मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० देशमा राजदूत नियुक्त हुँदै, यी हुन् चर्चामा रहेका अनुहार ।

२० देशमा राजदूत नियुक्त हुँदै, यी हुन् चर्चामा रहेका अनुहार ।


फोटो : राजदूतको चर्चामा रहेका मिलनराज तुलाधर, लीलामणि पौड्याल, बन्दना राणा, युवराज संग्रौला र रुपक सापकोटा र डा. जीतु उपाध्याय

काठमाण्डौँ । राजदूत नियुक्तिको तयारीबीच सत्तारुढ दलका विदेश विभागका सदस्य, कूटनीतिक मामिला जानकार, बुद्धिजीवी, सांसद र पूर्वप्रशासक राजदूत बन्ने दौडमा देखिएका छन् । सरकारले चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत नियुक्तिको सिफारिसका लागि गृहकार्य अघि बढाएको छ ।

सामान्यतया: प्रस्तावित राजदूतको सूची तयार पार्ने र मन्त्रिपरिषद्मा पेस गर्ने काम परराष्ट्र मन्त्रालयको हो । तर चरम दलीयकरणका कारण राजदूत छनौटमा सत्ताधारी दलको तजबिज चल्ने गरेको छ । परराष्ट्र सेवाका तर्फबाट सिफारिस हुनेको सूची चाहिँ परराष्ट्रमन्त्री र परराष्ट्र सचिवले तयार गर्ने गरेका छन्। अहिले राजनीतिक कोटाबाट १४ जना र परराष्ट्र सेवाबाट ६ जनालाई राजदूत नियुक्त गर्न लागिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच राजदूत नियुक्तिमा भागबण्डा हुनेछ। जानकार स्रोतका अनुसार चीन, अस्ट्रेलिया, डेनमार्क र म्यानमारमा माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस गर्ने तयारी छ। माओवादी केन्द्रबाट पूर्वमुख्यसचिव तथा पूर्वराजदूत लीलामणि पौड्याल, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उपकार्यकारी निर्देशक रुपक सापकोटा र मानवअधिकारवादी विष्णुपुकार श्रेष्ठ लगायतको नाम प्रस्तावित राजदूतका रुपमा चर्चामा छ।

विगतमा माओवादी केन्द्रबाटै राजदूत बनेका लक्की शेर्पा र महेशराज दाहाल समेत राजदूत बन्ने दौडमा छन्। एकीकृत समाजवादीका तर्फबाट जापान, श्रीलंकासहित तीन देशका लागि राजदूत सिफारिस हुने सम्भावना छ । यो पार्टीबाट अहिले मिलनराज तुलाधर र डा युवराज संग्रौला लगायतको नाम प्रस्तावित राजदूतको रुपमा चर्चामा छ।

चीनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीमध्ये कसले राजदूत सिफारिस गर्ने भन्नेमा विवाद देखिए पनि अहिले माओवादी केन्द्रका तर्फबाट राजदूत पठाउने सहमति भएको माओवादी केन्द्रका विदेश बिभागका एक सदस्यले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले चीनका लागि उमेर र कार्यानुभवले खारिएका यक्ति राजदूत सिफारिस गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सुझाएको स्रोत बताउँछ ।

उता कांग्रेसको कोटामा राजदूत बन्न पूर्वप्रशासक, सांसददेखि पूर्वराजदूत समेत दौडधूपमा छन्।सुदूर पश्चिमको दुर्गम अछाम जिल्ला घर भएका युवा डाक्टर जितु उपाध्याय, प्रभु बुढाथोकी र अरुणकुमार सुवेदी लगायतको नाम कांग्रेसबाट चर्चामा छ । यद्यपि, कांग्रेसकै कोटामा राजदूत बनिसकेका चोपलाल भुसाल र रमेश कोइराला लगायत समेत राजदूत बन्ने दौडमा छन्।

जनता समाजवादी पार्टीको कोटामा दक्षिण कोरिया, साउदी अरब र ओमानका लागि राजदूत सिफारिस हुने स्रोतको भनाइ छ। जसपाबाट प्रधुम्नविक्रम शाह लगायत राजदूत हुने दौडमा छन्। परराष्ट्रका पूर्व सहसचिव शाह ब्राजिलका लागि पूर्व नेपाली राजदूत हुन्। महिला अधिकारवादी वन्दना राणाको नाम पनि राजदूतको चर्चामा छ।

कार्यानुभव र क्षमताका हिसाबले महिला कोटामा उनी उपयुक्त पात्र रहेको माओवादी केन्द्रका एक शीर्ष नेताको बुझाइ छ। त्यसैगरी गैरसरकारी संस्थामा आबद्ध रहेकी सृष्टि राणाको नाम समेत चर्चामा आएको छ।