मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धूम्रपान सेवनकर्ता छेउछाउ बस्नेलाई पनि ज्यादै खतरनाक

धूम्रपान सेवनकर्ता छेउछाउ बस्नेलाई पनि ज्यादै खतरनाक


खिम लामिछाने काजि

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार धूम्रपान धुवाँ मात्र नभएर सुर्तीजन्य पदार्थको सेवन र दुर्व्यसन हो। धूम्रपान गर्ने व्यक्तिले फालेको धुवाँ हावामा उसको वरपर रहेको व्यक्तिले लिनुलाई निष्क्रिय धूम्रपान, प्यासिब स्मोकिङ तथा दोस्रो स्तरको धूम्रपान भनिन्छ। धूम्रपानले विश्वमा प्रत्येक ६ सेकेण्डमा १ जनाको मृत्यु, प्रत्येक घण्टामा ६ सय ८४ जनाको, प्रत्येक दिन १६ हजार ४ सय ३८ जनाको मृत्यु र प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गर्दछ। जसमध्ये १० प्रतिशतको अप्रतक्ष धूम्रपानबाट मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानको अध्ययन अनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले २७१ हजार एक सय सैंतिस जनाको मृत्यु हुने गरेको छ। जसमा प्रतिघण्टा ३ जनाको दरले मृत्यु भइरहेको छ। विश्व स्वास्थ्य संगठन लगायतका अन्य विभिन्न सर्वेक्षणहरुले सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा कोभिड १९ (कोरोना) भाईरसको उच्च जोखिम रहेको तथ्य देखाएको छ।  

चुरोटबाट निस्कने धुवाँमध्ये २५ प्रतिशत धूम्रपान गर्ने व्यक्तिले लिने र ७५ प्रतिशत हावामा फाल्ने हुँदा निष्क्रिय धूम्रपानकर्ता यसको शिकार भई रहेका छन। एक अध्ययन अनुसार हावामा फालिएको धुवाँमा धूम्रपान गर्ने व्यक्तिले तानेको  धुवाँमा भन्दा दुई गुणा निकोटिन, तीन गुणा कार्बन (टार), पाँच गुना भन्दा बढी कार्बनमोनोअक्साइड र ५० गुणा भन्दा बढी क्यान्सरजन्य रसायनहरू हुन्छन। यसबाट निष्क्रिय धूम्रपानकर्तामा झन धेरै धूम्रपान सम्बन्धी प्राणघातक रोग लाग्ने जोखिम रहेको हुन्छ। एक खिल्ली चुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुरोट पिउनेले एक मिनटमा दुई सर्को मात्र तान्छ। विश्व स्वास्थ्य संघगठनको सर्वेक्षणमा मुलुकको ८२ प्रतिशत घरमा न्युनतम एक व्यक्तिले धूम्रपान गर्ने गरेको पाइएको छ भने त्यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य बस्तुको सेवन सुरु गर्ने गरेका छन। ७१ प्रतिशत भन्दा बढी महिला, ८५ प्रतिशत भन्दा बढी पुरुषले कुनै न कुनै रुपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको सर्बेक्षणले देखाएको छ।

श्रीमानले गरेको धूम्रपानबाट  उसको श्रीमती तथा सम्पूर्ण परिवारलाई नै असर पार्दछ।  यदि श्रीमती गर्भवती छन् भने गर्भमा रहेको भ्रुणलाई  समेत घातक असर पुर्‍याएको हुन्छ। चुरोट पिउने गर्भवतीबाट तौल कम भएको बच्चा जन्मने, जन्मेको केही दिनमै मर्न सक्ने, बच्चाको वृद्धि विकास रोकिने र कसै–कसैमा मृत बच्चा जन्मने हुन सक्छ। धूम्रपान सेवक अभिभावकका छोराछोरीमा पटक–पटक रुघाखोकी, ब्रोङकाइटिस, निमोनियाजस्ता छातिका रोगहरूबाट संक्रमित हुने सम्भावना बढी रहन्छ। बालकहरू ख्याउटे, रुन्छे, कान पाक्ने, कान नसुन्ने, अपाङ् तथा बिकलाङग जन्मिने हुन सक्छ। साथै अम्मलीको दाँतमा समस्या भइरहने श्वासमा दुर्गन्ध आउने भइरहन्छ।

