अन्तरवार्ता / विचार

म तिमीसँग बस्दिनँ, मलाई डिभोर्स देऊ!

सरिता आचार्य

ऊ आई। मेरो हात तानेर च्याप्प समाई। मेरो अनुहार रातो भयो। कान तातेर पूरै ज्वालामुखी निस्केलाजस्तो भयो। शरीरमा पूरै भूकम्प आयो। शरीर लगलग काप्न थाल्यो। विस्तारै कसले मेरो हात समात्यो भनेर हेर्न खोजें। तर मेरो टाउको उठ्दै उठेन।

यतिकैमा टिफिन टाइम सकेको घण्टी बज्यो। म कक्षा कोठातिर लागें। कक्षा सुरू भयो। मलाई शिक्षकले के पढाउँदै हुनुहुन्थ्यो भन्ने केही थाहा भएन।

यसरी नै चार वटा कक्षा सकिएछ। म केमा डुबेँ, मलाई केही थाहा भएन। म कक्षा कोठाबाट बाहिर निस्कें। घरतिरको बाटो तताउन लागें।

त्यही क्रममा ऊ फेरि मेरो सामुन्ने उभिई।

‘यसरी कहाँ एक्लै हिँड्न पाइन्छ। म पनि आजदेखि तिमीसँगै हिँड्ने हो’, भन्दै अगाडि बढी।

न त मैले उसलाई यसअघि देखेको थिएँ न त जानेको नै। यो एक्कासि के भइरहेको छ भन्ने लाग्यो। एकचोटि आफ्नो हातमा आफैंलाई चिमोटेँ र सपना हो कि भनी हेरेँ। सपना त होइन रहेछ। यदि सपना होइन भने किन ऊ मेरो पछि लागिराखेकी छे। ऊ यसअघि कहाँ थिई ? भन्ने अनेक प्रश्नहरू उठे मन भित्रभित्रै।

त्यसदिन म केही बोलिनँ।

‘मेरो घर तिम्रो घरबाट दश मिनेट पर हो। मैले तिम्रो दाइ, दिदी, बुवा, आमा सबैलाई चिनेको छु। घर पनि देखेको छु। मैले तिमीलाई धेरै अगाडिदेखि नियालिरहेको थिएँ।’ ऊ मकै भुट्दा मकै पड्के जस्तैगरी भटट्ट्ट गरेजस्तो गरी बाटोभरि बोलिरही।

म केबल चुप लागेर हिँडिरहेँ। त्यही क्रममा मेरो घर आयो।      

मैले बाई भनेर घरतिर लागेँ। भोलिपल्ट सदाझैं ८ बज्यो। म ८:१० मा स्कुल निस्किन्थेँ। आज पनि म त्यही समयमा स्कुल निस्कें। घरबाट केही तल आएको त त्यो हिजोको केटी त्यही रहिछे। म न त घरतिर जाउँ न त स्कुलको बाटो जस्तो भयो।

मैले यसअघि उसलाई राम्रोसँग हेरेको पनि थिइनँ। आज हेर्दा काली काली गोलो अनुहार, ठूल्ठूला आँखा, चुटुक्क परेको नाक, गुलाबी ओठ र लामो रेशमी कपाल। उचाई करिब पाँच फिट भएको नेवार समुदायको केटी देखेँ। हिजो हात समाउँदा काँपेर सिधा हेर्न सकेको थिइनँ। आज टाढा भएकोले होला नियालेर हेर्न सकेँ। अब ममा पनि अलिकति आँट आएको जस्तो भयो।

अनि म स्कुलको बाटोतिर लम्किएँ। ऊ पनि सँगै आउँदै थिई।

‘सुन न म तिमीलाई २० मिनेटदेखि पर्खिराखेको छु। तिमी किन बोल्दैनौ ?’ भनी र फेरि हात समाई। मलाई हिजोको जस्तो कम्पन त भएन। तर मनमा एक किसिमको डर चाहिँ लागिराख्यो।

अब उसले बोल्न सुरू गरी -‘तिमीलाई मैले तीन वर्षअघिदेखि हेरिरहेको थिएँ। तिम्रो हरेक क्रियाकलापलाई नजिकबाट हेर्ने मौका मिलेको थियो। त्यसैले मलाई तिम्रो धेरै माया लाग्छ। तिमी साह्रै मनपर्छ र तिमीसँग क्लोज फ्रेण्डसीप गरौं जस्तो लाग्छ। तिमी किन कोहीसँग साथी बन्दैनौ? किन खुलेर बोल्दैनौ?’ यसरी अनेक प्रश्न सोधी? म मुसुक्क हाँसें र ‘मेरो बानी नै यस्तै छ सानैदेखि’ भनें।

