प्रदेश समाचार

सुदूरपश्चिमका सीमामा कोरोना संक्रमण बढ्ने जोखिम

कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित हुने बढ्न थालेका छन्। गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पीसीआर र एन्टिजेन पद्धतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पीसीआर पद्धतिबाट १८ र एन्टिजेन पद्धतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो। पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको संक्रमण देखिएको छ। गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ। छिमेकी भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताए। सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो। भारतबाट फर्किनेमा यो रोगको संक्रमण देखिन थालेको बताइएको छ। 
 
गौरीफन्टा सीमा नाकामा खटिएका डम्मर खातीले  आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताए। उनले भने,‘‘भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमुनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उनहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन।’’ मङ्गलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५१६ जना स्वदेश भित्रिएका थिए।

कोरोनाको समस्या देखिएता हालसम्म प्रदेशमा पीसीआर पद्धतिबाट दुई लाख २१ हजार ६३५ र एन्टिजेन पद्धतिबाट तीन लाख २५ हजार १५७ को नमूना परीक्षण भइसकेको छ। यीमध्ये पीसीआर तर्फ ४२ हजार १७८ र एन्टिजेन तर्फ १७ हजार ४९२ जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापनपछि घर गएका छन्। अहिलेसम्म कोरोनाबाट संक्रमित ६३३ व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसविरुद्धको खोप लगाउने दर बढ्दै गएको छ।

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले  पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ। बालबालिकालाई खोप दिने तयारी भइरहेको छ। कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझैं अभाव रहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न