मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने

सुदूर आज

काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आउँदो फागुन १० गतेभित्र आवेदन दिनसक्ने छन् ।

कामदार भिसामा विदेश गइ कम्तीमा एक वर्ष काम गरी फर्किएका, वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ । पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गएको आर्थिक वर्ष करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्नेछ ।

आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने छ । सातै प्रदेशबाट कम्तीमा पनि एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ ।

आवेदकमध्ये एक जनाले  एक लाख ५० हजार रुपैयाँसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागेको मन्त्रालयले जनाएको छ ।