मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे ६ महिनाको आयात धान्ने डलर छ, आत्तिहाल्नु पर्दैन : राष्ट्र बैंक

साढे ६ महिनाको आयात धान्ने डलर छ, आत्तिहाल्नु पर्दैन : राष्ट्र बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन्।

प्रवक्ता भट्टले शोधनान्तर घाटा बढ्दो रहेको र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकाले केन्द्रीय बैैंकले यस्तो कदम चालेको स्पष्ट पारे।

मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिन राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही वस्तुको आयातमा रोक लगाउनु परेको प्रवक्ता भट्टको भनाइ थियो। उनले अहिले सबैभन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सतर्कता अपनाउन खोजेको बताए। राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउनको लागि एउटा टुल्स प्रयोग गरिएको बताए। उनले बाहिर हल्ला आएजस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको दाबी गरे।

राष्ट्र बैंकसँग करिब साढे ६ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए। उनले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको दाबी गरे। कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको र आयात वृद्धि भएपछि विदेशी मुद्रा सञ्चिति र सोधानान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाइ छ।

प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए। उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे। श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ। नेपालमा जीडीपीको ४० प्रतिशतमात्रै विदेशी ऋण भएकाले श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने उनले बताए। श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा संकट भोग्नुपरेको भट्टको तर्क छ। 

प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दै गएकाले रेमिट्यान्समा सुधार आउन थालेको बताए। रेमिट्यान्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिट्यान्समा तत्कालको लागि ठूलो चुनौती देखिएको उनको भनाइ थियो। अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिन सरकारले दीर्घकालको लागि सोच्नुपर्ने अवस्था आएको उनले बताए।