ऊ एक्कासि उफ्रिन थाली। म छक्क परेर एकटकले हेरिरहें।

अनि उसले भनी -‘मेरो प्रयास सफल भयो। तिम्रो मुहारमा हाँसो देख्न चाहेकी थिएँ। आज देख्न पाएँ।’

यस्तै यस्तै कुरा गरेर बाटो कटाएको थाहा नै नपाई स्कुल आइपुगिएछ।

स्कुलमा ठूलो कम्पाउण्ड ठूला-ठूला भवन करिब १५०० विद्यार्थी भएको ललितपुरको बोर्डिङ स्कुलमा कक्षा ९ मा हामी अध्ययन गर्थ्यौं। एउटै स्कुल, एउटै कक्षा भए पनि सेक्सन फरक फरक थियो। हाम्रो स्कुलमा कक्षा ९ मा ए देखी ई सेक्सनसम्म थियो। म सेक्सन ‘डि’मा थिएँ भने ऊ ‘ई’ मा थिई।

एउटै स्कुल एउटै कक्षा भए पनि मैले उसलाई कहिले पनि याद गरेको थिइनँ। यसरी हामी सँगै स्कुल जाने र आउने गर्न लागेको नि तीन महिना भएछ। यो तीन महिनामा म ऊसँग अलि अलि बोल्न थालेको थिएँ। यसरी हामी कक्षा ९ पास भएर दशमा पुग्यौं।

दश कक्षामा उसले शिक्षकहरूलाई भनेर एउटै सेक्सनमा राखिदिन आग्रह गरिछ। त्यसपछि स्कुल आउने जाने समय बाहेक कक्षामा पनि सँगै भयौं।

यसै क्रममा ऊ धेरै बोल्थी। म एकदम कम बोल्ने, लजालु स्वभावको, कसैसँग नखुल्ने। एक दिन उसले ‘तिमी मलाई एकदमै मनपर्छ। धेरै वर्षदेखि तिमीलाई मैले नियालिरहेको छु।

आज अकस्मात तिमीसामु आएर यो कुरा भन्ने हिम्मत बटुलेकी छु। प्लिज तिमी मलाई बुझ्ने प्रयास गर। आई रियल्ली लभ यू रोहित।’

एक्कासि उसको कुरा सुनेर मेरो मन र मस्तिष्कले काम गरेन। मलाई साह्रै गाह्रो भयो। न मैले उसलाई त्यो नजरले हेरेको थिएँ न केही सोचेको नै थिएँ। त्यसदिन म केही नबोली उसलाई छोडेर घर गएँ। मलाई रातभरि निन्द्रा लागेन। म सुत्नै सकिनँ।

भोलिपल्ट कक्षामा पनि म केही बोलिनँ। ऊ मेरोसामु आएर हात समातेर आँसु निकालेर हेरिरही। त्यो कुराले मेरो मनमा कुनै असर गरेन। यसरी समय बित्दै थियो। म ऊसँग बोल्न र सँगै घर जान छोडिसकेको थिएँ।

एकदिन उसले एक्कासि स्कुल छुटेर निस्कने समयमा बाटोमा ‘रोहित तिमीले मलाई एस पनि भनेनौ र बोल्न नि छोड्यौ भने म झुन्डिएर मर्छु’ भनी। त्यति समयसम्म मैले नि उसलाई सँगै स्कुल, घर जाने कक्षामा सँगै एउटै बेन्चमा बस्ने बानी परेको महसुस गरिसकेको थिएँ। त्यसैले उसलाई अगाडि गएर त्यस्तो नभन भनेँ र निउँरिरहें। उसले एक्कासि आएर मलाई अंगालोमा बाँधी। त्यसपछि मैले नि उसलाई आई लभ यू टु भनें।

यसरी समय बित्दै गयो। हामी एस.एल.सी. पास भयौं। ऊ राम्रो पढ्ने भएकोले मेजर इङ्लिस लिएर प्लस टु पढी। मैले मेजर इङ्लिस नपढ्ने निर्णय गरें र समाजशास्त्र पढें। प्लस टु पनि हामी एउटै कलेज पढ्थ्यौं। कलेज बंक गरेर कहिलेकाहीँ गोदावरी, कहिले त्रिभुवनपार्क जान्थ्यौं। यसै क्रममा उसले मलाई उसको आदत बनाइसकेकी थिई।