धूम्रपानको इतिहास केलाउँदा सन १५५६ मा फ्रान्समा, सन् १५५८ मा पोर्चुगलमा र सन १५५९ मा स्पेन र सन १५६५ मा बेलायतमा कुल्फी (पाइप) मा राखेर खाने सुर्तीको उत्पादन भयो। सन् १८६५ मा वासिङ्टन ड्युकले अमेरिकाको नर्थ क्योरोलिनामा ३०० एकड जमिनमा यसको व्यावसायिक खेती सुरु गरेका थिए। ‘सिभिल वार’मा संलग्न सेनालाई कागजमा सुर्ती बेरेर हातैले तयार गरेको चुरोट बिक्री गर्ने उदेश्यका साथ यसको खेती सुरु गरिएको थियो। सन १८८१ मा जेम्स बोन्स्याकले चुरोट उत्पादन गर्ने मेसिनको आविस्कार गरेपछि हातले बेरिएको चुरोट हराउन थाल्यो। सिभिल वारमा संलग्न सेनाले नै चुरोटलाई बेलायतसम्म भित्य्राए। बेलायतले भारतलाई उपनिवेश बनाएको बेलामा नै हिन्दूस्तान हुँदै चुरोट नेपाल भित्रियो।

नेपालमा सन १९६५ मा तत्कालीन सोभियत संघ (रुस) सरकारको सहयोगमा जनकपुरमा चुरोट कारखाना खुलेपछि भारतबाट भित्रने बिँडी र चुरोटमा कमी आई जनकपुर चुरोट कारखानाबाट उत्पादित चुरोट प्रिय बन्यो। यो कारखाना बन्नु अघि प्रयोग हुँदै आएको तमाखु तथा हुक्का तान्नेले पनि चुरोट नै प्रयोग थालेको पाइन्छ।

बिसौं शताब्दीमा १ करोडलाई मृत्यृवरण गराइसकेको धूम्रपानले २१औं शताब्दिमा १ अर्ब व्यक्तिलाई मार्नेछ। त्यस्तै निस्क्रिय धूम्रपानबाट वार्षिक ६ लाख बढीको मृत्यु भइरहेकोमा एक चौथाई बालबालिका छन्। धूम्रपानका कारण नेपालमा दैनिक ६७ जनाले ज्यान गुमाउने गर्दछन्। मृत्यु हुनेमा ३ भाग पुरुष र २ भाग महिला छन्।
एकल रोगभन्दा बढी मृत्यु कारक रोग निम्त्याउने धूम्रपानले २५ किसिमका रोगहरूको लाग्न सहयोग गर्दछ। २ तिहाइजति क्यान्स रोग धूम्रपानबाट नै लाग्ने गरेको तथ्य सार्वजनिक भइसकेको छ। सुर्तीजन्य सेवनले असर नपार्ने शरीरको कुनै तन्तु नै छैनन्।

धूम्रपानले स्वास्थ्यमा प्रतिकुल असर मात्र पार्दैन, प्राणघातक रोगहरू र क्यान्सर लगाउनुका साथै आर्थिक, सामाजिक, वातावरणीय र अन्य विभिन्नरुपमा अतुलनिय क्षति पारिरहेको छ। मानिसलाई कंगाल र समाज तथा राष्ट्रलाई कङ्गाल बनाइरहेको छ। सार्वजनिक स्थलमा धूम्रपान गर्नेले आफूलाई मात्र नभइ आफ्नो नजिक बस्ने जो कोहीलाई समेत लामो समयसम्म कष्ट दिई, तड्पाइ–तड्पाइ मार्ने प्रयास गरिरहेको हुन्छ। अमेरिकामा गरिएको एक सर्वेक्षणका अनुसार हरेक वर्ष धूम्रपान नगर्ने तर धूम्रपान गर्ने ब्यक्तिको नजिकै बस्ने सात हजार ब्यक्तीहरुको मृत्यु  फोक्सोको क्यान्सरले भएको थियो। क्यालिफोर्निया प्रोटेक्सन एजेन्सीले २००५ मा गरेको अध्ययन अनुसार स्तन क्यान्सरमध्ये ७० प्रतिशत महिलाहरु धूम्रपान गर्ने ब्यक्तिको नजिकै बस्ने गरेका थिए। 

