मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पटकपटक नेतृत्वको विरोध गर्नुभन्दा एकपटक विवेकपूर्ण निर्णय गरौं

पटकपटक नेतृत्वको विरोध गर्नुभन्दा एकपटक विवेकपूर्ण निर्णय गरौं


एक जना अग्रजले सोध्नुभयो, ‘भाइको जन्म कति सालको?’ ‘५० फागुनको हुँ।’ उहाँले भन्नुभयो, ‘ए त्यतिखेर म त नेविसंघको संगठन बनाउँदै हिँड्न थालेको आठ वर्ष भइसकेको थियो, अहिलेसम्म निरन्तर कांग्रेस छु। मलाई माफ गर अहिलेको पुस्ताले त्यागको महत्त्व बुझ्न सकेको छैन।’ उहाँको कुरा नसकिँँदै मेरो पनि उत्तर निस्कियो– ‘तपाईंको कुरो ठिक हो, तर हेर्नुस् न ४८ सालमा कांग्रेसप्रति जुन क्रेज छ, ७८ मा त्यही छ त? मेरो हजुरबुवा कांग्रेसी कार्यकर्ता थिए, बा शिक्षक संघमा आबद्ध छन्, मेरा केही कम्युनिस्ट साथीहरूले मलाई बोलाइने भाषामा म बालीघरे कांग्रेस हुँ। तपाईं भन्नुस्– मजस्ता बाहेक कति युवा पार्टीप्रति आकर्षित छन्? पार्टीमा भएका युवा पनि के आफ्नो बाटोमा स्पष्ट छन् त? आफ्नो माटोप्रति कर्तव्यनिष्ठ छन् त?’ मेरो प्रतिप्रश्न सायद खरो थियो, ‘अग्रजलाई सम्मान गर्नुपर्दछ।’ उहाँ अलिक रिसाएको हो कि जस्तो लाग्यो। अझ अगाडि थप्नुभयो, ‘हामीले युवा भनेकै छौं त, १९ वर्षकी युवा वडा सभापतिमा आइसकिनँ’, सबै युवा भनेर मात्रै पनि त हुँदैन।’

म उहाँको मनसाय बुझ्न सक्थें। तर मलाई यो थाहा थियो कि १९ वर्षीय किशोरी वडा सभापति सामान्य परिवारबाट आएकी हैनन्, कुनै बेला पार्टीको जिल्ला उपसभापतिको छोरी थिइन् उनी। डेंगुका कारण उनका बुवाको निधन भएको जानकारी मलाई थियो। सायद, उनको बुवाको सम्मानमै भए पनि निर्विरोध भइन् होला। उनलाई धेरै शुभेच्छा आगामी दिनका लागि। यहाँ यहाँ ती किशोरीमाथि चर्चा गर्न खोजेको हैन। नेपाली कांग्रेसका महाधिवेशनका क्रममा विगत केही दिनदेखि आफैंले महसुस गरिरहेको केही प्रसंगको चर्चा गर्न लागेका हुँ। 

जब देश फर्किएँ मैले राजनीतिका अलगअलग पाटा देख्न थालें। म जति यो बुझ्न खोज्दछु, त्यति गहिरो दलदल। ‘थोरैका लागि अपार, धेरैका लागि व्यापार, वास्तवमा राजनीति त कहिले घाटामा नजाने पेसा’ पो बनाइएको रहेछ यहाँ।

मलाई प्रवासमा अध्यन गर्ने मौका मिल्यो। अध्ययनकै क्रममा उतै विद्यार्थी राजनीतिमा सक्रिय भएँ। कहिले सामाजिक संस्थामा रहेर काम गर्ने मौका मिल्यो भने कहिले राजनीतिक संघसंस्थामा आबद्ध भएँ। तर जहाँजहाँ भए पनि आफू बसेको समाजप्रति जिम्मेवार भएरै काम गरें जस्तो लाग्छ। काम गर्दै पढ्दै जाँदा मैले बुझें– राजनीति भनेको सेवा हो, नीतिहरुको मूल नीति हो अनि थिति हो। दिल्लीको आम आदमी पार्टीको मुभमेन्ट हेर्दै गर्दा एउटा सानो झिल्कोले कसरी ऐतिहासिक परिवर्तन सम्भव हुन्छ भन्ने कुराको प्रत्यक्षदर्शी हुन पाएँ। लाग्थ्यो– एउटै लहडी मान्छेले पनि चाह्यो भने धेरै गर्न सक्दोरहेछ। 