म कसैसँग खुल्न नसक्ने सोझो केटो अहिले नि उस्तै थिएँ। बस् उसको सामु चाहिँ अलिकति खुल्थें। हामी डेटिङ जाने क्रममा एकदिन उसले मलाई अँगालोमा बाधी र किस गरी। मलाई त्यो दिन लाज लागेको थियो।

त्यस दिनपछि जति समय जहाँ गयौं, हामी अँगालोमा बाँधिएर मजाले खुलेर गफ गरेर बस्थ्यौं। मेरो खासै नजिकको साथी अरु कोही थिएनन्। यसै क्रममा प्लस टु पनि पास भयौं।

त्यो समयमा सबै साथीहरू घरतिरका दाइ दिदीहरू प्लस टु पास गररे अष्ट्रेलिया जाने फेसनजस्तै भएको थियो। हामी पनि त्यही समुदायका थियौं। लहैलहैमा लाग्ने समय थियो हाम्रो।

मलाई खासै विदेश जाने भन्ने कुरा मनमा नै आउँदैन थियो तर मेरी उनी (स्मिता) उसलाई भने साह्रै मन थियो। उसले जहिले हामी प्लस टु सकेपछि अष्ट्रेलिया जाने है भनेर फकाउँथी।

म जहिले पनि उसलाई नेपालमै बस्ने बरु केही बिजनेस गर्ने र परिवारसँगै बस्ने भन्थे। तर नारी हठ र राजहठको अगाडि कसको के लाग्छ र ?

उसले आइइएलटिएस गरी, मलाई डिपेन्डेन्टमा राखेर। नभन्दै एकै पटकमा भिसा लाग्यो। उसले सिड्नीको एउटा युनिभर्सिटीमा अप्लाई गरेकी थिई।

भिसा लागेको २० दिनमै कक्षा सुरू हुन्छ भन्ने भयो।

मैले घरमा कसैलाई भनेको थिएन, हामीले अष्ट्रेलिया ट्राई गरेका छौं भनेर। अब भने नभनी सुखै पाइएन। म उसलाई छोड्न सक्दिन थिएँ अनि ऊ मलाई। त्यसैले मलाई विदेशिने चाहना नहुँदानहुँदै पनि उसको करले, उसको मायाले उसको लगावले जान्छु भन्ने बनाएकी थिई। त्यसदिन घरमा आएर दाइसँग कुरा गरें।

पारि गाउँको फलानोको छोरी मलाई असाध्यै मनपर्छ। स्कुल पढ्दा देखिको हाम्रो प्रेम थियो। अहिले उसले अष्ट्रेलिया ट्राई गरी मलाई डिपेन्डेन्टमा राखेर। भिसा पनि लाग्यो। के गर्ने होला ?  भनेर डराई डराई सोधें।

हामी सुत्ने बेलामा एउटै कोठामा हुन्थ्यौं। दाइ तीनछक परेर मलाई हेरिरहनु भयो। यति सोझो, खाना खाँदा कसैले हेर्यो भने पनि लाजले खाना छोडेर हिँड्ने। आजसम्म कसैसँग दोहोरो कुरा गर्न नसक्ने, न घर न बाहिरको। यस्तो केटाले आज के भनिरहेको छ भनेर दाइले एकटक मलाई हेरिरहनु भएको थियो। म डरले काँप्न लागें। म आफैंलाई आज यत्रो हिम्मत कहाँबाट आयो थाहा नै छैन।

दाइले धेरै बेरपछि कसको छोरी रे ? कहाँ को रे भनेर सोध्नु भयो। मैले सबै कुरा भनें। त्यसो भए म भोलि बुवासँग कुरा गर्छु भनेर हामी सुत्यौं। यसरी दाइ र मेरो बीचको कुराले घरमा हङ्गामा भयो। म ब्राम्हण परिवारको छोरो ऊ नेवार समुदायकी छोरी फेरि वारि र पारि गाउँको भन्ने भयो। घरमा ठूलै विवाद भयो।

दाइले मलाइ सार्‍है माया गर्ने भएकोले उहाँले नै घर परिवारलाई सम्झाउनु भयो। त्यसपछि हामी २ जना अष्ट्रेलिया जाने भयौं। पहिले त विवाह गरेर जाने भन्ने थियो तर पछि अहिले जाऊँ अनि २/३ वर्षपछि आएर हिन्दु परम्परा अनुसार बिहे गरूँला भन्ने कुरा भयो।

हामी दुई अष्ट्रेलिया जाने भयौं। यही क्रममा हामी सपिङ गर्ने, आफन्तलाई भेट्ने जस्ता कामना हिँडी राख्थ्यौं। यी सबै काम सकेर अष्ट्रेलिया जाने दिन आयो।