विश्व स्वास्थ्य संगठनका अनुसार ६ लाख ब्यक्तिहरु हरेक वर्ष चुरोट पिउने ब्यक्तिको नजिकै बस्नेहरुले अकालमा ज्यान गुमाउन वाध्य छन्। उनीहरुको मुटुको रोग, दम, सिओपिडि, क्यान्सरको कारणले मृत्यु भएको थियो। 
ब्रिटिश लिभर फाउण्डेशनका सल्लाहकार डा निक हपकिन्सनका अनुसार बच्चा अवस्थामा निष्क्रिय धूम्रपानको प्रभावमा परेपछि जीवनभर मुटुको रोग, उच्च रक्तचाप, क्यान्सर जस्ता दीर्घरोग लाग्ने सम्भावना रहिरहन्छ। दक्षिण पूर्वी एसीयाली क्षेत्रमा सुर्तिजन्य पदार्थको सेवनले हरेक वर्ष १२ लाख मानिसको मृत्यु हुन्छ भने नेपालमा ३१ प्रतिशत मानिसहरु सुर्तिजन्य पदार्थको सेवनले मृत्यु हुने गरेको तथाङ्कले बताउँदछ। जसमा ६ प्रतिशत ब्यक्तिहरु अप्रत्यक्ष वा निस्कृय धूम्रपानको कारणले मृत्यु हुने गर्दछ।

धूम्रपानमा सयौ त्यस्ता बिषाणु रसायनिक तत्वहरु जस्तै बेन्जिन, क्याडियम, लिड, रेडियोएक्टिभ पोलोनियम, बेन्जोप्याररिन, एमोनिया, कार्बन मोनोक्साइड, निकोटिन तथा अन्य हानीकारक तत्वहरु हुन्छन्। जसले मानब शरीरलाई हानी मात्रै गर्दैन विभिन्न रोगहरु समेत निम्त्याउँछ। धूम्रपान तथा निस्कृय धूम्रपान (प्यासीब स्मोकिङ)को करणले घाँटी र स्वरयन्त्रमा क्यान्सर हुने, मस्तिस्कमा समस्या, पेट, मुत्रनली, स्तन आदिमा क्यान्सरको जोखिम बढाउँछ। त्यसैगरी धूम्रपान गर्ने ब्यक्तिको नजिकै बस्ने बच्चाहरु लिम्फोमा, ल्युकेमिया, कलेजोमा क्यान्सर, ब्रेन ट्युमर आदि जस्ता खतरानाक रोगहरु लाग्न सक्दछ। 

सरकारले २०६८ साल साउन २२ गतेदेखि लागु गरेको सुर्तिजन्य पदार्थ तथा धूम्रपान नियन्त्रण ऐन अहिलेसम्म प्रभावकारी रुपमा कार्यान्वयनमा आएको छैन। ऐन कार्यान्वयन गर्ने प्रश्नमा न त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न कुनै अनुगमन नसमिति नै बनाएको छ न त  धूम्रपान गर्नेहरुको आनी बानीमा सुधार आएको छ। त्यसोत, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ मा सार्वजनिक स्थानमा कसैले धूम्रपान गरेमा दण्ड जरीवानाको व्यवस्था छ। प्रचलीत ऐन अनुसार १८ वर्ष भन्दा मुनिका व्यक्तिले सुर्तीजन्य पदार्थ बेचविखन गर्न नपाउने  चुरोटका खिल्ली बिक्री वितरण गर्न नपाईने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइने, सुर्तीजन्य पदार्थ सम्वन्धी सचेतनामुलक  सूचना हरेक सार्वजनीक निकायको परिसरमा टास्नु पर्ने हुन्छ। तर, अहिलेसम्म न त कुनै सार्वजनिक स्थानमा जानकारीमुलक सन्देशहरु टाँसिएको छ न त सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरु माथि नै कारवाही भएको छ।

