मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज २६ गते नेपाली चलचित्र रिलिज हुने, निर्मातालाई ५५ प्रतिशत सेयर

असोज २६ गते नेपाली चलचित्र रिलिज हुने, निर्मातालाई ५५ प्रतिशत सेयर


काठमाडौं । असोज २६ गतेबाट नेपाली चलचित्र रिलिज हुने भएको छ । आज बसेको चलचित्रकर्मीहरुको बैठकले असोज २६ गतेबाट चलचित्र रिलिज गर्ने निर्णय गरेको हो ।
 
असोज २६ गते शोभित बस्नेतको ‘डाँडाको बरपीपल’ रिलिज हुने भएको छ । अन्य नेपाली चलचित्र भने दसैंमा रिलिज नहुने भएका छन् । 

सिनेमा रिलिजका लागि वितरक, प्रदर्शक र निर्माताबीच समन्वयका लागि गठन भएको चलचित्रकर्मीहरुको ११ सदस्यीय कमिटीले असोज २५ गते अंग्रेजी सिनेमा फाष्ट एन्ड फ्युरियस सिरिज रिलिज गर्ने निर्णय गरेको छ । 
 
उक्त कमिटीले तीन महिनाको प्रस्ताव अगाडि सारेको छ । जसअन्तरगत पहिलो हप्ता रिलिज हुने नेपाली सिनेमाका निर्मातालाई ५५ प्रतिशत र प्रदर्शकलाई ४५ प्रतिशत सेयर दिने निर्णय गरेको छ । दोस्रो हप्ताबाट चलचित्र चलुन्जेल ५० प्रतिशत सेयर निर्माताले पाउने वितरक करण श्रेष्ठले जानकारी दिए । 

“चलचित्र क्षेत्र चलायमान बनाउन हामीले यो निर्णय गरेका छौं । यसअघि सामान्य अवस्थामा पहिलो हप्ता ५०/५० प्रतिशत सेयर हुन्थ्यो निर्माता र प्रदर्शकलाई । दोस्रो हप्ताबाट प्रदर्शकलाई ५५ र निर्मातालाई ४५ प्रतिशत हुन्थ्यो,” करण भन्छन्, “पुस २१ गतेसम्मका लागि हामीले यो निर्णय गरेका हौं ।” बीचमा प्रदर्शन भइरहेका तर लकडाउनका कारण प्रदर्शन रोकिएका चलचित्र पनि रिलिज हुने उनको भनाइ छ । 

मिनिमम ग्यारेन्टी माग गर्दै ठूला ब्यानरका चलचित्र भने पछि हटेका छन् । काठमाडौं उपत्यकामा ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न प्रशासनले अनुमति दिइसकेको छ । तर, काठमाडौं बाहिरका धेरै ठाउँमा हल नखुलेका र ५० प्रतिशत अकुपेन्सीम सिनेमा रिलिज गर्न नसकिने भन्दै निर्माताहरुले मिनिमम ग्यारेन्टी माग गर्दै आएका छन् । 

तर, महंगो मिनिमम ग्यारेन्टी उपलब्ध गराउन नसकिने निर्णयमा हल सञ्चालक पुगेका छन् ।