मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या


पक्राउ परेका दाइलाई आत्महत्या दुरुत्साहनको मुद्दा

चितवन । चितवनकी सुजिता भण्डारी बेपत्ता भएपछि अनुसन्धान थालेको प्रहरी अपहरण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अपहरित भएको भनेकी थिइन्, तर अनुसन्धानले ठिक विपरित संकेत गरिरह्यो ।

अपहरण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा मोबाइलमा चितवनकै टावर सक्रिय देखियो ।

भण्डारीको अपहरण नै नभएको आशंकामा खोजविन गरिरहेको प्रहरीलाई झस्काउने घटना ९ दिनपछि सतहमा आयो । ब्रह्मायणी सामुदायिक वनमा भण्डारीको शव २० असारमा भेटिँदा घटनाले रहस्यमय मोड लियो ।

स्थानीयले भण्डारीको हत्या भएको र सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आन्दोलन गरे । तर शव नजिकै विषको बट्टा पनि देखिएकाले आत्महत्या हुनसक्ने संकेत पनि देखियो ।

झण्डै एक महीनापछि शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले भण्डारी मृत्यु प्रकरणको पटाक्षेप भएको दाबी गरेको छ । चितवनका एसपी ओम अधिकारीले प्रेम सम्बन्ध असफल भएपछि सुजिताले आत्महत्या गरेको बताएका छन् ।

परिवारले पनि प्रहरी अनुसन्धानप्रति समर्थन जनाउँदै आत्महत्या दुरुत्साहनको कसूरमा नाताभित्रकै प्रेमीविरुद्ध जाहेरी दिएको छ । भण्डारीकी काकाको छोरा झापा शरणामतीका सचिन भनिने सुकदेव भण्डारीविरुद्ध परिवारले जाहेरी दिएपछि उनी पक्राउ परेका छन् ।

काठमाडौंमा सँगै बसेर फर्किएकी थिइन् सुजिता

काठमाडौंमा बीबीएस अध्ययन गर्ने सुकदेवको कान्छो काकाकी छोरी हुन्, सुजिता । प्रहरीका अनुसार नुवाकोट पुख्यौली घर भएका भण्डारी परिवारका सदस्यमध्ये सुजिताको बुबा यज्ञबहादुर भण्डारी चितवन र सुकदेवका बुबा झापाको शरणामतीमा बसाइँ सरेर गएका थिए ।

दाजुभाइ टाढाटाढा बसाइँ सरेपछि पहिले उनीहरुको भेटघाट पातलिएको थियो । तर पछिल्ला वर्षहरुमा फेसबुकमार्फत दुईबीचको सम्बन्ध घनिष्ठ बनेको थियो, त्यहीबीच सामाजिक सञ्जालबाटै प्रेम भयो ।

प्रहरीका अनुसार परीक्षा दिएर खाली रहेको समयमा उनी दिदीकहाँ बस्ने भन्दै काठमाडौं पनि गएकी थिइन् । सुकदेव पनि काठमाडौंमै अध्ययन गरिरहेका थिए । त्यसपछि दिदीसँग नभइ उनी सुकदेवसँगै बसिन् ।

प्रेममा सुकदेवले पनि सँगै बस्न इन्कार गरेनन् । सुजिताले उनलाई छुट्टै कोठा खोज्न पनि भनेको भेटिएको चितवनका डीएसपी सूर्य थापा बताउँछन् । तर लकडाउन भएपछि सुजिता चितवन फर्किएकी थिइन् ।

त्यहीबीच उनले सुकदेवसँग बिवाहको प्रस्ताव पनि राखिन् । त्यसपछि सुकदेव झस्किए । पारिवारिक खटपट हुने र सामाजिकरुपमा पनि समस्यामा हुने भन्दै उनी पछि हट्न खोजे ।

त्यसपछि दुईबीचको सम्बन्धमा दरार आयो । त्यसो त त्यसअघि प्रेम सम्बन्धलाई कसरी विवाहमा बदल्ने भनेर उनीहरुले विभिन्न विकल्पमा पनि छलफल गरेको देखिएको डीएसपी थापा बताउँछन् ।

विदेश जाने, भाग्ने वा अपहरणको बाहना बनाएर गायब हुने योजना पनि बनेको युवकले बयानमा खुलाएको प्रहरी बताउँछ ।

डीएसपी थापाका अनुसार सुजिताले ‘विवाह गर्न नमाने मर्छु’ समेत भन्ने गरेकी थिइन् । त्यहीबीच ९ असारमा उनीहरुबीच विवाहकै विषयमा झगडा भयो । सुकदेले ‘जे मन लाग्छ, गर’ भनिदिए । त्यसपछि नै उनले नजिकै रहेको सामुदायिक वनमा गएर विष सेवन गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

सुजिताको पोष्टमार्टम रिपोर्टले उनको शरीरमा बाहिरी चोटपटक नभएको देखाएको छ । साथै, बलात्कारको पनि कुनै संकेत दिएको छैन । मृत्युको कारण पनि हालसम्म खुलेको छैन ।

प्रहरीले विष सेवन गरेको पुष्टि गर्न भिसेरा जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा नमूना पठाएको छ । तर रिपोर्ट आइसकेको छैन ।