केही वर्ष  पहिले राजधानी शहरमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई दण्ड जरिवाना तिराइएको कुरा छापामा आएको भएता पनि उक्त महान कार्यले निरन्तरता पाउन नसक्नु सरकारकै कमी कमजोरी हो। सार्वजनिक ठाउँमा धूम्रपान गर्नु मर्यादा बिपरित, कानुन बिपरित कार्य हो। लज्जास्पद कुरा हो, एक प्रकारको जघन्य अपराध पनि हो।  
चुरोटमा गरिएको खर्च विदेश गइरहेको सन्दर्भमा तत्कालिन प्रधानमन्त्री श्री ३ पद्मशमशेरले चुरोटको प्रयोग बढ्दै गई देशको ठुलो रकम चुरोटमा खर्च हुन जाँदा चुरोटको सट्टा तमाखु सेवन गर्न देशबासीका नाममा सन्देश जारी गरेका थिए। 

पहिले म पनि दिनमा ५०–६० वटा चुरोट खान्थेँ, मैले चुरोट खान एकदम छोडिदिएको तीन वर्ष भयो त्यसपछि मैले बरोबर तमाखु खाने गरेको छु। चुरोट छोडेर तमाखु मात्र खाने गर्दा मलाई कुनै हानि भएको छैन। शरीरलाई पनि बहुतै हानि गर्ने चुरोट खराब अम्मल हो। यो अम्मललाई सकेसम्म एकैदिनमा छाड्न बेस, नसके अलिअलि घटाउँदै लगे बेस, जसरी हुन्छ सबैले यो लतलाइ छोड्न नै बेस छ। यो मेरो प्रार्थनालाई विचार गरेर तिमी सबैले पनि चुरोट छोड्ने चेष्टा गर्ने छौ भन्ने आशा गर्दछु। वि.सं २००४ आश्विन १० गते गोरखापत्रमा प्रकाशित देशवासीको नाममा श्री ३ पद्मपद्मशम्सेरको यो सन्देशले उतिबेलै चुरोट विदेशबाट झिकाउँदा ५०–६० लाख रुपैयाँ खर्च लाग्ने गरेको र देशलाई ठुलो आर्थिक धक्का पुग्न गएको देखिन्छ। यस्तो जनताको स्वास्थ्यमा प्रतिकुल असर गर्ने ज्यानमारा चुरोट तथा सुर्तीजन्य पदार्थमा बेचबिखन गर्न र सेवन गर्न गराउनमा रोक लगाउने प्रयाससम्म गरेको देखिँदैन। वास्तवमा श्री ३ पद्मशम्सेरले चुरोटको सट्टा तमाखु खाने गरेको भए पनि तमाखुलाई स्वास्थ्यबर्दक भने मानिँदैन। सुर्तीजन्य सबै खाले अम्मल स्वास्थ्यका लागि हानिकारक छन्।

कोही रहरले कोही देखासिकीले त कोही शोख वा धाकधक्कु प्रकट गर्न पनि धूम्रपानको लतमा फसेको पाइन्छ। सुर्तीमा हुने निकोटिनले यसको लतमा फसेपछि उम्कन गाह्रो पार्छ। निकोटिनयुक्त सर्तीको प्रयोग प्राचीनकादेखि नै हुँदै आएको हो। सुर्तीबाट किटनासक औषधि तथा यसबाट निस्कने रङ्गलाई रोगनका रूपमा प्रयोग गरिन्थ्यो। – स्वास्थ्यखबर