मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक


अछाम : बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । दोस्रो गाउँ सभाको प्रथम अधिवेशन मार्फत शुक्रवार वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले आर्थिक विकासका लागी कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रलाई आर्थिक वृद्धि र रोजगारको प्रमुख संवाहकका रुपमा विकास गर्ने नीति सहित कृषि क्षेत्रलाई आधुनिकीकरण गरि आर्थिक वृद्धिको आधारलाई मजवुद बनाउने लक्ष्य गाउँपालिकाले राखेको छ ।

जसका लागी कृषि उपकरण खरिदमा ७५ प्रतिशत अनुदान,बेमौसमी वर्षाका कारण हुने क्षेतीको राहत र बाँझो रहेको जमिन जग्गामा सामूहिक तथा सहकारी मार्फत खेती प्रणालीलाई अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै गाउँपालिका भित्र घरेलु तथा साना उद्योगको बिस्तार गर्ने र लक्षित बर्गलाई अनुदानको व्यवस्था गर्ने र आर्थिक अवस्था कमजोर भएका बेरोजगार युवायुवतीका लागी उद्यमशीलता विकास र सिप तालिमको अवसर प्रदान गर्ने नीति लिइएको छ ।

पर्यटन तर्फ छातासैन,बिल्थम,बर्दादेवी मन्दिर,बान्नीगढी मन्दिर,जाल्वादेवी मन्दिर ,नन्दामाता मन्दिर,ऐतिहासिक दर्ना पंचदेवल जस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार विकास निर्माणमा जोड दिने र सम्भावित पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार प्रसार कार्य अगाडी बढाइने समेत उल्लेख गरिएको छ।

गाउँ गाउँमा सहकारीमा माध्यमबाट सेवा प्रदान गर्न स्थानीय ऐन मार्फत हस्तान्तरण भइसकेका सहकारी संस्थाहरूको प्रवर्द्धनमा जोड दिने र महिला,गरिब अपाङ्ग,सीमान्तकृत भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन सहकारी पहुँच अभिबृद्धि गर्नेमा गाउँपालिकाले जोड दिएको छ भने साबिकमा स्थानीय विकास कोषबाट सञ्चालित गाउँ विकास कोषलाई सहकारी संस्थाको रुपमा प्रवर्द्धन गर्ने नीति अघि सारेको छ ।

रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरणका लागी भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने आयोजनाहरूलाई उच्च प्राथमिकता दिइने नीति गाउँपालिकाले लिएको छ । सामाजिक विकास तर्फ शिक्षा क्षेत्रलाई प्राथमिकता राख्दै प्रारम्भिक बाल शिक्षा तथा बिद्यालयको गुणस्तर अभिवृद्धि गर्ने तालिम प्रदान गर्ने र मापदण्ड बमोजिम बिद्यालयको नक्सांकनको आधारमा अनुमति र गाभ्ने र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दि मिलन गर्ने नीति अघि सारिएको छ ।

स्वास्थ्य सेवा तर्फ गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक घर भेट कार्यक्रम लागु गर्ने,गर्भवती महिलालाई गाउँपालिका उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गर्ने,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनको व्यवस्था गर्ने र सत प्रतिशत संस्थागत सुत्केरी गाउँपालिका घोषण गर्ने नीति समेत गाउँपालिकाले लिएको छ ।

संस्कृति प्रवर्द्धन ,लैगिंक समानता तथा सामाजिक समावेशीकरण तर्फ सामाजिक सुरक्षाबाट वञ्चित एकल जीवन ज्यून बाध्य भएका महिला,बालबालिका तथा साहाराविहिन लगायत असहाय व्यक्तिहरुका लागी छुट्टै कोषको व्यवस्था गर्ने,एक्काइसौँ शताब्दीको सन्देश,छुवाछुत माथि पूर्ण बन्देज भन्ने नाराका साथ दलित सशक्तीकरण अभियान सञ्चालन गर्ने समेत गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधि तर्फ गाउँपालिकाका सम्पूर्ण कार्यालयहरूमा हस्ताक्षरित हाजिरी प्रणालीलाई पूर्ण रुपमा विस्थापित गरेर ई हाजिरी प्रणालीको विकास गरि प्रशासनिक चुस्तता कायम गर्ने समेत उल्लेख गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत पश्चात गाउँपालिका अध्यक्ष साउँदले नीति तथा कार्यक्रमलाई सार्थक पार्न सबैको सहकार्य अपरिहार्य हुनेमा जोड दिएका छन् ।