एउटा रिसर्चमा स्याचुरेटेड फ्याटलाई ओलिभ ओएलले प्रतिस्थापन गराउँदा त्यसले मुटु रोगको जोखिम कम गराएको पाइएको थियो । हाभर्ड युनिभर्सिटीकी खाद्य अनुसन्धानकर्ता मार्ता गुआस फेरले २४ वर्षसम्म १० हजार भन्दा बढी मानिसहरुको डायट र स्वास्थ्य सम्बन्धी अध्ययन गरेकी हुन् । जसमा उनले अन्यको तुलनामा सबै किसिमका ओलिभ ओएलको बढी सेवन गर्नुले मुटु रोगको जोखिम १५ प्रतिशतले कम गर्ने पत्ता लगाएकी हुन् । 

ओलिभ ओएल ‘ओलिभ’ बाट निस्कासन गरिएको हुन्छ र लामो समयदेखि नै सबैभन्दा स्वस्थ तेलका रुपमा चिनिँदै आएको छ । ओलिभ ओएलमा फ्याटका साथै ‘भिटमिन्स र मिनिरल’ अनि बिरुवामा हुने सुक्ष्मपोषक तत्वहरु पाइन्छ । तर यसको अर्थ हामीले खाइरहेको डायटमा ओलिभ ओएल समावेश गरेर मात्र फाइदा लिन सकिँदैन स्वास्थ्यमा लाभ पुर्याउन हामीले अरु सबै अस्वस्थकर फ्याटलाई हटाएर ओलिभ ओएलले प्रतिस्थापन गरेपछि मात्र फाइदा पुग्ने बताइएको छ । केही अध्ययनहरुले त ‘एक्सट्रा भर्जिन ओलिभ ओएल’ क्यान्सर र मधुमेहबाट जोगाउन पनि प्रभावकारी रहेको देखाएको छ । 

ओलिभ ओएलमा पाइने सबै पोषक तत्वहरु शरीरका लागि आवश्यक भएकाले पनि यसले विभिन्न रोगबाट बचाउन सक्ने प्रोफेसर फ्रान्सिस्को बार्ब बताउँछिन् । यसमा धेरै किसिमका ओलिभ ओएल माथि गरिएको अध्ययनपछि ‘एक्सट्रा भर्जिन ओलिभ ओएल’ ले नै सबैभन्दा बढी स्वास्थ्य सम्बन्धी लाभ गराउने गरेको पाइएको हो ।

किनकि यसमा ‘एन्टिअक्सिडेन्ट र भिटमिन–इ’ प्रशस्त पाइन्छ । तर यो तेल एकदमै छिटो तात्ने हुँदा केही धेरै बेर या उच्च तापमानमा तताउँदा त्यसबाट निस्कने धुँवाले हानि पुर्याउन सक्छ र स्वस्थकर गुणहरु पनि नष्ट पारिदिने बताइएको छ । बार्बका अनुसार एक्सट्रा भर्जिन ओलिभ ओएल नतताइ सेवन गर्दा नै सबैभन्दा लाभदायक हुन्छ । 
तर, यो तेल पकाएर खान सुरक्षित छ भन्ने पनि वैज्ञानिक रिसर्चमा पुष्टि भइसकेको छ । यसमा समयभन्दा पनि तापमानले तेलको पोषक तत्वमा असर पुर्याउने गरेको पाइएको हो । तर यसको अर्थ धेरै मात्रामा यो तेलको प्रयोग गर्नुपर्छ भन्ने होइन । यसलाई उपयुक्त मात्रामा सामान्य रुपमा सेवन गर्दा अरु तेलको तुलनामा स्वास्थ्यलाई फाइदा पुग्ने बताइएको छ । बीबीसीबाट