अन्तरवार्ता / विचार

बुवा एउटा तप हो

शास्त्रले आमाको, गुरुको र पिताको बारेमा मातृ देवो भवः, पितृ देवो भवः र गुरुर्र देवो भवः भनेको छ। यी शास्त्रद्वारा उच्चारित वाणी हुन्। माता पनि देवता हुन्, पिता र गुरु पनि देवता हुन्। यी दृश्य देवता हुन्। यी देवताहरूलाई हामी देख्न सक्छौं। यी देवतासँग हाम्रो निरपेक्ष सम्बन्ध हुन्छ। आमाको, गुरुको र पिताको तपाईंहरूसँग कुनै अपेक्षा हुँदैन।

हाम्रो हुर्काइमा, हाम्रो जन्ममा आमाको भूमिका शब्दातित छ, पक्कै हो। अक्षरातित छ, पक्कै हो। तर, के बुबाको भूमिकालाई उपेक्षा गर्न मिल्छ र? व्यवहारमा हामीले पिता उपेक्षित भएको देखिरहेका हुन्छौं। कतिपय पिता भ्रष्टाचारी छन्। त्यो कुरा अर्कै हो। पिता पनि पिताको कोटी र स्तरमा हुनुपर्छ। व्यभिचारी, भ्रष्टाचारी पिताहरू पनि छन्। आफ्नो मात्रै स्वार्थ हेरेर सन्तानको चिन्ता नगर्ने पिताहरू पनि छन्। त्यस्तो पिताको कुरा यहाँ गर्न खोजिएको होइन। हामीले जिम्मेवार पिताको चर्चा गर्दै छौं।

बुवा एउटा तप हो। बुवा एउटा अदृश्य परिधिलाई समेट्ने शब्द हो। धेरै ज्ञान, क्षेत्रलाई समेट्ने भाव हो पिता। हेर्दा आमा सन्तानको नजिक देखिनु हुन्छ। तर, त्यो आमासमेतको परिवारको भार पिताको शिरमा हुन्छ। पिताको भूमिका हाम्रो हुर्काइमा, हाम्रो विकासमा, हाम्रो जीवनमा निकै ठूलो हुन्छ। 

गुरुलाई पनि पिता भनिन्छ। गुरु पनि पिता हुन्। कतिपयले बुबा नै भन्छन्। त्यो उच्च सम्मान हो। बाबा जस्तो उच्च सम्मानको शब्दलाई कतिपय कथित बाबाहरूले नजरअन्दाज गरेर यसको बदनामी गरेका छन्। र, जेलमा सडेर बसेका छन्। त्यस्ता बाबाहरूले साँचो पितारुपी गुरुहरूको पनि बद्नाम गरिदिएका छन्। बाबा भनेको एउटा जिम्मेवारी बोकेको शब्द हो।

चाइल्ड साइकोलोजीको जानकारी नभए सन्तान जन्माउनु व्यर्थ हुन्छ। बच्चा के गर्दै छ? कसरी हुर्किंदै छ? कस्तो संस्कार उसको बाल मानसपटलमा प्रवेश गर्दै छ? भन्ने कुराा‍मा ध्यान दिनुपर्छ।

सांसारिक पिताले आफ्नो सन्ततिलाई गोडामा उभिने नभइन्जेल छोड्दैन। कहिले आफू घोडा बनेर ढाडमा उसलाई चढाएर, कहिले उसले तातेबामे गर्दै गर्दा उसलाई औंलाको टुप्पो समाउन दिएर बुवाले हुर्काउनु हुन्छ। ऊ भ्यात्त लड्छ, किच्च पिताको अनुहारमा हेरेर हाँस्छ। त्यो पिता बाल्यकालमा उसलाई परमात्माजस्तै लाग्छ। सर्वस्व लाग्छ। ठूलो हुँदै गएपछि आधुनिकताले हो कि केले हो मातापितालाई हेला गर्ने, झर्को मान्ने गरेको देखिन्छ। जुन मातापिताले मरिमेटेर सन्ततिका लागि गृह व्यवस्थापन गरिदिए त्यही गृहबाट तिनै मातापितालाई निकालेर वृद्धाश्रममा पनि पुर्‍याउन पछि पर्दैनन् अहिलेका सन्तति। यसको काराण साँचो संस्कार र अध्यात्मको अभाव हो।

हुर्काइमा अभिभावक पनि दोषी छन्। खालि पैसाको पछाडि दौडिए। खालि पद र प्रतिष्ठाको पछाडि मात्रै दौडिए। सन्ततिलाई कसरी हुर्काउनुपर्छ, चाइल्ड साइकोलोजी के हो? भन्ने कुरा बुझ्दै बुझेनन्। चाइल्ड साइकोलोजीको जानकारी नभए सन्तान जन्माउनु व्यर्थ हुन्छ। बच्चा के गर्दै छ? कसरी हुर्किंदै छ? कस्तो संस्कार उसको बाल मानसपटलमा प्रवेश गर्दै छ? भन्ने कुराा‍मा ध्यान दिनुपर्छ।