हामी एक जोडी सपनाको संसारमा उड्यौं। घरबाट धेरै टाढा। म साह्रै सोझो, उनी अलि बढी नै चञ्चले र ट्यालेन्ट थिई। उसले कहाँ जाने कहाँ बस्ने सब कुरा मिलाइसकेकी थिई। उसका साथीहरू हामीलाई सिड्नी एयरपोर्टमा लिन आएका थिए।

हामीलाई उनीहरू बस्ने ठाउँमा लगे। म नेपालमा हुँदा गोदावरी र त्रिभुवन पार्कबाहेक कहीँ नगएको। त्यसैले अष्ट्रेलियाको बाटो, एयरपोर्ट, घर, सपिङ मल, रमझम देखेर बाटोमा हेरिरहेको थिएँ।

मलाई सपना हो कि विपना होजस्तो भइरहेको थियो।

उनीहरू साथी साथी भएकोले खुलेर गफ गर्दै थिए। म खासै कसैसँग पनि खुलेर बोल्न नसक्ने मलाई त्यहाँ गाह्रो भइरहेको थियो। तर अब के गर्नु यो त मलाई आदत पार्नु थियो। हामी उनीहरू बस्ने ठाउँमा पुग्यौं।

त्यसपछि उनीहरूले हामीलाई फ्रेस हुन भने। उनीहरूको काममा जाने बेला भयो। उनीहरू एकछिन बसेर गएँ।

मैले स्मितालाई भने -‘मलाई त गाह्रो भयो। तिमीहरू क्या खुलेर कुरा गर्छौ। म कसैसँग बोल्न सक्दिनँ। मलाई यहाँ बस्न गाह्रो हुन्छ जस्तो छ’ भने।

उसले मलाई अँगालोमा बाँधेर सम्झाई ‘त्यस्तो हुँदैन रोहित’ भनी।

‘तिमी यति राम्रो छौ। यस्तो गोरो, गोलो मुहार, ठूला ठूला आँखा गुलावी कलरको ओठ, सुरिलो नाक मिलेको शरीर यस्तो राम्रो। हाइट पनि ५ फिट ८ इन्च भएका छौ। यस्तो राम्रो मान्छेले त्यस्तो भन्न हुन्छ ?

तिमी यसरी गम्भीर भएर बोल्दा तिम्रा नाक फुलेर ठूलो हुन्छ, आँखा चिम्सो देखिन्छ, प्रफुल्ल भएर बोल आँखा मृगनयनजस्तो देखिन्छ। हाँस्दा ओठ चन्द्रमा मुस्कुराएजस्तो देखिन्छ र गालामा कति मजाले डिम्पल पर्छ, लाग्छ हिमाल हाँसिरहेको छ। त्यसैले यस्तो कुरा नगर भनें।

‘सुन त मलाई अघि साथीले के भनी थाहा छ ?’

‘के भनी ?’

‘तँ यस्तो काली मोटी छेस् तर कस्तो ह्यान्डसम केटा पट्याएको। म त झण्डै लडेको भन्दै थिई,’ ऊ मुसुक्क हाँसी र म पनि सँगै हाँसें।

यतिकैमा माहोल बदलियो। हामी थाकेको हुनाले खाना बनाएर खाएर सुत्यौं। त्यहाँ पुगेको पर्सिपल्ट स्मिताको कलेज थियो।

उसको साथीहरू कामबाट कति बजे फर्के मलाई थाहा नै भएन। बिहान उठ्दा सोफामा सुतिराखेका रहेछन्। हामी उठ्यौ चिया पिउँदै वरिपरि नियालिरहेका थियौं। सानो सानो घर, हरियाली नि छ , सफा पनि छ, सुविधा सम्पन्न देखिन्थ्यो।

लाग्थ्यो कि हामी स्वर्गमै आइपुग्यौं। व्यवस्थित बस्ती साह्रै रमाइलो थियो। तर पनि घरबाट एक दिन पनि कहीँकतै नगएकोले घरको याद आइरहेको थियो।

चिया खाइसकेपछि स्मिता खाना बनाउन थाली। त्यही क्रममा उसका साथीहरू नि उठे।

‘हाई रोहित, स्मिता’ भनेर कुरा सुरू गरे।

उनीहरू सहयोगी त छँदै थिए फ्रेन्डली पनि थिए। मलाई पनि हिजोको भन्दा अलि सजिलो महसुस भइरहेको थियो। उनीहरूले स्मितालाई तिमी भोलिदेखि कलेज जान्छौ नि भनेर सोधे ? स्मिताले खोइ के गर्ने हो भनी ? उनीहरूले आज कलेज देखाइदिन्छौ। अनि रोहितको लागि काम पनि खोजिदिएका छौं। त्यो ठाउँमा नि लगिदिन्छौं भने। हामी सबै जना खाना खाएर फ्रेस भयौं।

