दराजले ठगी गरेको भन्दै पत्रकार बुढाथोकीले दिए उजुरी
काठमाडौं । वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले दराज अनलाइनविरुद्ध उजुरी दिएका छन् ।
आफू ठगिएको भन्दै उनले वाणिज्य विभागमा उजुरी दिएका हुन् । “प्रिय मित्रहरु, मैले दराज इकमर्स प्लेटफर्म दराज नेपालबाट मिक्सर ग्राइन्डर सेट अर्डर गरेकोमा उक्त उत्पादन मेरो मेसिन अनुकूल नभएका कारण १७ मे २०२२ कै दिन दराजले पठाएको प्याकको एउटा कागजको टुक्रासमेत नरादी फिर्ता गरेकोमा फिर्ता गरेको र पैसा फिर्ता नगरेपछि मैले २५ मे २०२२ का दिन इमेल गर्दा दराजका तर्फबाट इमेल पठाइ १ जुन २०२२ सम्म पैसा फिर्ता गर्ने भनेकोमा आजसम्म पैसा फिर्ता नगरी ठगी गरिएको छ । जसमा कम्पनीको नियमानुसार ७२ घण्टाभित्र रकम फिर्ता गर्ने भन्ने नियमसमेत उल्लंघन गरि मलाई ठगी गरेको हुनाले त्यस दराज नेपालमाथि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १४, १८ र ३६ बमोजिम आवश्यक कारवाही गरिपाउँ भनी मैले वाणिज्य विभागमा निवेदन दिएको छु । एकजना पत्रकारलाई समेत ठगिन्छ भने सर्वसाधारणको अवस्था के होला ?,” बुढाथोकीले भनेका छन् ।
उनले दराज नेपालबाट विभिन्न प्रतिक्रिया आए पनि प्रसा फिर्ता गर्न आनाकानी गरेकाले उजुरी गर्न वाध्य भएको बताए ।
“मिक्सर ग्राइन्डरको टाउकोमात्रै पठाएको छ मेरोमा मिलेन फिर्ता गर्छु भनेर भनेँ । मलाई कामै नलाग्ने भएपछि फिर्ता गर्नै पर्यो,” उनले भने, “तर पैसा फिर्ता गर्न मिल्दैन भनेर मलाई जवाफ दिए । फिर्ता गर्न नमिल्ने भनेपछि केही दिन पर्खिएँ अनि इमेल गरेँ । समय राखेर पैसा दिन भनेँ तर पनि पैसा पाइन, अनि उजुरी दिएँ,” बुढाथोकीले भने ।
उपभोक्ता ऐनअनुसार वस्तु फिर्ता गरेमा ७२ घण्टाभित्र पैसा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।
बुढाथोकीले दिएको उजुरीविरुद्ध दराजले ठगी गरेको प्रमाणित भएमा एक लाखसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।