सानोमा हामीले एउटा कथा सुन्थ्यौं। कतै वृद्ध बुवालाई डोकोमा हालेर भीरबाट फ्याँक्ने चलन रहेछ। एक दिन एउटा छोराले आफ्नो पितालाई डोकोमा कोच्दै गर्दा सानो नातिले टुलुटुलु हेरेर बसिरहेको रहेछ। उसले आफ्नो बालाई डोको फिर्ता ल्याउनुस् भनेछ। किन बाबु भन्दा, भोलिपर्सि मैले तपाईं बूढो हुँदा त्यही डोकोमा राखेर भीरबाट फाल्नु परेन भनेछ। बालकको त्यो शब्दपछि ती बालकका बुवाले बालाई भीरबाट फाल्ने परम्परालाई मिचे। त्यो सानो छोरोको कारणले गर्दा ती बाउको घैंटोमा घाम लाग्यो।

यस्तै परमात्मालाई परमपिता भन्ने चलन छ। पिताबाट हामीलाई संरक्षणको अनुभूति हुन्छ। सम्झिनुस् त बाल्यकाल। हामी पिताको हात समातेर जहाँ जाँदा पनि कति निश्चिन्त हुन्थ्यौं। न पैसा खर्चको चिन्ता, न गाडीको टिकट काट्नुपर्ने चिन्ता। अहिले तपाईं आफ्नै मिहिनेतमा विश्व घुम्दा पनि बुवाको पछि–पछि लाग्दाको जति पाइँदैन। बुवाको छत्रछायामा संरक्षण र ढुक्कताको अनुभूति हुन्छ। जुनसुकै सम्प्रदायमा पनि पिताको उस्तै महत्त्वपूर्ण भूमिका हुन्छ। पिताको संरक्षणमा माताको काखमा दसधारा दूध चुस्दै रमाइरहेका हुन्छौं। हाम्रो जीवन रक्षाका लागि मातापिता दुवैको भूमिका उस्तै महत्त्वपूर्ण छ। दुवैको संरक्षण भयो भने मात्रै पूर्णता हुन्छ। त्यसैले पिताको उपेक्षा नगरौं।

पिता संरक्षण र सुरक्षा दिने एउटा पात्र हो। देख्न सकिने भगवान् हो। मातापिताको सन्तानसँग म अहिले तपाईंलाई पाल्छु, तैंले भोलि हामीलाई पाल्नुपर्छ भन्ने व्यावसायिक सम्बन्ध हुँदैन। त्यो आमाबुवाको प्रेम-कर्तव्य हो। प्रेममा लेनदेनको भाषा हुँदैन। त्यो सम्बन्ध निरपेक्ष हुन्छ।

मातापितालाई सधैं रेखदेख गर्नुपर्छ। म एउटा सत्य घटना भन्छु। केही दशकअगाडि एउटा मूर्ख पुत्र गाउँबाट सहर आउँदा आमाले भन्नुहुन्थ्यो रे– बाबु तँ सहर जाँदैछस्। मलाई असाध्यै जेरी खान मन छ। जेरी ल्याइदे न। त्यो छोराले कहिले जेरी लगिदिएन। एक दिन आमाको प्राण उड्यो। त्यो दिन छोरो जेरी बोकेर गएछ। मरेको आमाको मुखमा जेरी कोच्याउँदै आमा जेरी खानुस् भन्थ्यो रे। मरेका आमा–बुवाको मुखमा जेरी कोच्याउने होइन। जिउँदैमा ढिँडो, खोले, फाँडो जे छ त्यो मिठो गरेर खुवाइदिने हो। मातापिताले आफ्नो सन्तानको मलमूत्र स्यहारेका हुन्छन्। आमाबुवा थला पर्दा उहाँहरूको मलमूत्र स्याहार्न हामी पनि अगाडि बढ्नुपर्छ। त्यो हाम्रो कर्तव्य हो। आमाबुवाले हाम्रो तोतेबोलीको इसारा बुझेर इच्छा र चाहना पूरा गरिदिनुहुन्थ्यो। आमा र बुवाले कान कम सुन्न थाल्नुभयो भने एक दुई पटक केही भन्नु पर्दा पनि झर्को मान्छौं हामी।

आशीर्वाद माग्नै पर्दैन। सेवा भाव भइदिने हो भने आशीर्वादको वर्षा हुन्छ। माग्नै पर्दैन। आमाबुवाको आशीर्वाद नभइकन कोही पनि मानिस सफल हुँदैनन्। त्यसैले सधै मातापिताको सेवा गरौं। अनि मात्र पिता सम्मान दिवसहरू मनाइएको सार्थक हुन्छ।

