शिक्षा / स्वास्थ्य

के हो हैजा, रोकथामका उपायहरु के-के छन्?

रञ्जना थापा

हैजा (कोलेरा) एक ग्राम नेगेटिभ रड आकारको भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले गराउने झाडापखालायुक्त रोग हो। यसलाई हामीले सामन्य भाषामा हैजा भनेर बुझ्ने गरिन्छ।

हैजा लागेमा के हुन्छ
सामन्यतया भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेको १ देखि २ दिन भित्रमा हैजाको लक्षणहरु देखिन थाल्दछ। जसमा लगातार पातलो चौलानी पानी जस्तो दिसायुक्त झाडापखाला लाग्ने, एक्कासि वान्ता हुने, तिर्खा लाग्ने, पेट तथा खुट्टाका मांसपेशी बाउडिने जस्ता लक्षणहरु देखिने गर्छन। र, सामन्यतया पेट दुख्ने र ज्वरो आउने भने हुँदैन। 

भिब्रियो कोलेराले के गर्छ?
जब कुनै व्यक्तिको शरीरमा दुषित पानी तथा खानाको माध्यमबाट कोलेराको जिवाणु पेटमा पुग्दछ तब त्यस जिवाणुले हाम्रो आन्द्रामा भएको म्युकस लेएरलाई छेडेर इपिथेलिएल नामक कोषिका सम्म पुग्दछ। यस प्रक्रियामा ब्याक्टेरियाले उत्पादन गरेका इन्जाइमहरु म्युसिनेज, हेमएग्लुटिनिन, प्रोटिएज र अन्य प्रोटियोलाइटिक इन्जाइम र ब्याक्टेरियल मोटिलिटीले विशेष मद्धत गर्दछ। यसरी ब्याक्टेरियाहरु आन्द्राको कोषिकासम्म पुगेर टाइप ४ फिम्ब्रिको सहfयताले त्यहाँ टाँसिएर बस्दछन्। यसरी आन्द्रामा टाँसिएर बसेका  ब्याक्टेरियाले इन्टेरोटक्सिन नामक केमिकल बनाउदछन्। व्याक्टेरियाले बनाएको इन्टेरोटक्सिन जीएमवान गंल्योसाइड नामक रिसेप्टरको सहायताले  कोषिका भित्र छिर्दछन् र त्यहाँ भएको सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) र पानीलाई कोषिका बाहिर आन्द्रामा फालिदिन्छन्। जुन चौलानी पानी जस्तो पातलो दिसाको रुपमा शरीर बाहिर जान्छ र शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमि हुन्छ। जसलाई हामी डिहाइड्रेसन भन्छौँ।

डिहाइड्रेसन भएमा के हुन्छ?
डिहाइड्रेसन भएमा शरीरमा पानी र इलेक्ट्रोलाइट्सको मात्रा घट्ने, आँखा चिल्लो देखिने, अनुहार फुस्रो तथा फुस्स परेको देखिने, रक्तचाप घट्ने , नाडीमा धड्कन मधुरो हुने, तापक्रम घट्ने , श्वासप्रश्वासको गति बढ्ने, कमजोरी महसुस हुने, रिङ्गटा लाग्ने र बिरामी अचेत समेत हुने गर्दछ। यदि समयमा नै उपचार तथा रोकथामका उपाय नपनाएमा बिरामीको मृत्यु समेत हुन सक्दछ। जसले गर्दा कोलेराको छिटोभन्दा छिटो ल्याब डाइग्नोसिस गरेर उपचार तथा रोकथामका उपायहरु अपनाउनु पर्छ।

कोलेरा ल्याब परीक्षण के हो?
हैजा लागेको हो वा होइन भन्नका लागि र उपचार तथा रोकथामपछि रोग निको भए नभएको पता लगाउनको लागि लक्षण देखिएका बिरामीको दिसा तथा रेक्टल स्वाब जाँच गर्ने गरिन्छ। जसमा माइक्रोबायोलोजी ल्याब अन्तरगत दिसा कल्चर गरेर कोलेराको जिवाणु भए/नभएको पत्ता लगाइन्छ र भिब्रियो कोलेराको लागि उचित एन्टिबायोटिकको पनि जाँच गरिन्छ। साथै बिरामीको दिसाबाट कोलेराको स्टुल एन्टिजेन टेस्ट पनि गर्न सकिन्छ।

कोलेरा रोकथामका उपायहरु के-के छन्?
यसका लागि हामिले वातावरण तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ। फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, दिसापिसाब चर्पीमा मात्र गर्ने, चर्पी गरेपछि र खाना खानु अघि साबुनपानीले राम्ररी हात धुने, सागसब्जी तथा फलफूल राम्ररी पखालेर मात्र खाने, पानी उमालेर पिउने आदि गर्नाले हैजा (कोलेरा)को संक्रमण हुनबाट बच्न सकिन्छ।

उपचार कसरी गर्ने?
कोलेरा लागेका बिरामीमा मुख्यगरी पानी र इलेक्ट्रोलाइट्सको कमी हुने हुनाले तरल पदार्थ पुनःस्थापनामा विशेष ध्यान दिनुपर्छ। जसका लागि सामन्य अवस्थामा जीवनजल पानी खुवाउने र आवश्यक परेमा सलाइन पानी दिनुपर्छ। साथै ल्याब रिपोर्टको आधारमा र चिकित्सकको सल्लाह अनुसार आवश्यक एन्टिबायोटिकहरु पनि दिन साकिन्छ।

-(थापा महाराजगञ्ज हेल्थ क्याम्पसमा बिएस्सी एमएलटी चौथो वर्षमा अध्ययनरत छिन्।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नियमित कफी सेवनले गम्भीर रोगबाट जोगाउँछ
मोबाइल चार्जमा राखेर कुरा गरिरहनु भएको त छैन ?
आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने
चौरपाटीका ३६ विद्यालयमा इन्टरनेट जडान हुँदै