अष्ट्रेलियाको रकडेल भन्ने ठाँउमा हामी बस्थ्यौं। त्यो ठाउँमा धेरै नेपालीहरू बसोबास गर्दा रहेछन्। नेपालकै जस्तो सम्पूर्ण सामान पाइने। त्यहाँ असन बजार, सुन पसल, नेपालीहरूको रेष्टुरेन्ट थियो।

यहाँको ठमेल बजारलाई व्यवस्थित गरेर बनाउने हो भने अष्ट्रेलियाको रकडेलजस्तै देखिने थियो। अस्ति त कहाँ कसरी आइयो भन्ने थाहा नै भएन।

आज घरबाट बाहिर निस्केर करिब दश मिनेट जति हिँडेपछि रकडेल चोक आयो। त्यहाँ देख्दा नेपाल व्यवस्थित भएको जस्तो लाग्थ्यो। जता हेरे पनि नेपाली नेपाली, नेपालकै जस्तो सामान पाइने पसलहरू, रेष्टुरेन्ट, नेपाली नै पसलमा बसेका धेरै व्यवस्थित गरी त्यहाँ नेपाली पहिचानको सामानको व्यापार हुने गरेको देखियो। रकडेल चोकबाट करिब ५ मिनेट माथि लागेपछि रेल स्टेसन आउँदो रहेछ।

रेल स्टेसनबाट हामी टाउनहल जानको लागि रेल चढ्यौं। करिब १५/२० मिनेटमा टाउनहल पुग्यौं। हामी सबै त्यहाँ ओर्लियौं। अनि फेरि टाउनहलबाट अर्को रेल चढेर विन्यार्ड, मिल्सन्स पोयन्ट हुँदै सर्कुलर कि पुग्यौं। सायद चार वटा स्टेसन पार गरेर हामी त्यहाँ पुग्यौं।

नर्थ सिड्नीको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा मेरी काली अर्थात स्मिताले पढ्नको लागि अप्लाई गरेकी थिई। त्यो दिन उसको साथीले उसलाई उक्त कलेज देखाइदिई। हामी तीनै जना कलेज वरिपरि घुमेर बाहिर निस्कियौं।

अनि मेरो लागि उसले एउटा क्याफेमा वेटरको रूपमा काम खोजेको रहेछ। हामी नर्थ सिड्नीकै बस स्टपमा जागोज भन्ने क्याफेमा पस्यौं र भोलिदेखि काममा आउने कुरा मिलाएर निस्कियौं। त्यहाँ धेरै अष्ट्रेलियन रहेछन् नेपालीहरू खासै देखिँदैन थिए।

ममात्रै एउटा नेपाली त्यहाँ काममा हुने हो कि जस्तो लाग्दै थियो। नभन्दै म एक जान मात्रै नेपाली त्यस क्याफेमा काम गर्ने रहेछु। यसरी कलेज र कामको लागि त ठाउँ नि देखियो। अब कहाँ जाने त भन्ने भयो।

अनि स्मिताको साथीले ‘म पनि भोलिदेखि व्यस्त हुन्छु। तिमीहरूलाई आज ओपेरा हाउस घुमाउन लैजान्छु’ भनी र नर्थ सिड्नीबाट हामी फेरि फर्केर विन्यार्ड गयौं।

विन्यार्डबाट रेल चढेपछि पूरै अन्डरग्राउण्ड हुँदै जानुपर्ने रहेछ। हामीलाई अचम्म लाग्यो। अन्डरग्राउण्डमा हाम्रो कान पूरै बन्द भएको थियो। यसरी अन्डरग्राउण्ड सकेर हामी सर्कुलर की भन्ने ठाउँमा झर्यौं।

त्यहाँबाट हामीले ओपेराहाउस भएको ठाउँ देख्यौं। टाढाबाट हेर्दा कमलको फूलजस्तो सेतो पानी नै पानीको बीचमा लाग्दै थियो यस्तो रमाइलो ठाउँ पनि हुँदो रहेछ। हामी दुबैलाई आँखाले त्यो दृष्य देख्दा लाग्थ्यो स्वर्ग नि यस्तै हुन्छ होला भन्ने।