मरेपछि स्वर्ग जाने भनेर हुँदैन। स्वर्ग जानका लागि यहींबाट बाटो बनाउनुपर्छ। धर्ममा अहंकार हुनुहुँदैन। मातापिताको जिउँदो शरीरमा सेवाटहल तिमीले गर्दै गरेनौ, मरेपछि पिण्ड चढायौ, गौदान गरेऊ त के गर्‍यौ? व्यर्थ हो यो। आवश्यकै छैन यो। वर्षवर्षमा खोला किनारमा पिण्डको डल्लोलाई फालेर हुँदैन। जिउँदैमा भएको खोले–आँटो जे छ त्यही तातो खुवाइदिँदा त्यो नै सबैभन्दा ठूलो धर्म हो। मातापितामा पनि आफ्नो सन्ततिले मिठो बोलिदिए हुन्थ्यो, कान नसुन्दा झर्को नमानेर तीसन्तालले फेरि भनिदिऊन् भन्ने अपेक्षा मात्रै हुन्छ। हामी हाम्रो मातापिताको भौतिक, भावनात्मक र जैविक सपनाको अंश हौं। हामीबाट पिताले आफ्नो रिन्तरता चाहनुभएको हुन्छ।

कतिपय व्यक्तिले आमाबुवालाई सबै चिज पुगाइदिएका हुन्छन्। तर, बुवाआमा आफैंसँग भए पनि अनुहार हेर्दैनन्, समय मिलाएर कुरा गर्दैनन्। यस्तो व्यवहारले पनि आमाबुवाको मन निकै दुख्ने गर्छ। आमा बुवाको सम्पत्तिमा गिद्धे दृष्टिमा लगाउने सन्तान पनि राम्रा होइनन्। नङ्ग्रा खियाउँदाखियाउँदै बुवाको शरीर अशक्त भइसकेको हुन्छ। त्यस्तो अवस्थामा सन्तानले वृद्ध शरीरलाई स्याहार गरिदिने हो भने बुवाबाट आशीर्वादको वर्षा हुन्छ। आकाशमा बसेका भगवानका लागि हामीले जीवित भगवानको उपेक्षा गरिरहेका छौं। जीवित भगवानलाई खुसी राख्दा हामीले प्रत्यक्ष खुसीको अनुभूति गर्न सक्नेछौं। हाम्रो रगत पिताकै प्रसाद हो। हाम्रो रगत, हाम्रो संस्कार पितृ पुरस्कार हो। पिता भौतिक शरीरमा हुनुहुन्न भने पनि श्रद्धापूर्वक श्राद्ध गर्ने हो। स्नानपछि नियमित पितृ उपासना गर्न सकिन्छ। त्यसको शास्त्र सम्वत विधि छ। यसलाई पितृ तर्पण भनिन्छ।

एक दिन देवघाट, बेत्रावती, गोकर्णेश्वर, बराह क्षेत्रमा गएर पुग्दैन। त्यसैले अभौतिक पिताप्रति सधैं मानसिक श्रद्धा स्मरण गरिराख्नुपर्छ। बुवाको मुख हेर्ने भनेको बुवा मैले तपाइको मुख हेरे ट्वाल्ल परेर हेर्नु होइन। पितालाई तन मनबाट प्रफुलित पार्ने भन्ने हो। एउटै घरमा माता पितालाई अलग राखेर छोराबुहारीले अलग खान्छन्। त्यो कसरी सकेको? तामसी भोजन खाएर सात्त्विक बुद्धि कहाँबाट आओस्। म मातापिताको सँगसँगै कुरा गरिरहेको छु। माता सम्मानमा पिता र पिताको सम्मानमा माताको पनि कुरा गरिनुपर्छ। नत्र अपुरो हुन्छ। वृद्ध मातापिताको भविष्य हुँदैन। विगत हुन्छ। त्यस्तो अवस्थामा मेरा सन्तानहरू नजिक आएर मेरा पुराना कुरा सुनिदिऊन् चाहन्छन्। यसरी उहाँहरूको कुरा मात्रै सुनिदिने हो भने पनि गदगद हुन्छन् । राति सुत्ने बेलामा कहिलेकाहीं उहाँहरूका पाउ दबाउँदै कुरा सुनिदिऊ। यसो गर्दा उहाँहरूको आशिषको वर्षा हुन्छ। सधैं गोडा मिच्नुपर्छ भन्ने छैन। तर, भाव आउँदा कहिलेकाहीं समय भएको बेलामा सेवा गर्दा राम्रो हुन्छ।

आशीर्वाद माग्नै पर्दैन। सेवा भाव भइदिने हो भने आशीर्वादको वर्षा हुन्छ। माग्नै पर्दैन। आमाबुवाको आशीर्वाद नभइकन कोही पनि मानिस सफल हुँदैनन्। त्यसैले सधै मातापिताको सेवा गरौं। अनि मात्र पिता सम्मान दिवसहरू मनाइएको सार्थक हुन्छ।

स्वामी आनन्द विनोदसँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पहिले रोकिएको काम बन्ने मेषको योग, समग्रमा यस्तो हुनेछ मंगलबार
यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका
मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?
विश्व रेविज दिवस आज, यसरी सर्न सक्छ रेविज