मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाहको निर्णय लिनुअघि के के कुरामा ध्यान दिने ? 

विवाहको निर्णय लिनुअघि के के कुरामा ध्यान दिने ? 


काठमाडौं । नेपाली समाजमा अझै पनि विना सोचविचार हतारमा विवाह गर्ने र कम उमेरमा विवाह गर्ने प्रचलन छ । यसो गदौ दाम्पत्य जीवनमा कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ ।

जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपूर्ण निर्णय लिन किन हामी हतार गर्छौं ? कम उमेरमा विवाह गर्दा यसको अनुभूति नै कमजोर हुन्छ । जसले जीवनलाई नै तीतो अनुभव गराउँछ ।

विवाह भनेको आपसमा माया गर्ने दुई व्यक्तिको मिलन मात्र होइन, यसले दुई जना मानिसलाई यस्तो बन्धनमा बाँध्छ जसको पालनपोषण, व्यक्तित्व, भावना, शिक्षा र कहिलेकाहीं भाषा पनि फरक हुन्छ । विवाहको माध्यमबाट दुई फरक संस्कृतिको संयोजन पनि हुन्छ ।

वैवाहिक जीवन सुरु गर्नुअघि एकअर्काको रुचि, मन नपर्ने कुरा, जीवनको लक्ष्य, परिवारका बारेमा जान्न बढी समय दिनु बुद्धिमानी हुन्छ । धैर्यका साथ आफ्नो भावी पार्टनरलाई राम्ररी चिन्नु राम्रो हुन्छ । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर टेड हस्टनका अनुसार विवाह बन्धनमा बाँधिनुअघि आफ्नो पार्टनरको कमजोरी र राम्रो कुरालाई राम्रोसँग मनन गर्नुपर्छ ।

स्पष्ट भएर मात्रै विवाहको निर्णय लिनुहोस्

विवाहको प्रस्ताव स्वीकार्नुअघि तपाईं किन यो सम्बन्ध स्वीकार्न चाहनुहुन्छ ? यसबारे स्पष्ट हुनुहोस् । परिवारका सदस्यको दबाब, उमेर बित्दै गएकाले वा साथीभाइले बिहे गरेकाले ? के कारणले तपाईं पार्टनरसँग विवाह गर्दै हुनुहुन्छ ? त्यसबारे स्पष्ट हुनुहोस् ।

आर्थिक स्थितिको परीक्षण गर्नुहोस्

विवाह गर्नुअघि आफ्नो र आफ्नो पार्टनरको आर्थिक स्थितिको बारेमा पनि परीक्षण गर्नुहोस् । यदि तपाईंहरु दुवै जनाले घर खर्च बहन गर्न नसक्ने भएमा विवाहभन्दा पहिले त्यसको स्रोत खोजी गर्नुपर्छ ।

एकअर्काको स्वभावबारे जानकारी राख्नुहोस्

प्रायः युवतीहरु आफ्नो सुनौलो सपना पूरा गर्न आफ्नो प्रेमी वा पार्टनरको स्वभाव र उसको प्रकृतिको बारेमा जाँच गर्न उनीहरुसँग बढी नजिकिन्छन् । धेरैले बिहेपछि श्रीमानको व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने सोच्छन् । स्वभाव परिवर्तन नहुँदा कतिपयले उनीहरुको सम्बन्ध अझै बलियो नभएको ठान्छन् ।

बिहेपछि कसैले कसैको स्वभाव बदल्न सक्दैन भन्ने कुरा पक्का छ । जस्तो छ त्यसलाई स्वीकार गर्नैपर्छ । यदि तपाईंको प्रेमी वा पार्टनर रिसाएको छ भने विवाहपछि तपाईं अक्सर उनको रिसको निशाना बन्नैपर्छ, यो पति होस् वा पत्नी दुवैमा लागु हुन्छ । त्यसैले आफ्नो क्रोध नियन्त्रण नगर्ने व्यक्तिसँग विवाह गर्नुअघि सोचविचार गर्नुहोस् ।

एकअर्काको मायाको मूल्यांकन गर्नुहोस् 

तपाईंहरु एकअर्कालाई भेट्नुहुन्छ वा कुरा गर्नुहुन्छ त्यतिबेला जाँच्न नभुल्नुहोस् कि तपाईंको भावी श्रीमान् वा श्रीमतीको प्रेम तपाईंको लागि साँचो छ कि छैन ? के उसले तपाईंको भावनाको कदर गर्छ ? उसले तपाईंको खुसीको लागि कदम चाल्छ ? के उसले तपाईंलाई आफ्नो मनको कुरा गर्छ ? यो कुरालाई राम्रोसँग मनन् गर्नुपर्छ । एकअर्कामा पर्याप्त माया छैन भने विवाहको लागि अघि बढ्नु घातक हुनसक्छ । ऐजेन्सी