जब देश फर्किएँ मैले राजनीतिका अलगअलग पाटा देख्न थालें। म जति यो बुझ्न खोज्दछु, त्यति गहिरो दलदल। ‘थोरैका लागि अपार, धेरैका लागि व्यापार, वास्तवमा राजनीति त कहिले घाटामा नजाने पेसा’ पो बनाइएको रहेछ यहाँ। सबै पार्टीमा यस्तै अवस्था छ। यो प्रणाली गलत छ, सच्याउन जरुरी छ भन्नेहरुलाई मूलधारको पार्टीमा कुनै स्थान नदेख्दा मनमा के लाग्थ्यो भने हाम्रो आवश्यकता पुस्ता हस्तान्तरण मात्र होइन है,  नेतृत्व रुपान्तरणको पनि हो। यथास्थितिमा पुस्ता हस्तान्तरण गरे पनि हाम्रा समस्या त ज्यूँका त्यूँ रहनेछ। यसो हो भने नेतृत्व रुपान्तरणको आवाज किन नउठाउने? यो कांग्रेस या कुनै एउटा पार्टीको मात्र समस्या हैन, समस्त राजनीतिक प्रणालीको समस्या हो। यसलाई हामीबाटै सुधार मात्र सम्भव छ। युवा जोसजाँगर सोच र भावनाबाटै यो समाधान हुन सक्छ। 

मिलेसम्म सामाजिक र राजनीतिक कार्यक्रममा जोडिँँदै आवाज उठाउँदै आएको छु। एउटा यात्राले झन्डै दशक छुनै लाग्दा पनि पार्टीभित्रको राजनीतिमा स्पेस कम थियो। ससाना गतिविधिमा अल्झिरहेको महसुस हुन्थ्यो। नर्सरी भनिएको नेविसंघ मरुभूमितुल्य बनिसकेको अवस्थामा छ। त्यसैले पनि हामी कसरी अघि बढ्ने?

अनुभवको कदर गर्नैपर्छ, अग्रजको सम्मान गर्नैपर्छ। तर पार्टीभित्र एउटा यस्तो पुस्ता रहिरहे, जसले पञ्चायतकालीन संघर्षको ब्याजको स्याज हिसाब गर्दै बसिरहेको छ, त्यो पनि स्थानीय तहमै। जबकि ६२-६३ को आन्दोलन भएकै १५ वर्ष पुगिसक्यो। 

‘भाइ, अग्रजको सम्मान गर्नुपर्‍यो, त्याग र बलिदानको कदर गर्नुपर्‍यो!’ भाषण र आश्वासनको सबैभन्दा धेरै व्यापार हुने यो ठाउँमा मानसम्मान र त्यागका कुरा सुन्दासुन्दा अब वाक्क लाग्न थालिसक्यो। अनुभवको कदर गर्नैपर्छ, अग्रजको सम्मान गर्नैपर्छ। तर पार्टीभित्र एउटा यस्तो पुस्ता रहिरहे, जसले पञ्चायतकालीन संघर्षको ब्याजको स्याज हिसाब गर्दै बसिरहेको छ, त्यो पनि स्थानीय तहमै। जबकि ६२-६३ को आन्दोलन भएकै १५ वर्ष पुगिसक्यो। उदेकलाग्दो त के छ भने आफू फेलिअर हुँ, र आफूबाट हुने बढीमा यति नै हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि अझै सम्भावना बोकेका युवा पुस्तालाई ‘उच्च महत्त्वाकांक्षी’ को ट्याग थमाइएको छ। 

महाधिवेशन प्रक्रियामा लागिरहँदा मैले सबैभन्दा धेरै सुनेको गुनासो ‘आजका युवामा महत्त्वाकांक्षा धेरै भए, युवायुवा भनेर पनि त भएन, अनुभवको कदर हुनुपर्यो’ हो। म मान्छु, नयाँ पुस्ताले स्वतन्त्रताको मूल्य बुझिनसकेको हुन सक्छ। संघर्ष के हो राम्रोसँग भिजिसकेको नहुन सक्छ तर तपाईंहरु किन यो आत्मसात् गर्नुहुन्न  कि हिजो तपाईंहरुले संघर्ष गर्दा आफूपछिको पुस्ताले फेरि यस्तो अवस्थाबाट जान नपरोस् भनेरै लड्नुभएको थियो जीवन हत्केलामा राखेर। आज पनि लडेरै सिकोस् भन्ने चाहना राख्न मिल्छ त? जति बीपीको पुस्ताले, गणेशमानको पुस्ताले दुःख गरे। त्यसपछाडिका पुस्ताले स्वाभाविक रूपमा कम दुःख पाए होला। त्यसपछिका पुस्ताले अझै कम दुःख पाए होला। यो त समयक्रमसँगै कम हुँदै जाने हो नि। हिजो मैले यति गरेको थिएँ, तैंले त्यति गर्ने वातावरण छैन भन्नु कति स्वाभाविक हो? फेरि, पार्टीलाई जीवन्त राखिराख्न पनि त नेतृत्वको विकास गराउँदै अगाडि बढ्नुपर्ने होइन?