करिब ५/१० मिनेट हिँडेपछि ओपेरा हाउस पुग्यौं। कमलको फूलजस्तो सेतो कलरको घर छ। ओपेराको सिडी उक्लिएर यसो यता उता हेरेको निलो पानी नै पानी छ। वरिपरि सबै ठाउँ घुम्नलाई सायद एक दिन भरी लाग्ने जस्तो देखिन्थ्यो।

ओपेरा हाउसको साइडबाट हार्बर ब्रिज पनि देखिन्थ्यो। पानीमा ठूल्ठूला पानीजहाज चलिरहेको थियो। कस्तो अचम्म लागेर हामी हेरिरह्यौं। साइडमा ओपेन क्याफे जहाँ मान्छेहरू बसेर कोही कोल्ड ड्रिङ्कस त कोही वियर खाएर मजा लिइरहेका थिए।

कसैलाई कसैको मतलब छैन। खुला मनले जसलाई जे मन लाग्छ त्यही गरिरहेको। हामी नि त्यहाँ वरिपरि सबै घुम्यौं अनि त्यहीँको खुला हावा लिँदै एउटा बर्गर र कोल्ड ड्रिङ्स किनेर खाँदै पानीजहाज, पानी ओपेरा हाउस हेरिरह्यौं। त्यो ओपेरा हाउसभित्र ठूलो हाउस छ रे, हामी त्यहाँ चाहिँ पसेनौं। सबै ठाउँ डुलेर रातिको १० बजेतिर आफू बसेको ठाउँमा फर्क्यौं।

आज त मजाले घुम्यौं। एकदम रमाइलो भयो, अब भोलिदेखि के हुने हो केही थाहा छैन। यसरी स्मिता कलेज जाने र उसले ‘म पढ्छु तिमी काम गर। मेरो पढाइ सकेपछि म पनि काम गर्छु। अनि तिमीलाई पढाउँछु’ भनेकी थिई।

हामी त्यहाँ त्यसरी नै चल्न थालेका थियौं। एक जनाले एक ठाउँमा काम गरेर कलेजको फी तिरेर बस्न खान गाह्रो हुने भएकोले मैले दुई ठाउँमा काम गर्न सुरू गरें।

मेरो  दैनिकी एउटा काम सकेर आउने एकछिन आराम गर्ने फेरि अर्को काममा जाने। त्यो समय म कामको बोझले गधाजस्तै भएको थिएँ। स्मिता कलेज जान्थी। राम्रोसँग पढ्थी र घरमा आएर मेरो लागि खाना बनाएर बस्थी एउटा घर गृहस्थी सम्हालेको असल महिलाझैं। यसरी हामी गएको ३ वर्ष भएछ। स्मिताको कलेज १ महिना छुट्टी हुने भयो। मैले पनि काममा एक महिनाको लागि छुट्टी मागेर हामी नेपाल आएर बिहे गर्ने योजना बनायौं।

नेपालमा सबैलाई हामी आउँदैछौं बिहे गर्नाका लागि भनिसकेका थियौं। हामी एक महिना नेपाल आयौं र हिन्दु परम्परा अनुसार बिहे बन्धनमा बाँधियौं। सबै परिवारको साथ आधिकारिक रूपमा स्मितालाई धर्मपत्नी बनाएर घर भित्र्याउन पाउँदा म धेरै खुसी थिएँ। यसरी कति छिटो एक महिना बितेछ थाहै भएन। हामी फेरि अष्ट्रेलिया फर्क्यौं।

यसरी फर्कंदा अर्कै अनुभूति भयो। अब बिहे गरेर फर्कंदा एक मनले ढुक्क आनन्द महसुस गरी अष्ट्रेलिया आयौं। स्मिताको पढाइ एक वर्ष बाँकी थियो।

उसले ‘अब म पनि काम गर्छु। हामी एउटा सानो क्याफे खोलौं। म क्याफे चलाउँछु। म कलेज गएको बेलामा स्टाफ राखौंला र तिमीले पनि मिलाएर हेर’ भनी। मलाई पनि हो जस्तो लाग्यो।

अब अलि अलि बचत गरेर राखेको पैसाले हामीले एउटा क्याफे खोल्यौं। म दुई ठाउँमा काम गर्थे। ऊ कलेज र क्याफे हेर्थी। म पनि समय भएको बेलामा क्याफेमा बस्थें। हाम्रो क्याफे राम्रोसँग चल्यो।

अब मैले कमाएको पैसा र क्याफेबाट भएको आम्दानीले हामीले एउटा गाडी किन्ने निर्णय गर्यौं। गाडी पनि किन्यौं। हाम्रो वैवाहिक जीवन राम्रोसँग चलिराखेको थियो। हाम्रो राम्रो आम्दानी भएकोले अब हामीले घर किन्ने विचार गर्यौं।

