मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे

सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे

सुदूर आज

धनगढी : सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या बढ्र्दै गएको छ। प्रहरीसंग बालबालिकादेखि बृद्धसम्मले आत्महत्या गरेको डरलाग्दो तथ्याङक छ। पछिल्लो पाँच वर्षमा प्रदेशका नौँ जिल्लामा दुई हजार ६४५ जनाले देह त्यागेका छन्। गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सुदूरपश्चिम प्रदेशमा ६८० जनाले आत्महत्या गरेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार ४९६ जनाले झुन्डिएर, १७१ जनाले विष सेवन गरेर, ६ जनाले पानीमा हामफालेर, तीन जनाले आगो लगाएर, दुई जनाले हामफालेर, करेन्ट लगाएर तथा हातहतियारबाट एक÷एक जनाले आत्महत्या गरेका छन्। कैलालीमा सबैभन्दा बढी दुई सय ६१ जनाले एक वर्षमै देह त्यागेका छन्। यस्तै कञ्चनपुरमा १९५, अछाममा ४४, बैतडी र डडेल्धुरामा ४३/४३ जनाले आत्महत्या गरेका छन्। बझाङमा ३६, डोटीमा २३, दार्चुलामा २० र बाजुरामा १५ जनाले गत वर्ष आत्महत्या गरेका छन्। 

                                                                                                                                  स्रोत  : प्रदेश प्रहरी कार्यालय

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ४३२ जनाले आत्महत्या गरेकोमा २०७४/०७५ मा ४९९, २०७५/०७६ मा ४९० र २०७६/०७७ मा ५४४ जनााले आत्महत्या गरेका थिए। पाँच वर्षको तथ्यांक हेर्दा सुदूरपश्चिमका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा आत्महत्या गर्नेको सङख्या छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट आत्महत्याको कारण निराशा र त्यसले उत्पन्न गराउने मानसिक तनावलाई बताउँछन्। ‘आत्महत्या कसैले पनि योजनावद्ध रुपमा गरेको देखिन्न,’ विष्टले भने, ‘एक्कासी आवेगमा आउँदा आत्महत्या गरेको देखिन्छ।’ उनका अनुसार डिप्रेसनमा जानुको कारण कार्य असफलता मात्रै नभएर अवैध सम्वन्ध पनि हो।

‘शहर बजारमा वैवाहिक जिवन सफल नभएर तथा प्रेममा धोका पाएर पनि धेरै युवायुवतीहरुले आत्महत्याको बाटो रोजेको पाईएको छ। अनैतिक सम्बन्धले पनि आत्महत्या बढाएको छ,’ प्रहरी नायव उपरीक्षक विष्टले भने। शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ४१ वटा आत्महत्या दुरुत्साहनका मुद्धा दर्ता भएका छन्। दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ।
कसरी गर्न सकिन्छ रोकथाम ?

सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ। त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ।

परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ। यस्तो लक्षण देखाउने व्यक्तिसम्म लामो समय रहन पनि आवश्यक हुन्छ। लागुपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ। – दिनेशखबर