मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व युवराज पारसको नक्कल गर्दै भरतमणि

पूर्व युवराज पारसको नक्कल गर्दै भरतमणि

सुदूर आज

काठमाडौं । कहिले ट्राफिक नियमको उल्लघंन त कहिले केटी साथीसँगको घुमघाम, कहिले हेलमेट नलगाई मोटरसाइकलमा सवार । यी र यस्तै घटनाले बेला–बेलामा चर्चामा आइरहन्छन्, पूर्व युवराज पारस शाह । उनका यस्ता गतिविधिका कारण उनको प्रसस्तै टिकाटिप्पणी पनि हुने गरेको छ । 

तर, उनै पारशको हुबहु नक्कल गरेर आफ्नो प्रस्तुति दिने तयारीमा रहेका स्ट्यान्डअप कमेडियन भरतमणि पौडेल भने पूरै प्रस्तुति नदिँदै चर्चामा छन् । स्ट्यान्डअप कमेडी रियालिटी शो कमेडी च्याम्पियनको आज (शनिबार)को श्रृंखलाका लागि भरतमणिले पूर्व युवराज पारसको हुलियासहित नक्कल गर्दैछन् ।

उनले पारसको नक्कल गरेको ट्रेलर कमेडी च्याम्पियनले सार्वजनिक गरेको छ । उत्कृष्ठ चारले प्रस्तुति दिने क्रममा भरतमणि आज पूर्व युवराज पारसको गेटअपमा देखिने छन् । 

सार्वजनिक ट्रेलरमा भरतमणिले पूर्व युवराजको लवजमा निर्णायकलाई रोष्ट गर्नेछन् । तत्कालीन समयमा दरबारमा कलाकार जार्ने गरेको प्रसंग, केही समय अगाडि हेलमेट नलगाई बाइक चलाएपछि ट्राफिक प्रहरीले रोकेपछिको विवादको प्रसंग उठाएको ट्रेलरमा देख्न सकिन्छ । ट्रलेर युट्युबको ट्रेन्डिङमा आउनुले यो प्रस्तुति रुचाइएको भन्न सकिन्छ । 

भरतमणि शोको विजेताका दाबेदार मानिएका प्रतिस्पर्धी पनि हुन् । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए । 

ताप्लेजुङका उनलाई एमाले नेता तथा पूर्व मन्त्री योगेश भट्टराईको पनि साथ छ । उनले भरतमणि शोको विजेताको दाबेदार भन्दै राम्रो लागेका भोट गर्न आग्रह गरेका छन् । गृहजिल्लाका कमेडियन भरतमणिलाई उनले हास्यव्यंग्य क्षेत्रको ‘उदाउँदो मणि’ भनेका छन् । योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको छ ।

कमेडी च्याम्पियनमा अहिले भरतमणिसँगै हिकमत महरा, बिक्की अग्रवाल र सन्तोष थापा छन् । शो फाइनल नजिक पुग्दा गृह जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई खुलेरै भोट मागेका छन् । 

शोका विजेतामध्ये प्रथमलाई कार, दोस्रोलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर प्रदान गरिने निर्देशक विशाल भण्डारीले जानकारी दिए । शो प्रत्येक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको छ ।