यो समयसम्म स्मिताको पढाइ सकिसकेको थियो। हाम्रो पिआर समेत भइसकेको थियो। ऊ पनि काममा व्यस्त हुन थाली र म पनि। एक दिन मैले उसलाई अब हामी बच्चाको योजना गरौं भनेँ।

उनले अहिले के हतार पहिला घर किनौं अनि विस्तारै प्लान गरौंला भनी। म हस् प्रसादले नि हुन्छ भने। त्यही क्रममा हामीले घर पनि किन्यौं। मैले बच्चा पाउँभन्दा जहिले पनि एउटा बहाना बनाएर बस्थी।

मैले तीन घण्टा सुतेर काम गरेको आज नौ वर्ष भएछ। यसरी उभिएर काम गर्दा मेरो ढाडको समस्या देखियो। म पन्ध्र दिन ओछ्यानमा परेँ। स्मिताले सकेसम्म मेरो ख्याल राख्थी।

म पहिलाको जस्तो खटिएर र धेरै समय काम गर्न नसक्ने भएँ। म स्मितालाई साह्रै विश्वास गर्थें, माया नि गर्थें। कमाएको सबै पैसा उसैलाई दिन्थें। कहिले शंका गरिनँ। उसले पनि मलाई माया गर्थी। यसरी समय बित्दै थियो। बच्चा पाउने कुरामा हाम्रो बेला बेलामा झगडा हुन थालेको थियो। उसको बानीमा परिवर्तन आउन थालेको थियो। मैले अब म पढ्छु तिमी क्याफे चलाऊ अनि म एक ठाउँमा मात्रै काम गर्छु भनेको थिएँ। उसले ‘हुँदैन यत्रो लोन छ। अब एक वर्ष राम्रोसँग काम गर अनि अलि लोन घट्छ त्यसपछि तिमीलाई म पढाउँछु’ भनी।

मैले चुप लागेर बसें। अचेल सानो सानो कुरामा पनि हाम्रो भनाभन हुन थालेको थियो। एक दिन एक्कासि ऊ क्याफे गएको मान्छे बन्द गरेर ५ दिन हराई। मैले फोन गर्दा फोन पनि अफ थियो। उसका सबै साथीहरूलाई सोधें। आएको छैन भन्छन्।

मेरो मनमा डर लाग्न थाल्यो अब कहाँ गई के गरी भनेर। पाँच दिन भइसक्यो अत्तो पत्तो भएन। अब एक दुई दिन हेर्छु केही थाहा भएन भने नेपालमा भन्छु र यहाँ पुलिसलाई पनि रिपोर्ट गर्छु भनेर सोचिरहेको थिएँ। छैठौ दिन घर टुप्लुक्क आइपुगी।

मैले ‘तिमी कहाँ गएको ? के हो पारा ?’ भनेर बेस्सरी गाली गरें।

उल्टो आफैं रिसाएर ‘म तिमीसँग बस्दिनँ। मलाई डिभोर्स देऊ’ भन्न थाली। म छक्क परें। घरमा एउटा ढलेको ग्लास नि नउठाई बसेको मान्छे उसको मायाले अष्ट्रेलिया आएर एउटा गधाजस्तै केवल काम काम भन्दै गधाजस्तै भएर काम गरें। उसलाई पढाएँ। यत्रो सृष्टि गरें। आज उसैले यो के भन्दै छे भनेर म अतालेर रुन थालें।

‘के भनेको यस्तो नेपाल बसेको भए खान लगाउनकै लागि यत्रो दुःख गर्न पर्थ्यो ? मैले बुबाआमा सब परिवार छोडेर तिम्रो खुसीको लागि यहाँ आएर यत्रो दुःख गरेँ आज यो के भन्दैछौ?’ भनेर उसलाई कति सम्झाउन कोसिस गरें।

मैले के गल्ती गरें भन म तिमीबिना बाँच्न सक्दिनँ भने। तर उसको मुखबाट ‘मलाई डिभोर्स चाहियो। म अरु कसैलाई मन पराउँछु। म उसैसँग बस्ने हो। भोलि म सबै पेपर लिएर आउँछु। मलाई तिम्रो नेपालको केही सम्पत्ति चाहिँदैन तर यहाँको यो घर, गाडी र क्याफे चाहिँ मलाई दिनपर्छ। मैले तिमीलाई पिआरवाला बनाइदिएको छु। अहिले मेरो सामान लिन आएको भनेर सबै लुगा सुटकेसमा राखेर एकचोटि पनि मतिर नफर्की गई। म झ्यालबाट हेरिरहें।