एउटा पढेलेखेको युवाले परिवर्तन सम्भव छ भन्ने महसुस गरेर म प्रतिनिधि जान्छु भन्दै गर्दा ‘यति छिट्टै?’ भनेर प्रश्न गर्नेहरुको एउटा लामो पंक्ति खडा हुँदो रहेछ। उदेकलाग्दो विषय त के हो भने ३६ वर्षमा नेपालको गृहमन्त्री भएका बीपी कोइरालाको पार्टीमा आजको युवाको बुलन्द आवाजलाई ‘महत्त्वाकांक्षी’ आरोपको लेपले टाल्न खोजिँदै छ।

पार्टीका आधारभूत सिद्धान्तमाथि छलफल गर्ने र आगामी दिनको बाटो तय गर्ने यही महोत्सव हैन? न कसैसँग प्रस्ट भिजन छ, न कुनै स्पष्ट अडान छ। यस्तो अवस्थामा नेतृत्व रूपान्तरण र हस्तान्तरण दुवै हुनुपर्छ भन्ने मान्यता बोकेका मान्छेसामु जोडदार आवाज उठाउनकै लागि भए पनि नेतृत्व चयन गर्ने ठाउँसम्मै पुग्नुपर्ने बाध्यता छ।

यस्तै कारणले एउटा सिंगो पुस्ता राजनीतिलाई घृणा गर्दछ, डर्टी गेम हो भन्ने मान्दछ र यो देशमा केही हुनै सक्दैन भन्ने निराशाको भारीले कहिल्यै उठ्न नसक्ने गरी थिचिएको छ। यहीं सम्भव छ र हामी सक्छौं भनेर त्यो पुस्ताको त्यो थिचिएको भारी पल्टाउन निरन्तर प्रयत्नरत त्यही पुस्ताका अर्को जमातलाई भने ‘महत्त्वाकांक्षी’ को ट्याग र सकेसम्म रोक्ने प्रयत्न। अनि कसरी सम्भव हुन्छ परिवर्तन, युवा नेतृत्व र नयाँ परिपाटी? न नीतिमाथि प्रस्ट छलफल छ, न नेतृत्व रुपान्तरणकै कुनै लक्षण। यी विषयमा घनीभूत छलफल हुने समय यही महाधिवेशनको अवसर हैन र? पार्टीका आधारभूत सिद्धान्तमाथि छलफल गर्ने र आगामी दिनको बाटो तय गर्ने यही महोत्सव हैन? न कसैसँग प्रस्ट भिजन छ, न कुनै स्पष्ट अडान छ। यस्तो अवस्थामा नेतृत्व रूपान्तरण र हस्तान्तरण दुवै हुनुपर्छ भन्ने मान्यता बोकेका मान्छेसामु जोडदार आवाज उठाउनकै लागि भए पनि नेतृत्व चयन गर्ने ठाउँसम्मै पुग्नुपर्ने बाध्यता छ।

प्रदेश या केन्द्रीय प्रतिनिधि जान्छु चाहिँ भन्नैहुन्न, नत्र धेरैलाई लाग्न सक्दछ महत्त्वाकांक्षी, कसैकसैलाई लाग्न सक्छ अग्रजलाई सम्मान गर्न नजान्ने। त्यो भन्दा महत्त्वपूर्ण पाटो के हो भने तपाईंलाई के लाग्छ? हो, तपाईंलाई के लाग्छ? बीपीले कुनै समयमा भनेका थिए रे– जबजब द्विविधिमा पर्नुहुन्छ, एक मुठी माटो लिएर निर्णय गर्नुस्।’ आज म भन्छु, ‘तपाईं यो देशको त्रिकोणात्मक झण्डा हेरेर, नेपाली कांग्रेसको चारतारे झण्डा हेरेर निर्णय गर्नुस्। पाँच वर्षसम्म सयौं पटक नेतृत्वको विरोध गर्नुभन्दा एक पटक विवेकपूर्ण निर्णय गरौँ। परिवर्तनको यस महायात्रामा हातेमालो गरौं। युवा पुस्ता नेतृत्वका लागि अगाडि बढौं।’ – नेपालसमय