मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिस्नु चिलाएर काठमाडौँमा नयाँ वर्ष र विसु पर्व मनाइयाे

सिस्नु चिलाएर काठमाडौँमा नयाँ वर्ष र विसु पर्व मनाइयाे


काठमाडाैँ । नयाँ वर्ष र विसु पर्वको अवसरमा काठमाडौँमा सिस्नु चिलाउने कार्यक्रम सम्पन्न भएकाे छ । नौखुवा प्रतिष्ठान नेपाल र नब्सको आयोजनामा ‘विसु त्यारउनि सैनु चिलाउन्या- सुखाउनी दुखाउनी हर्न्या रे चाहा खान्या कार्यक्रम’ चाबहिलस्थित नब्स स्कुलमा सम्पन्न भएको हाे ।

नयाँ वर्षको शुभारम्भ हुने दिनका रूपमा वैशाख १ गतेकाे दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा ‘विसु पर्व’ मनाइने गरिन्छ । विसुका दिन सिस्नु लगाउने परम्परा रहेकाे छ । विसु पर्वकै अवसरमा नौखुवा प्रतिष्ठानले आफ्नाे भाषा, संस्कृति र परम्पराको विकास तथा संरक्षणमा युवा पुस्तालाइ जागरूक बनाउने उद्देश्यका साथ वैशाख १ गते बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष्य कमल संघर्षको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा भाषा, संस्कृतिप्रेमी पूर्ण रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले विसु पर्व र भाषाको विकासक्रमका बारेका आफ्नो धारणा राख्नुभएको थियाे । कार्यक्रममा साहित्यकार महेन्द्र उपाध्यायले अछामी भाषाप्रति गहिरो प्रेम व्यक्त गर्दै यसको मौलिक र ऐतिहासिक पक्षको खोजी गर्न ढिलो नगर्न सुझाव दिनुभयाे ।

यस्तै कार्यक्रममा कवि एवं साहित्यकारहरू एमपी पाण्डे, कमलराज केशी, विवेक ओझा, राजेन्द्र तारकिणी, हिमाल उदासी, ताराप्रसाद पाण्डे, एकेन्द्र खड्का अछामी, हेमन्त शिशिर, धर्मराज न्यौपाने, मिठ्ठु रावल, जनक उपाध्याय, भुवन तिमल्सैना, कपिल सिजापती, विवेक खड्का लगायतकाे उपस्थिति थियाे । साथै गायक गोपाल जङ्ग थापा, एसबी साउँद, सञ्जन धामी, हास्यकलाकार हेमराज अधिकारी खण्टेखलास पनि हुनुहुन्थ्याे । उहाँहरूले अछामी भाषा-संस्कृति तथा सुदूरपश्चिमकाे भाषा-संस्कृतिमाथि चासो र चिन्तासहित आफ्ना रचना, कलाकाे प्रस्तुति दिनुभयाे ।

नौखुवा प्रतिष्ठान नेपालले अछामी भाषा, कला, साहित्य, संस्कृति र पर्यटनको क्षेत्रमा खोज-अनुसन्धान, संरक्षण, विकास र विस्तारका निम्ति काम गर्ने संस्थाका अध्यक्ष्य कमल संघर्षले बताउनुभयाे । संस्थाले अनुसन्धानमुलक लेख-रचनाको अर्धवार्षिक पत्रिका ‘नौखुवा’को प्रकाशनको अन्तिम तयारी समेत गरेको छ ।

सिस्नु लगाएर (चिलाएर) सुरु भएको कार्यक्रमको सञ्चालन शिवराज खनाल कल्पितले गर्नुभएकाे थियाे । अौपचारिक कार्यक्रमपश्चात् डेउडा खेल खेलेर रमाइलाे गरिएकाे थियाे ।