हाम्रो क्याफेमा सधैं आउने बंगाली केटा बाहिर गाडी लिएर बसेको रहेछ। ऊ सुटकेस बोकेर त्यही केटासँग गई। म धेरै रोएँ, कराएँ, चिच्याएँ। मेरो होस थिएन। मलाई सम्हाल्ने त्यहाँ कोही थिएन। म भित्रबाट पनि एक्लो थिएँ बाहिरबाट पनि। मैले कहिले जाँड, रक्सी, चुरोट खाएको थिइनँ।

नेपाल हुँदा त खाएकै नै थिइनँ तर विदेशमा पनि एक दिन स्मिताले वियर खाऊ भन्दा मैले पिउन गरेको थिएँ। त्यतिबेला धेरै वाकेर बिरामी परें। त्यसैले कहिले पनि खाइनँ। अब मलाई मातेर खान मन लाग्यो। बाँच्न पटक्कै मन लागेन। मेरो जिन्दगीमा अब केही बाँकी छैन म बाँचेर अब के गर्नु छ र ? भन्ने भयो। मैले नेपालमा आफ्नो परिवार सम्झें।

साथीभाइ सम्झें। यत्रो समय म गधा भएर बाँचेको थिएँ केवल उसैको लागि। आज ऊ नै मेरो साथमा नहुँदा मलाई साह्रै मर्न मन लाग्यो। त्यो दिन घरमा विष भएको भए म खाएर मर्थें। तर के गर्नु समय हो जे भए पनि सहन पर्ने रहेछ।

स्मिताले डिभोर्स गरेरै छाडी। मैले सबै उसैको नाममा गर्दिएँ। किनकि म अझै नि उसलाई धेरै माया गर्छु। के कारणले छोडी ? केको लागि छोडी ? किन छोडी ? त्यसको जवाफ आजसम्म पनि मैले पाउन सकेको छैन। उसैको लागि अष्ट्रेलिया गएको थिएँ। उसैको लागि कमाएको सम्पत्ति आज उसैले लिएर गई। त्यसमा मलाई कुनै अफसोच थिएन। केबल मेरी स्मिता मेरो साथ नहुँदा साह्रै सम्हालिन गाह्रो भयो। पढ्न र काम गर्नाका लागि मेरो परिस्थिति थिएन। म पागलझैं भएको थिएँ।

म साह्रै दिक्क मानेर बाटो-बाटोमा भौंतारिन थालेको थिएँ। एक दिन मेरो मामाका छोरीज्वाइँले मलाई बाटोमा देखेछन्। उनीहरू सिड्नीमै बस्थे।

उनीहरूले मेरो त्यो अवस्था देखेर घरमा लगेर उपचार गर्न थालेछन्। म लास्टै डिप्रेसनमा गएको थिएँ। मेरो कुनै सुधार नदेखेपछि उनीहरूले नेपाल पठाइदिऊँ बरु परिवारसँग बस्दा यसको हालत राम्रो हुन सक्छ भनेर मामाकी छोरी अर्थात् दिदी आफैंले नेपाल फर्काउन आउनुभयो।

मेरो नेपालमा पनि साहै नाजुक अवस्था भएपछि अब यसलाई सुधार केन्द्र लगेर राख्नुपर्छ भनेर पाटन हस्पिटलमा कुरा गरेर मलाई मेन्टल डिर्पाटमा भर्ना गरियो। करिब आठ महिना राखिसकेपछि ममा केही सुधार देखियो।

डाक्टरको सल्लाह बमोजिम परिवारको सदस्यहरूले मलाई घर फर्काए। अहिले म घरमा छु घरको काम र खेतीपातीको काममा व्यस्त छु। फूलबारी बनाउन रमाइलो लाग्छ। परिवारको माया र स्नेहले ममा धेरै सुधार आएको छ।

म सबैलाई के भन्न चाहन्छु भने कुनै पनि सोझो मान्छेलाई जिस्काउने नगर्नु होला। यो झूटो माया ममताको जालमा नफसाउनु होला। माया गरेर भूमिका निभाउन आउँदैन भने माया नगर्नुहोला।

यो माया ममता लोभमा फसाएर नछोड्नु होला। मेरोजस्तै हालत हुन सक्छ। म विछोडको धोकाको पीडा सहन नसकी आज यो अवस्थामा पुगेको छु। म अझै पनि स्मिताले चाहेको पूरा होस भन्न चाहन्छु। मेरो यो हालत भए पनि उसले कहिले दुःख नपाओस् भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पेट किन बढ्छ? कसरी घटाउने?
यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड
२० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब