मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रसंघ महासभामा सम्बोधन गर्न दिन तालिबानको आग्रह

राष्ट्रसंघ महासभामा सम्बोधन गर्न दिन तालिबानको आग्रह


बीबीसी । तालिबानले यो हप्ता न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनको लागि आग्रह गरेको छ । 

तालिबानका विदेशमन्त्रीले त्यस्तो अनुरोध गर्दै संयुक्त राष्ट्रसंघमा पत्र पठाएका थिए । यस बारेमा संयुक्त राष्ट्रसंघको एक समितिले टुङ्गो लगाउनेछ । तालिबानले दोहा स्थित प्रवक्ता सुहैल शाहीनलाई संयुक्त राष्ट्रसंघको लागि अफगानिस्तानको राजदूतमा नियुक्त समेत गरेको छ । 

गएको महिना अफगानिस्तानको सत्ता कब्जा गरेको सो समूहले अघिल्लो सरकारका पालामा राष्ट्रसंघ पठाइएका राजदूतले आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ । तालिबानको अनुरोधको बारेमा अमेरिका, चीन र रुससहित नौ देशहरू सदस्य रहेको क्रेडिन्सिअल्स कमिटीले विचार गरिरहेको संयक्त राष्ट्रसंघका प्रवक्ताले जनाएका छन् । 

तर, उनीहरू आउँदो सोमबार महासभा अन्त्य हुनुअघि जुट्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ । राष्ट्रसंघको नियमअनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गलाम इसाकजाई नै कायम रहनेछन् ।

उनले उच्चस्तरीय छलफलको अन्तिम दिन २७ सेप्टेम्बरमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ । जबकी तालिबानले उनको मिसनले अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ । 

तालिबानले थुप्रै देशहरूले पूर्व राष्ट्रपति अश्रफ गनीलाई नेताको मान्न छोडेको पनि बताएको छ । १५ अगस्टमा तालिबान लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएपछि गनी अचानक भागेका थिए । त्यसबेलादेखि उनले युएइमा शरण लिइरहेका छन् । 

यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबानले अफगानिस्तान नियन्त्रणमा लिँदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसंघमा राजदूतका रूपमा रहेका थिए । 

त्यतिबेला क्रेडिन्सिअल्स कमिटीले सो पदका लागि गरिएको नयाँ दाबीलाई नहेर्ने निर्णय गरेको थियो । मंगलबार राष्ट्रसंघीय बैठक सुरू भएपछि कतारले विश्व समुदायलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन भनेको छ । 

अफगानिस्तानको मुख्य मध्यस्थकर्ता बनेको कतारले २०२० मा तालिबान र अमेरिकाबीचको वार्ताको आयोजना गरेको थियो । बीबीसीबाट