मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० दिनसम्म चल्ने अछामको एकमात्र केदारनाथ मेलाको नवौँ दिन आज रात्री मेला सहित धामी खला नाच्ने

१० दिनसम्म चल्ने अछामको एकमात्र केदारनाथ मेलाको नवौँ दिन आज रात्री मेला सहित धामी खला नाच्ने


याे बर्ष मेला उत्साहका साथ मनाईने स्थानीयकाे भनाइ

टेकराज भण्डारी, अछाम

लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाको एकमात्र केदारनाथ मेलाको नवौँ तथा मुख्य दिन आज धामी खला नाच्ने भएका छन् । कार्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशिसम्म केदारनाथ देवताको पुजा आजा गरी मनाईने यस मेलालाई “जामाको जात्रा” नामले पनि पुकारने गरिन्छ ।

अछाम जिल्ला कमलबजार नगरपालिका वडा नम्बर ७ जामा गाउँमा लाग्ने यस मेलाको आज मुख्य दिनसमेत हो । बुधबार राती देवताको धेवर (पुजाआजा)सहित बिहिबार मंसिर २ गते मन्दिरमा होम हुने भएको छ । मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर ( पुजाआजा) लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झंकरे ढोलीले बताउनुभयो । डोटेली सँस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलालीबाट समेत दर्शनार्थीहरुको घुईचो लाग्ने पुजारी खडकराज उपाध्यायले जानकारी दिए ।

याे बर्ष केदारनाथ मन्दिरमा ५७ किलाेग्रामकाे घण्ट (घाट) समेत चढाईने भएको छ । ८० हजार रुपैँया पर्ने घण्ट केदारनाथ मन्दिरमा चढाईने भएको हाे । स्थानीय प्रेम खतिवडा, बिष्णु खतिवडा, तारा खतिवडा, पुर खतिवडा, लाेकराज खतिवडा, जनक खतिवडा लगायतले घण्ट चढाएका हुन् । जिल्लाको तल्लो भैसोले क्षेत्रको अन्तिम तथा महत्वपुर्ण मेला भएकोले पनि यसको महत्व बढेका हो ।

केदारनाथ देवताको पुजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने गरेको मुल धामी ईन्द्रे कामीले बताए । धार्मिक तथा साँस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचार प्रसार गरी पर्यटकहरु आर्कषण गर्न सके यस क्षेत्रको विकासलाई गति दिन सबैले ध्यान दिनु पर्ने स्थानीय अगुवा खडकराज जैसीको भनाई छ ।

रात्री मेलामा डेउडा, न्याउले लगायतका सुदूरपश्चिमका लाेक संस्कृति समेत देखाईने गरिन्छ । साथै मेलामा स्थानीय उत्पादन मुखफली, अम्बा, सुन्तला लगायतका कृषि उपज बेचबिखन समेत गरिन्छ । मेलाको अर्को पक्ष भनेको दलित समुदायका धामी र बाहुन समुदायका पुजारी रहेका छन् ।

मन्दिरमा कुनै जातिय भेदभाव बिना पुजाआजा हुने गर्दछ । साथै देवताको शिलामा दुध चढाईने गरिन्छ । लामो समयसम्म मेला लाग्ने भएपनि कुनै पनि पशुबलि बिना देवताको पुजाआज गर्ने गरिन्छ । आजकै दिन डोटीको खातिवडा तथा कैलालीको कट्टीपुरमा पनि मेला लाग्ने गर्दछ । दशैँ तिहारमा घर आउन नपाएकाहरु यस मेलालाई लक्षित गरि घर फर्किने गर्दछन् ।

यश क्षेत्रका बासिन्दा दशैँ तिहारभन्दा महत्त्वका साथ याे मेलालाई लिन गर्दछन् । यस क्षेत्रबाट बसाई सरी गएकाहरुले कैलालीको बर्दगाेरिया १ कट्टीपुरमा मेलाको आयोजना गर्ने गरेका स्थानीय भीम खतिवडाले जानकारी दिए । मेला शान्तिपूर्ण वातावरणमा भाैतिक दूरी कायम गरि मनाईने बताईएकाे छ ।